site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोनाको उच्च जोखिममा बालबालिका

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका ५ देखि १२ वर्षसम्मका दुई सय जना बालबालिकाले आजभन्दा करिब ४५ दिनअघि कोभिड १९ विरुद्धको पहिलो डोज खोप लगाए । खोप लगाएको झन्डै एक महिनापछि स्कुल बिदा भएको विद्यालय आजदेखि खुलेको छ ।

कोभिड १९ को जोखिम बढेको भन्दै काठमाडौं महानगरले विद्यार्थीहरूमा स्वास्थ्यका मापदण्ड पालना गराउन अनुरोध गरेको छ । तर विद्यालय खुलेसँगै स्वास्थ्यका सबै मापदण्ड पालना गराएर विद्यार्थी जोगाउन हम्मेहम्मे परेको छ । विद्यार्थीहरूलाई आफ्नै घरबाट पानी उमालेर ल्याउन, पहिलेकोजस्तै मास्क अनिवार्य लगाउन र एक अर्कामा भौतिक दूरी कायम गर्न भनिएको विद्यालयका प्रधानाध्यापक डिल्ली शर्मा ढकाल बताउँछन् ।

“विद्यालय खुल्नु र कोभिड केस बढ्नु एकैपटक भयो । जोगाउन गाह्रो त भएको छ । तैपनि विस्तारै बच्चाहरूलाई पहिलेकोजस्तै बानी लगाउँदैछौँ,” प्रधानाध्यापक ढकालले भने ।  

काठमाडौंकै एक निजी विद्यालयमा अध्ययनरत आफ्नो ९ वर्षे छोरामा ज्वरो आउने, जिउ दुख्नेजस्ता लक्षण देखिएपछि केही दिनदेखि विद्यालय नपठाएको एक अभिभावकले बताए । सम्बन्धित विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दा विद्यालयमा अहिलेसम्म विद्यार्थीमा कोभिड १९ केस नदेखिएपनि उनीहरूलाई संक्रमणबाट जोगाउन भने कठिन भएको बताए ।

“हामीले सकेसम्म निगरानी गरिरहेकै हुन्छौँ तर खेल्दा, कक्षाबाहिर रहँदा धेरैजना सँगसँगै रहन्छन् । विशेषगरी सानो उमेरका बालबालिकालार्य जोगाउन गाह्रो छ," विद्यालयका प्रधानाध्यापकले भने, "१२ वर्षमुनिका बालिबालिकालाई कोभिड १९ विरुद्धको दोस्रो डोज छिट्टै उपलब्ध गराउन पाए अलि सुरक्षित महसुस गर्न सकिन्थ्यो कि !”

एक सातामा ४४ जना बालबालिका संक्रमित
असारयता नेपालमा कोभिड १९ संक्रमण निरन्तर बढिरहेको छ । साउनको एक सातामा ७ गतेसम्म दुईहजार ५६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४४ जना १० वर्षमुनिका बालिबालिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

कान्ती बाल अस्पतालका निर्देशक डा. युवनिधि बसौलाका अनुसार अस्पतालमा अहिले कोभिड संक्रमित बालबालिका उपचाररत नभएपनि ओपीडीमा आउने बालबालिकामध्ये दैनिक २ देखि ३ जनामा संक्रमण पुष्टि हुने गरेको छ ।

काठमाडौंमै पाएनन् एक लाख बढी बालबालिकाले पहिलो डोज खोप
सरकारले २७ जिल्लाका ५ वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई गत असार ९ गतेदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिएको थियो । तर, पहिलो डोज खोप लगाउने क्रममा नै खोप नपुगेपछि एक लाख दुईहजार जना बालबालिका खोप लिनबाट वञ्चित भए । काठमाडौंमा यो उमेरका दुई लाख ५० हजार बालबालिकालाई खोप दिने लक्ष्य राखिएपनि एक लाख ९० हजारले मात्रै अभियानका क्रममा खोप लगाएको र छुटेकाहरूलाई अहिले पनि खोप दिइरहेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए ।

त्यस्तै, ललितपुरमा ७६ हजार ५३८ जना लक्षित गरिएकोमा ६२ हजार ३५४ जनाले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय ललितपुरको तथ्यांक छ । ललितपुरमासमेत खोप अपुग भएपछि महानगरभित्रका बालबालिकालाई गत असार २७ गतेदेखि मात्रै पहिलो डोज खोप दिइएको थियो । त्यसैगरी भक्तपुरमा ६० हजार बढी बालबालिकालाई लक्षित गरिएकोमा ३२ हजारले मात्रै खोप पाएका थिए । बाँकी  छुटेकाहरूलाई अहिले दिइरहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।

जोखिममा स्कुले बालबालिका दोस्रो डोज खोप कहिले ?
दोस्रो लहरको कोभिड १९ संक्रमण कम भएसँगै जनजीवन सहज हुँदै गएको थियो । शैक्षिक संस्था, व्यावसायसँगै सार्वजनिक कार्यालयहरू सञ्चालनमा आएका छन् । तर, सँगै तेस्रो लहरको अन्त्यसम्म आइपुग्दा धेरैमा मास्क लगाउने, भौतिक दूरी कायम गर्नेजस्ता बानीहरू हराउँदै गयो । त्यसमा पनि गर्मी बढ्दै गएपछि कतिपय शैक्षिक संस्थाहरूमा मास्क अनिवार्य गर्न छोडियो, संक्रमणको जोखिम भने कायमै रह्यो । अहिले दैनिक तीन सयभन्दा बढी र पाँच सयसम्म दैनिक संक्रमित देखिइरहेका छन् ।

१२ वर्षमाथिका ८८ प्रतिशत जनसंख्याले दुवै डोज खोप लगाइसकेका छन् भने बुस्टर डोज खोप लिन पनि सरकारले आह्वान गरिरहेको छ । तर, अझैपनि ५० जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकाले पहिलो डोजसमेत खोप पाएका छैनन् । संक्रमण तथा सिकिस्त हुने जोखिमका हिसाबले खोप नलगाएका बालबालिका जोखिममा रहेको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।

काठमाडौंमा आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दोस्रो डोज दिने तालिका रहेपनि सुरु हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयको तालिकाअनुसार ५० जिल्लाका बालबालिकालालाई भदौ ५ गतेदेखि मात्रै पहिलो डोज खोप पाउनेछन् ।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्