
इटहरी (सुनसरी) । नेकपा (एस) गठन भएपछि पार्टीका केन्द्रीय अध्यक्ष माधव नेपाल सात पटक इटहरी आइसके । नेकपा एमालेबाट अलग भई नयाँ पार्टीको नेतृत्व लिएसँगै सुनसरीको इटहरी आउने क्रम एकाएक बाक्लिएको हो ।
प्रदेश–१ को राजधानी विराटनगरमा आयोजना हुने कार्यक्रमहरुलाई थोरै समय दिएर नेपाल प्रायजसो इटहरीतिरै नै जान रुचाउँछन् । कार्यकर्ताको सामान्य आमन्त्रणमा समेत आउन इन्कार नगर्ने उनले इटहरीलाई निक्कै महत्व दिएको सहजै बुझ्न सकिन्छ ।
भ्रमणको श्रृंखला गत कात्तिक महिनामा चतराधाममा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उदघाटनबाट सुरु भएको थियो । त्यतिबेला इटहरीका मेयर द्वारिकलाल चौधरीको निवास पुगेर नेपालले खाना खाएको विषयले एमाले वृत्तमा खैलाबैला भएको थियो । कतिले ‘चौधरी नेकपा (एस)मा जान लागे’ भन्नेसम्मका प्रचार गरेका थिए । मंसिरमा दुई पटक इटहरी आएका नेपाल कार्यकर्ता प्रशिक्षणमा सहभागी भए । लबिपुरमा अस्पताल उदघाटन गरे । पुसमा फेरि आए ।
एमालेमा हुँदा पार्टी सचिव नेता भीम आचार्यले नेपाल समूहको नेतृत्व हाँकेका थिए । उनकै जिम्मामा पार्टी संगठन थियो । सांगठनिक हिसाबले पार्टीमा नेपाल समूहको दह्रो उपस्थिति थियो । उनैसँग कार्यकर्ता जोडिएका थिए । तर, आचार्य एमालेमै रहेपछि नेपाललाई प्रदेश–१ मा बिरासत जोगाउन कठिन भयो ।
“त्यो भएर पनि पार्टीले अलि बढी ध्यान दिएको हो । अध्यक्ष आफैं बारम्बार संगठन गर्न आउनु परेको हो,” नेकपा (एस) का प्रदेश–१ सदस्य ओसिम आलमले भने, “अहिले राम्रो भएको छ । चुनाव जित्नु वा हार्नु एउटा कुरा होला तर शून्यबाट उठेर अहिले राम्रो अवस्था भएको हो ।” एसमा राष्ट्रिय खेलकुद परिषदका पूर्वसचिव केशवकुमार विष्ट र पुराना नेता धर्म निरौलाले नेता नेपाललाई साथ दिएपछि सहज भएको आलम बताउँछन् ।
नेपालले गठबन्धनको बलमा बिष्टलाई नै आफ्नो पार्टीका तर्फबाट मेयरमा अघि बढाउने रणनीतिसाथ इटहरीलाई महत्व दिएको गठबन्धन दलका नेताको पनि बुझाइ छ । अहिले केन्द्रीय तहमा सत्तासाझेदार दलबीचको बैठकमा नेकपा (एस) ले इटहरी उपमहानगरको मेयरमा दाबी प्रस्तुत गरिसकेको छ । मेयरमा सिफारिस भएका नेता बिष्ट भन्छन्, “इटहरी हाम्रो बटमलाइन हो । यहाँ हामीले नै दाबी गरेका हौं । निर्णय माथिबाटै हुने हो । हाम्रो पार्टीले केन्द्रकै बैठकमा पनि ११ वटा उपमहागनरमध्ये इटहरी चाहिन्छ भनिसकेको छ ।”
बिष्टले केन्द्रीयस्तरको समयन्त्रमा इटहरीको विषयमा छलफल भइरहेको र आजभोलि नै टुंगो लाग्ने सम्भावना रहेको सुनाए ।
जिल्लास्तरको गठबन्धनमा भने नेकपा (एसले) इटहरीमा सातवटा वडा दाबी गरेको छ । अघिल्लो चुनावमा १२ वटा वडामा कांग्रेसले जितेको थियो । बाँकी ८ वडामा भागबन्डा हुन सक्ने र मिलेर जाने भन्नेमा असहमति नरहेको बताइन्छ । झिनो मतान्तरले मात्र मेयरमा पराजित भएको नेपाली कांग्रेसले आफ्नो दाबी मेयरबाट छाडेको छैन । पाँच दलीय गठबन्धनको छलफलमा समेत वडास्तरमा मात्र भागबन्डा हुन सक्ने कांग्रेसका नेताले अडान राख्दै आएका छन् ।
मेयरमा सिफारिस भएका कांग्रेस इटहरी उपमहानगर समिति सभापति हेमकर्ण पौडेल भन्छन्, “गठबन्धनको विषयमा स्थानीय परिवेश, परिस्थिति र आवश्यकतालाई महत्व दिने भन्ने हाम्रो पार्टीको प्रस्ट नीति छ । हामीले तलबाट इटहरीको परिवेश र पार्टीको सुधार भएको अवस्था, जित्ने आधार आदि धेरै कुरा प्रदेश अनि केन्द्रलाई जानकारी गराइसकेका छौं ।” नेकपा एसले मेयरमा दाबी गरेको विषयलाई पौडेलले अहिले सत्तासाझेदार दल भएको हिसाबले दाबी गर्नु एउटा कुरा र निर्णय भएर आउनु अर्को विषय भएको बताए ।
गठजोड र फेरिएको मत आधार
नेपाली कांग्रेसले इटहरीको मेयरमा ११ र उपमेयरमा सात जनाको नाम सिफारिस गरेको छ । मेयरमा टिकट पाउन हेमकर्ण पौडेल, रोहित प्रसाईं, भीम पौडेल र कल्पना चौधरीबीच नै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । कांग्रेसले आकांक्षा राख्ने सबैको नाम सिफारिस गरेको छ ।
२०७४ को चुनावमा ७० हजार मतदाता रहेको इटहरीमा अहिले त्यो संख्या १ लाख ४ हजार पुगेको छ । फेरिएको मतदाता संख्या र नेताको दल अदली बदलीले इटहरीको चुनावलाई झन् रोचक बनाउने राजनीतिक वृत्तमा समेत चर्चा छ । यसपालि राप्रपा एमाले सँगै हुँदा उसको थप तीन हजार मत समिश्रण हुन सक्छ । एमालेको मत नेकपा (एस) का रुपमा बाँडिए गठबन्धनलाई नै फाइदा पुग्न सक्छ । तर, गठबन्धन दल र एमालेबीच नै इटहरीमा ‘नेक टु नेक’ प्रतिस्पर्धा हुने देखिएको कांग्रेस सभापति पौडेल बताउँछन् ।
एमालेले पनि राप्रपासहितका दललाई साथै लिएर अघि बढ्ने रणनीति बनाएको छ । अघिल्लो चुनावमा उसले २२ हजार मत ल्याउँदा कांग्रेसले १९ हजार र राप्रपाले ४ हजार ४०० मत प्राप्त गरेको थियो । माओवादीले ३ हजार ३०० र फोरम लोकतान्त्रिकले १ हजार ७०० मत प्राप्त गरे । तर, यो पटक विभिन्न दलका नेताको अदलीबदलीले पनि राजनीतिक गठजोडमा फरक पर्ने देखिएको छ ।
इटहरीका पत्रकार चेतन धमला चुनावी तालमेल र गठजोडबारे विश्लेषण गर्दै भन्छन्, “चुनावमा प्रभाव पार्न सक्ने प्रमुख राजनीतिक दलका नेताहरुको दल अदलीबदलीले मतको लहरमा समेत फरक आउने देखिन्छ । पहिले एउटा पार्टीमा हुँदा मतदातालाई प्रभावित गर्न सक्नेहरु अहिले अर्को पार्टीतिर लागेको देखिन्छ ।” एमालेले राप्रपासहितका साना दलसँग एमालेको गठजोडले समेत इटहरीमा दलहरुबीचको शक्तिसन्तुलन फेरिन सक्ने देखिएको उनले बताए ।
अघिल्लो पटक फोरम लोकतान्त्रिकबाट मेयरमा उठेका अरुण चौधरी यो पटक एमालेमा गएका छन् । उनी वडा नम्बर ८ को वडाअध्यक्ष उठ्दैछन् । कांग्रेसबाट टिकट नपाएपछि एमाले रोजेको हुन् । विगतमा राप्रपाबाट मेयरका उमेदवार रोहितबहादुर कार्की, माओवादीबाट उपमेयर उठेका सागर सुवेदी र संघीय निर्वाचन क्षेत्र नम्बर २ का सांसदका उमेदवार माओवादीका डम्बर सुवेदी एमालेमै गएका छन् ।
अहिलेको परिस्थितिमा समाजवादीले एमालेको एक हजारदेखि १५ सय जति मत क्षति गर्न सक्ने इटहरीमा अड्कल गरिँदै छ । माओवादी र एस जोडिँदा तीन हजारदेखि ३५ सय मत गठबन्धनमा आउने कांग्रेस नेतृत्वको अड्कल छ । मतको फेरिएको लहर र थपिएका नयाँ मतदाताको मनोवृत्ति पूर्ण रुपमा नबुझी मेयरमा नाम सिफारिस गर्दाको परिस्थितिले एमालेलाई नै फाइदा हुनसक्नेसमेत खतरा भएको धमलाको भनाइ छ ।
एमालेमा दल बदलको फाइदा र विवादको घनचक्कर
०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित मेयर द्वारिकलाल चौधरीको ‘स्वभावजन्य समस्या’ र उपमेयर लक्ष्मी गौतमसँगको विवादलाई यो पटकको निर्वाचनमा विभिन्न कोणबाट विश्लेषण गरिँदै छ । पार्टीभित्रको खेमागत समस्या अनि विवादलाई सतही रुपमा मिलेको भनि व्याख्या हुँदै गर्दा त्यसैलाई भजाएर वहुमत ल्याउने दाउमा गठबन्धन दल देखिएका छन् । एकताका असन्तुष्ट रामप्रसाद चौलागाईं, सुनसरी अध्यक्ष रेवती भण्डारी र चौधरीबीचको आपसी विवाद उत्कर्षमा पुगेको थियो ।
चुनावी माहोल तात्तिदै जाँदा समूहगत रुपमै पहल गरेर आफू निकटका उमेदवार बनाउने रणनीतिमा एमालेका नेताहरु पनि देखिएका छन् । “इटहरीमा फाटेको एमालेजनको मन मिलाउन अझै कठिन देखिएको र यसले चुनावमा अर्थ राख्ने” एकथरी एमाले कार्यकर्ताहरु बताइरहेका छन् । चुनावी माहोल सुरु भएकोभन्दै इटहरीका मेयर तथा आकांक्षी द्वारिकलाल चौधरीले “आफू टेलिफोनमा सबै कुरा गर्न नसक्ने,” बताए ।
एमालेको इटहरी उमहानगर कमिटीले मेयरमा सात जानको नाम सिफारिस गरेको छ । जसमा वर्तमान मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, पार्टी केन्द्रीय सदस्य तैयव हुसेन, उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईं, पूर्वअध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरी छन् । उपमेयरमा नौ जनाको नाम सिफारिस भएको छ ।
मेयर द्वारिकलाल चौधरीले टिकट पाए एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी र उनको समूहले के गर्छ ? लक्ष्मी गौतम वा अरु उमेदवार आए द्वारिकलालको पकड रहेको थारु बाहुल्य मत कता जान्छ भन्ने अन्योल देखिन्छ ।