
बयरवन (मोरङ) । अमृत बनेम लिम्बू नेपाली कांग्रेसको कानेपोखरी गाउँपालिकाका वडा सभापति हुन् । पार्टीको अधिवेशनबाट नयाँ नेतृत्व आएसँगै पार्टी चलायमान बनेको छ । अर्कोतिर, त्यही अधिवेशनमा आन्तरिक प्रतिस्पर्धा गरेकाहरूको मनको तुष बाँकी छ ।
वनेम भन्छन्, “स्थानीय चुनाव समूह विभाजित गरेर पार्टीको आन्तरिक चुनावमा गएजस्तो होइन् । त्यो चुनावमा हामी–हामीबीच प्रतिस्पर्धा थियो । तर, स्थानीय चुनाव अन्य विचार बोक्ने दलसँग हुनेछ । त्यसैले कठिन छ ।”
स्थानीय तह निर्वाचनमा अरूसँग प्रतिस्पर्धा हुने बताउँदै उनले पार्टीको १४औँ महाधिवेशनका सबै असन्तुष्टि बिर्सिएर निर्वाचनमा होमिनुको विकल्प नभएको बताए ।
०७४ को स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेकपा (एमाले) विजयी बनेको र कांग्रेसले १ र ३ वडामा मात्र जितेको उनले बताए । उनले भने, “पुनः गठबन्धन गर्ने विषयमा दलबीचको छलफलमा कांग्रेसले पालिका अध्यक्ष लिने, उपाध्यक्ष माओवादीलाई दिने र वडाको हकमा १, २, ३, ४, ५ र ६ कांग्रेसलाई छाड्नुपर्ने प्रस्ताव राखेको छ ।”
उपाध्यक्ष र वडा नम्बर–७ माओवादीले लिनुपर्ने कांग्रेसका प्रतिनिधिले प्रस्ताव गरेको कांग्रेसका स्थानीय नेता तीर्थ कार्कीले जानकारी दिए । उनले भने, “अहिले पार्टी विभाजन भएको अवस्था छ । पहिलेको मत आधारभन्दा पनि कांग्रेसको सुधारिएको परिस्थितिलाई हेरेर गठबन्धनबारे निर्क्योलमा पुग्नुपर्ने हाम्रो प्रस्ताव हो ।”
कतिपय कार्यकर्ताले केन्द्रले जे निर्णय गरे पनि ‘ग्राउन्ड’को परिस्थितिअनुसार पार्टी अघि बढ्नुपर्ने सुझाव दिने गरेको उनले सुनाए ।
वडा तहमै कांग्रेसका धेरै आकांक्षी हुँदा तालमेलका विषयमा कार्यकर्तामाझ मत विभाजनको अवस्था देखिएको छ । गठबन्धन एकातिर र कांग्रेसमा उमेदवारको लर्को अर्कोतिर भइदिँदा निर्णय गर्न कठिन भएको कानेपोखरी–४ का उपसभापति सीताराम खतिवडा बताउँछन् ।
उनले भने, “ग्राउन्डको परिवेशले कार्यकर्ता र उमेदवारका आकांक्षीको भाव बुझेर निर्णय लिँदा उचित हुन्छ ।” गठबन्धनका नाममा सबैतिर अरूलाई पद छाडेर मिल्न नसकिने उनको भनाइ छ ।
खेमनारायण चौधरी कांग्रेसका पुराना कार्यकर्ता हुन् । बयरवन क्षेत्रमा उनको राम्रो पहिचान छ । धेरै निर्वाचन खेपिसकेका उनलाई योपटकको निर्वाचन बढी संवेदनशीलजस्तो लागेको छ ।
पार्टीका पूर्वजिल्ला सदस्यसमेत रहेका चौधरी भन्छन्, “घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर पार्टी गाउँ पसेको छ । तर, कतिपय ठाउँमा टोल कमिटी गठन भएको छैन । वडाका साथीले कसरी चलायमान गर्ने भन्ने स्पष्ट कार्ययोजना चाहिन्छ । आकांक्षी धेरै छन् ।”
पार्टी जिल्ला सदस्य गणेश थापाले नेताको होइन, मतदाताको घरमा जानुपर्नेमा जोड दिए ।
कानेपोखरीबाट निर्वाचित कांग्रेस महाधिवेशन प्रतिनिधि वसन्त भट्टराई वडादेखि पालिकासम्म धेरै आकांक्षी मिलाउन सकस हुने बताउँछन् । उनले भने, “कति काम गरेका छन्, कसको कति निरन्तरता छ, जनताका सुखदुःखमा कसले कति साथ दिएको छ भन्ने स्पष्ट हुनुपर्छ । नयाँ–पुराना भन्ने छैन । तर, जनतामाझ लोकप्रियले उमेदवारी प्राप्त गर्नुपर्छ ।”
नेपाली कांग्रेस प्रदेश नम्बर–१ का प्रमुख सचेतक तथा मोरङ निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ का सांसद सूयर्माराज राईले पार्टीभित्रबाट धेरै आकांक्षी देखिएको भन्दै मिलाएर लैजान ठूलै सकस पर्ने बताउँछन् । “जनतामाझ लोकप्रिय र जित्न सक्नेलाई उमेदवार बनाउनुपर्छ,” राईले भने ।
सोही निर्वाचन क्षेत्रबाट संघीय संसद्का उमेदवार डा. सुनील शर्मा वडा तहबाट उमेदवारको सिफारिस भई आउने भएकाले सकेसम्म तलै उमेदवारको नामावली लामो पार्न नहुनेमा जोड दिन्छन् ।