site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनप्रतिनिधिका ५ वर्ष : काम देखाउने हतारो, कमजोरी लुकाउने चटारो !
मोरङको जहदा गाउँपालिकाका अध्यक्ष कैलाशकुमार मण्डललाई आफ्ना समस्या सुनाउँदै स्थानीय । 

विराटनगर । मोरङको जहँदा गाउँपालिकाका अध्यक्ष कैलाशकुमार मण्डलको कार्यकक्षमा एक शिक्षकसहति हतारिँदै एक हुल स्थानीय प्रवेश गरे । उनीहरूमध्ये एकजनाको हातमा कागजातको फाइलको ठेली देखिन्थ्यो भने अर्का एकजनाले ज्ञापनपत्र बोकेका थिए । स्थानीयको ठूलो समूह देखेर सद्भाव दर्शाउँदै मण्डलले स्वागत गर्दै सोफासेटतर्फ बस्न इशारा गरे । 

विद्यालयसँग सम्बन्धित समस्या लिएर अध्यक्ष भेट्न पालिका कार्यालय पुगेका उनीहरुमध्ये एकले समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र पढेर अध्यक्षलाई बुझाए । अध्यक्ष मण्डलले काम गरिदिने आश्वासन दिँदै पाँच वर्षमा आफूले गरेका कार्यप्रगति विवरण सुनाउन सुरु गरे ।
 
उपस्थितले मुखामुख गरे तर प्रतिवाद र टिप्पणी गरेनन् । मण्डलले भने, “जनचाहनाअनुसार धेरै काम गरियो । सडक बनाइयो । पुल पुलेसा बने । कोरोनाकालमा पनि शिक्षा क्षेत्रमा राम्रो काम गरियो ।”
 
आफूले गाउँपालिकाको नेतृत्व लिएपछि कति काम गर्न सके पनि कति अधुरै रहेको स्वीकार गरे । मण्डलको कार्यकक्षमा भेटिएका स्थानीय हरिहर रायले जनप्रतिनिधि आएर जनताको चाहनाअनुसार धेरै काम पूरा हुन नसकेको बताए । 

प्रशासनिक भवन र १५ शैयाको अस्पताल आफ्नै कार्यकालमा निर्माण गर्ने चाहना राखे पनि सम्भव नभएको सुनाए । तर, डीपीआर बनाउने र बजेट सुनिश्चित गर्ने काम भने आफूले गरेको दाबी गरे । जहदामा फेरि एकपटक नेतृत्वमा बस्ने चाहन भएको उनले सुनाए । नेतृत्वमा गएपछि ‘भएका कतिपय कमजोरी र विवाद’का विषयमा भने उनी खुल्न चाहेनन् ।

Argakhachi Cement Island Ad

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की हतार–हतार प्रमुख प्रशासकीय अधिकृतको कोठामा पसे । उनीभन्दा पहिल्यै त्यहाँ आएर बसेका थिए, उपभोक्ता समितिका पदाधिकारी । उनी सडक निर्माणको काम सकिँदा पनि भुक्तानी नभएको गुनासो गर्दै थिए । कार्कीले प्राविधिक शाखाका इन्जिनियरदेखि कर्मचारीसम्मलाई प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा बोलाएर भुक्तानी रोकिएको कारणबारे सोधीखोजी गरे । सम्बन्धित फाँटवाला कर्मचारीले कागजात नपुगेकाले भुक्तानी हुन नसकेको सुनाए । इन्जिनियरले पूरा भएको कामको अनुगमन पालिकाबाट हुन बाँकी रहेकाले पनि विलम्ब भएको बताइरहेका थिए । 

“चुनाव आइसक्यो अब पनि जनताको काम रोकिदिने,” कार्की केही झोँक्किए । चाँडै पूरा गर्न र जनतालाई धेरै नझुलाउन निर्देशन दिएर आफ्नो कार्यकक्षतिर लागे । 

“प्रक्रियागत कुरा नमिलेर जनताका कतिपय काम रोकिने गरेको छ । हामीले सकेसम्म विकास निर्माण र जनचाहनालाई बुझैरै काम गरेका छौैँ,” उनले सुनाए । पहिलो कार्यकाल पूरा हुनैलाग्दा स्थानीय तह सञ्चालनको राम्रो अनुभव प्राप्त भएको उनको जिकिर छ ।
 
“हाम्रो पहिलो कार्यकाल थियो । कानुन निर्माण गर्दै र सिक्दै सिकाउँदै अघि बढ्नुपर्ने अवस्था थियो त्यसैले कति काम गर्न सकियो होला कति गर्न सकिएन होला,” उनले भने । अध्यक्ष कार्कीका अनुसार सडक पूर्वाधारदेखि कृषि, सिँचाइ र सामाजिक विकासमा काम गरे पनि कतिपय भने अझै पूरा गर्नुपर्ने अवस्थामा छन् । फेरि एकपटक नेतृत्वमा आएर स्थानीय तह सञ्चालन गर्ने तयारीमा रहेको सुनाउँदै कार्कीले भने, “कमजोरी भएकै छैनन् भन्दिनँ । सुधार गरेर अघि बढ्नुपर्ने धेरै ठाउँ छन् ।”

अहिले जनप्रतिनिधि आफूले स्थानीय तहको नेतृत्त्व गरेर आएपछि सकेका काम देखाउने हतारमा छन् । गर्न नसकेका काम भने कमैले मात्र बताउने गरेका छन् । कतिपयले बाँकी अधुरा काम गर्नका लागि फेरि उमेदवार बन्ने चाहना भएको बताइरहेका छन् । 

मोरङको सुन्दरहरैँचाका मेयर शिवप्रसाद ढकाल जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय तहमा विकासले गति लिएको दाबी गर्छन् । “जनप्रतिनिधि आए पनि पूर्वाधार विकासदेखि स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा धेरै काम भएका छन्,” ढकाल भन्छन्, “हामीले प्रविधिलाई अँगालेर सेवाग्राही र नगरबासीलाई सहज ढंगको सेवा प्रदान गरिरहेका छौँ ।”
    
चुनावमा आकांक्षी बनेर पदमा दोहोरिने चाहना गरेका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष मात्र नभएर वडामा फेरि आउने चाहना भएकाहरूले आफूले गरेका कामसमेत प्रचार÷प्रसार गरिरहेका छन् ।
 
स्थानीय तह निर्वाचन आचारसंहिता सुरु हुनै लागेको छ । अब कतिपय कामको सम्झौता हुने छैनन् । रातो किताबमा उल्लेख भएका र अगाडि बढाइनुपर्ने विकाससँग सम्बन्धित र टिप्पणी उठिसकेका काम अघि बढ्नेछन् । तर, कतिपय भने चुनाव सकिएर नयाँ नेतृत्व नआउन्जेलसम्मका थाँती रहनेछन् । 

विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखाका अधिकृत पुन दाहाल भन्छन्, “अब कतिपय कामको प्रचार प्रसार गर्न आचारसंहिताले रोक लगाउनेछ । हामीले पहिल्यै सम्झौता भएकार आचारसंहिताले नछुने प्रकृतिका काममात्र अघि बढाउने हो ।”
 

 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्