site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोरङमा पाँच स्थानीय तहका प्रमुख र तीन उपप्रमुख दोहोरिने दाउमा

विराटनगर । वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मोरङका १७ मध्ये पाँच स्थानीय तहका प्रमुखहरू पुनः उमेदवार बनेका छन् । 

दोहोरिनेमा कांग्रेसका दुई प्रमुख, एकजना अध्यक्ष र एक उपाध्यक्ष छन् । एमालेका एक अध्यक्ष दोहोरिएका छन् । एक जना उपप्रमुखले प्रमुखमा टिकट पाएकी छन् भने दुई उपप्रमुख दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । माओवादी केन्द्रबाट जितेका एक जना प्रमुख यो पटक पार्टी परिवर्तन गरी एमालेबाट प्रमुखमा उठेका छन् । 

०७४ को स्थानीय तहको निर्वाचन जितेका उनीहरूले फेरि दोहोरिने मौका पाएका हुन् ।

Argakhachi Cement Island Ad

सुन्दरहरैँचा नगरपालिकामा शिवप्रसाद ढकाल, उर्लाबारी नगरपालिकामा खड्ग फागो र केराबारी गाउँपालिकामा रोहित कार्कीले दोस्रो कार्यकालका लागि सोमबार मनोनयन दर्ता गराए ।

सुन्दरहरैँचामा दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका ढकाल आफूले फेरि उठ्ने चाहना गरेपछि पार्टीले अवसर दिएको बताउँछन् । “पहिलो कार्यकालमा स्थानीय सरकार सञ्चालनको क्रममा धेरै राम्रा काम सुरु गरेको छु । कतिपय काम पूरा भएका छन् केही बाँकी छन्,” ढकालले भने, “मैले बाँकी अधुरा काम पूरा गर्न फेरि एकपटक अवसर दिन पार्टीसँग आग्रह गरेँ । मलाई टिकट मिल्यो ।”

अब निर्वाचित भएर आए आफूले थालेका दिघर्कालीन महत्वका सबै योजनाहरू पूरा गर्ने लक्ष्य रहेको उनी बताउँछन् ।

ढकालले २०७४ को निर्वाचनमा एमालेका उमेदवारलाई पराजित गरेका थिए । उनले १६ हजार ८२२ मत प्राप्त गरी विजयी भएका थिए । एमालेका केदारप्रसाद गुरागाईंले १५ हजार ८५४ मत प्राप्त गरेका थिए । 

उर्लाबारी नगरपालिकामा दोहोरिएर मेयरमा उठेका नेपाली कांग्रेसबाट मेयरका उमेदवार खड्ग फागोले आफ्नो नेतृत्वमा आर्थिक र सामाजिक विकासका क्षेत्रमा राम्रा काम सुरुवात भएको दाबी गरे ।

“स्थानीय सरकारमा बसेर कार्य गर्दा पछिल्ला दुई वर्ष कोरोना महामारीले प्रभावित गर्‍यो । कतिपय जनताल दिएको म्यान्डेटअनुसार काम गर्न थाती रहे । अब यो पटक जितेर आई तिनलाई पूरा गर्नुछ ।”

फागो अघिल्लो स्थानीय तहको निर्वाचनमा ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूपालसिंह राईले ८ हजार ५४२ मत प्राप्त गरेका थिए ।

केराबारी गाउँपालिकामा विजयी भएका रोहित कार्कीले पनि दोस्रो कार्यकालको लागि सोमबार मनोनयन गर्दा गराएका छन् । स्थानीयको माग र स्थानीय विकासका आवश्यकता पूरा गर्न पार्टीले दिएको जिम्मेवारीअनुरूप नै आफू दोस्रोपटक पनि अध्यक्षको उमेदवार बन्न पाएको कार्कीको तर्क छ ।

“सुरु गरेका कतिपय काम फेरि पनि मेरै नेतृत्वमा पूरा होस् भन्ने आम जनताको पनि चाहना छ । त्यसैले मैले दोहोर्‍याएर उमेदवारी दिएको हुँ,” कार्कीको जिकिर छ ।

कार्कीले अघिल्लो चुनावमा ५ हजार ४९९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका नविन थापा मगरले ५ हजार २१७ मत प्राप्त गरेका थिए ।

माओवादी केन्द्रबाट मोरङको रंगेली नगरपालिकामा निर्वाचित दिलिप बडगिया पनि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । यसपटक पार्टी माओवादी छाडेर उनी एमालेबाट मेयर पदमा उठेका हुन् । बगडिया भन्छन्, “मैले पार्टी अलग गरे पनि जनसेवा गर्नकै लागि फेरि उमेदवारी दिएको हुँ ।”

बगडियाले अघिल्लो चुनावमा ८ हजार ६८ मत प्राप्त गरी बगडिया विजयी भएका थिए । निकटम प्रतिस्पर्धी कांग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए ।

ग्रामथानका शिवनारायण माझीलाई एमालेले पुनः गाउँपालिकाको अध्यक्षको उमेदवार बनाएको छ । माझी ४ हजार ७२० मत ल्याएर विजयी भएका थिए । निकटम प्रतिस्पर्धी मधेसी जनाधिकार फोरम लोकतान्त्रिक जयप्रकाश गच्छदारले ४ हजार ६६१ मत प्राप्त गरेका थिए । 

यसैगरी एमालेबाटै लेटाङ नगरपालिकामा निर्वाचित भएकी कृष्णकुमारी निरौला र रतुवामाईमा दमयन्ता चुँडाल फेरि दोहोरिएर उपमेयरमा उठेका छन् । यसैगरी बुढीगंगा गाउँपालिमा कांग्रेसबाट अमृता गच्छार दोहोरिएकी छन् ।

गच्छदार भन्छिन्, “पार्टीले स्थानीय आवश्यकताअनुसार मलाई फेरि योग्य सम्झेर टिकट दिएपछि चुनावी मैदानमा उत्रने निर्णय गरें ।”

कानेपोखरी गाउँपालिकामा भने एमालेबाट निर्वाचित उपमेयर राजमती इंगनामलाई पार्टीले मेयर पदमा उठाएको छ । “मैले राम्रो काम गरेको मूल्यांकन गरेरै मेयरमा सिफारिस भएकी हुँ,” उनले भनिन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  २०:०६
प्रतिक्रिया दिनुहोस्