site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सौहार्द कायम गर्ने अवसर

चिसो मौसमलाई बिदाई गर्दै न्यानो घामलाई स्वागत गर्दा अहिले अहिले हाम्रो बिचमा होली पर्व छ । होली ‘असत्यको हार र सत्यको जीतको उमंग’मा मनाइने रङ्गहरुको उत्सव हो । भनिन्छ, होली पुरानो रिसिबी र दुश्मनीलाई समाप्त गर्दै एकअर्कासँग सौहार्द कायम गर्ने राम्रो अवसर पनि हो । यो पर्वलाई अभिनेत्रीहरुले कसरी लिन्छन् ? होलीसँग जोडिएका उनीहरुका रमाइला र केही नरमाइला पलहरु अनि उनीहरुलाई मनपर्ने रङको बारेमा उनीहरुसँग गरिएका कुराकानी ः

मिथिला शर्मा 
हरेक नेपालीको घरघरमा हर्सोल्लासका साथ भित्रिने होलीबाट अभिनेत्री मिथिला शर्मा पनि अछुतो छैनन् । तर, उनी त्यसरी तामझामका साथ होली मनाउँदिनन् । अभिनेत्री शर्मा होली भद्र र शालीन तरिकाले मनाउँछिन् । 
 
“टीका, अबिर लगाउनुपर्छ भन्ने मान्यता भएर घरमै टीका लगाएर मनाउँछु, खासै तामझाम हुँदैन । म बच्चादेखि नै अबिर खेल्ने, लोला हान्ने केही गर्दिन थिएँ,” उनले सुनाइन् । उनलाई लोलाले हान्न पनि मनपर्दैन र हानेको पनि मन पर्दैन । तर, मन नपरे पनि उनले एकपटक लोला भने नमज्जाले खाएकी छिन्, जुन उनलाई होली भन्ने वित्तिकै ताजा हुने स्मरण हो । 

“एकपटक असनमा जाँदाको याद छ, होली लाग्नु कहिले हो कहिले असन जाँदा माथि कताबाट आएर टाउकोमा लोला फुट्यो,” उनी भन्छिन्, “कस्तो पानी हो, सफा हो कि फोहोर टाउकोमा परेपछि रिस उठ्योभन्दा पनि एकछिन तिरिमिरी भएँ । कहाँ जान लागेको थिएँ बाटैबाट घर फर्किनु पर्यो ।”

Argakhachi Cement Island Ad

एक नारीको हारमा अर्को नारी खुसी हुने प्रसंगमा उनी यसलाई नारीवादतिर भन्दा पनि धार्मिक पाटोसम्म मात्रै सिमित राखेर हेर्नु पर्नेमा जोड दिन्छिन् । 

“त्यो बेलाको परिस्थिती, आस्था, कथा, समय र वस्तुको महत्व अर्कै थियो । अब अहिलेको समयमा हामी नारी सशक्तिकरण, नारी स्वतन्त्रता, नारी हकअधिकारको आवाज अर्कैछ,” उनी प्रस्ट्याउँदै भन्छिन् । 

शक्तिस्वरुपा, विद्या स्वरुपा, लक्ष्मी स्वरुपा भनेर पुजिने देवीहरुलाई हिन्दु समाजले देवताहरूभन्दा पनि धेरै मान्ने गरेको अभिनेत्री शर्मा बताउँछिन् । परापूर्वकालदेखि नै नारीहरुलाई सशक्त नै मानिन्छ त्यसैले आज हामी सशक्तिकरणको आवाज उठाइरहँदा नारी कमजोर हुन नहुनेमा उनको जोड छ । आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने उनको विचार छ ।

करिष्मा मानन्धर 
करिष्मा मानन्धर हर्सोल्लासका साथ तामझामसहित हरेक वर्ष होली पर्व मनाउने नायिका हुन् । अभिनेत्री मानन्धरका लागि होली धेरै कुराले विशेष छ । यसैपनि हिन्दु धर्मावलम्बीहरुको उमंगको चाड विशेष हुने भैहाल्यो, अर्को विशेषता भनेको यही दिन उनका पती विनोद मानन्धरको जन्मदिन पनि हो । त्यही भएर हरेक वर्ष ललितपुरको गादावरीस्थित आफ्नै निवासमा सबैलाई बोलाएर मनाउने गर्छिन् । तर, यो वर्ष अघिल्लो वर्षहरुभन्दा केही साँघुरिएर मनाउने योजना सुनाउँदै उनी भन्छिन्, “मेरो घरमा कन्सट्रक्सन भैरहेको हुनाले त्यति ठूलो ठाँउ छैन त्यसैले केही सिमित अनि नजिकका मानिसको उपस्थितीमा मनाउँछु ।”

होली विशेष हुनुको अर्को कारण नातागोताभन्दा पनि मित्रहरुसँगको सामिप्यता हो करिष्माका लागि । अरु पर्वमा आफन्त र परिवारसँग मनाइन्छ भने होली विशेषतः  साथीसँग मनाइन्छ । 

उनका लागि होली नेपाली चलचित्र उद्योगका परिवारका नयाँपुराना सदस्यहरुसँग समय बिताउने राम्रो मौका पनि हो । रङको पर्व होलीको कुरा गरिरहँदा अभिनेत्री मानन्धरलाई मनपर्ने रङ भनेको कालो र सेता हो । यद्यपि, उनको पहिरनको रोजाई भने प्रायजासो पहेँलो अनि निलो नै हुने गरेको उनी सुनाउँछिन् । 

“धर्मग्रन्थमा होलिकालाई दैत्यको रुपमा चित्रण गरिएको छ । त्यसैले यो नारी र पुरुषको भन्दा पनि खराब प्रवृत्तिको अन्त्य हो । त्यसैले यसलाई गलत प्रवृत्तिको अन्त्यको रुपमा मात्रै लिनुपर्छ जस्तो मेरो मान्यता छ,” उनी भन्छिन् ।

होली आएको छनक वाहिरी वातावरणले नै देखाउने गर्छ, जुन अभिनेत्री मानन्धरका लागि एकदमै रोमान्चक लाग्छ । हरेक पर्वले ऋतु परिवर्तनको संकेत गर्नुका साथै एकअर्काप्रति सदभाव, माया बाँढ्ने एउटा राम्रो मौका भएको उनको जोड छ । जाडो र गर्मीको ठिक्कको समिश्रण भएकाले पनि करिष्मालाई यो मौसम अत्याधिक प्रिय लाग्छ रे !

प्रियंका कार्की 
होलीको विशेषता भनेको सम्बन्धमा सौहार्द ल्याउनु हो, पुरानो बिग्रेको सम्बन्ध पनि एकअर्कालाई स्नेहको रङ दलेर अंगाल्ने हो । तर, अभिनेत्री प्रियंका कार्की यस विषयमा भने आफूलाई भाग्यमानी मान्छिन्, “सबैसँग गाढाासम्बन्ध नहोला तर मेरो कोहीसँग पनि नबोल्नेगररी सम्बन्ध बिग्रेको छैन । र त्यस्तो नहोस पनि ।”

गर्मीयाम र जाडोयाम त्यति नरुचाउने प्रियंकालाई होली भन्ने वित्तिकै यो मौसमले शरीरमा दिने त्यो शितल न्यानोपनको सम्झना आउँछ । “होली भन्नेवित्तिकै मलाई सबैभन्दा मनपर्ने भनेको यसले दिने न्यानोपन हो । मलाई जाडोयाम र गर्मीयाम त्यति मन पर्दैन । तर, होलीको मौसम मलाई एकदम मनपर्छ । मलाई यो मौसमले दिने शितलतासँगको न्यानोपन मनपर्छ । न त धेरै गर्मी न त त्यति चिसो,” उनी भन्छिन् । 

बिहानको न्यानो घाँम अनि बसन्तको रङिविरङी फूलहरुले अभिनेत्री कार्कीलाई उत्तिकै मोहित बनाउने गर्छ । 

रङ अनि पानीसँग मजाले होली खेल्ने उनी यो वर्ष भने केही सजग भएर खेल्ने योजनामा छिन् । किनभने अहिले उनले आफ्नो मात्रै नभएर श्रीमान (आयुष्मान देशराज जोशी)को मायाको चिनो आयंकाको स्वास्थ्यको पनि ख्याल राख्नुपर्नेछ । रङहरुको पर्व औधी रुचाउने प्रियंकालाई आँखा बिझाउने बिछट्टै चम्किलो अनि डार्क रङहरूभन्दा नि आँखालाई शितलता दिने सफ्ट कलरहरु मनपर्छ । 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  ०६:५१
प्रतिक्रिया दिनुहोस्