
मोरङ कांग्रेसले विराटनगरमा बिहीबार आयोजना गरेको आमसभामा सहभागी केन्द्रीय नेता ।
विराटनगर । मोरङमा कांग्रेसलाई छाडेर सरकारमा रहेका गठबन्धन दलले चुनावी तालमेल गर्ने तयारी थालेका छन् । यसबारे तीन दलले औपचारिक छलफल नै सुरु गरेका छन् ।
मोरङमा कांग्रेसले चुनावी तालमेल नगर्ने संकेत दिएपछि गठबन्धनमा रहेका दल छुट्टै तयारीमा लागेका हुन् । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर एकका सचिव गणेश उप्रेतीका अनुसार कांग्रेसले विकल्प नदिएका कारण गठबन्धन दलले छुट्टै छलफल सुरु गरिएको हो ।
उप्रेतीले भने,“केन्द्रको रणनीति एकातिर र तल अर्कोतिर हुने गरी कांग्रेस गए हामी पनि लम्पसार पर्ने कुरै हुँदैन ।”
शुक्रबार विराटनगरमा तीनवटै पार्टीका प्रदेशस्तरीय नेताको उपस्थितिमा छलफल भएको छ । तर, यसरी नै अघि बढ्ने भन्ने निर्णय भने भएको छैन । गठबन्धनभित्र मात्र नभई माओवादीले कांग्रेसबाहेक जोसँग पनि तालमेल गर्नसक्ने विकल्प पनि खुला रहेको उप्रेतीले सुनाए ।
“तल्लो तहमा निर्णय गरेर जानसक्ने नेतृत्व लछफलमा बसेका हौं । कांग्रेससंग फेरि एकप पटक छलफल गर्ने तयारी छ,”उप्रेतीले भने ।
छलफलमा नेकपा माओवादी केन्द्रका संघीय सांसद शिवकुमार मण्डल, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मी, माओवादी केन्द्रका र जसपाका जिल्ला अध्यक्षहरु सहभागी थिए । जसपाका केन्द्रीय नेता जयराम यादव पनि छलफलमा थिए ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य महेश रेग्मीले केन्द्रीय तहबाट एक भएर जाने भन्ने तर मोरङमा नै निर्णय नमान्ने अवस्था गर्ने हो भने यसले विश्वास गुम्ने बताए । रेग्मीले भने,“तर, हामी मानेर जानुपर्छ भन्ने पक्षमा छौं । कांग्रेसले नमाने आवश्यकताअनुसार अलग्गै उमेदवार खडा गरेर जाने हो । हामी माथिको सहमतिलाई धोका दिँदैनौ तर उसले छाड्यो भने हामी विकल्प लिएर अघि बढ्छौ ।” मोरङ कांग्रेससँग अझ गहन ढंगले बैठक बस्ने तयारी गरेको र शनिबार अन्तिम निर्णय गरिने रेग्मीले बताए ।
जसपाका नेता तथा विराटनगर महानगरपालिकामा मेयर दाबी गरिरहेका उमेश यादवले कांग्रेस नआए अलग्गै ढंगले जाने तयारीमा रहेको बताउँदै भने, “विराटनगरकै कुरा गर्ने हो भने हाम्रो जनमत राम्रो छ । हामी कांग्रेसबाहेक गठबन्धन बनाएर जान सक्छौं । एक्लै जानु परे पनि जान सक्ने अवस्था छ ।”
नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल हुने भन्ने विषयमा कांग्रेस प्रस्ट भएको बताएका छन् ।
“जितेका र जनमत राम्रो भएका ठाउँहरु छाडेर वा अरुलाई दिएर जाने भन्ने कुरा हुँदैन । ती ठाउँमा कांग्रेसकै उमेदवार खडा हुन्छन् । तर, कांग्रेस हारेका र उसको विगतको त्यहाँ भएको उपस्थितिलाई समेत मध्यनजर गरी तालमेल गर्ने भन्ने कुरा हुन्छ,” उनले भने ।
घिमिरेले स्थानीय रुपमा हुने चुनावी तालमेललगायत विषयमा पार्टीको स्पष्ट धारणा बनाउन जिल्ला कार्यसमितिको बैठक शुक्रबार जारी रहेको जानकारी दिएका छन् । घिमिरेका अनुसार मोरङ कांग्रेसले स्पष्ट निर्णय गरेर फेरि अन्य दलसँग बैठक बस्ने तयारी छ ।
पालिकास्तरमा कांग्रेसका समितिहरुले तालमेलको विषयमा आफैं निर्णय गर्न सुरु गरेका छन् । लेटाङ, सुन्दरहरैंचा र पथरीमा कांग्रेसले गठबन्धन गर्ने निर्णय लिएको छ । तर, विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिका समितिले गठबन्धन नगर्ने निर्णय गरेका छन् ।
अघिल्लो स्थानीय चुनावमा मोरङका १७ मध्ये ९ स्थानीय तहमा कांग्रेस विजयी बनेको थियो । बुढीगंगामा विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरम विजयी भएको थियो । पार्टी कांग्रेसमा मिलेपछि त्योसहित १० तहमा कांग्रेस वहुमतमा छ ।
मोरङमा एक महानगर ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तह छन् । विराटनगर महानगरपालिका, नगरपालिकातर्फ रतुवामाई, लेटाङ, सुनवर्षी, उर्लाबारी र सुन्दरहरैंचामा कांग्रेसले जितेको थियो । यसैगरी गाउँपालिकातर्फ कटहरी, केराबारी र धनपालथानमा विजयी भएको थियो ।
बुढीगंगा गाउँपालिकामा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी बनेको थियो । अहिले त्यो पार्टी कांग्रेसमा मिलिसकेको छ ।
एमालेले बेलबारी र पथरीशनिश्चरे नगरपालिका, मिक्लाजुङ, ग्रामथान र कानेपोखरी गाउँपालिकामा जितेको थियो ।
रंगेली नगरपालिकामा माओवादी केन्द्र विजयी बनेको थियो । जहदामा भने उपेन्द्र यादवको जसपा विजयी भएको थियो ।