site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
नेपाल व्यवस्थापन संघलाई अन्तर्राष्ट्रिय स्तरको ‘एक्स्पोजर’ दिलाउन सक्छु

नेपाल व्यवस्थापन संघको अध्यक्षमा नबिल बैंकका अध्यक्षसमेत रहेका उपेन्द्र पौडेलले उमेदवारी घोषणा गरेका छन् ।

अहिलेको म्यानेजमेन्टको नयाँ विभिन्न कन्सेप्ट, अहिलेका समस्याहरु, जलवायु परिवर्तनका कुराहरु, बैंकिङलगायतमा अनुभव भएकाले पनि त्यो क्षेत्रमा आफ्नो पहुँच पुग्ने भएकाले उमेदवारी दिएको उनको भनाइ छ । शनिबार हुने निर्वाचनको तयारी, यसको उद्देश्यलगायतका विषयमा बाह्रखरीका विजय पराजुलीले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

नेपाल व्यवस्थापन संघको अध्यक्षमा उमेदवारी दिने तयारी गर्नुभएको रहेछ किन ?

Argakhachi Cement Island Ad

तीनदशक भन्दा बढी समय व्यवस्थापकीय भूमिकामै रहेँ । अहिलेसम्म समय दिन सकिँदैन भनेर व्यवस्थापन संघमा लागेको थिइन । बैंकिङको कार्यकारी भूमिकाबाट अवकास लिइसकेर बोर्डमा आएपछि समय दिन सकिन्छ, व्यवस्थापन संघमा केही योगदान दिउँ भनेर सोचेको हो । 

तपाईं अध्यक्ष भएपछि ‘म्यान’लाई अगाडि बढाउने योजना के कस्ता रहेका छन् त ?

‘ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुड’ सँगको मेरो  सम्बन्ध छ । यो  ‘ग्लोबल अर्गनाइजेसन’ हो । यसले ल्याटिन अमेरिका, एसिया प्यासिफिक, अमेरिका युरोपलगायत सबै क्षेत्रमा छुट्टा छुट्टै काम गरिरहेको छ ।

म एसिया प्यासिफिकको प्रतिनिधिकोरुपमा रहेको छु । यस संस्थामा रहेको मेरो पोर्टफोलियोले गर्दा विश्वाव्यापी सम्बन्ध पनि बनेको छ ।

त्यसले अहिलेको म्यानेजमेन्टको नयाँ विभिन्न कन्सेप्ट, अहिलेका समस्याहरु, जलवायु परिवर्तनका कुराहरु, बैंकिङलगायतमा अनुभव आदानप्रदानमा मेरो पहुँच छ । यी कुराहरुमा म अध्यक्ष हुँदा पक्कै पनि सहयोग हुन्छ ।  

व्यवस्थापन संघले गर्ने भनेको अन्तर्राष्ट्रिय रुपमा रहेको ‘वेस्ट प्राक्टिस’ आदानप्रदान गर्ने, ‘नलेज स्किल’ हो ।  त्यो मुख्य आवश्यकता हुन्छ ।  
त्यसबाहेक टिमवर्कमार्फत संस्थाकै हितका लागि काम गर्नुपर्ने हुन्छ । मलाई पूर्वअध्यक्षहरुले पनि तपाईं आउँदा राम्रो हुन्छ भनेर सुझाव दिनुभएको छ ।

अन्तर्राष्ट्रिय रुपमा रहेको राम्रो व्यवस्थापन पद्धति,  अनुभव आदनप्रदानको लागि पनि म अध्यक्ष भएपछि पहुँच वृद्धि हुन्छ भन्नुभयो । तर तपाईं त सक्रिय व्यवस्थापकीय भूमिकाबाट बाहिरिइसक्नुभएको छ ।  सक्रिय बैंकिङ क्षेत्रमा रहँदा र अहिले अध्यक्ष हुँदा त्यसमा केही अन्तर रहला ? 

त्यस्तो हुन्छ भन्ने लाग्दैन । अहिले पनि सक्रिय व्यवस्थापकीय भूमिकामा नरहे पनि बैंकको बोर्डमा अझै पनि छु ।  व्यवसाय सञ्चालन गर्ने ठाउँमा जोडिएको छु, बजारबाट बाहिर गएको छैन । सक्रिय व्यवस्थापनमा नै नभए पनि सक्रिय रोल त छ नि । दिगो बैंकिङ, मुल्य शृङ्खलामा आधिकारिक बैंकिङमा अहिले पनि मेरो सक्रिय भूमिका छ ।

व्यवस्थापन संघले रिसोर्सको खोजी गरेर संस्थाको हितमा प्रयोग गर्ने हो ।  त्यसैले मैले संघको नेतृत्व लिँदा झनै राम्रो हुन्छ भन्ने लाग्छ । 

वित्तीय क्षेत्र र व्यवस्थापन  संघको  बीचको सम्बन्ध के रहेछ ?

बैंकिङ भनेपछि जहाँ पनि ठोकिन्छ । जुम्लामा बसेको किसानदेखि देशको नेतृत्व गर्नेहरु हरेक व्यवसाय गर्ने बैंकिङसँग ठोकिन्छन् ।

सन् १९८० को निजी क्षेत्र बैंकिङमा आएर बैंकिङ क्षेत्र जुन हिसाबले अगाडि बढेको छ । नेपालमा व्यवस्थापनको उदाहारण बैंकिङ क्षेत्रले दिइरहेकै छ । त्यो उदाहरण र  उदारीकरणपछिको पहिलो पुस्ताको बैंकरको हिसाबले यो ३ दशक भन्दा बढीको अवधिमा जुन अवस्था देखेँ त्यसले पनि यसमा अन्तरनिहीत छ भन्ने देखिन्छ नि हैन र ? 

वित्तीय क्षेत्रमा क्रेडिट क्रन्चको अवस्था छ ।  लामो समय वित्तीय क्षेत्रमा नै व्यवस्थापन र अब व्यवस्थापनलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ । अब व्यवस्थापन संघको अध्यक्षमा  पनि जान लाग्नुभएको छ । यो समस्या किन आयो । कमजोरी बैंक, राष्ट्र बैंक अथवा सरकार कसको हो र समाधान के हो  ?

मेरै नेतृत्वमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था सीवीफीनले एउटा अध्ययन गरेको प्रतिवेदन हेर्नुभएकै होला ।

त्यसमा वित्तीय क्षेत्रमा देखिएको समस्या आउनुको कारण र कसरी समस्या समाधान कसरी गर्न सकिन्छ भनेर प्रतिवेदनमा नै उल्लेख गरेका छौं ।   

अहिले वित्तीय क्षेत्रमा आएको समस्याको कारण एउटामात्रै क्षेत्र र अरु चोखो छन् भन्ने छैन ।  

गल्ती सबैको छ ।  पहिला बैंकिङ क्षेत्रबाटै कुरा गरौँ । बैंकिङ क्षेत्रले आफ्नो व्यावसायिक योजनामा रिसोर्सहरु प्रोपर म्यानेज गरेर विजनेश प्लान गर्नुपर्छ । विजनेश प्लानअनुसार काम पनि हुनुपर्छ ।  आज हामीसँग कर्जा दिन फन्ड छैन भने वित्तीय व्यवस्थापन एक हिसाबले नगरेको हो ।  

विजनेस प्लान गर्ने र त्यही हिसाबले अगाडि बढ्नुपर्ने कुरामा बैंकिङ क्षेत्र चुकेको छ  ।  

एकातिर बैंकिङ क्षेत्र चुक्यो भने अर्कोतिर राष्ट्र बैंकले कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) खारेज गरेर कर्जा निक्षेप अनुपात (सीडी रेसियो) को व्यवस्था एकैपटक ल्यायो ।  

उक्त वयवस्था एकैपटक ल्याएपछि कम्प्लायन्सको पार्टमा चुकिन्छ कि भनेर बैंकरहरु निक्षेप परिचालनमा अग्रसर हुनुपर्ने अवस्था आयो भने कर्जा रोक्नुपर्ने अवस्था आयो ।  अहिले क्रेडिट क्रन्च नै भयो भनेर म भन्दिन तर  यो नियामकीय व्यवस्थामा भएको परिवर्तनले गर्दा तुरुन्तै त्यसको व्यवस्थापन गर्न नसक्दा अहिलेको समस्या आएको हो ।

अर्कोतिर जुन रेसियोमा हाम्रोमा निक्षेपको वृद्धि हुनुपर्ने हो त्यो हुन सकेको छैन । निक्षेप वृद्धि हुन नसक्नु बैंकको मात्रै समस्या हैन । स्रोत छ भने बैंकले निक्षेप त कहीँ न कहीँबाट पाइहाल्छ । स्रोत किन भएन भन्दा रेमिट्यान्समा कमि आयो । रेमिट्यान्सलाई राम्रोसँग व्यवस्थापन गर्न सकेनौं ।  

यसो भन्दैमा बैंकले प्रयास नगरेको होइन । वित्तीय पहुँच पुर्याएको छ, नयाँ नयाँ प्रविधि ल्याएको छ, ताकि रेमिट्यान्स बैंकिङ च्यानलबाट आओस् भन्ने नै बैंकहरुको चाहना हो । 

बैंकहरुको प्रयासका बाबजुत पनि आएको छैन भने अरु पूर्वाधार कमजोर भए । राज्यले रेमिट्यान्स औपचारिक माध्यमबाट आउन प्रोत्साहन गर्न सकेन । त्यो किसिमको पूर्वाधार र वातावरण तयार गर्न सकेन भन्ने देखिएको छ । 

त्योबाहेक सरकारले पुँजीगत खर्च गर्न सकेन भन्ने कुराहरु आइरहेको छ ।  पुँजीगत खर्च गर्न सक्ने हो भने पैसा बजारमा आउँथ्यो होला । 

त्यसले पनि तरलतामा प्रभाव परिरहेको छ ।  तरलता समस्याको कारणमा बैंकहरु आफ्नो क्षमताभन्दा बढी कुदेको देखिन्छ भने त्यो बाहेकको अरु समस्या राज्य अथवा राष्ट्र बैंकसँग सम्बन्धित छ । 

सीसीडीबाट सीडीमा जाँदा पनि समस्या आयो भन्नुभयो । अहिले बैंकहरुसँग तरल सम्पति २० प्रतिशत हाराहारी छ, जुन नियामकीय निर्देशन नजिक नै हो ।  अब सीसीडी नै आएको भए पनि अहिले स्रोत उपलब्धता भए पनि कर्जा प्रवाह गर्न सम्पत्तिले गर्दा पनि समस्या हुने अवस्था देखिन्छ नि, होइन ? 

अहिले पनि बैंकहरुले २० प्रतिशत तरल सम्पत्ति कायम गरेका छन् । कर्जा विस्तार भनेका यो कुरा हो कतिपय अवस्थामा कन्ट्रोलमा हुँदैन । दीर्घकालीन प्रकृतिको पूवार्धार निमार्णमा हामी फन्ड दिन्छौं भनेर बैंकले प्रतिवद्धता गरिसकेका छन् ।

हाइड्रोपावर, होटल, सिमेन्ट उद्योगजस्ता परियोजनाको लागि पैसा दिन्छौं भनिसक्यौं । प्रतिवद्धता गरिसकेको पैसा अब आएर दिन्न भन्न मिलेन दिनु पर्यो ।  

यसबाहेक व्यापारीक क्षेत्रले पनि आफ्नो व्यापार गरिरहेकै छन् । उनीहरुले  बैंक तथा वित्तीय संस्थाबाट चालु पुँजी कर्जाको लिमिट लिएर काम गरिरहेका छन् । आज एउटा बैंकले कर्जा दिन सकेन भने अर्कोबाट लिनुपर्ने हुन्छ । चालु पुँजी कर्जाको ६० प्रतिशत हाराहारी लिमिट प्रयोग भएको हुन्छ । अहिले यस्तो अवस्था छ । व्यवसाय गर्न पैसा चाहिन्छ भने बैंकबाट उसले रकम चलाउँछ ।  यसले बैंकिङ क्षेत्रको कर्जा प्रयोग बढ्न जान्छ जसले पनि सीडी रेसियो बढिरहेको छ । कतिपय कुरा बैंकले चाहेर पनि कन्ट्रोल नहुने हुन्छ ।   

तपाईंले व्यवस्थापन संघलाई अन्तर्राष्ट्रिय स्तरको संस्था भए पनि त्यो एक्स्पोजर दिन सकेन, अब मैले दिन्छु भन्नुभएको रहेछ । अन्तर्राष्ट्रिय एक्स्पोजर दिलाउँदाको लाभ के हो र कसरी बनाउनुहुन्छ ?

व्यवस्थापन संघको अध्यक्ष भएँ भने यसलाई विस्तार गरेर अन्तर्राष्ट्रिय रुपमा रहेको यस्तै संस्थासँग सहकार्य गर्ने हो ।  सहकार्यमा के कस्ता कामहरु सँगै गर्न सक्छौं सहकार्यमा गर्ने हो ।  अघि पनि भनेँ– ज्ञान आदानप्रदान गर्न सकिन्छ ।

म्यानेजमेन्टको कन्सर्नमा नलेज सेयरिङ अथवा म्यानेजमेन्ट कन्सेप्टमा व्यवस्थापन संघ नेपालमा रिफ्रेन्स प्वाइन्ट बन्न सक्नुपर्छ ।  
 

प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्