site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ओलीको गृहनगरमा ‘एमफिल’ उमेदवारको लहर

दमक । झापाको दमक प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । बहुतले भ्यु टावर, विश्वकै अग्लो बुद्धमूर्ति, चिनियाँ लगानीको औद्योगिक ग्राम र ‘मल्टीलेयर बसपार्क’ यहाँका चर्चित निर्माणाधीन परियोजनाहरू हुन् ।

स्थानीय सरकार आफैँले पनि दमकमा दीर्घकालीन महत्त्व राख्ने धेरै विकास योजनाहरू सञ्चालन गरिसकेको छ । कतिपय सम्पन्न भइसकेका छन् । तर, तिनको चर्चा उति साह्रो हुने गरेको छैन ।

एमालेबाट दमक नगरपालिकाको मेयरकी उमेदवार गीता अधिकारी स्थानीय सरकारले धेरै राम्रा काम सम्पन्न गरेको बताउँछिन् । त्यस्ता कामको प्रचारप्रसार गर्न आफूहरूले पनि नसकेको उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

“हामी नै नगरपालिकाको नेतृत्वमा रहँदा शिक्षा, स्वास्थ्य, भौतिक निर्माण र सामाजिक विकासमा धेरै काम गरेकै हौँ । तर, तिनको उति सारो प्रचार गर्न सकेनौँ,” निवर्तमान उपमेयर अधिकारीले शनिबार दिउँसो आफ्नै निवासमा बाह्रखरीकर्मीसँग भनिन्, “ठूला परियोजनाहरू यो ठाउँको २० देखि ५० वर्ष पछाडिको भविष्य हेरेर सुरु भएका हुन् । तिनको छनोटमा केही हदसम्म हाम्रो पनि सहभागिता छ ।”

योपटक दमकले देशकै ध्यान ओलीको गृहनगर हुनुले मात्रै खिचेको होइन । यहाँ सञ्चालित ठूला लगानीका ठूला परियोजनाका कारण मात्रै पनि भएको होइन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग कांग्रेस र सत्तासीन दलको गठबन्धन, दुई एमफिल महिला उमेदवारलगायत कारणले चर्चा बढी भएको हो ।

स्थानीय राजनीतिक विश्लेषक प्रकाश बुढाथोकी भन्छन्, “नसोचिएको चुनावी गठबन्धन यहाँ भएको छ । फेरि, दुई एमफिल महिला उमेदवारका कारण पनि आसन्न स्थानीय तहको निर्वाचन रोमाञ्चक हुने हाम्रो अनुमान छ ।”

फरक गठबन्धन
सत्तामा रहेको पाँचदलीय गठबन्धनभन्दा निकै फरक ढंगले दमकमा चुनावी तालमेल भएको छ । कांग्रेसले राप्रपालाई प्रमुख पद छाडेर आफूले भने उपमेयरमा चित्त बुझाएको छ । उसले आफ्नो आधार राम्रो भएका तीनवटा वडा नेकपा (माओवादी केन्द्र)लाई छाडेको छ । दुई वडा राप्रपा र चार कांग्रेसको भागमा परेका छन् ।

अघिल्लो निर्वाचनमा मेयर र उपमेयरसहित नगरका ५२ मध्ये कुनै पनि पदमा कांग्रेस विजयी भएन । योपटक पनि उसले एमालेलाई टक्कर दिएका ६, ८ र ९ नम्बर वडा माओवादीलाई सुम्पिएको छ । यसको कारण स्वयम् कांग्रेस कार्यकर्ताले बुझ्न सकेका छैनन् । जबकि, दमक–६ मा कांग्रेस दोस्रो, ८ मा १५० मतले र ९ मा ८० मतले मात्र पराजित भएको थियो । दमक–८ मा त कांग्रेसका बागी वडाध्यक्ष उमेदवार एक्लैले ३५० मत ल्याएका थिए ।

तालमेलबाट राप्रपाले विगतमा जितेका १ र ७ नम्बर वडा लिएको छ । ०७४ को निर्वाचनमा ती वडामा क्रमशः तारा अधिकारी र भीम पौडेल विजयी भएका थिए । योपटक कांग्रेसले दमक–३, ४, ५ र १० आफूसँग राखेको छ ।

“विगतमा एक ढिक्का नहुनुको परिणाम कांग्रेसले एकजना सदस्यसमेत जित्न सकेको थिएन । चौथो दलका रूपमा चित्त बुझाउनुपरेको थियो,” कांग्रेसका पूर्वनगर सभापति रोशन विष्टले भने, “योपटक विगतको गल्ती नदोहोरियोस् र तालमेलबाट सहजै जित्न सकियोस भनेरै तालमेल गरेको हो ।” तालमेल स्थानीय आवश्यकताअनुसार नै भएको विष्टले दाबी गरेका छन् ।

राप्रपाको बलियो उपस्थितिका कारण दमकमा अन्यत्रजस्तो नभई स्थानीय आवश्यकताअनुसार गठबन्धन भएको दाबी गरिए पनि यसमा सत्तासीन दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)को एक समूह बाहिरै छन् । जसपाको भेषराज भट्टराई समूह भने साथै देखिएको छ । त्यो समूह वडा सदस्यसहितका केही पद लिएर चुनावी मैदानमा खडा छ ।

एकीकृत समाजवादीबाट दमक –५ का वडाध्यक्ष पदका उमेदवार हरि नेपाल भन्छन्, “हाम्रो उपस्थितिलाई अस्वीकार गर्ने अनि हैसियत नदिएकाले हामी पनि अलग भएका छौँ । हाम्रो उपस्थिति कमजोर भने छैन ।” नेपालले एमालेका तटस्थ, विगतमा नेकपा (माले)मा साथै काम गरेका र गठबन्धनकै अरू दलका मतदाताले पनि आफूहरूलाई सहयोग गर्ने जिकिर गरे ।

जसपाका प्रदेश नम्बर–१ का अध्यक्ष प्रविण चाम्लिङले समर्थन गरेको सिंगो समूह तालमेलमा सहभागी छैन । बरु, अलग्गै आफ्नै मेयर उमेदवार खडा गरेको छ । एकीकृत समाजवादीले पनि उपमेयरमा उमेदवार उठाएको छ । केही वडाध्यक्ष र सदस्यमा पनि उक्त पार्टीको तर्फबाट उमेदवारी परेको छ ।

चाम्लिङ भन्छन्, “माथिबाट तय भएअनुरूप विपरीत यहाँ सहअस्तित्वसहितको गठबन्धन भएन । त्यसैले हामीले पार्टीको अस्तित्व जोगाउन अलग्गै चुनावी अभियान गर्नुपर्यो । यो गडबड ठूला दलको दम्भका कारण भएको हो ।”

शनिबार मध्याह्न चाम्लिङ निवास पुग्दा उनी कार्यकर्तासँग भलाकुसारी गर्न र झन्डा, तुल, ब्यानर बनाउन व्यस्त देखिन्थे ।

विगतको परिणामबीच अनुमान
०७४ को निर्वाचनमा दमकमा मेयर र उपमेयरसहित एमाले बहुमत सिटमा विजयी भएको थियो । राप्रपा दोस्रो, माओवादी तेस्रो र कांग्रेस चौथो स्थानमा थिए । मेयरमा एमालेका रोमनाथ ओली १० हजार ८०६ मतसाथ विजयी भएका थिए । राप्रपाका राम थापाले सात हजार ६५५ मत पाउँदा माओवादीका गगन पुरीले ६ हजार ८९८ मत ल्याएका थिए । कांग्रेसका ढुण्डीराज भण्डारीले पाँच हजार ५३९ मतमा चित्त बुझाउनुपरेको थियो । राप्रपा दुई वडामा विजयी भएको थियो ।

योपटक दमकमा १२ हजार नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा छन् । तिनले कुन दललाई साथ, सहयोग गर्छन भन्ने तय छैन । राजनीतिक दलहरू भने आफ्नै पल्ला भारी भएको दाबी गरिरहेका छन् ।

“तर, अधिकांश राजनीतिक दलसँगै सम्बन्धित रहेको देखिन्छ,” दमकका पत्रकार गिरिराज भट्टराईको विश्लेषण छ । आफ्ना कार्यक्रमबाट विश्वास दिलाउन सक्नेले नै नयाँ मत प्राप्त गर्न सक्ने उनको तर्क छ । विगतको मत परिणामलाई मात्र आधार मान्ने हो भने निर्वाचन जित्न गठबन्धन निकै सहज अवस्थामा देखिएको उनी बताउँछन् ।

विगतकै मतलाई आधार मान्ने हो भने गठबन्धनसँग प्रमुख पदतर्फ १८ हजार ४६१ मत रहेको दमक–५ गठबन्धन निर्वाचन परिचालन कमिटीका संयोजक चैतन्य बराल दाबी गर्छन् । “थपिएका मतदाता समेत जोड्दा गठबन्धनलाई जित्न अप्ठेरो छैन,” उनले भने ।

'एमफिल' उमेदवारको चर्चा
राप्रपाका राम थापा मेयर पदमा गठबन्धनबाट दोहोरिएर उमेदवार बनेका छन् । हारजितभन्दा पनि दमकमा यति बेला मेयर र उपमेयरका एमफिल महिला उमेदवारको चर्चा छ ।

मेयर र उपमेयर नै महिलालाई जिताउने अभियान चले गठबन्धनको रणनीति फेल खान सक्ने जोखिम उत्तिकै देखिन्छ । राजनीतिकर्मीहरू समेत यो तर्क गरिरहेका छन् । ठूला दलका नेता–कार्यकर्ताहरू नयाँ लहर गठबन्धनका लागि प्रत्युत्पादक बन्न सक्ने तर्क गर्छन् । राजनीतिक विश्लेषकहरूको पनि यही अनुमान छ ।

एमालेले मेयरमा महिला उमेदवारलाई उठाएको छ । उनी पार्टीकी झापा सहइन्चार्ज पनि हुन् । कांग्रेसबाट उपमेयरमा रेगिना भट्टराई उठेकी छन् । शैक्षिक योग्यताका आधारमा दुवै उमेदवार सबल मानिएका छन् । प्राध्यापक पेसाबाट राजनीतिमा आएकी अधिकारीसँग एक कार्यकाल उपमेयर चलाएको अनुभव छ । भट्टराई पार्टीको तल्लो पंक्तिबाट कांग्रेस राजनीतिमा उदाएकी हुन् ।

राजनीतिक विश्लेषक बुढाथोकीको भनाइलाई आधार मान्ने हो भने त्रिभुवन विश्वविद्यालयबाट एमफिल गरेर पीचएडी पदवी लिने तयारीमा जुटेका दुवै महिला मतदाताको रोजाइमा पर्न सक्छन् । “महिला सेन्टिमेन्ट क्यास भयो भने दमकमा मेयर र उपमेयरमा महिलाले जिते भने अनौठो हुने छैन,” उनले भने ।

साविकको वडा नम्बर–१२ मा तीनपटकसम्म वडाध्यक्ष भएका राप्रपाका थापा पूर्वराजा ज्ञानेन्द्र साहको सक्रिय शासनकालमा मेयरमा मनोनीत भएका थिए । त्यति बेला उनले निकै राम्रो काम गरेर देखाएका थिए ।

उनी भन्छन्, “म आफैँ पार्टीको प्रदेश अध्यक्ष हुँ । पार्टीको अहिलेको अवस्था मूल्यांकन गर्दा मैले चाहेको भए संघीय वा प्रदेश सांसद पदमा पनि जान सक्थेँ । तर, जितेर स्थानीय सरकारमा गई एकपटक सेवा गर्ने चाहनाले यता आएको हुँ ।”

कुराकानी
शासन होइन, सेवा गर्न चाहन्छु ः राम थापा

चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
चुनावी अभियान वैशाख २५ गतेसम्म चल्छ । १० वटै वडामा घरदैलो कार्यक्रम चल्छ । मेयर र उपमेयर पालैपालो हामी जान्छौँ । त्यसपछि बन्द हुन्छ । अहिले भन्नुपर्दा हामी जोडतोडका साथ चुनावी अभियानमा होमिएका छौँ ।

तपाईंले जित्ने आधारहरू के–के हुन् ?
हामी दमकमा यसअघिको चुनावमा दोस्रो, तेस्रो र चौथो स्थान ल्याएका पार्टी एक भएका छौँ । नेकपा एस र जसपा पनि सँगै छन् । यो नै हाम्रो जित्ने आधार हो । हामीसँग मत नै धेरै हुनु जित्ने प्रमुख आधार हो भन्दा हुन्छ ।

गठबन्धनमै भएका दल पनि बाहिर रहेको देखियो नि, आफ्नै ढंगले उनीहरूले उमेदवारी दिएका छन् त ?
होइन । छैन छैन । समाजवादीका केही साथी वडा नम्बर–७ मा मात्र फरक छन् । अरू साथीहरू हामीसँगै छन् । बाहिर रहेको भन्ने कुराले धेरै अर्थ राखेको छैन ।

तपाईंसँग समुन्नत दमक बनाउने के खाका छ ?
म प्रस्ट छु । म लामो समयदेखि जित, पराजित जे भए पनि दमकको सेवामा समर्पित मानिस हुँ । मैले १५ वर्षसम्म दमक–१२ को वडाअध्यक्ष चलाएँ । दमक क्याम्पस, खानेपानीलगायत धेरै संस्थामा बसेर काम गरेको अनुभव छ । दमक नगरपालिका एमालेको बन्धकी रहेको जस्तो भएको छ । सेवाभन्दा शासन गर्ने काम भएको छ । म जागिर खान जाने होइन । तलबभत्ता पनि लिन्नँ । विपन्न वर्गको आयआर्जनमा खर्च गर्नेछु ।

सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई १२ कक्षासम्म निःशुल्क गर्ने योजना मसँग छ । संस्थागत विद्यालयतर्फको विकास योजना पनि छ । सवारी करले पनि पीडा दिएको छ । जितेँ भने आगामी आर्थिक वर्षदेखि नै यसलाई खारेज गर्नेछु । विपन्न वर्गलाई आयआर्जनसहितको कार्यक्रम चलाउँछु । सुकुमबासी र भूमिहीनको समस्या समाधान गर्छु ।

एमालेका उपमेयरका उमेदवार भूमि आयोगको अध्यक्ष बन्नुभयो, तर निवेदन लिने कामबाहेक केही भएन । यसै नगरबाट निर्वाचित नेता प्रधानमन्त्री बन्नुभयो, तर यहाँका भूमिहीनको समस्या समाधान हुन सकेन । सबै समस्याको समाधान गर्नेछु ।

तपाईं यसअघि एकपटक मेयर हुनुभयो ।अहिले फेरिएको परिस्थितिमा उमेदवार बन्दा प्रतिस्पर्धा कस्तो देख्नुभएको छ ?
नगरको प्रतिनिधित्व गर्न अहिले एमालेतर्फका उमेदवार कमजोर देखिएका छन् । नगरपालिका सञ्चालनमा पनि उहाँहरूको कमजोरी देखिएकै हो । कतिपय काम गर्दा भएका कमजोरी बाहिरै आएका छन् । जस्तो : सेनिटरी प्याड वितरण गर्न भएको बिडमा ३९ रुपैयाँ कबोल गरेको कम्पनीको साटो ६९ रुपैयाँको सकार्नेसँग काम भएको छ । किन यस्तो भयो ? यो कुरा बाहिर आउनुपर्छ कि पर्दैन ? यो विषयमा अनुसन्धान हुनुपर्ने थियो । तर, कर्मचारीतन्त्रको लहैलहैमा लागेर काम हुनुले पनि कमजोरी भएको देखिन्छ । यो कसरी भयो ? छानबिनको विषय हो । मेरो आरोप असत्य प्रमाणित भयो भने म उमेदवारी छाडिदिन्छु ।

राजनीतिमा महिलाले गर्न नसक्ने भन्ने हुँदैन : गीता अधिकारी

चुनावी अभियान के कसरी चलिरहेको छ ?
हाम्रो पार्टीको सम्पूर्ण समयन्त्र परिचालन भई चुनावी अभियान सञ्चालन भइरहेको छ । पार्टीले अभियानको सूची बनाएको छ । सोहीअनुप हामीले घरदैलो र चुनाव प्रचारसँग सम्बन्धित काम गरिरहेका छौं । त्योदेखिबाहेकका समय आफूआफू पनि कहाँ जाँदा जनतालाई प्रभाव पार्न सकिन्छ भनेर लागिरहेका छौँ ।

उपमेयरमा जित्नुभएको थियो, अब मेयरमा उठ्नुभएको छ । दमकको उन्नयनका लागि तपाईंसँग कस्ता योजना छन् ?
पार्टीको प्रतिबद्धतापत्र सँगसँगै विगतका अधुरा योजनालाई निरन्तरता दिने । टुंगोमा पुर्याउने । यसमा स्थानीय र राष्ट्रिय गौरवका दुवै पर्छन् । शिक्षाको क्षेत्रमा पनि धेरै काम गर्नुछ । पूर्वाधार बनेका छन्, अब गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नुछ । एउटा अस्पताल जीर्ण थियो । दमक अस्पताल समुदायले गर्व गर्न सक्ने खालको बन्दै छ । यसको व्यवस्थापनको एजेन्डा छ ।

सरकारको बिमा कार्यक्रम सफल बनाउने योजना छ । छात्रालाई छात्रवृत्ति दिएर उच्च शिक्षा दिने वातावरण बनाउँछौँ । लोकसेवा तयारी कक्षा अब बेसिकबाट एड्भान्स बनाउने । प्रदेशस्तरीय दमक बाल अस्पताल सञ्चालन गर्ने योजना पनि छ । पेन प्लस प्रोग्राम पनि लन्च गर्छौँ । स्क्रिनिङ भएका बिरामीलाई सामुदायिक अस्पतालबाट धरान रेफर गर्ने कार्यक्रम हो यो । सीटीस्क्यान र एमआरआई सरकारी अस्पतालमै होस् भन्ने योजना हो । बिर्तामोड, धरान वा विराटनगर जान नपरोस् ।

नमुना बस्तीतर्फ २०० घर बनाउने योजना छ । मावा र रतुवा तटबन्धन गर्दा निस्कने जग्गामा बस्ती निर्माणको योजना छ ।

विदेशबाट फर्किएका युवालाई उद्यमसँग जोड्ने, महिला भलिबल, गोल्डकप फुटबल सञ्चालन गर्नेछौँ । युवा स्वरोजगार कोषमार्फत तालिम दिएर उद्यमशीलता विकास गर्ने कार्यक्रम पनि छ । भ्यु टावरवरिपरि ल्यान्ड पुलिङ गरेर त्यहाँ छुट्टै सहर बनाउँछौँ । पार्टीको घोषणापत्रबाहेकका कार्यक्रम पनि हुनेछन् ।

तपाईंप्रति पार्टीमा योगदान नगरी र नेतृत्वमा नबसी एकैपटक खोजेभन्दा धेरै दिएको वा प्राप्त गरेको आरोप छ नि यसबारे के भन्नुहुन्छ ?
म विद्यार्थी जीवनदेखि नै अनेरास्ववियुमा रहेर काम गरेँ । ०४६ सालमा स्नाकोत्तर उत्तीर्ण गरेपछि अनेमसंघमा रहेर काम गरँे । बुुद्धिजीवी तहमा अर्थपूर्ण सहभागिता गरियो । यो सबै कुराले म पुरान र पार्टीमा बसेर काम गरको छु भन्नेहरूजत्तिकै योगदान दिएर आएकी हुँ भन्ने लाग्छ । महिलाले गर्न नसक्ने भन्ने के छ र ?

बितेको कार्यकालमा के–के गर्नुभयो ?
अबको पाँच वर्षमा देखिन्छ । हामीले पाँच वर्ष काम गर्दा दिएको भिजनबाटै कतिपय योजनालाई पूर्वप्रधानमन्त्रीले समेत सहयोग गर्नुभएको छ । बजेट विनियोजन भयो । काम पनि सुरु भए । अब बिजनेस प्लान बनाएर काम गर्नुपर्छ । सभाहल प्रदेशभरको लागि बन्ने हो । सबै कार्यक्रमलाई यहाँ आकर्षण गर्न सकिन्छ । नगर विकास कोषले समेत यसमा चासो दिएको छ । बजार कसरी बढाउने भन्ने छ । मेरो विषय नै अर्थशास्त्र भएकोले बजार र मागबारे म जानकार छु । अहिले ओझेलमा परेको जस्तो देखिएको मात्र हो, तर कोभिडले रोकियो अब पूरा हुन्छ । कोभिडले अवसर पनि दियो । अस्पताल बनाएर चलायौँ । आम नगरिकले हामीसँग स्थानीय सरकार साथै रहेछ भन्ने जनताले महसुस गरे । अब पनि गर्ने त्यही हो ।

मुस्लिम महिलालाई तालिम दिएर टेलरिङ व्यवसायमा संलग्न गराएका छौँ । जबकि, यो समुदायका महिला बाहिरै आउने चाहँदैनन् । सार्वजनिक विद्यालयको पूर्वाधार सुधारका धेरै काम भएका छन् ।

गठबन्धनले तपाईंलाई टक्कर दिँदै छ, तयारी र जितका कआधार के छन् ?
मैले यसलाई सामान्य रूपमा लिएको छु । मैले हिजो उपप्रमुख हुँदा गरेको कामको मूल्यांकन दमकवासीले गर्नुभएको छ । कोभिडका बेला गरेको काम । विकास निर्माण, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरेको काम देख्नुभएको छ । मलाई विश्वास गर्नुभएको छ । सडक मानवरहित बनाउन गरेका काम, ज्येष्ठ नागरिकका लागि धेरै काम भएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्