site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
भरतपुरको विकासमा पार्टी हेरिन, फलेको रुखमै बढी झटारो लाग्दोरहेछ 

रेनु दाहाल नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकाकी उमेदवार हुन् । 

सत्ता गठबन्धनकै उमेदवार रहेकी रेनु यसअघि पनि सोही महानगरकी मेयर हुन् । महानगरमा विकासको रेखा कोर्न सफल उनी आगामी कार्यकालका लागि धेरै योजनाका साथ अघि बढेको बताउँछिन् । 

आफ्नो प्रतिष्पर्धा एमालेसँगै रहने भन्दै उनले जित सुनिश्चितजस्तै रहेको दाबी गर्छिन् । प्रस्तुत छ, भरतपुर महानगरकी उमेदवार दाहालसँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश ।

Argakhachi Cement Island Ad

 
चुनावी दौडमा हुनुहुन्छ आम मतदातासामु पुग्दा कस्तो अनुभूति भइरहेको छ ?

आम मतदाताको माहोल हेर्दा धेरै नै उत्साहकजनक नै छ । किनकि मलाई एउटा विकासप्रेमी मेयरको रुपमा मतदाताहरुले बुझ्नुभएको छ । जहाँ जान्छु एउटा छुट्टै खालको उमङ्ग, उत्साह देखेको छु । म जानेबित्तिकै जनताले आफ्नै प्रतिनिधि आएको महसुस गरेको पाएको छु । जुनसुकै पक्ष यो पार्टी त्यो पार्टी भन्ने छैन । अब हाम्रोलाई होइन राम्रोलाई मतदान गर्ने हो भन्ने उहाँहरुको धारणा पाएँ । विकासप्रेमी रेणु दाहाललाई हाम्रो एउटा भोट भन्ने सबैतिर छ । उत्साहजनक माहोल बनेको छ । म धेरै उत्साही छु । 

जित हासिल हुन्छ ? 

जित हासिल हुन्छ भन्नेमा शत प्रतिशत ढुक्क छु । जित पक्कै पनि हुन्छ जस्तो लाग्छ । किनकि म विगतमा टेस्टेड भइसकेको छु ।  महानगरपालिकामा पाँचवर्षमा जनप्रतिनिधिको हैसियतले  जे गर्न खोजेँ जनताले आफ्नो आँखाले प्रत्यक्ष देख्नुभएको छ । जनताले महसुस गर्नेगरी मैले विकासमा जनताको भावनाअनुसार नै सकेको कोसिस गरेँ । त्यसैले जनताले महसुस गर्नु भएको छ, त्यसको मूल्याङ्कन गर्नुहुन्छ भन्ने लाग्छ । 


तपाईंले पाँचवर्षमा आफूले गरेका कामहरु बताउँदै आउनुभएको छ, अबको पाँच वर्ष के गर्न बाँकी छ र त्यो पूरा गर्छु भन्ने लागेको छ ?

पाँच वर्षपछिको भरतपुर विकास र समृद्धिको फड्को मारिसकेको हुनेछ । अहिले जे–जे फाउन्डेसन तयार गरेका छौं । सडक पूर्वाधार, ६२२ किलोमिटर बाटो भइसक्यो । केही मूख्य सडकको निरन्तरतामात्रै दिन बाँकी छ । सडक पूर्वाधारको क्षेत्रमा त्यति धेरै गर्नुपर्ने छैन । 

यहाँ अन्तर्राष्ट्रिय स्तरको सिटीहलको कुरा, अन्तर्राष्ट्रिय रंगशाला, सिबिज मोडलका पूर्वाधारका कुराहरु सम्पन्न गर्दा भरतपुर महानगरपालिकामा सहयोगापेक्षी सडक, सडक मानवमुक्त महानगरपालिका घोषणा गरिसकेका छौं । नमुना उदाहरणीय काम हामीले गरेका छौं । भन्न थाल्दा धेरै हुन्छ । हाम्रो पाँचवर्षे प्रगति प्रतिवेदन जनताको अघि प्रस्तुत गरेका छौं । पाँचवर्षको समग्र पुस्तिका हामीले गरेका कामको डेटासहित प्रस्तुत गरेका छौं । 

हामीले भिडियो डकुमेन्ट्री पनि पनि प्रस्तुत गरेका छौं । जनताले बुझ्ने गरी सार्वजनिक गरेका छौं  । अबको पाँच वर्षपछि यी सबै पूर्वाधारहरु निरन्तरता दिएर सम्पन्न गर्नुपर्नेछ । 

अरु थप भरतपुरलाई स्मार्ट भरतपुर बनाउनका लागि यसको ब्युटिफिकेसनमा जोड दिनुपर्छ भन्ने महसुस गरेको छु । हामीले  फाउन्डेशन तयार गरेका छौं । राष्ट्रिय गौरव, महानगर गौरवको योजना र पूर्वाधार जे–जे अघि बढेका छन् यिनलाई निरन्तरता दिएर सम्पन्न गर्नुपर्ने कुरा र भरतपुरको ब्यूटिफिकेसनमा जोड दिने कुरा । हामीले उज्यालो भरतपुर भनेर अघि बढाइसकेका छौं । ८० किलोमिटर सडकमा बत्ती, मुख्य चोकमा ठूला ठूला बत्तीहरु । यसै पनि भरतपुर जल जमिन, जंगल प्राकृतिक सम्पदाले भरिपूर्ण छ । त्यसमा पनि बनेका सडकहरु ग्रिनरी गर्ने, त्यसको सौन्दर्यकरण गर्ने, हरियाली प्रवद्र्धन, बाह्रैमास फूल फुलाउने योजना छ । सडको बीचमा फुल फुलाउन सुरु नै गरिसकेका छौं । 

त्यस्तै भरतपुर बजार व्यवस्थित गर्ने, यहाँको पार्किङलाई व्यवस्थित गर्ने योजना छ, काम पनि अघि बढेको छ । 

महानगरले यातायात गुरुयोजना पनि बनाइसकेको छ । त्यो गुरुयोजनाअनुसार यातायात व्यवस्थित गर्ने, स्मार्ट सडक बत्ती ठाउँठाउँमा जडान गर्ने, अलि बढी भीडभाड हुने मुख्य मुख्य ठाउँमा फ्लाइओभर ब्रिजहरु बनाउने योजना छ । 

तर तपाईं र तपाईंको पार्टीसहितको गठबन्धनले भित्रै पनि मिलाउन सक्नुभएन, यसलाई कसरी हेर्नुभएको छ, अर्थात् तपाईंकै विरुद्धमा गठबन्धनका अर्का उमेदवार अघि सर्नुभएको छ, कसरी लिनुहुन्छ ?

गठबन्धनभित्र बाह्य दबाबभन्दा पनि नेपाली कांग्रेसको पार्टीको महाधिवेशनका क्रममा कतिपय साथीहरुले पार्टीभित्र आफ्नो पक्षमा माहोल बनाउनका लागि अलि बढी बोल्ने काम पनि भयो भन्ने लागेको छ ।

बढी बोल्दा अलि परिस्थिति बिग्रिएको हो कि भन्ने लागेको छ । त्यसले थोरै काम गर्‍यो भन्ने लाग्छ । अर्को कुरा चितवन जिल्लाका गठबन्धन पार्टीका नेताहरुले अलिक गठबन्धनको मर्मलाई, राष्ट्रिय आवश्यकताले बनेको कुरा त्यसमा पनि नेपाली कांग्रेसलाई सबैभन्दा धेरै हितकर छ भन्ने कुरा पार्टीगत हिसाबले भोलि पनि ठूलो पार्टी, अहिले पनि सरकारको नेतृत्व गरिरहेको, भोलि पनि सरकारको नेतृत्व, राष्ट्रिय आवश्यकता , हामीले प्राप्त गरेका उपलब्धिको रक्षा, शान्ति, संविधान र परिवर्तनको संस्थागत विकास गर्ने कुरामा यसको अभिभारा छ ।

ठूलो पार्टी हुनुको नाताले कांग्रेसलाई राष्ट्र, जनताप्रतिको ठूलो अभिभारा काँधमा आएको छ भन्ने कुराको अलिक ख्याल पुगेन कि भन्ने लाग्छ । सामान्य अर्थमा क्रिया प्रतिक्रिया सुरुको चरणमा भयोे । पछिको आवश्यकतालाई बुझ्न नसक्दा माहोल अलि बिग्रेको हो भन्ने लाग्छ । 

सम्हालिन सक्ला त माहोल चुनावसम्म ? 

अहिलेसम्म हेर्दा लगभग सम्हालिने ढंगबाट दिनप्रतिदिन सकारात्मक ढंगले अघि बढेको छ । 

एउटा राम्रो माहोल बनेको छ । अब धेरै नेता कार्यकर्ताहरुले बुझ्दै गइरहनुभएको छ । सायद पार्टीको तर्फबाट पनि बुझाउने कोसिस भएको छ । त्यसले गर्दा धेरै चिज सम्हालेर अघि बढेको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंको सभामा रेणु दाहाललाई प्रस्ताव गरको मैले हुँ भन्नुभयो । तपाईंलाई प्रस्ताव प्रचण्डले गर्नुभएको कि देउवाले ? 

गठबन्धन पार्टीका दुवै नेताले गर्नुभयो होला सायद । दुवैको ट्युनिङ मिलेर नै मैले उमेदवारी पाएको हो । पार्टीको हिसाबले  मेरो पार्टीले चितवन जिल्लाबाट सर्वसम्मत मलाई सिफारिस गरेको हो ।

अर्को गठबन्धनको बीचमा छलफल हुँदा जहिले पनि प्रधानमन्त्रीज्यूले रेनुले राम्रो काम गरेको छ भनेर भन्नुभएको थियो । रेनुलाई दिनुपर्छ भनेर उहाँले पहिलेदेखि नै भन्नुभएको पाएँ मैले ।

अस्ति यहाँ आएको बेला उहाँलाई पनि प्रत्यक्ष भेटेँ । मलाई भेटेर आफ्ना कार्यकर्तालाई देखाउँदै रेनुले राम्रो काम गरेको छ भनेर भन्नुभयो । अस्तिको सभामा पनि यस्तो राम्रो काम गरेको मान्छेलाई नजिताए भरतपुरको जनताले के भन्छन् ? भनेर एउटा च्यालेन्ज पनि गर्नुभएको छ ।  काठमाडौंको सभामा यही कुरा भन्नुभयो ।

तर तपाईंलाई केवल प्रचण्डको छोरीकोरुपमा मात्रै हेर्छन् नि, किन ?

यहाँ यो विषय अलि बढी उठाएको पाएकी छु । टिकाटिप्पणी, प्रश्न पनि छ । म प्रचण्डको छोरी त हुँ तर छोरीमात्रै भएर मैले नेतृत्व लिएको होइन । मेरो आफ्नो क्षमता, योग्यता छ ।

विस्तृत शान्ति सम्झौताबाट हामी शान्ति प्रक्रियामा आउँदा तत्कालीन अवस्थामा सरकार पक्षबाट गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षबाट प्रचण्ड दुई जनाको बीचमा १२ बुँदे सम्झौता भयो । त्यसपछि व्यवस्थापिका संसद बनाउने र त्यसमा सरकार पक्ष र विद्रोही पक्षबाट कति सिट संख्या भन्ने हुँदा त्यतिबेला पनि मेरो सिफारिस थियो । 

हिजो पार्टीमा गरेको योगदान थियो । त्यतिबेला पनि बुबाले रेनुलाई हुँदैन भन्नुभएको थियो मेरो योगदान हेरेर पार्टीले निर्णय गरेको हो ।

संविधानसभामा म काठमाडौं १ बाट चुनाव लड्ने हिम्मत गरेँ । त्यहाँ चुनाव जितिन्छ भन्ने थिएन तर पार्टीको निर्णय मानेर म अघि बढेकी हुँ । कांग्रेस नेता प्रकाशमान सिँहसँग चुनाव लड्न गाह्रो कुरा थियो । त्यहाँ हाम्रो संगठन थिएन तर पनि मैले हिम्मत गरेँ, चुनाव लडेँ । मलाई त्यसबेला चितवन आउन मन थियो । बुबाले मलाई अघि बढाउनैपर्छ भनेर कहिल्यै पार्टीमा भन्नुभएन । तर बाहिर अनावश्यक टिकाटिप्पणी भएको पाउँदा साह्रै दुःख लाग्छ ।

विगतदेखी मैले कार्यकर्ताको हिसाबले काम गरेर आएको छु । न कि छोरीको हिसाबले गरेको छु । हिजो युद्धकालीन अवस्थामा होस् वा शान्तिकालमा म पार्टीका विभिन्न निकायमा रहेर काम गरेँ ।

युद्धको केन्द्र रोल्पा जिल्लाको सहइन्चार्ज भएर काम गरेकी हुँ, म प्रचण्डकी छोरी हुँ भनेर पार्टीमा काम नगरी बसेर अहिले आएको भए त्यसो भन्न मिल्थ्यो । २०६२–६३ पछि काठमाडौं जिल्ला पार्टी सचिव हुँदै भरतपुरमा आएँ । 

भरतपुरमा पनि पार्टीले नै निर्णय गरेर ल्याएको हो । पार्टीका अरु कार्यकर्ता कसरी बसे म पनि त्यसैगरी बसेँ, पार्टीमा काम गरेँ, योगदान दिएँ, संघर्ष गरेँ अनिमात्रै मेरो निर्णय भएको हो भन्ने लाग्छ ।

अहिले पनि मलाई पार्टीको चितवन जिल्ला इन्चार्जको जिम्मेवारी छ । महिलासंघको महासचिवको जिम्मेवारीमा छु । सबैतिर काम गर्ने मान्छेको खाँचो छ जहिले पनि । मलाई काम गर्ने हिसाबले नै पार्टी, संगठनले भूमिका दिएको छ । बुबाले दिएर भएको कुरा होइन । मैले के भन्ठान्छु भने प्रचण्डको छोरीको होइन, कार्यकर्ताको रुपमा छु हिजोदेखि आजसम्म । त्यो हिसाबले काम गरेको छु । त्यसकारण सबैले मप्रति न्याय गर्दिनुपर्छ । 

तपाईंको मुख्य प्रतिष्पर्धी एमाले हो कि गठबन्धनको बागी उमेदवार ? 

स्वतः एमाले नै हो नि । हिजो पनि बागी उमेदवार सबै पार्टीमा हुने परिपाटी थियो । बागी उमेदवार हुनेहरुको अवस्था के भयो भन्ने विगतले पनि देखाएको छ । 

नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले जगन्नाथ पौडेलजीले उमेदवारी दिनुभयो । उहाँलाई पार्टीले कारबाही गरिसकेको छ ।

पार्टीको मूल्यामान्यता, पार्टीको निर्देशन र निर्णयभन्दा बाहिर गएर । राष्ट्रिय आवश्यकतालाई नबुझेर । पार्टी नेतृत्वले बुझाउन खोज्दा जसरी बुझ पचाएर जान खोज्नुभएको छ । पार्टीले कारबाही गरिसकेको छ । पार्टीको कार्यकर्ताको हिसाबमा अहिले हुनुहुन्न । त्यसैले उहाँसँग मेरो प्रतिष्पर्धा होइन । प्रतिष्पर्धाका हिसाबले नेकपा एमालेका उमेदवार मेरो प्रतिष्पर्धी हो । उहाँको पनि राप्रपासँग गठबन्धन छ । 

चुनाव हो हारियो भने के हुन्छ ? 

जनताको मत हो ।  हिजो पनि काठमाडांैंमा हारेको हो । जे परिणाम आउँछ जनताको अभिमतलाई सम्मान गर्ने, स्वीकार्ने कुरा स्वतः हुन्छ ।

अध्यक्ष प्रचण्डले चितवनमा आएर दिएको अभिव्यक्तिले गठबन्धन टुट्ने र फरक परिस्थिति आउन सक्छ कि !

अध्यक्षले एउटा भावमा आएर त्यसो भन्नुभएको हो तर गलत तरिकाले व्याख्या गरियो । केपी ओलीले पटक–पटक संसद्को हत्या गरेका छन् । पटक– पटक प्रतिगमन गरेका छन् । बुबाको त इमान्दारिता, सोझोपन । देशले समृद्धि प्राप्त गरोस्, स्थायित्व होस् भनेर स्थिरताका लागि उहाँले त्यसो भन्नुभएको हो । मुलुक जहिले पनि अस्थिर भयो । त्यसले विकास र समृद्धि हुन सकेन ।

६–६ महिना, ९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्नुपर्छ । बलियो सरकार र पार्टी बनाउनुपर्छ भनेर बुबाले कम्युनिस्ट पार्टी एकता गर्नुभएको हो । तर त्यतिबेला गठबन्धन भयो सरकार बन्यो । ठूलो पार्टी बन्यो । नेकपाको दुई तिहाइको सरकार थियो । केपी ओलीले त्यो कुरा बुझ्न सक्नुभएन । क्षणभरमै सपना चकनाचुर भए । गलत परिपाटी, मूल्यमान्यता र अहंकारले गर्दा सबै कुरा हामीले गुमाउन पुग्यौं । क्षणभरमै प्रतिगमन भए, हामीले लडेर ल्याएका चिजहरु, व्यवस्था नै खतारमा पर्ने स्थिति देखेर हामीले प्राप्त गरेका उपलब्धि रक्षाका लागि फेरि यो गठबन्धन बनेको हो । 

बुबाले भन्न खोज्नुभएको देशको आवश्यकतालाई महसुस गरेर यो खालको गठबन्धन जोगाउनपर्छ भनेर भन्नुभएको हो । 

देशलाई ठूलो दुर्घटनाबाट जोगाएका छौं । गठबन्धनलाई बीचमा स्थानीय निर्वाचनमा सहमति गरेका छौं । 

एकले अर्कालाई भोट नहाल्ने हो भने गठबन्धनको औचित्य कसरी हुन्छ । यसलाई इमान्दारी ढंगबाट पालना गर्नुपर्छ । कांग्रेसले हसिया हथौडा र माओवादीले रुखमा भोट हाल्नुपर्यो, इमान्दारिता देखाउनुपर्यो । देशलाई दुर्घटनाबाट बचाउनुपर्यो भन्नु भएको हो । त्यसको अपव्याख्या भयो ।

तर कांग्रेस नेताहरुले पहिले पनि हामीलाई धोका भयो फेरि पनि हुन्छ कि भन्ने आशंका बढी गरेको पाइयो नि !

मैले महानगरपालिकाको तर्फबाट गठबन्धन पहिले हो । म नेपाली कांग्रेसको तर्फबाट साझा गठबन्धनको  उमेदवार भएर कांग्रेसको सहयोगबाट निर्वाचित भएको हो । त्यसमा दुईमत छैन । त्यसमा मलाई गर्व छ । त्यसको धर्म मेरो कार्यकालमा सकेसम्म पूरा गरेँ भन्ने लाग्छ । 

महानगरपालिकामा मेयर हुँदा महानगरपालिकाका २९ वडामध्ये सबैभन्दा राम्रो काम गर्ने वडा भनेर सम्मान गर्यौं । पुरस्कृत गर्यौं । नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यलाई पुरस्कृत गरेको हो ।

त्यहाँ मैले मेरो पार्टीबाट भनेको भए पार्टीगत हिसाबले हेरेको भए त्यसरी सोच्थेँ होला नि त । नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु कोही पनि असन्तुष्ट हुनुहुन्न । सबैजना मेयरले हामीलाई राजनीतिक पूर्वाग्रह राख्नुभएन भन्ने नै छ ।

त्यहाँ राजनीति भएन । आखिर माओवादीबाट जितेको वडा त ३ वटामात्रै थिए । महानगरको ३ वटा वडामा मात्रै विकास भएको छ त ? यसबाट पनि हामीले बुझ्न सक्छौं । सबै वडाको विकास भएको छ । समग्र भरतपुरको आवश्यकता हेरेर विकास गरिएको छ । कसैप्रति कुनै आग्रह पूर्वाग्रह गरिएन ।

कांग्रेससँग गठबन्धन रहँदासम्म एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई पनि बायस भएन । पछि अर्कोतिर गठबन्धन हुँदा पनि हिजोको मर्म त मैले भुल्ने कुरा नै भएन नि । २०७४ को निर्वाचनमा हराउनेहरुलाई त अन्याय गरिन भने जिताउनेहरुलाई अन्याय गर्न सक्छु र ? सकेसम्म गरिन भन्ने लाग्छ ।

अर्कोतिर गठबन्धनको भएपछि उहाँहरुलाई थोरै आशंका भयो । त्यो नआओस् भनेर म आफ्नो कर्तव्यबाट चुकिन भन्ने लाग्छ ।

यदि कहिँ कतै भुलवस त्यस्तो छ भने आगामी दिनमा करेक्सन गरेर लैजाने भन्नेमा दुईमत नै छैन । सिंगो महानगरपालिकाको यो वडामा विकास भयो यो वडामा भएन भन्ने अवस्था छैन । 

सर्वसम्मत समानुपातिक ढंगबाट सन्तुलित हिसाबले दिगो विकासको लक्ष्य अनुरुप महानगरपालिका अघि बढेको छ । अलि अलि आशंका छ भने मेटाएर जान सकिन्छ । 

फेरि गठबन्धन माओवादीलाईमात्रै होइन कांग्रेसलाई पनि आवश्यक छ । आजको दिनमा पनि हामीले वडा त सबैजसो कांग्रेसलाई नै छाडेका छौँ, उपमेयरसहित ।

नेतृत्व पो मैले गरेको त । वडा सबै आफ्ना भएपछि कांग्रेसले आफ्नो संगठन त्यहाँ रहेर गर्न त सक्छ नि ! होइन र ? कांग्रेसको प्रतिष्पर्धी एमाले हो नि त । माओवादी कांग्रेसको प्रतिष्पर्धी होइन ।

माओवादीले त कांग्रेसलाई पटक पटक गुन लगाएको छ नि त । यो भन्दाअघि शेरबहादुर देउवालाई माओवादीले नै सहयोग गरेर प्रधानमन्त्री बनाएको हो । अहिले पनि हेरौँ । कांग्रेस हिजो एक्लै लड्दा १६५ मा कांग्रेसले २३ सिटमात्रै जितेको हो कांग्रेसले । गठबन्धनको आवश्यकता माओवादीलाई मात्रै होइन । 

कांग्रेसलाई पनि आवश्यकता हो नि त । त्यही ठहर भएर न गठबन्धन बनेको छ । त्यही मर्म र भावनालाई शीर्ष नेताले बुझ्नुभयो । स्थानीय सरकारका नेताले अलिक बुझ्नु भएन कि भन्ने हो । 


२०७४ र अहिलेको उमेदवारीमा के फरक पाउनुभएको छ ?

२०७४ मा त म एक्लै लड्न आएको थिएँ । आधार पनि थिएन । पार्टी बलियो पनि थिएन । प्रचण्डको छोरी आयो भन्ने ब्यापक थियो । प्रचण्डले छोरी पठाए भन्ने टिकाटिप्प्णी थियो । अर्को हाम्रो संगठनको आधार थिएन ।

शत प्रतिशत जित्छु ग्यारेन्टी भनेर आएको पनि होइन । पार्टीको आधार तय होला भन्ने हिसाबले आएको हो । त्यतिबेला कमजोर नै अवस्थामा आएको थिएँ । अहिलेभन्दा प्रचण्डको छोरी भन्दा पनि मेयर रेनु दाहाल भनेर चिन्ने स्थिति बन्यो भन्ने लाग्छ ।

प्रचण्डको छोरी भन्दा पनि प्रचण्डको कार्यकर्ताको हिसाबले मैले आफ्नो परिचय दिएँ भन्ने लाग्छ । विगतमा भन्दा अहिले धेरै नै विगतमा भन्दा व्यक्तिगत हिसाबले पनि जनताको बीचमा स्थापित भएँ । जनताको मन जितेँ । एक हदसम्म सफल भएँ भन्ने लाग्छ । अर्को चाहिँ पाँच दलीय गठबन्धनको साझा उमेदवार हुँदा त्यसै पनि कम्फर्टेबल भयो । त्यहि हिसाबले धेरै राम्रो नै राम्रो आधार छ । बलियो आधार छ । 

अहिले भरतपुर चुनावको सबैभन्दा केन्द्र बनेको छ । इपिसेन्टर भरतपुर बनिरहेको छ । सिंगो राष्ट्रको ध्यान भरतपुरमा छ । पक्ष विपक्ष सबैको ध्यान भरतपुरमै छ । विपक्षीलाई पनि प्रतिष्ठाको लडाईं बनेको छ । 

गठबन्धलाई कसरी कमजोर बनाउने भन्ने ढंगले विपक्षीको ध्यान भरतपुर छ । हाम्रो पनि यो गठबन्धन निरन्तर कायम राख्नका लागि पनि हाम्रो विशेष जोड भरतपुरमा छ । कामका हिसाले पनि चर्चा परिचर्चा भरतपुरको छ  । जहाँ फलेको रुख हुन्छ  त्यहाँ त हुन्छ सबैको झटारो । केही खास छ भरतपुरमा त्यसैले सबैको ध्यान यहीँ छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्