site stats
बाह्रखरी :: Baahrakhari
देश
मायालुको यादमा महाराज थानमा फूलघोडा समर्पण

विराटनगर ।  ठूलो तलाउकाे चारैतिर घोडैघोडा देखिन्छन् । तिनको संख्या गनि साध्य छैन ।  गुलाबी रंगले रंग्याइएका घोडा सुन्दर देखिन्छन् ।  तलाउको पानी नजिकै  एकलहरले राखिएका घोडालाई मानिस ढोग्दै अघि बढिरहेका छन् । कतिपय आँखा चिम्लिएर नमन गर्छन् । कोहीकोही हुई हात जोडेर नमस्कार गर्दै प्रार्थना गर्छन् । 

नयाँ पुस्ताका युवायुवती सुनवर्षीमा मायालुको मिलन र नयाँ सम्बन्धको लागि पनि पुग्छन् । कतिले त्यहीँ वाचाकसम खाएर सम्बन्ध शुरू गर्छन् । "मेरो माया विदेशमा छन्, उनी चाँडै फर्केर आउन् ।  काम राम्रो होस् भन्दै प्रगतिको कामना गर्दै फूलघोडा चढाउन आएकी हुँ," महाराज थानमा फूलघोडा चढाउन पुगेकी मोरङ रंगेलीकी फूलवतीदेवी राजवंशीले भनिन् । 

यो पटक मोरङको सुनवर्षीमा अवस्थित महाराज थान पुग्दा मानिसहरूको थेगिनसक्नु घुइँचो थियो । कोरोना महामारी अलि थामिएकाले धेरै मानिस महाराज थानसम्म पुगे । अघिल्ला दुई वर्ष कोरोनाका कारण थान सुनसान प्राय: थियो ।  "सिरुवा पर्वको बेला योपल्ट टाढा-टाढा बाट मान्छेहरू आए,"  स्थानीय स्थानीय बलराम मालीले सुनाए । 

Argakhachi Cement Island Ad

नयाँ वर्ष लागेसँगै तराई-मधेशका ग्रामथान (धार्मिक पूजास्थल)मा मेलाको आयोजना हुन थालेका छन् सुनवर्षीको महाराज थान पनि आदिवासी समुदायको धार्मिक स्थल हो । त्यहाँको महत्व  ताजपुरिया, गनगाई,  राजवंशी, थारुलगायत समुदायको आस्था जोडिएको छ । 

"वैशाख महिनाभर तराईका यस्ता धार्मिक स्थलहरूमा मेला लाग्ने गर्दछ", माली भन्छन्, "महाराज थान र ग्रामथानमा घोडा चढाउने चलन परापूर्वकालदेखि चलेको हो ।  घोडा कलात्मक ढंगले कागजबाट बनाइन्छ ।"  थानहरुमा गई स्थानीयले  आफ्ना कूलदेवताको पूजा अर्चना गर्छन् ।  फूलघोडा अनिवार्य चाहिन्छ । यसबाट मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । 

स्थानीय भाषामा  कुँडेल भन्ने फूलबाट फूलघोडा बनाइन्छ । पानीमा झुप्प परेको एउका बिरुवाबाट हागाँ काटेर ल्याइन्छ । अनि घोडा तयार गरिन्छ । भदौ महिनामा हांगा काटेर ल्याइन्छ।  त्यसलाई सुकाएर  रंगरोगन दलेर घोडा तयार गरिन्छ । 

महाराज थानमा घोडा बेच्न भारतबाट समेत व्यापारी आउने गर्छन् । रामलाल माली यो पटक घोडाको बेच्न पारीबाट आए ।  “यो पटक ६ हजार थान घोडा बनाएको थिए। सबै बिक्री भयो,” मालीले सुनाए । 

आदिवासी समुदायमा कूलदेवताको पूजामा थानहरुमा फूलघोडा अनिवार्य छ । परिवारमा रोगब्याधी नलागोस र बाधा  हटोस् भन्ने कामनासाथ घोडाको पूजा गरिन्छ । ग्रामथानहरुमा माटोबाट बनेका हात्तीका मूर्ति पनि चढाउने चलन छ । ग्रामथान स्थापना गरिएका ठाउँमा वैशाख महिनाभर मेला लाग्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १०:१८
प्रतिक्रिया दिनुहोस्