
वडा कार्यालय उद्घाटन गर्दै इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी ।
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले वडा नम्बर १९ मा निर्माण भएको वडा कार्यालय भवन हतार हतार उदघाटन गरे । एकछिन भाषण गरे अनि लागे अर्को कार्यक्रमतिर । उनीसँगै कार्यक्रममा सहभागी भएकी उपमेयर लक्ष्मी गौतम पनि हतारमा देखिन्थिन् ।
“मेरो कार्यकालमा भौतिक पूर्वाधार निर्माणतर्फ उल्लेख्य काम भएको छ । जनप्रतिनिधिका रूपमा म जस्तो आएको थिएँ, त्यस्तै फर्कने छु,” चौधरीले भने,“जनप्रतिनिधि रहे पनि नरहे पनि इटहरीको विकासमा मेरो योगदान रहिरहने छ ।”
त्यही कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा पाँच वर्षको अवधिमा २०० किलोमिटर कालोपत्रे सडक निर्माण भएको दाबी गर्दै भनिन्,“६५ किलोमिटर क्षेत्रमा ब्लक ओछ्याएर सडक निर्माण गरिएको छ । अरू धेरै काम अघि बढेका छन् ।”
हिजोआज मेयर चौधरी र उपमेयर गौतमको धपेडी निकै बढेको छ । केही पहिले कार्यकक्षमै भेटघाटका क्रममा चौधरीले आफूसँग पत्रकारलाई पनि भेट्ने फुर्सद नभएको बरु चुनाव नजिक आएकाले मतदाताहरूसँगै गएर कुराकानी गर्ने, उनीहरूलाई नै भोज खुवाउने र आफ्ना कुरा बताउने बाह्रखरीकर्मीसँग बताएका थिए ।
सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तिलक राई पनि बाक्लै गरी औपचारिक कार्यक्रमहरूमा सहभागी भइरहेका छन् । आइतबार सुकुम्बासी समस्या समाधान गर्न माग गर्दै संगठनहरूले दिएको संयुक्त विज्ञप्ति बुझ्दै उनले समस्या समाधानमा सहजीकरण गर्ने आश्वासन दिए ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित तथा अव्यवस्थित बसोबासका सुकुम्बासीहरूलाई १० वर्षभन्दा बढी बसोबास भएको प्रमाणको आधारमा धनीपूर्जा दिने प्रक्रिया अघि बढाएको छ । सोमबार पनि मेयर राई व्यस्त थिए । सोमबार उपमहानगरका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरूमा सहभागी भए ।
सोमबार मोरङको लेटाङ नगरपालिकाका मेयर शंकर राईले सरकारी गाडीको चाबी प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरे । योबाहेक लेटाङ क्षेत्रमा आयोजना भएका कार्यक्रमहरूमा उनी बाक्लै गरी सहभागी भए । अन्यत्रका मेयरहरू जस्तै केही दिनयता मेयर राईको व्यस्तता निकै चुलिएको छ ।
नेपाली कांग्रेसको क्षेत्रीय सभापतिको जिम्मेवारीमासमेत रहेका राई पार्टीका कार्यक्रमहरूमा पनि व्यस्त हुने गरेका छन् । भन्छन्, “चुनाव आएकाले म पार्टीको जिम्मेवारीमा पनि रहेको हिसाबले अरू कार्यक्रमहरूमा पनि व्यस्त छु ।”
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई पनि यतिबेला कार्यक्रमहरूमा सहभागी हुन भ्याइनभ्याइ छ । महानगरस्तरीय अस्पताल उद्घाटनदेखि पुरस्कार वितरण समारोहसम्मका कार्यक्रममा पराजुली सहभागी हुँदै आएका छन् ।
विराटनगर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै मेयर भीम पराजुली ।
अघिल्लो हप्तामात्र भारतीय दूतावासको सहयोगमा निर्मित आरोहण गुरुकुल नाट्यशाला उद्घाटन गराए । तारिणीप्रसाद कोइराला संचारग्राम संघीय सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ल्याएर उद्घाटन गरे । प्रशासनिक भवनको शिलान्यास आफैँ गरेका छन् । उनले विराटनगर विमानस्थल सडक सौन्दर्यकरणको पनि शुभारम्भ गरेका छन् । कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले केहीयता मेयर पराजुलीको धपेडी निकै बढेको छ ।
“जनताको प्रत्यक्ष चासोसँग जोडिएका कार्यक्रममा सहभागी नभइ हुँदैन । फेरि महानगरले सम्पन्न गरेका र थालनी गर्न लागेका कार्यक्रममा पनि सहभागी हुनैपर्छ,” उनले भने,“सकिएका कामको उदघाटन र हुनुपर्नेको शिलान्यास गरिनु स्वभाविक प्रक्रिया हो ।”
चुनाव नजिकिएकैसँगै आफ्नो कार्यकाल पूरा गर्न लागेका नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष अनि उपाध्यक्षलाई कार्यक्रमहरूमा सहभागी हुन भ्याइनभ्याइ छ । कतिले पहिले गर्न नसकेका र नभ्याएका भनिएका विकासे योजनाको शिलान्यास गरिरहेका छन् । कतिपय भने हतार हतार सकिएका योजनाको उदघाटन गर्न हौसिएका छन् । आफूले गरेका कामको बेलिविस्तार लगाउनसमेत जनप्रतिनिधिहरू सक्रिय भएका छन् ।
आफू चढेको गाडीको चाबी हस्तान्तरण गर्दै लेटाङ नगरपालिकाका मेयर शंकर राई ।
मोरङको सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल भन्छन्, “नगरपालिकाको नेतृत्वमा आएपछि धेरै काम गरिएको छ । कति पूरा भएका छन् । कति अहिले भइरहेका छन् अनि सकिएका कामको उदघाटन पनि हुँदैछन् ।”
सुन्दरहरैँचा नगरपालिकाले दुई साताअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरी अस्पताल उदघान गराउनेदेखि प्रशासनिक भवन शिलान्यासको कार्यक्रममा सहभागी गराएको थियो । नगरस्तरमा सम्पन्न भएका योजनाको उदघाटन र नयाँको शिलान्यासमा मेयर ढकाल आफैँ व्यस्त भएका छन् ।