site stats
बाह्रखरी :: Baahrakhari
विशेष
क्लिक भयो भने ‘चपली हाइट–३’ ले ट्रेन्ड सेट गर्नेछ

दुई हप्ता पछाडि सरेको चलचित्र ‘चपली हाइट–३’ यही पुस १५ गते रिलिज हुँदै छ । निकेश खड्काले निर्देशन गरेको चलचित्र क्राइम थ्रिलर जनरामा छ । उनले क्राइम थ्रिलर जनरामा पनि आफूले फरक तरिकाले कथा भन्ने प्रयास गरेको बताएका छन् । दर्शकमा चलचित्र क्लिक भए यसले नेपालमा क्राइम थ्रिलमा ट्रेन्ड सेट गर्ने दाबी उनले गर्दै आएका छन् ।

यसअघि, ‘जिन्दगी रक्स’ र ‘फाटेको जुत्ता’ निर्देशन गरेका उनले यसमा आफूले मिहिनेत गरेर अब्बल दर्जाको चलचित्र बनाउने प्रयास गरेको बताएका छन् । चपली हाइट, यसको पब्लिसिटी, कथा, कलाकार, बजारलगायतमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले निर्देशक निकेश खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :

लामो समयपछि ठूलो ब्यानरको पहिलो नेपाली चलचित्र लिएर आउँदै हुनुहुन्छ, मनोवैज्ञानिक त्रास कत्तिको छ ? 
पक्कै पनि छ । दर्शक हलमा आउँछन् भन्ने हलिउड र बलिउड चलचित्रले प्रमाणित गरिसकेका छन् । तर, नेपाली चलचित्र दर्शकले पर्खिरहेका छन् कि छैनन् भन्ने कौतुहल छ । नेपाली फिल्म भन्नेबित्तिकै हलिउड र बलिउडपछि तेस्रो प्राथमिकतामा छौँ । त्यसैले नेपाली दर्शक हलसम्म आउने/नआउनेमा डर छ । तर, आउनुहुन्छ भन्नेमा विश्वस्त भने छौँ । हलमा ट्रेलर हेर्दा दर्शकले जति रमाइलो मान्नुभएको छ, त्यो हेर्दा दर्शक आउनुहुन्छ भन्नेमा ढुक्क छौँ ।

Argakhachi Cement Island Ad

पब्लिसिटीभित्र प्रचार खोजेजस्तो छ नि निर्माण पक्षले हो ? 
नेगेटिभ पब्लिसिटी नै गर्छु भनेर त पक्कै पनि गरेको होइन होला । तर, प्रोडुसर (अर्जुनकुमार)ले चलचित्रको प्रचार त पक्कै गर्नुभएको हो । प्रचार गर्दा कहिलेकाहीँ केही कुरा नेगेटिभजस्तो लाग्न सक्छ । तर, निर्देशकका हिसाबले जतिसक्दो प्रचार धेरै होस् र त्यो सकारात्मक नै होस् भन्ने अपेक्षा हुन्छ । हाम्रो चलचित्र नै राम्रो छ, नकारात्मक प्रचार आवश्यक नै छैन । चलचित्र जब दर्शकले हेर्नुहुन्छ, नयाँ स्वाद पाउनुहुन्छ । हेरिराखेको कन्टेन्टभन्दा फरक छ । त्यसैले कन्टेन्टमा केन्द्रित भएर पब्लिसिटी आवश्यक छ ।

कन्टेन्टमा यति धेरै विश्वास छ भने साउथको डब चलचित्र आउँदा किन पछि हट्नुभयो ? 
बाहिरबाट सरसर्ती हेर्दा डराएर चलचित्र सार्‍यो भन्ने लाग्न सक्छ । तर, वास्तविकता अर्कै छ । हामीले हाम्रो चलचित्र सार्दा ५० शोमा स्पाइडरमेनलाई ३८ शो दिइएको थियो । बाँकी १२ वटा शो हाम्रो र ‘पुष्पा’लाई बाँडिने थियो । त्यसैले हाम्रो चलचित्र राम्रो भए पनि र दर्शकले हेर्न खोज्दा पनि नपाउने भएपछि हामीले सार्नैपर्ने अवस्था सिर्जना भएको थियो । शो नै नदिनु अथवा नपाउनु भनेको एक हिसाबले हामीलाई अहिले नआऊ, पछि आऊ भनेको हो । त्यसैले हामी सरेका हौँ ।

प्रदर्शकहरू नै हाबी छन् भन्ने कुराको उदाहरण पनि होला यो होइन ? 
नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोण त्यही नै हो । बाहिरका ठूला चलचित्र आउँदा नेपाली फिल्म त सधैँ छायामा पर्छन् नै । तर, स्पाइडरमेनले आफूलाई पुष्टि पनि गर्‍यो । जति उसलाई शो दिइएको थियो, दर्शक भरिभराउ थिए । यसको अर्थ दर्शकले पर्खिएको चलचित्र पनि थियो । दर्शक जहाँ आउँछन्, प्रदर्शकले शो दिनु स्वाभाविक पनि हो । तर, यति हुँदाहुँदै पनि नेपाली चलचित्रलाई नै राम्रो शो आउँछ भन्ने अपेक्षाचाहिँ थियो । आएन, त्यसैले हामी सुरक्षित हुन चाह्यौँ ।

नेपाली चलचित्र सधैँ तेस्रो स्थानमा रहनुको कारण समीक्षा गर्नुभएको छ ? 
बजेट, मेकिङ, बजारलगायत धेरै कुराहरू छन् । नेपाली चलचित्रलाई कठिन छ । एक–दुईवटा ब्यानर जो ब्रान्ड बनिसकेका छन्, उनीहरूलाई सहज होला, बाँकी सबैलाई कठिन छ ।

चपली हाइट–३ राम्रो छ भनेर दर्शकलाई विश्वस्त बनाउने आधार के छ ? 
चपली हाइट–३ को स्टोरीलाइन नै सबैभन्दा बलियो पक्ष हो । सँगै स्टारकास्ट पनि यसको अर्को अब्बल पक्ष हो । कमर्सियल भ्यालु भएका स्टारकास्ट नभए पनि अभिनयका हिसाबले हाम्रो चलचित्रमा स्टारहरू छन् । जस्तै : अर्पण थापा, स्वस्तिमा खड्का, महेश त्रिपाठी अब्बल दर्जाका कलाकार हुन् । फरक प्याटनको क्राइम थ्रिलर स्टोरी चलचित्रमा छ । पहिला नेपाली चलचित्रमा हेर्नुभएको भन्दा फरक चिज यो थ्रिलर चलचित्रमा पाउनुहुनेछ । क्लिक भइदियो भने यो चलचित्रले ट्रेन्ड सेट गर्छ भन्नेमा म ढुक्क छु ।

नेपालमा क्राइम थ्रिलर चलचित्र हेरेर रमाउने दर्शक कति छन् ?
कोभिडका कारण भएको लकडाउनमा नै हामीले देख्यौँ थ्रिलर चलचित्र कति हेरिदोरहेछ भन्ने । डिजिटल प्लेटफर्ममा चलचित्र हेरेर सेयर गरिनेमा अधिकांश थ्रिलर सिनेमा नै थिए । नेपाली दर्शकले क्राइम थ्रिलर हेरिरहनुभएको छ, मात्रै यति हो नेपाली चलचित्रमा त्यो अपेक्षा गर्नुभएको छ कि छैन । यो चलचित्र हामीले दर्शकले खोज्ने स्तरमा बनाएका छौँ ।

नेपालमा थ्रिलर र हरर्र चलचित्र राम्रा बन्दैनन् भन्ने छ नि ?
तपाईंले भनेको कुरा सत्य हो । यसअघि आएका थ्रिलर र हरर्र चलचित्रका ट्रेलर हेरेर हलमा जाँदा अपेक्षा पूरा नहुँदा यो कुरा आएको हो । यो चलचित्रमा हामीले सबै त्रुटिहरूलाई हटाउँदै सकेसम्म राम्रो प्रयास गरेका छौँ । सुरुमा फाइनल गरिसकेको साउन्ड पनि हामीले पछि पुनः अर्कै गर्‍यौँ । सम्पादन र क्यामेरा एङ्गलमा पनि हामीले सक्दो राम्रो काम गरका छौँ ।

यहाँभन्दा अगाडिका तपाईंका चलचित्र पनि दर्शकले हेरिसक्नुभएको छ । पहिलाका चलचित्र हेरिसकेका दर्शकले तपार्ईंलाई यो चलचित्रमा के आधारमा विश्वास गर्ने ?
हरेक चलचित्र शून्यबाट सुरु हुन्छ । पहिलाको चलचित्र जहाँ छोडेको छ त्यहीँबाट अर्को चलचित्र सुरु हुने होइन । मैले कुन जनाराको चलचित्र बनाएको छु भन्ने कुराले पनि अर्थ राख्छ । हरेक चलचित्र भिन्दाभिन्दै हुन्छ ।

तपाईंले ‘फाटेको जुत्ता’ र ‘जिन्दगी रक्स’को कुरा गर्न खोज्नुभएको होला । जिन्दगी रक्स टिनएजका लागि लक्षित थियो । फाटेको जुत्ता सेन्सलेस कमेडी नै बनाएको हो । चपली हाइट–३ मा थ्रिलरलाई पनि नयाँ वेमा देखाउने भनेर हामीले काम गरेका छौँ ।

यो मेरो सर्ट मुभीको स्टोरी हो । जब फाटेको जुत्ताले राम्रो ब्यापार ग¥यो, त्यसपछि हामी यसको अर्को सिरिज गर्ने भनेर छलफलमा थियौँ । अर्जुनकुमार दाइ र रामबाबु गुरुङ दाइसँग यो स्टोरी सुनाउँदा उहाँहरूले प्लट मनपर्‍यो भन्नुभयो । थ्रिल प्याटनमा रहेको यो स्टोरीमा चपली हाइट बनाउँदा हुन्छ भनेपछि सर्ट मुभीको यो स्टोरीले मुभीको रूप लिएको हो । 

चपली हाइटको सिरिजहरू क्रमशः कमजोर हुँदै गएका छन् । तर, यो कमजोर छैन भनेर दर्शकलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
पहिलो र दोस्रो सिरिज दीपेन्द्र के खनालले निर्देशन गर्नुभयो । उहाँको काम पक्कै पनि राम्रो हुन्छ । तेस्रो सिरिज मैले गरिरहेको छु । त्यसैले मैले त्यो क्वालिटी घट्न दिनु हुँदैन । अझ राम्रो गर्नुपर्छ भन्ने सुरुदेखि नै मैले दबाबमूलक जिम्मेवारी बोकेर हिँडिरहेको छु । त्यसैले पनि मैले यसमा मिहिनेत गरिरहेको छु । चपली हाइटको ब्रान्डलाई जोगाएर बनाउने प्रयास गरिरहेको छु । 

चपली हाइट भन्नेबित्तिकै यौन मनोविज्ञान त्यसमा पनि ग्ल्यामर दर्शकले खोज्छन् होला । दर्शकमा यो अपेक्षा रहेछ भने पाउलान् ? 
ग्ल्यामरलाई कुन सेन्समा लिने भन्ने पनि हो । हाम्रो चलचित्र ग्ल्यामर सिनेमा पनि हो । दर्शकले कसरी बुझ्नुहुन्छ भन्ने कुराले पनि अर्थ राख्छ । फिल्ममा ग्ल्यामर छ । ग्ल्यामर फिल्म नै हो । तर, दर्शक ग्ल्यामर हेर्न मात्रै आउनुहुन्छ जस्तो मलाइ लाग्दैन । समग्र चलचित्र नै हेर्न आउनुहुन्छ । हामीले ल्याएको होर्डिङ बोर्ड र ट्रेलर हेरेर पनि चलचित्रले दर्शकलाई हलसम्म फर्काउँछ भन्ने हाम्रो विश्वास छ । 

नेपालमा स्टारकास्टले चलचित्र चल्छन् ? 
इनिसियलका लागि स्टारकास्टले काम गर्छ । म आफैँले पनि फिल गरेको कुरा हो यो । सानो पर्दामा नदेखिएका स्टारहरूलाई ठूलो पर्दामा दर्शकले हेर्न खोज्नुहुँदो रहेछ । तर, यो सुरुको दुई दिन मात्रै हो । अन्ततः चल्ने स्टोरीले नै हो । चल्ने वर्ड अफ माउथले नै हो ।

राम्रो चलचित्र बनेर पनि दर्शकले हेरिदिएनन् भन्ने गुनासो पनि बाक्लै सुनिन्छ, यो किन हुन्छ ? 
राम्रो स्टोरीसँगै सुरुका दुई दिन मात्रै भए पनि काम गर्ने स्टारकास्ट भयो भने झन् सजिलो हुन्छ । स्टारकास्ट नहुँदा वर्ड अफ माउथको भर पर्नुपर्छ । तर, बाँकी त फिल्म नै राम्रो हुनुपर्छ ।

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्