site stats
बाह्रखरी :: Baahrakhari
विशेष
‘टिममा गुट–उपगुट भएकाले पुनरागमन गर्न सकिनँ’

जनकपुरधाम । अनिल मण्डल आफ्नो समयका उम्दा खेलाडी हुन् । दायाँहाते ब्याट्सम्यान अनिलको क्रिकेटजगतमा छुट्टै पहिचान थियो । हरेक प्रतियोगितामा अनिलबाट टिमले ठूलो आस गरेको हुन्थ्यो । उनीमाथि भरोसा गरिन्थ्यो ।

क्रिजमा अनिल हुँदासम्म धेरै विपक्षी बलरको पसिना छुट्थ्यो । अनिल लिस्ट ‘ए’ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यही तथ्यांकले पनि अनिलको प्रतिभालाई पुष्टि गर्छ । तर, सन् २०१६ मा टिमबाट बाहिरिएपछि अनिल अहिले गुमनाम भएका छन् ।

२०१६ अगस्ट १४ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरलयान्ड्सविरुद्ध बनाएको पाँच रन नै अनिलले राष्ट्रका लागि जोडेको अन्तिम रन हो । त्यसपछि पनि टिममा पर्ने प्रयास अनिलले नगरेका होइनन् । तर, उनी सफल भएनन् ।

Argakhachi Cement Island Ad

“टिममा फर्किने प्रयास नगरेको होइन । धेरै मिहिनेत गरेको थिएँ । एक/दुईपटक त राम्रै प्रदर्शन पनि गरेको हुँ । त्यति बेला प्रशिक्षक र कप्तानले राम्रै भइरहेको बताएका थिएँ । तर, पछि टिममा पर्न सकिनँ,” अनिलले पुराना दिन सम्झिए ।

कहिलेकाहीँ आफूमाथि अन्याय भएको आभास अनिललाई नभएको होइन । तर, युवा खेलाडीले राम्रो प्रदर्शन गरेका कारण अनिल आफू टिम नपरे पनि सन्तुष्ट छन् । तथापि, आफूमाथि अन्याय भएको कुरा अनिलको मनको कहीँ कतै कुनामा गहिरो गरी बिझेको छ ।

“एकपटक टिमबाट ड्रप भएपछि मैले मौका नै पाइनँ । टिममा मात्र होइन, मलाई बन्द प्रशिक्षणमै बोलाइएन,” अनिलको गुनासो छ, “टिमभित्र गुट–उपगुट पनि थियो । टिममा फर्किन नसक्नुको कारणमध्येको एक गुटमा पर्न नसक्नु पनि हो भन्ने लाग्छ ।”

अनिलको क्रिकेट यात्रा
अनिलले २००५ देखि नेपालको विभिन्न उमेर समूहमा खेल्दै सिनियर टोलीमा स्थान बनाएका हुन् । २००८ मा अनिलले यू–१९ विश्वकप खेलेका थिए । त्यति बेला नेपालले अष्ट्रेलिया र श्रीलंकाजस्तो टेस्ट मान्यताप्राप्त देशविरुद्ध खेलेको थियो ।

त्यति बेला अष्ट्रिेलियन टोलीमा रहेका स्टिभ स्मिथ, जोश हाज्लेउड, जेम्स प्याटिन्सन, जेम्स फोल्कनर विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्यस्तै, श्रीलंकाका दिनेश चण्डिमल, कुशल परेरा, लहिरू थिरिमाने, थिसरा परेराले पनि विश्व क्रिकेट मञ्चमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।

विश्वकप खेलेको दुई वर्षपछि विश्व क्रिकेट लिग डिभिजन–५ का लागि अनिल नेपालको १४ सदस्यीय टोलीमा छनोट भए । अनिलले अमेरिकाविरुद्धको विवादस्पद खेलबाट सिनियर टोलीमा डेब्यु गरे । तर, अनिलको डेब्यु सुखद भने भएन । उनी चार रन बनाएर पवेलियन फर्किएका थिए ।

२०१० मै अनिलले एसीसी एलिट ट्रफी पनि खेले । त्यसपछि निरन्तर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए ।

मलेसियामा सम्पन्न २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–४ मा अनिलले डेनमार्कविरुद्ध १३४ बलमा ११३ रन बनाए । नेपालले उक्त प्रतियोगिता जित्दै विश्व क्रिकेट लिग डिभिजन–३ मा स्थान बनाएको थियो ।

अनिलले २०१५ जुलाई ३ मा नेदरल्यान्ड्सविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे । त्यसपछि उनले १७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । २०१५ जुलाई २९ मा स्कटल्यान्डविरुद्ध ९३ बलमा नौ चौका र एक छक्कासहित शतक बनाए । अनिल लिस्ट ‘ए’ क्रिकेटमा शतक बनाउने पहिलो नेपाली क्रिकेटर बने ।

टिममा हुँदाको क्षण सम्झँदा अहिले अनिलका आँखा रसाउँछ । आफ्नो कीर्तिमानबारे चर्चा गर्दा अनिल भावुक बन्छन् । कहिलेकाहीँ उनलाई अझै पनि राष्ट्रिय टिममा फर्किन सक्छु भन्ने जोस आउँछ । तर, समयले धेरै फड्को मारिसकेको छ । युवापुस्ताका खेलाडीहरू जबर्जस्त प्रदर्शन गरिरहेका छन् । त्यसकारण अनिलले अब त्यो आशा मारिसकेका छन् ।

“टिमबाट बाहिरिएपछि मेरो दुनियाँ नै लुटिएको जस्तो अनुभव भएको थियो,” अनिलले भने, “अब मैले राष्ट्रिय टोलीको आशा मारिसकेको छु ।”

घरेलु प्रतियोगितामा अनिलले झन्डै एक दशक विभागीय टिम त्रिभुवन आर्मी क्लबमा बिताए । तर, यसपटक उनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि खेलेनन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप यसपटक ट्वान्टी–२० स्वरूपमा खेलाएको थियो । यसअघि यो प्रतियोगिता एकदिवसीय स्वरूपमा खेलाइन्थ्यो । तर, क्यानले ओमानमा हुने आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटलाई बहाना बनाउँदै प्रतियोगिता ट्वान्टी–२० स्वरूपमा खेलाइयो ।

ओमान भ्रमणका लागि खेलाडी छनोटको आधार बनाइएको प्रतियोगितामा अनिलले घरायसी व्यस्तताका कारण खेलेनन् । अनिल अहिले धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरमा नयाँ घर बनाउँदै छन् । त्यता व्यस्त भएकाले पनि उनले टिमलाई प्रधानमन्त्री कप क्रिकेट नखेल्ने जानकारी दिएका थिए ।

धनुषाको पुर्ख्यौली थलोमा घरायसी कामकाजमा व्यस्त अनिल दुई सन्तानका पिता हुन् । उनका सात वर्षीय सिद्धार्थ र दुई वर्षीय आरुष छोरा छन् । अनिलले अब छोरालाई खेलाडी बनाउने सपना बुनेका छन् ।

उनी भन्छन्, “दुवै छोरामध्ये कम्तीमा एउटालाई खेलाडी बनाउने सपना छ । मेरो छोराले देशको लागि खेलोस् भन्ने लाग्छ । छोराको पनि इच्छा देखाएको छ । हेरौँ, अब के हुन्छ ।”

प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्