site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको गृहनगरमा राप्रपा ‘फ्याक्टर’ : जसले मेयर दिन्छ उसैसँग तालमेल !
झापाको दमक चोक ।

दमक (झापा) । झापाको दमक नगरपालिकामा स्थानीय चुनावको रापताप निकै बढिसकेको छ । प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता चुनावी कार्यक्रम लिएर वडास्तरसम्म केन्द्रित भएका छन् । वडा भेला, सभा, र्‍याली र घरदैलो कार्यक्रमले गति लिएका छन् । कतिपय कार्यक्रममा केन्द्रीय नेता आउने र सम्बोधन गर्ने क्रम पनि चलिरहेको छ । एउटा पार्टी त्यागेर अर्कोमा जाने अनि आउने क्रम पनि उत्तिकै देखिन्छ ।

दमक पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । 

आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दमकमा ‘भव्य आमसभा’ आमसभा आयोजना गर्‍यो । सभामा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक रूपमै मेयर पदमा राम थापाको नाम प्रस्ताव गरिदिए ।

Argakhachi Cement Island Ad

यद्यपि लिङ्देनले भाषणमार्फत आफ्नो नाम प्रस्ताव गर्दा अस्वीकार गर्ने कुरा नभएको बताउँदै थापाले बाह्रखरीसँग भने, “हुनत मेयर नै हाम्रो कुरा हो । हाम्रो बटमलाइन पनि हो । जसले दिन्छ उहीसँग तालमेल हुने हो । मिलेर जाउँ भनेर हामीलाई कांग्रेस र एमाले दुवैतिरबाट प्रस्ताव आएको छ ।”

राप्रपाले दमकमा निकालेको मोटरसाइकल र्‍याली ।

 

कांग्रेससहितको पाँच दलीय गठबन्धनबाट त 'त्यो तपाईंहरूकै पद हो'सम्मको कुराकानी भइसकेको उनको भनाइ छ । ०७४ को निर्वाचनमा दमकमा राप्रपा मतका आधारमा दोस्रो स्थानमा थियो । दुई वडा बहुमत प्राप्त गरेको थियो । 

राप्रपाले आएका प्रस्तावमाथि छलफल गर्न र अन्य दलसँग वार्ता गर्न समिति बनाएको छ । समितिमा हेम सुवेदी, राम थापा, विजय बराल, ईशु दाहाल र भीम पौडेल छन् । राप्रपाले आफूहरूले मेयरसहित पहिले जितेका दुई वडा र अरू के के लिने भन्ने प्रष्ट भएपछि मात्र छलफल अघि बढाउने तयारी गरिरहेको छ ।

“एमालेसँग पनि हाम्रा कुराहरू राखेका छौँ । उहाँहरूको पनि छलफल हुँदैछ । पहिलो मेयर नै हो । जितेका वडालाई कायम राखेर अरू कति लिन सकिन्छ । एक दुई दिनभित्रै टुंगोमा पुग्छौँ,” थापाले सुनाए । 

राप्रपा कार्यकर्ताहरूको बुझाइमा अहिले धेरै सर्वसाधारणको नैतिक समर्थन पार्टीलाई छ । राजेन्द्र लिङ्देनको क्रेज राम्रो छ । लहर मात्र होइन परिणाम पनि खोज्ने रणनीतिमा पार्टी लागेको छ ।

थापा भन्छन्, “चुनौती पनि छ, पूर्वप्रधानमन्त्रीको गाउँ भएकाले पनि सोचे जस्तो सजिलो छैन । हाम्रो पार्टीभित्र त केही समस्या छैन । एमालेको तर्फबाट केही ‘गेम प्ले’ भएको बुझिएको छ ।”

थापाको व्यक्तित्व राम्रो भएपनि राप्रपाको ‘ग्राभिटी’ ठिकैको भन्ने एमाले र कांग्रेसको बुझाइ रहेको त्यसैले पनि दुवै पार्टीले आ–आफ्नो रणनीति कायम छ । कांग्रेस राप्रपा फकाउने र एमाले चाहिँ गलाउने रणनीतिमा लागेका छन् ।

कांग्रेसको फकाउने रणनीति
एमाले र राप्रपा वडास्तरसम्म नै मिलेर जानसक्ने कांग्रेसको ठहर छ । राप्रपा एकै खेमामा रहेर पनि तालमेलको विषयमा कांग्रेस र एमाले दुवैतिर छलफल गरिरहेको छ । नेपाली कांग्रेसका दमक नगर सभापति प्रकास प्रसाईं भन्छन्, “एमालेसँग सुरक्षित छैनौँ भन्ने भए हामीसँग आउने र गठबन्धनमा सुरक्षित नभए उता जाने भन्ने राप्रपाको राणनीति छ । यो कुरा हामीले पनि बुझेका छौँ । तर, राप्रपाको राष्ट्रियस्तरको माहोलले दमकमा पनि काम गरेको हुनसक्ने अड्कल गरेका छौँ । गठबन्धनका दलहरू तलमेल गरेर जाने र स्थानीय आवश्यकता हेररै अघि बढ्ने नै भन्ने छ ।”

नगरदेखि माथि पनि नेतृत्व भएको, सबैको चाहना बुझ्ने अनि सबैको सरसल्लाह लिएर कांग्रेसले निर्णय लिने प्रसाईंले बताए ।

राप्रपालाई अहिल्यै मेयर दियो भने भिन्न परिस्थिति बन्न सक्नेमा गठबन्धन दल सचेत रहेको र पदीय हिसाबले कोहीसँग कुराकानी नभएको कांग्रेसका एक नेताले बताए ।

“एमालेबाहेकका दलसँग सहमति जुटाएर अघि बढौँ भन्ने हो । कांग्रेसको नेतृत्वमा नै चुनावमा जाने भन्ने पनि छ । मेयर पाउँदै गर्दा एक वा दुईवटा वडा दिने भन्ने कुरा पनि हुन सक्छन् । तर, यहाँ त कांग्रेसलाई मजबुत बनाउन पनि यो कुरा अहिल्यै गरिनु हुँदैन,” उनले भने ।

राप्रपालाई अहिले नै मेयर भनेर दिनु उपयुक्त हो कि होइन भन्ने छलफल हुनुपर्ने र मनोनयन वैशाख ११ र १२ गते भएकाले पनि छलफल गर्ने धेरै समय भएको ती नेताले बताए । 

चुनावी तयारीबारे छलफल गर्दै कांग्रेसका नेता कार्यकर्ता ।

 

गठबन्धन पाँच दलबाट एउटा सहमति भएपछि मात्र अरू दलसँग कुरा अघि बढाउनु पर्ने कांग्रेसलाई तलबाट सुझाव आएको छ । सभापति प्रसाईंको भनाइअनुसार अहिले दमकमा सिंगो राप्रपा जस्तो देखिएको भएपनि त्यहाँ पनि खटपट छ । राप्रपा नेपालमा बासुदेव भट्टराई मात्र खुलेका छन् । वडा नम्बर ७ का वडाअध्यक्ष भीम पौडेलको एमालेसँग आफ्नै ‘डिलिङ’ छ । मेयर पद लिने गरी राप्रपा एकै खेमा रहे वा नरहने पनि तालमेलको विषयमा कांग्रेस र एमाले दुवैतिर छलफल गरिरहेको छ । 

अघिल्लो स्थानीय चुनावको आँकडाले राप्रपा दमकमा दोस्रो स्थानमा रह्यो । तेस्रो माओवादी र चौथोमा कांग्रेस । कांग्रेसको बुझाइमा वडामा हेर्ने हो भने कांग्रेस दोस्रो स्थानमा छ । सभापति प्रसाईं भन्छन्, “वडाअध्यक्षको मत मात्र हेर्ने हो भने ६ हजार ९ सय मत ल्याएका छौँ । एमालेले वडामा १० हजार ५७ मत प्राप्त गरेको छ । राप्रपाको ४ हजार ४ सयभन्दा बढी मत छ । तर, सरसर्ती हेर्दा त प्रमुख पदलाई नै हेरिने भयो नि । एमालेपछि उपमेयरमा हामी दोस्रो छौँ । कतिपय वडामा निकटतम प्रतिद्वन्द्वी छौँ । तर दोस्रो पोजिसन देखाउन पनि तालमेल गरेरै जानुपर्ने अवस्था छ । नत्र कांग्रेसको केन्द्रीय समितिले गठबन्धन दल तालमेल गरेर जाने भनेर किन निर्णय गर्नुपर्‍यो ?” 

कांग्रेसका स्थानीय कार्यकर्ताहरूकाअनुसार राप्रपासँग तालमेल नभई गठबन्धन दलबाट जानु परे कांग्रेसबाट मेयरमा सभापति प्रसाईंलाई बढी बलियो मानिएको छ । विद्यार्थी राजनीतिबाट उठेको जग, दमक उद्योग वाणिज्य संघमा गरेको सफल नेतृत्व र सामाजिक काममा दिनरात खट्ने स्वभाव उनका सकारात्मक पक्षहरू हुन् । युवा नेता हुनुको अर्को पक्षले पनि उनलाई साथ दिएको मानिन्छ ।

मेयर पदमा कांग्रेसबाट प्रसाईंबाहेक क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, घनेन्द्र योङ्या, देवी दाहाल, गोकुल श्रेष्ठ र रवि केसीले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । 

एमालेको गलाउने रणनीति
एकथरी कार्यकर्ता ओलीको गृहनगरमा जसरी पनि एमालेलाई हराउनुपर्छ भन्ने गठबन्धनको तयारीलाई परास्त गर्न पनि राप्रपासँग तालमेल हुनुपर्छ भन्ने पक्षमा छन् । तर अर्कोथरी पार्टीकै जनाधार राम्रो भएको ठाउँमा अन्यलाई मुख्य पद दिन नसकिने  बताइरहेका छन् ।

एमाले दमक नगर अध्यक्ष गेहनाथ पोखरेलको भनाइमा “एमालेबाहेकका अन्य दलबीच गठबन्धन हुँदा सबै एकातिर एमाले एक्लै भन्ने कार्यकर्तामा ‘सेन्टिमेन्टल’ समस्या होला कि” भन्ने मात्र एमालेमा चिन्ता रहेको छ ।

“खासगरी हामीले गठबन्धन भनेर त्यस्तो निर्णय गरेका छैनौँ । नगर्ने भन्ने पनि छैन । साना दलसँग कुराकानी भइरहेको छ । राप्रपा एक ढंगले व्यक्तिवादी संस्था जस्तो चलेको देखिन्छ । त्यस्तो धेरै राम्रो जनमत देखिँदैन । राम थापा मेयरको आकांक्षी हुन् । अरूले मेयर दिँदादिँदै उपमेयर लिन उनी हामीसँग आउने सम्भावना देख्दैनौँ,” पोखरेलले भने,“राप्रपाभित्र पनि विभाजन रहेकाले मिलैरै जाँदा पनि एमालेलाई कति फाइदा हुन्छ भन्ने वस्तुस्थिति हेर्ने हो । राप्रापाको अर्को खेमाले पनि उत्तिकै महत्व राख्छ । उनीहरू त हामीसँग उपमेयर दिने भए आउँछौँ भनेर प्रस्ताव गरिरहेका छन् ।”

दमक नगरपालिका वडा नम्बर ५ मा एमाले कार्यालय उद्घाटनमा सहभागी ।

 

एमालेले अरूलाई मेयर दिने अवस्था नरहेको र  हिसाब मिलाएर अघि बढ्नुपर्ने भन्नेमा स्पष्ट रहेको पोखरेलले सुनाए । 

सिंगो शक्ति राप्रपा नआउने भएकाले साना वा टुटेफुटेर आउनेजस्तो देखिएकाले एमाले एक्लै भिड्न पनि अफ्ठेरो नरहेको एमालेको दाबी छ । तर, यो एमालेको राप्रपालाई कमजोर देखाउने रणनीति भएको राप्रपाबाट मेयरका आकांक्षी तथा पार्टीका प्रदेश अध्यक्ष थापा बताउँछन् ।

उनले भने, “हामीमा विभाजन छैन । हामी एक छौँ ।”

राप्रपाको जनमत विगतभन्दा बढेर गएको दाबी थापाको छ ।

एमालेबाट उपमेयरमा निर्वाचित गीता अधिकारीसहित होम थापा र अम्बिका खनाल दमकमा मेयरका प्रमुख दाबेदार मानिएका छन् । खनाल निकै लामो समयदेखि पार्टी राजनीतिमा छन् । उनी सहरीभन्दा ग्रामीण भेगका वडामा बढी लोकप्रिय छन् तर सहरमा पकड कमजोर भएको मानिन्छ । थापा पनि पार्टी राजनीतिमा राम्रै दख्खल राख्ने नेता हुन, तर खनालभन्दा पछिका ।

माथिल्लो कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा एक पदमा तीन आकांक्षीको नाममात्र पठाउने र निर्णय भएर आउने एमाले दमकले जनाएको छ । पार्टी नेतृत्वमा पछिकी भनिए पनि उपमेयर अधिकारीको शालीन स्वभाव, प्राध्यापन पेसाबाट कमाएको सकारात्मक छवि र स्थानीय तहमा रहेर गरेका कतिपय राम्रा कामको जसले अलि बढी लोकप्रिय भएको सर्वसाधारणको बुझाइ छ ।

यहीबीच महिला मेयरको रूपमासमेत उनलाई एमालेले अघि बढाउन सक्ने अडकलहरू दमकमा भइरहेको छ । अधिकारी भन्छिन्, “उपमेयरको रूपमा मैले एक कार्यकाल राम्रोसँग काम गरेको छु । अब मेयरका लागि योग्य छैन भन्ने कुरै भएन । मैले आफूले इच्छा गर्ने एउटा कुरा छ धेरै त पार्टीकै निर्णयमा मेरो उमेदवारी तय हुने कुरा हो ।”

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्