site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मेयरका उमेदवारको प्रतिबद्धता : विराटनगरको साख फर्काउनेदेखि डुबान हटाउनेसम्म

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत सोमबार विराटनगरको मेयर पदमा मनोनयन दर्ता गरेको उमेदवारले विराटनगरमा आमूल परिवर्तन गर्न आफूले पहल लिने प्रतिबद्धता जनाएका छन् । 

कतिपयले मनोनयन दर्ता गराएपछि आफ्ना प्रतिबद्धताबारे संचारकर्मीहरूलाई जानकारी गराएका छन् । यस क्रममा ठूलादेखि साना राजनीतिक दलबाट उमेदवार बनेका नेताले पहिचान गुमाउँदै गएको विराटनगरमा आमूल परिवर्तनको संवाहक आफू नै बन्नेसम्मको दाबी गरेका छन् । 

पाँच दलीय गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला उठेका छन् । नेकपा (एमाले)बाट सागर थापाले मनोनयन दर्ता गराएका छन् । यसैगरी राप्रपाबाट प्रह्लाद प्रसाद साह छन् ।

Argakhachi Cement Island Ad

प्रमुख राजनीतिक दलबाहेक साना दल र स्वतन्त्र रूपमासमेत मेयरमा मनोनयन परेको छ । सोमबार झाँक्री र नाचगानसहित मनोनयन दर्तास्थल पुगेका उमेदवारले निकै उत्साहकासाथ विराटनगर बनाउने आफ्ना दिघर्कालीन योजना सुनाए ।

कांग्रेसका उमेदवार नागेश कोइरालाले विराटनगरको सन्दर्भमा आफूसँग पाँचवटा प्राथमिकताको क्षेत्र रहेको बताए । “विराटनगरवासीले चाहेको विकास गर्ने मेरो योजना छ, जनअपेक्षाअनुसार नै म अघि बढ्ने हो,” कोइरालाले भने, “अब विराटनगरवासी सन्तुष्ट भएको हेर्ने चाहना छ ।”

सरसफाई, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास र करको दायरा बढाउने तर कर घटाउने आफ्नो योजना उनले सुनाए । अनियमिततामा शून्य सहनशीलता राख्ने आफ्नो अर्को योजना रहेको पनि कोइरालाले बताए । 

विराटनगरलाई अत्यन्तै रमणीय, पर्यटकीय र सुन्दर सहरको रुपमा विकास गर्ने योनजा आफूसँग भएको राप्रपाका उमेदवार प्रल्हाद प्रसाद साहले बताए । उनले भने, “विराटनगरलाई न्यून करयुक्ति सहर बनाउने योजना छ । बाहिरबाट आएका मानिसले राम्रो विराटनगरमा आइएछ भन्ने महसुस गराउन चाहन्छु । भ्रष्टाचारमुक्त सहर बनाउने मेरो अर्को कार्ययोजना छ ।”

साहले विगतमा विराटनगरले प्राप्त गरेको ऐतिहासिक वैभव गुम्दै गएकोले त्यसलाई पुनर्जीवित गर्न आफूले काम गर्ने साहले सुनाए ।

मेयर पदमा उमेदवारी दिएका एमालेका उमेदवार सागर थापाले जनताको विश्वास कायम गर्ने र गुम्न नदिने अठोट गर्दै महानगरपालिकाको डुबानको समस्या सामधान गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मसँग विराटनगरलाई शैक्षिक हब बनाउने, मेडिकल हब बनाउने र सुकुम्वासी समस्या सामधान गर्ने योजना छ । प्रदेश राजधानीलाई राजधानी भन्न मिल्न लायकको संरचना निर्माण गर्नेछु ।” 

स्वतन्त्र उमेदवारहरूले पनि विराटनगर बनाउने आफूहरूसँग प्रशस्तै योजना रहेको सुनाएका छन् । जसपा त्यागेर स्वतन्त्र उमेदवारी दिएका उमेश यादवले विराटनगरको दक्षिणी भेगको विकास जुन गतिमा हुनुपर्ने त्यो हुन नसकेकोले त्यसक्षेत्रमा आफूले काम गर्ने बताए ।

“उत्तरको तुलनामा दक्षिण निकै हेपिएको मलाई महसुस भएको छ । म यो क्षेत्र विकास गर्न अघि बढ्ने छु,” उनले भने । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २१:००
प्रतिक्रिया दिनुहोस्