
विराटनगर । वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त छन् । स्थानीय पालिकाहरुमा उठेका प्रमुख तथा उपप्रमुख पदका उमेदवार केन्द्रीय नेतालाई साथै लिएर मतदातासँगको घरदैलोमा सक्रिय बनेका छन् ।
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइरालाले चुनावी घरदैलो अभियान सुरु गरिसकेका छन् । कोइराला भन्छन्, “मतदातासँग भेटघाट गर्न घरदैलो कार्यक्रमलाई गति दिएको छु । मैले पार्टीका केन्द्रीय तहका नेताहरुलाई साथै लिएर हिँडिरहेको छु ।” उनले जिल्लामा उपलब्ध केन्द्रीय नेताले आफ्नो चुनावी अभियानमा साथ दिएको सुनाए ।
विराटनगर महानगरपालिकाको वडा नं. १, ३, ४, ५ र १२ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् ।
कोइरालाको पक्षमा जनमत सिर्जना गर्न खटिएका आचार्यले स्थानीय तहको निर्वाचनले देशभर निकै राम्रो माहोल बनेको र सर्वसाधारण मत हाल्ने दिन कुरेर बसेको बताए ।
कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उमेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास हुने विश्वास व्यक्त बताए ।
विराटनगर महागनरपालिकामा नेकपा एमालेबाट मेयर पदका उमेदवार सागर थापालाई पनि केन्द्रीय नेताले हैसेमा होस्टे मिलाएर चुनावी अभियानमा मद्दत गरिरहेका छन् । थापासँग केन्द्रीय नेताहरु लालबाबु पण्डित, विनोद ढकाल, जीवन घिमिरे र स्थायी समिति सदस्य गुरु बराल थापासँगै चुनावी अभियानमा सक्रिय बनेका छन् ।
थापा भन्छन्, “जिल्लामा उपलब्ध केन्द्रीय नेताहरुले मलाई चुनावी अभियानमा सघाई रहनु भएको छ । म साथै हिँडेर घरदैलो गरिरहनु भएको छ ।” एमाले केन्द्रीय सदस्य विनोद ढकालले विराटनगरमा चुनावी अभियानमा आफूहरु मतदाताको घरघरै पुगिरहेको सुनाए ।
धरानमा एमालेबाट मेयरकी उमेदवार मञ्जु भण्डारीको चुनावी कार्यक्रममा पार्टीका केन्द्रीय नेता योगेश भट्टराई सहभागी भएका छन् । गृहजिल्ला ताप्लेजुङबाथ फर्कने क्रममा धरान पुगेका उनले भण्डारीको घरदैलोमा सहभागी भएको बताउँदै भने, “धरानमा जारी पार्टीको चुनावी कार्यक्रम निकै उत्साहप्रद रहेको छ ।” भट्टराई अब काठमाडौंबाट फर्किएर गृहजिल्ला ताप्लेजुङमा चुनावभर खटिने बताए ।