site stats
बाह्रखरी :: Baahrakhari
विशेष
देशभक्ति बढाउने ‘तीन ट्रान्जिट’को प्रयास 
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । एउटा मञ्च छ । मञ्चको वरिपरि मानिस छन् । त्यही भिडमा बाजागाजासहितको छुट्टै युवाको समूह छ । 

त्यसमध्ये कोट र चस्मामा ठाँटिएर लरखराउँदै एक युवक मञ्चमा उक्लिछन् । र, भन्छन्, “आदरणीय युवा साथीहरू, म पनि युवा नेता हुँ । तपाईंहरूले मलाई भोट दिनूस् । म युवालाई रोजगारीका लागि विदेश जान बाध्य पार्ने छैन । देशलाई नै विदेश बनाउनेछु ।” 

यी अभिव्यक्तिसँगै उनका समर्थकले जोडले ताली बजाउँछन्, खुसी हुँदै कुर्सीसहति (नेता)लाई उठाउँछन् ।
 
यो अभिव्यक्ति कलाकार बुद्दि तामाङको हो । सत्तामा नपुगुन्जेलसम्म राम्रा कुरा गर्ने यस्ता युवा नेता सत्तामा पुगेसँगै देशको मूल समस्याको जरा उखेल्नुको सट्टा कार्यकतालाई हरियो पासपोर्ट र खाडी मुलुकको भिसा हातमा थमाइदिन्छन् । जुन नेपालको सन्दर्भमा तीतो यथार्थ हो ।
 
मण्डलामा देखिएको यो दृश्य अब केही दिनभित्र उपत्यकाका हरेक टोल, सडक र गल्लीमा निर्वाचनमा नेताले जनतालाई दिने झूटा आश्वासन दिन्छन् भन्ने देख्न पाइनेछ । 

Argakhachi Cement Island Ad

देशमै रोजगार सिर्जना गर्छु भन्ने नेताले निर्वाचनपछि कसरी ढुंगा, खुकुरी खाएर जिताउने कार्यकर्ता बिर्सिन्छन् भन्ने उदाहरण हो । 
नेपालको मूल समस्या युवा जनशक्ति विदेशिनु हो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । 
हाल देशको युवा जनशक्ति दुई छाका टार्नदेखि उज्ज्वल भविष्यका लागि खाडी, कतारदेखि अस्ट्रेलिया अमेरिकासम्म पुग्ने गरेको छ । यसरी, विदेसिएकामध्ये केही जोस/जाँगर उतै सकेर  फर्किन्छन् भने केही उतै स्थापित हुन्छन् । 

उच्च शिक्षाका लागि विकसित मुलुकजाने युवामध्ये देशमा अवसर, भविष्य र केही गर्ने वातावरण छैनजस्ता कारण देखाउँदै १० जनामा नौजना उतै रहने गरेका छन् । त्यसमा पनि धेरैले नेपालको राजनीतिलाई दोष दिने गरेका छन् । र, भन्छन्, “पोलिटिक्स इज अ डर्टी गेम, आई डोन्ट लाइक पोलिटिक्स् ।” यसले दक्ष जनशक्तिमा देश र राजनीतिप्रतिको नैराश्यता प्रस्ट देखाउँछ । 

सोमनाथ खनालको लेखन र निर्देशन रहेको ‘तीन ट्रान्जिट’ले यिनै विषयवस्तु मञ्चमा उतारेको छ । 

‘तीन ट्रान्जिट’मा एउटा सञ्चारकर्मीले आबुधाबी, न्यूयोर्क र काठमाडौंलगायत अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका दृश्य उतारिएको छ । 

पत्रकारको भेषमा मञ्चमा सुरुवातमै आउने राजन खतिवडा भन्छन्, “युवामा आएको राजनीति र देशप्रतिको नैराश्यताको कारण के हो ?, यसमा किन कसैले चासो दिएनन्...।”

नाटकको कथा, युवाको सोच, बाध्यता, नैराश्य र योजना एकपछि अर्को गर्दै विकसित हुँदै जान्छन् । 

नाटकको मध्यतिर छोटो दृश्यमा एक जादुगर वा युवालाई कठपुतलीको रूपमा सञ्चालन गर्ने पत्रका रूपमा प्रस्तुत हुन्छन् । छोटो दृश्य भए पनि  कलाकारको महत्त्वपूर्ण भूमिका छ ।  

सोमबार ‘तीन ट्रान्जिट’ को विशेष प्रत्यक्ष र उपत्यका बाहिरका सांसदका लागि अनलाइन प्रदर्शनी राखिएको थियो । 

जसमा उपत्यका बाहिरका सांसद जोडिए भने ‘तीन ट्रान्जिट’ हेर्न नेकपा एमालेका नेता एवं पूर्वमन्त्री रघुजी पन्त र माओवादी केन्द्रका वाग्मती सचिव ईन्द्रबहादुर थिङ मण्डला पुगेका थिए । 

नाटकको समापनपछि थिङले प्रदर्शित नाटक र लेखकको तारिफ गर्दै राजनीतिप्रतिको धारणा नाटकमा उतार्न सफल भएको बताए । 

“राजनीतिकै कारण बिग्रिएको समाजलाई राजनीतिबाहेक अन्य कुनै माध्यमबाट सपार्न सकिन्न भन्ने राम्रो निष्कर्ष दिनुभएको छ,” उनले भने, “हरेक स्थानीय तहमा यो नाटक देखाउन सकियो भने निर्वाचनमा दुई बोटल बियर र एक छाक मासुभातमा बिक्ने गलत परिपाटी हट्नेछ । जसले सही उमेदवार छान्न सहयोग पनि गर्नेछ ।”

नाटकले देखाएजस्तै विदेसिएका युवा नयाँ सोच र योजनासहित फर्किएर देश बनाउनतर्फ अग्रसर हुनुपर्ने उनले बताए । 
नेता रघुजी पन्तले युवा भ्रष्ट भएको भन्दै कैयौँ प्राध्यापक, विद्यार्थी नेताका कारण रुन बाध्य भएको बताए । 

नाटक यही शुक्रबारबाट नियमित मञ्चन सुरु हुँदै छ ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्