site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मतदानमा ढिलाइ हुँदा दिक्क बने मतदाता (तस्बिरहरू)

जनकपुरधाम । प्रदेश २ मा नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि मतदान गर्न आएका प्रतिनिधिहरू 'दिक्क' भएका छन् । तोकिएको समयमा मतदान सुरु नहुँदा उनीहरू आक्रोशित बनेका छन् ।

गोपालर्धमशालास्थित मतदान स्थल अहिले भरिभराउ छ । मतदाताहरू भुइँमा बसेर समय बिताइरहेका छन् । चिसो मौसमका कारण ढिलो मतदान हुँदा मतदान गर्ने संख्यामा कमी आउन सक्ने अनुमान गरिएको छ । मतदानमा ढिलाइ हुँदा अपाङ्ग, ज्येष्ठ नागरिक र महिला मतदाताहरू आजित भएका छन् । चार ठाउँमा मतदान गर्ने व्यवस्था गरिएको छ । दुई/दुई जिल्लाको एक ठाउँमा गरी चार ठाउमा मतदान हुनेछ ।

Argakhachi Cement Island Ad

नयाँ नेतृत्वको लागि दुई समुहबाट प्यानल बनाएर उमेदवारहरू निर्वाचनमा होमिएका छन् । शेरबहादुर देउवा समूहबाट रौतहटका कृष्ण यादवको नेतृत्वमा प्यानल बनाइएको छ भने विमलेन्द्र निधि-शेखर कोइराला समूहबाट रामसरोज यादवले प्यानलसहित उमेदवारी दिएका छन् । दुवै समुहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

मतदानमा ढिलाइ हुँदा दुई पक्षबीच विवादसमेत भएको छ । निधि समूहले मतदान भोलिका सार्न माग गरेपछि विवाद भएको हो । देउवा समूहले भने आजै मतदान गर्नुपर्ने अडान लिएको छ ।

पाँच जना सदस्य निर्विरोध विजय भइसकेका छन् ।

प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन् । प्रदेश मधेसी महिलामा किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमया तामाङनी निर्विरोध चयन भएका छन् । विभिन्न ७२ पदका लागि १८० जनाले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्