
अहिले देशैभरि चिसो बढ्दो क्रममा छ । चिसोसँगै बिरामीहरू पनि बढ्न थालेका छन् । पुराना दीर्घरोग भएकादेखि चिसोबाट हुने पखाला, रुघाखोकी, निमोनियालगायत रोगका बिरामी बढेका छन् ।
चिसोमा दम र बाथका रोगीहरूलाई बढी समस्या हुने गरेको देखिन्छ । यसक्रममा बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अरू रोग र बाथरोगका लक्षण कसरी छुट्ट्याउनेलगायत विषयमा डा. अभिलाषा शाहसँग गरिएको कुराकानीको सम्पादित अंश :
दिनहुँ बाथरोगका बिरामी चेकजाँच गर्नुहुन्छ, हामो समाजमा कस्तो रूपमा पाउनुहुन्छ बाथरोगको अवस्था ?
नेपालमा खास बाथरोग धेरै नै देखिएको छ । धेरै मात्रामा छ । तर, त्यसको डाइग्नोसिस मात्रै नभएको हो । पहिला त बाथरोग भनेको के हो नै धेरैले बुझेका छैनन् । सचेतना, जानकारी नभएर पनि होला । बाथरोगको लक्षणहरू देखेपछि विशेषज्ञकोमा नगईकन यो डाइग्नोसिस नभएको हुनाले मात्र बाथरोग भन्ने, खालि बूढाबूढीलाई मात्र हुन्छ भन्ने एउटा गलत बुझाइ, धारणा छ ।
डब्ल्यूएचओको तथ्यांकानुसार भनिन्छ कि विश्वमा १० प्रतिशतभन्दा बढीलाई बाथरोग छ । नेपालमा त्यस्तो कुनै अध्ययन त भएको छैन, कतिजनालाई बाथ छ, के छ । तर, अहिले विस्तारै–विस्तारै सचेतना बढ्न थाल्यो, डाइग्नोसिस हुन थाल्यो । त्यसपछि बाथको बिरामीहरू दिनदिनै बढेको देखिन्छ ।
बाथरोग कस्तो रोग हो र कसरी मानिसमा देखापर्छ ?
बाथरोग एकप्रकारको अटो इम्युन डिजिज पनि हो । अटो इम्युन भन्नाले के हो भने, जुन हाम्रो रोगसँग लड्ने शक्ति हुन्छ, जसलाई इम्युन सिस्टम भनिन्छ । बाथरोगको बिरामीहरूमा यो इम्युन सिस्टम अटोम्याटिकल्लाी काम गर्ने हुन्छ । अटोम्याटिकल्ली आफ्नै अंगहरूलाई हानि, नोक्सानी पुर्याउने, जस्तै : जोर्नीदेखि लिएर भित्री अंग मुटु, मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला, विभिन्न अंगमा असर गर्ने देखिन्छ । यो एउटा अटो इम्युन रोग हो । कुनै बाथरोग वंशाणुगत पनि आएको देखिन्छ । स्पनडाइलो अथराइटिस भन्ने बाथरोग भयो, वंशाणुगत आउने बाथ पनि हो । कुनै बाथ जसले मांसपेशीलाई मात्र असर गर्दछ ।
कसैलाई बाथरोग छ भनेर कसरी थाहा पाउने ? प्रारम्भिक रूपमा कसरी अनुमान गर्न सकिन्छ ?
सामान्यतया देखिने लक्षणहरू जोर्नीहरू दुख्ने, सानो तथा ठूलो जोर्नीहरू दुख्ने, जोर्नीहरू सुन्निने, जोर्नीहरू कक्रक्क पर्ने, बिहान सुतेर उठ्दा, रेस्ट गरेर उठ्दा जोर्नीहरू मुट्ठी पार्न गाह्रो हुने, टाइट हुने, यो सामान्यतया बाथको सुरुवाती लक्षण हो । बाथानुसार लक्षण पनि फरक–फरक नै हुन्छ । गठियाबाथमा जोर्नी दुख्ने हुन्छ । बाथ सयौँ प्रकारको हुन्छ । जति खालको बाथ हुन्छ, लक्षण पनि त्यस्तै फरक हुन्छ । सामान्य लक्षणहरू त जोर्नी दुख्ने, सुन्निनेहरू नै हो । कपाल झर्ने, पातलो हुने, घाममा जाँदा अनुहार रातो हुने, जसलाई बटरफ्लाई र्यास भनिन्छ । गाला रातो हुने, मुखमा बारम्बार घाउहरू निस्किने, चिसोमा औँलाहरू निलो, सेतो हुने, छालामा डाबरहरू आउनेदेखि लिएर लामो समयदेखि ज्वरो आउने, विभिन्न लक्षण बाथमा देखापर्छन् ।
चिसोमा बाथरोगका बिरामीहरूलाई बढी समस्या हुन्छ, गाह्रो पर्छ भनिन्छ, किन होला ?
त्यो कारण के हुनसक्छ भने, जुन पेनको रिसेप्टरहरू हुन्छन्, पेनको पोइन्टहरू जुन मान्छेहरूमा हुन्छ, चिसोले त्यसलाई बढी सेन्सेटाइज गरेर बाथले जाडोमा बढी दुःख दिने हुन्छ । त्यो भन्दैमा बाथ जाडोमा मात्रै देखापर्ने हुँदैन । बाथ गर्मीमा पनि उत्तिकै मात्रामा देखिन्छ । तर, जाडोमा धेरै बिरामीहरूलाई बाथले दुःख दिएको यही कारणले गर्दा नै हो ।
यस्तो बेला कसरी हेरचाह गर्ने ? कस्तो खानपिन गर्ने ? कस्तो औषधि लिने ?
बाथका बिरामीहरूले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने, चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजका कुराहरू कोक, फेन्टाहरू नखाने, तातो गरेर वार्म गर्ने, आफ्नो जोर्नीहरूलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।
कस्तो अवस्थामा अस्पताल जाने ?
लक्षणहरू कुनै देखापरे भने, जोर्नी दुख्ने, सुन्निनेदेखि विभिन्न लक्षणहरू त्यस्तो देखियो भने चिकित्सककोमा जाने, बाथरोग विशेषज्ञकोमा जाने । समयमै राइट डाइग्नोसिस गरेको खण्डमा वा समयमै औषधि उपचार भयो भने बाथको उपचार प्रारम्भिक चरणमा भयो भने बाथलाई धेरै नियन्त्रण गर्न सकिन्छ । बाथ यतिसम्म खतरनाक हुन्छ कि त्यसले ज्यान जान सक्ने पनि हुनसक्छ । त्यसैले समयमै त्यसको डाइग्नोसिस गर्दा राम्रो हुन्छ ।
बालबालिका र वृद्धवृद्धाहरूलाई कसरी हेरचाह गर्ने ?
बाथ भनेको सानो बच्चादेखि बूढाबूढीसम्म जुन कुनै पनि एज ग्रुपमा लाग्न सक्छ । लक्षण देखियो भने समयमै जाने, उपचार गर्ने । बच्नको लागि तातो, न्यानो गर्नुपर्छ । अर्को कुरा, केही गरी कसैको तौल उमेरानुसारभन्दा धेरै छ भने तौल ठिक बनाउने, स्वस्थ जीवनशैली अपनाउने, खानाहरू र डाइटहरूमा नियन्त्रण गर्ने । बाथ लाग्यो भनेर गेडागुडीदेखि सबै बार्ने हाम्रो जुन गलत सोचाइ छ, त्यो नगरी पहिला कुन बाथ हो त्यो पत्ता लगाउने र विशेषज्ञको सल्लाहानुसार अघि बढ्नुपर्छ ।