site stats
बाह्रखरी :: Baahrakhari
विशेष
गठबन्धनले भत्काउला त इटहरीको लालकिल्ला ? जसरी पनि जोगाउने एमालेको रणनीति 

इटहरी । सुनसरीको इटहरी प्रदेश नम्बर–१ को केन्द्र हो । बसोबास र सामाजिक अन्तरघुलन सहरको पहिचान हो । बसाइँसराइका दृष्टिले आकर्षक मानिएको यहाँ हरेक वर्ष बस्ती फैलँदो छ । सुनसरी–मोरङ औद्योगिक करिडोर, चारकोसे झाडी, चुरे क्षेत्र र प्राकृतिक तालतलैया पनि यो सहरको पहिचान हुन् ।

यति बेला चोक र बस्तीहरूमा राजनीतिक दलका झन्डा फहराएको देखिन्छ । मत माग्न घरदैलो अभियान पनि उत्तिकै चलेका छन् । झाँकी, र्‍याली र आफ्ना सहयोगी–समर्थकसहित उमेदवार मत माग्न व्यस्त बनेका छन् । समग्रमा आसन्न स्थानीय तह निर्वाचनले इटहरी उपमहानगरपालिकालाई छोपिसकेको छ ।

“सबैतिर चुनावी सरगर्मी छ । इटहरीमा विगतको विरासत जोगाउन र नयाँले लिने रणनीतिसाथ प्रचारका अभियान भइरहेका छन्,” नेपाली कांग्रेस इटहरीका सचिव विक्रम घिमिरे भन्छन्, “अघिल्लोपटक कांग्रेस एक्लै लड्दा २७ सय मतले पराजित भएको थियो । योपटक गठबन्धन भएकोले हामीलाई जित्न झन् सजिलो भएको छ ।”

Argakhachi Cement Island Ad

कांग्रेसले सत्ता गठबन्धनको चुनावी तालमेबाट हेमकर्ण पौडेललाई मेयर र नेकपा (एकीकृत समाजवादी)ले केशवकुमार विष्टलाई उपमेयरमा खडा गरेको छ । नेकपा (एमाले)ले यामकुमार सुब्बालाई मेयर र सम्झना चौधरीलाई उपमेयरमा उठाएको छ ।

भत्किएका त लालकिल्ला ?
इटहरीको स्थानीय सत्ताको नेतृत्वमा लामो समयदेखि एमाले छ । यहाँ वर्षौँसम्मको कम्युनिस्ट विरासतलाई अघिल्लोपटक द्वारिकलाल चौधरीले निरन्तरता दिए । योपटक त्यही लालकिल्ला भत्काउन गठबन्धन दल एकातिर छन् । अर्कोतिर एमाले एक्लै उभिएको छ ।

“हाम्रो विगतको साख र इतिहासलाई कायम गराउन अहिले चुनावमा होमिएका छौँ । परिणाम हाम्रो पक्षमा हुनेछ भन्नेमा विश्वस्त छौँ,” एमालेबाट मेयर पदका उमेदवार यामकुमार सुब्बाले भने, “पार्टीको दर्विलो संगठन र मतदाताको रोजाइका कारण एमाले विजयी हुने हाम्रो आधारहरू हुन् ।” बाहिर विश्लेषण हुँदा एमाले रक्षात्मक अवस्थामा पुगेको छ । तर, आफूहरू विजयी हुने स्थितिमा रहेको सुब्बा दाबी गर्छन् । 

०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर–उपमेयरसहित २० मध्ये १२ वडामा एमाले विजयी भएको थियो । कांग्रेसले आठवटा वडामा जितेको थियो । योपटक मेयर आफूले लिएर कांग्रेसले उपमेयर एकीकत समाजवादीलाई छाडेको छ । वडाहरूमा पनि गठबन्धन दलबीच भागबन्डा भएको छ । अघिल्लो नेतृत्वले गरेका कमजोरीलाई जनमानसमा बुझाउँदै र आफ्ना योजनाबाट नगरवासीको मन जित्ने प्रयासमा कांग्रेस लागेको छ ।

“हामीसँग नगर बनाउने प्रस्ट योजना छ । अघिल्लो एक कार्यकाल इटहरीको विकास सुस्त भयो । राजनीतिक रूपमा समेत यो सहरको प्रचार नराम्रोसँग भयो,” कांग्रेसबाट मेयर पदका उमेदवार हेमकर्ण पौडेल भन्छन्, “योपटक दलबीचको तालमेल र कांग्रेसप्रति बढेको जनविश्वास नै हाम्रो जित्ने आधार हो ।”

सबैको आँखा आदिवासी मततिर 
इटहरी बहुजातीय र बहुसांस्कृतिक सहर पनि हो । आदिवासी थारु समुदायको बहुल क्षेत्र इटहरीमा उनीहरूको मतलाई निर्णायक मान्ने गरिएको छ । अघिल्लोपटक द्वारिकलाल चौधरी थारु समुदायको समेत प्रतिनिधित्व गर्दै निर्वाचित बनेका थिए । योपटक थारु समुदायको प्रतिनिधित्व एमालेकी सम्झना चौधरीले उपमेयरको उमेदवारका रूपमा गर्दै छिन् ।

एमालेको रणनीति पनि फेरिएको छ । जनजातिबाट सुब्बा उमेदवार बनेका छन् । जनजाति र आदिवासीतर्फको मत सुब्बातिर तान्ने एमालेको रणनीति देखिन्छ । “त्यो झर्ने मत हिजो पनि हामीसँग थियो । आज पनि हामीसँगै छ,” सुब्बाको विश्वास छ । इटहरीको कुल मतमध्ये ४० प्रतिशत थारु मत रहेको विश्वास गरिन्छ ।

संगीता चौधरीले समेट्ने बहुसंख्यक मत सुब्बातिर खसाल्ने एमालेको रणनीतिबीच कांग्रेसले जनस्तरमा निकै लोकप्रिय र विद्यार्थी राजनीतिबाट उठेका पौडेललाई उमेदवार बनाएको छ । सहरतर्फको मतमा पौडेलको धेरै प्रभाव रहने विश्लेषण गरिएको छ । “तलको धरातलबाट राजनीतिमा उठेकोले पनि मलाई इटहरीवासीको ठूलो समर्थन छ । सहर मात्र होइन, ग्रामीण क्षेत्रबाट पनि मलाई राम्रो मत आउँदै छ,” पौडेलले भने ।

मेयरमा ०७४ मा राप्रपाबाट उमेदवार बनेका रमेश कार्की एमालेतर्फ लागेका छन् । माओवादी केन्द्रबाट उपमेयर भएका भीमप्रसाद सुवेदीले पनि एमालेतिरै लागेका छन् । सुनसरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका सदस्य उमेदवार रहेका डम्बर सुवेदी समेत एमालेमा गएका छन् । व्यक्तिगत भए पनि उनीहरूप्रति रहने सान्त्वना मत अब एमालेतर्फ नै हुने एकथरी नेताहरू तर्क गर्छन् ।

नयाँ मतदातामा आ–आफ्ना दाबी
०७४ को स्थानीय तह निर्वाचनमा ७७ हजार ६९७ मतदाता थिए । योपटक एक लाख चार हजार ६२६ पुगेको छ । इटहरीमा २८ हजार मतदाता थपिएका छन् । यो मत संख्या चुनावी परिणाम उलटफेर गर्न काफी छ ।

“थपिएका धेरै मतदाता युवा छन्,” कांग्रेस नगरसचिव विक्रम घिमिरे भन्छन्, “हाम्रो उमेदवार विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आउन भएको र युवामाझ पनि उत्तिकै लोकप्रिय रहनुभएकोले नयाँ मत कांग्रेस र गठबन्धनले प्राप्त गर्नेमा कुनै द्विविधा छैन ।”

अघिल्लो निर्वाचनमा कुल ५२ हजार ५२२ खसेको सदर मतमध्ये मेयरतर्फ एमालेका उमेदवारले २२ हजार ६८९ र कांग्रेसका उमेदवारले १९ हजार ९८५ मत प्राप्त गरेका थिए । राप्रपाका उमेदवारले तीन हजार ७१५ र माओवादी केन्द्रका उमेदवारले तीन हजार ३६४ मत पाएका थिए । फोरम लोकतान्त्रिकका उमेदवारले एक हजार ४३७ मत ल्याएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ११:४५
प्रतिक्रिया दिनुहोस्