site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङको रंगेलीमा के भएकाे हाे ? १८ घण्टापछि पनि सुरू हुन सकेन मतगणना 

विराटनगर । मोरङको रंगेली नगरपालिकामा शनिबार राति ११ बजेदेखि स्थगित भएको मतगणना अझै शुरु हुन सकेको छैन ।

एमालेबाहेकका दलले मतगणनाका क्रममा हुलहुज्जत भएको भन्दै गणना प्रक्रियामा असहमति जनाएका हुन् । राति कांग्रेससहितका दलले मतगणना प्रक्रियामा स्वतन्त्र उमेदवारको नाममा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए । गठबन्धन दलले निर्वाचन अधिकृत फेर्नेदेखि पुनः निर्वाचन गर्नेसम्मको माग गर्न थालेपछि रंगेलीमा झन् विवाद चर्किएको छ ।

नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार मोदराज घिमिरेले सर्वदलीय छलफल गरेर गणना अघि बढाउन निर्वाचन आयोगले आग्रह गरेको बताउँदै भने,“एमालेका उमेदवारले स्वतन्त्र उमेदवारी दिएकाहरुको प्रतिनिधि राख्ने र संख्या बढाएर हुलहुज्जत गर्ने काम भएकोले हामीले विरोध जनाएका हौं ।” 

Argakhachi Cement Island Ad

घिमिरेले निर्वाचन आयोगबाट निवेदन दर्ता गराउन भनिएकोले सोहीअनुरुप गर्न एमालेबाहेकका दलले छलफल गरिएको बताए । 

नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बगडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै भने,“गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको छ । छलफल गरे पनि पुनः निर्वाचन गराउनुपर्ने भन्दै गठबन्धन दलले भनेका छन् तर यो नहुने कुरा हो ।”

बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भइरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर देखिएपछि मतगणना नहुन दिने षडयन्त्र भएको दाबी गरे । रंगेलीको दक्षिणी भेगका वडाहरु ४, ५, ६ र ७ मा अझ धेरै आफ्नो मत आउने बताए । 

वडा नम्बर ८ को मतपेटिका फोरिएको भन्ने आरोप निराधार भएको बताउँदै बडडियाले भने,“सीसीटीभी जडान गरिएको ठाउँमा मतमेटिका फोरेको देखिँदैन र ? यो पराजित मानसिकता मात्र हो ।” बगडिया नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरी मेयरमा उठेका हुन् । उनी यसअघि माओेवादीबाट निर्वाचित भएका थिए । 

नेपाली कांग्रेसका उमेदवार घिमिरेले मतपेटिका फोरिएको अवस्थामा गणानास्थलमै फेला परेकोले आफूहरुलाई त्यो मान्य नभएको बताउँदै भने,“हामीलाई समग्र गणना प्रक्रिया मान्य छैन ।” 

रंगेलीमा गए राति ११ बजे मतगणनास्थल रंगेलीको क्याम्पसमा गठबन्धन दलले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा स्थानीय पत्रकार रविन्द्र बरालमाथि हातपात भएको थियो । यस घटनाको नेपाल पत्रकार महासंघ मोरङले विज्ञप्ति प्रकासित गरी निन्दा गरेको छ । महासंघका सचिव नेत्र पी अधिकारीले विज्ञप्ति प्रकासित गरी पत्रकार आक्रमणमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । हुलहुज्जतका क्रममा पक्राउ परेकालाई दलकै सहमतिमा प्रहरीले छाडिदिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्