site stats
बाह्रखरी :: Baahrakhari
विशेष
खुकुरीको धारमा बसेर निर्माताहरूले चलचित्र बनाइरहेका छन्

एघार वर्षअघि भिन्न ‘टेस्ट’को सिनेमा ‘मेरो एउटा साथी छ’बाट निर्देशनमा प्रवेश गरेका सुदर्शन थापा नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक मानिन्छन् । ‘के यो माया हो’, ‘मेरो लभ स्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘चंखे संखे पंखे’, ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’ चलचित्र निर्देशन गरेका उनको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ रिलिजको तयारीमा छ ।

स्वयं कलाकारसमेत रहेका थापा कोरोना संक्रमणको त्रास अझै पनि कायम रहेको र त्यसको त्रास पुनः बढे चलचित्र क्षेत्र थप प्रभावित हुने बताउँछन् । म यस्तो गीत गाउँछु–२ प्रदर्शनको तयारीको सेरोफेरोसँगै नेपालमा विदेशी चलचित्रको प्रभाव र असर, सरकारको भूमिका, नेपाली चलचित्रको नेपाल बाहिरको बजारलगायत विषयमा केन्द्रित भएर निर्देशक सुदर्शन थापासँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :  

म यस्तो गीत गाउँछु–२ रिलिजको संघारमा हुनुहुन्छ, पब्लिसिटी डिजाइन केही फरक तरिकाले गरिरहनुभएको छ ? 
खास त्यस्तो नयाँ छैन । अहिले ओमिक्रोनको त्रास कायम रहेकाले पनि अन्योल कायम छ ।

Argakhachi Cement Island Ad

निर्धारित समयमा चलचित्र रिलिज नहुने सम्भावना पनि छ ?
छैन । अहिलेसम्मको अवस्थामा शतप्रतिशत रिलिज गर्ने योजनाअनुसार अगाडि बढिरहेका छौँ ।

मनोवैज्ञानिक त्रासचाहिँ छ ?
नेपालभित्र सँगै बाहिरको अवस्थाले पनि असर गर्छ । भारतमा यो संक्रमण फैलियो भने पनि त्यसको असर नेपालमा देखिनेछ । नेपालमा अहिलेसम्म ओमिक्रोनको असर त्यति धेरै नदेखिए पनि भारतमा बढ्नेजस्तो देखिएकाले त्यसको असर यहाँ पर्छ कि भन्ने छ । त्यसैले चिन्ताको विषय मात्रै हो । सिनेमा रिलिज नगर्ने भन्ने छैन । भोलि लकडाउनै भयो भने अलग पाटो भयो । तर, अहिले सिनेमा रिलिजकै पक्षमा छौँ ।

नेपाल बाहिरको बजारको कुरा धेरै उठिरहेको छ । नेपाल बाहिर त्यति धेरै बजार छ नेपाली चलचित्रको ? 
छ । बजार बन्दै छ । पहिला–पहिला च्यारिटी शो मात्रै गरिन्थ्यो । तर, अहिले केही देशमा थिएटरमै प्रदर्शन गर्न थालिएको छ । सबै कुरा एकैपटक हुँदैन । विस्तारै बजार बन्दै जाने हो । अहिले नेपाली चलचित्रको विदेशमा बजार बन्ने क्रममा छ । केही न केही भए पनि निर्मातालाई विदेशको बजार ब्याकअपका रूपमा रहेको थियो । मेरै पछिल्ला चलचित्रबाट केही न केही पैसा आइरहेको थियो । त्यो कलेक्सनमा काउन्ट हुन्थ्यो । निर्मातालाई सहज हुन्थ्यो ।

औसत चलचित्रले नेपाल बाहिरबाट कमाइ गर्ने औसत कलेक्सन कति हुन्थ्यो ? 
यो ठ्याक्कै भन्न सकिँदैन । मेरै भिन्न–भिन्न चलचित्रका फरक–फरक कलेक्सन छ । अरूको पनि त्यस्तै होला । मैले अरूको चलचित्रको कलेक्सन भन्ने कुरा भएन । यो निजी कुरा हो । सबै निर्माताहरूले भनेको अमाउन्टमा विश्वास गरिहाल्ने अवस्था पनि छैन ।

नेपाली निर्माताहरूलाई समस्या छ । खुकुरीको धारमा बसेर निर्माताहरूले चलचित्र बनाइरहेका छन् ।

तर, सञ्चारमाध्यम होस् वा अन्य पक्ष अब्जेक्सन धेरै छ । नेपाली सिनेमामाथि आत्मविश्वास नभएर हिन्दी सिनेमा कुर्नुपर्‍यो जस्ता कुराहरू आउँछन् । तर, बाहिरबाट बसेर हेर्दाभन्दा निर्मातालाई धेरै कठिन छ । तर, एउटा सिनेमामा निर्माता फस्यो भने उसको जीवनमा धेरै परिवर्तन आउँछ । त्यसैले एकैजनाले रिस्क लिन सक्ने अवस्था छैन । तर, अहिलेको अवस्थामा आँट गरेर आउन लाग्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।

इन्डष्ट्रि रहे नेपाली कलाकारिता रहन्छ । इन्डष्ट्रि रहे चलचित्र पत्रकारिता रहन्छ । त्यसैले पहिला चलचित्र उद्योगलाई उठाउनुपर्छ ।

सरकारले चलचित्र क्षेत्रलाई अपेक्षित सहयोग गरेन भन्ने यहाँहरूको गुनासो रहँदै आएको छ । सरकारले के सहयोग गर्नुपर्छ भन्ने तपाईंहरूको माग हो ? 
सरकारले गर्न सक्ने धेरै छ । भन्नलाई कलाकार राष्ट्रका गहना भनिन्छ । चलचित्रले नेपाली कला–संस्कृतिको प्रवद्र्धन हुन्छ । चेतना फैलाउन सक्छ । धेरैको श्रम जोडिएको हुन्छ । धेरै यही उद्योगमा आश्रित हुनुहुन्छ । त्यसैले यो क्षेत्र राज्यको नजरमा पर्नुपर्छ । कोभिड–१९ मा सबैभन्दा धेरै असर गरेका विभिन्न क्षेत्रमध्ये यो पनि एक हो । तर, सरकारले त्यो नजरले हेरेन ।

तपाईंहरूले पनि बुझाउन नसकेको हो कि ?
म निर्माता तथा निर्देशकका रूपमा एक व्यक्ति हुँ । म र मजस्ता व्यक्तिहरूले चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्था बनाएका छौँ । ती संस्थाको नेतृत्व पनि हामीले चयन गरेका छौँ । व्यक्ति भन्दा पनि संस्थागत रूपमा जानुपर्छ । हाम्रा यी संस्थाभन्दा पनि माथि चलचित्र विकास बोर्ड छ । हुन त बोर्डका पनि आ–आफ्नै समस्या र चुनौती होलान् । बोर्ड पनि सबै कुरामा आफैँ निर्णय लिन सक्दैन । समग्रमा सरकार यो क्षेत्रप्रति गम्भीर र जिम्मेवार देखिएको छैन ।

सरकारले सिनेमा क्षेत्रलाई चासो नदिनुको कारण सरकारको नजरमा पर्ने गरी काम गर्न पो सकेनौँ कि ? 
सरकारले चासो नदिनुको कारण हामीले काम गर्न नसकेर होइन । सरकारले आफ्नो प्रयोजनका लागि धेरै कलाकारलाई प्रयोग गर्दैै आएको छ । प्रयोग गर्ने ठाउँमा कलाकार प्रयोग भइरहेका छन् । तर, तिनै कलाकार जहाँ बाँचिरहेका छन्, जुन क्षेत्रले उनीहरूलाई बचाइरहेको छ, यो ठूलो लगानी भइरहेको क्षेत्र हो । पाँच लाख लगानीदेखि उद्योग सुरु हुन्छ । चलचित्रमा त एउटै चलचित्रमा दुई/तीन करोड लगानी भइरहेको हुन्छ । जति सरकारको ध्यान यो क्षेत्रमा खिचिनुपर्ने थियो, त्यो छैन । अपेक्षा गरौँ, कुनै दिन होला ।

तर, सरकारको अपेक्षा गरेर मात्रै हुँदैन । त्यसैले हामीले आ–आफ्नै तरिकाबाट गरिरहेका छौँ । धेरै चुनौतीहरू छन् । त्यसलाई चिर्दै अगाडि बढ्ने प्रयास गरिरहेका छौँ ।

साउथ इन्डियन डब चलचित्र नेपालमा रिलिज हुँदा नेपाली चलचित्रले प्रदर्शन मिति सार्नुपरेको छ । साउथका चलचित्र रिलिज गर्न दिनु हुँदैन भन्ने माग हो तपाईंहरूको ?
बलिउड, हलिउड सिनेमा रिलिज गर्न दिनु हुँदैन भन्ने हाम्रो माग होइन । आइरहेका छन् र आउनु पनि पर्छ । साउथ इन्डियन, भोजपुरी, मद्रासी चलचित्र भारतका पनि क्षेत्रीय चलचित्र हुन् । भारतका सबै क्षेत्रीय सिनेमा नेपाल आउन थाले भने नेपालजस्तो सीमित हल भएको ठाउँमा नेपाली चलचित्रले स्पेस पाउँदैन कि भन्ने हो । नेपालमा पहिला नेपाली चलचित्रले स्पेस पाउनुपर्छ, सरकारले त्यसको सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो माग हो ।

मेरो व्यक्तिगत धारणा हलिउड, बलिउड सिनेमा आउनुपर्छ । तर, पहिलो प्राथमिकता नेपाली चलचित्रलाई दिइनुपर्छ भन्ने हो । आफ्नो चलचित्र उद्योग समस्यामा नपरोस् भनेर धेरै देशले रणनीति बनाएका छन् । जस्तै : कोरिया । चीनमा हिन्दी चलचित्रको ठूलो बजार देखिएको हो । तर, चीनले कोटा सिस्टम लागु गरेको छ । सीमित चलचित्र मात्रै जान्छन् । जसका कारण त्यहाँ चिनियाँ चलचित्रले प्रश्रय पाउँछन् । नेपालमा चलचित्र क्षेत्र विकासको क्रममा रहेकाले हामी प्रतिष्पर्धा गर्न नसक्ने भएकाले केही समयका लागि आफ्नो चलचित्रलाई प्राथमिकता दिनुपर्छ । एउटा थिएटरमा तीनवटा स्क्रिन हुन्छन् । दुइटामा सय करोड र ५० करोडमा बनेका चलचित्र लागिरहेको हुन्छ । हाम्रो दुई करोडमा बनेको चलचित्रले कसरी प्रतिष्पर्धा गर्न सक्छ ? त्यसैले निश्चित समयसम्म नेपाली चलचित्रलाई प्रतिष्पर्धा गर्न दिनुपर्छ भन्ने हाम्रो भनाइ छ ।

राम्रो चलचित्र बन्यो भने त्यसले आफैँ स्पेस खोज्दैन ? 
त्यस्तो हुँदैन । नेपालमा राम्रा सिनेमा बनेका छैनन् ? बलिउड र हलिउडमा शतप्रतिशत राम्रा सिनेमा कहाँ बनेका छन् ? नेपालमा सयमा आठवटा त राम्रा चलचित्र बनिरहेकै छन् । राम्रा सिनेमा बन्दा पनि स्पेस खोइ ? सिंगल थिएटर अधिकांश बन्द भइसके । पहिला टेक्ने जमिन चाहिन्छ । राम्रो जुत्ता लगाउँदैमा खुट्टा टेक्न पाइन्छ भन्ने होइन । पहिला खाली जमिन चाहिन्छ ।

स्पेसको कुरा उठिरहँदा तपाईंहरू नै आफैँ सिनेमा जुधाउनुहुन्छ । तपाईंहरू आफैँचाहिँ किन एक हुन सक्नु हुन्न ?
सिनेमा जुधाएको भन्ने होइन । यही त समस्या हो । विदेशी सिनेमा ल्याएर सबै डेट लिएपछि बाँकी राम्रो डेट लिन खोज्दा त आफैँ एउटै मिति परिहाल्छ । सबैले सेफ साइड खोज्दा आफैँ जुध्छ । व्यवस्थापकका कारण यो भइरहेको छ । सरकारले प्रदर्शक र वितरकलाई टाइट गरिदिने हो भने यो अवस्थै आउँदैन थियो । अहिले त कुनै डेट नै खाली छैन ।

नेपाली चलचित्रको करिब ६ दशक लामो इतिहास रहे पनि अझै विदेशमा जान सकेका छैनौँ । राम्रो चलचित्र बनाएर पनि बेच्न जानेनौँ कि राम्रो चलचित्र बनाउनै सकेनौँ ? 
नेपाली सिनेमा जाने कहाँ ? हिन्दी चलचित्र पनि विदेशमा जाने भनेको अमेरिका गएर अमेरिकनले, अष्ट्रेलिया गएर अष्ट्रेलियनले, दुवईमा गएर शेखहरूले, कोरिया गएर कोरियनले हेरेर चलेको होइन । उनीहरूका चलचित्र पनि ती देशमा रहेका आफ्नो देशका नागरिकले हेर्ने हो । उनीहरूको जनसंख्या नै धेरै छ । नेपालको जनसंख्या यसै पनि कम छ । त्यसैले विदेशमा बस्ने नेपालीको संख्या पनि कम छ ।

हामीले एकदम राम्रो सिनेमा बनायौँ भने पनि सबै विदेशीले हाम्रो चलचित्र हेर्छन् भन्ने छैन । सबैभन्दा पहिला नेपालमै सिनेमा चल्नुपर्छ । घरको आँगनमा ननाची छिमेकीको आँगनमा गएर नाच्न सकिँदैन । नेपाली सिनेमाले पहिला नेपालकै बजारमा राम्रो गर्न सक्नुपर्‍यो । यहाँ चलेका सिनेमा विदेशमा पनि माग भइरहेका हुन्छन् ।

नेपालमै धेरै चलचित्र चल्न नसक्नुको कारण ?
चलेका छन् । चलेका छैनन् र ? नचलेका भए त नेपाली चलचित्र उद्योग नै कोल्याप्स हुनुपर्ने हो नि । सबै सिनेमा नचलेका भए सिनेमा उद्योग कोल्याप्स हुने थियो । तपाईं पनि अहिले चलचित्र पत्रकारिता नगर्नु पर्ने । नेपाली चलचित्र क्षेत्र र चलचित्र छन् र पो तपाईं हुनुहुन्छ । चलचित्र नचलेको भए म पनि निर्देशक हुने थिइन । जुनसुकै उद्योगमा १० प्रतिशत सक्सेस हुने हो । ९० प्रतिशत घाटामा जाने हो । र, त्यही १० प्रतिशतले त्यो उद्योगमा काम गर्ने हो । नेपालमा सयवटा चलचित्र बन्दा आठ/दशवटा हिट होलान् । बलिउडमा १५ सय चलचित्र बन्छन् । यहाँ आउने ४० वटाको हाराहारी हो । बाँकी त गणनामै आउँदैन ।

नेपालमा युनिटीमा काम गर्दा सफल चलचित्र बनेका छन् । युनिटी टुटेपछि चलचित्र केही कमजोर बनेका छन् । युनिटीमा काम किन हुन सक्दैन ? 
हामीमा ज्ञानको कमी छ । रिसर्चको कमी छ । हामी खालि अरूको कम्प्लेन गर्न मात्रै जान्दछौँ । हामी कतिपयमा आवश्यक ज्ञान छैन । तर, भएजसरी काम गरिरहेका छौँ । यो हाम्रो कमजोरी हो । चलचित्र क्षेत्र किन बिग्रिरहेको छ भने हामीसँग ज्ञान छैन । लगानीकर्तामा पनि चलचित्रको न्यूनतम ज्ञान छैन ।

हामीसँग इगो समस्या छ । सबैभन्दा ठूलो पक्ष एकार्काका सम्मान र विश्वास छैन । तपाईंले भन्न खोजेको सन्तोष सेनजीसँग सहकार्यको कुरा हो । ‘प्रेमगीत’पछि उहाँले पनि राम्रो गर्ने प्रयास गरिरहनुभएको छु । मैले पनि आफ्नो ठाउँबाट राम्रो गर्ने प्रयास गरिरहेको छु । त्यसैले ‘म यस्तो गीत गाउँछु–२’ सम्म आइपुगेको छु ।

तर, संयुक्त रूपमा काम गर्नुपर्ने दिन आएको छ । एक्लै–एक्लै काम गर्नुभन्दा एकीकृत भएर काम गर्नु जरुरी छ । किनभने, सबैले राम्रो चलचित्र बनाउने प्रयास गर्ने हो । तीनजनाले तीनवटा चलचित्र बनाउनुभन्दा तीनजना मिलेर सहकार्य गर्नु आवश्यक छ ।

सुदर्शन थापा र सन्तोष सेनले सँगै काम गर्न सक्ने अवस्था बन्दै गएको हो ?
हुनसक्छ । काम नगर्दैमा नराम्रो छ भन्ने होइन । हामीबीच कुराकानी भइरहेको हुन्छ । बुधबार बिहान पनि हाम्रो गफ भइरहेको थियो । घरमा आउने–जाने भइरहेको हुन्छ । बाहिरी दुनियाँ र भित्री दुनियाँ अर्कै छ । पक्कै पनि काम हुनसक्छ । उहाँ र ममा एउटा ठूलो र राम्रो चलचित्र आउनुपर्छ भन्ने महसुस हुनुपर्छ । यो समयले आफैं गराउँछ । तर, यसका लागि हामीमा विचार सकारात्मक हुनुपर्छ ।

नेपाली चलचित्रमा आवश्यक भन्दा पनि अनावश्यक विधामा बढी लगानी भइरहेको छ भन्ने टिप्पणी धेरै हुने गरेको छ नि ? 
पारिश्रमिकको कुरामा मेरो कमेन्ट छैन । पारिश्रमिक पाउने मान्छे उसलाई दिइएको पारिश्रमिक पाउन लायक हो कि होइन भन्ने कुराचाहिँ हो । तर, आफ्नो कामको पारिश्रमिक निर्धारक व्यक्ति स्वयं हो । म मेरो पारिश्रमिक म २० करोड पनि राख्न सक्छु । भोलि मलाई मन लाग्यो भने पाँच सयमा पनि काम गरिदिन सक्छु । त्यो मेरो व्यक्तिगत अधिकार हो । मलाई २० करोड दिन कोही तयार छ भने यति पारिश्रमिक दिनु जायज हो कि होइन त्यो दिने व्यक्तिले मूल्यांकन गर्ने हो ।

कोही फिल्ममेकरलाई आफूमाथि भरोसा छैन, आफूले बनाउने फिल्मको एउटा पात्रमाथि विश्वास छ भने उसले दिन्छ । त्यसैले पारिश्रमिक जति पनि राख्न र दिन पाइन्छ । त्यो मेकरले निर्णय गर्ने कुरा हो । जबर्जस्ती कोही पनि पैसा खोस्न आउँदैन ।

अर्को पक्ष, अगाडि नै हामीले कुरा गरिसक्यौँ अल्पज्ञानको । चलचित्र कतिमा बनाउने, टेक्निकल्ली कसरी राम्रो गर्ने। कन्टेन्टमा कति खर्च गर्ने भन्नेमा ध्यान नदिई हामी शो कल्ड स्टारहरूको पछाडि लागिरहेका छौँ । योचाहिँ विडम्बना हो । कथा र रिसर्चमा जति खर्च हुनुपर्ने हो त्यो भएको छैन । टेक्निकल्ली साउन्डमा जति खर्च हुनुपर्ने हो त्यो भएको छैन ।

तपाईंकै शब्द सापटी लिएर प्रश्न गर्दा ‘शो कल्ड स्टार’का कारण चलचित्र चल्छन् ? 
चल्छन् । उनीहरूलाई राम्रो काम गराउन सक्यौँ भने चल्छन् । त्यतिकै कोही स्टार भएको होइन होला । काम गरेरै भएको हो । उनीहरूलाई दर्शकले मन पराएरै स्टार भएको होला । उनीहरूसँग राम्रो काम गर्न सकिन्छ ।

हामी जब स्टारको पछि लाग्छौँ, उनीहरूलाई धेरै काम गराउन सक्दैनौँ । उनीहरूको एक्सनमा हामी हिँड्छौँ, यहाँको विडम्बना हो यो । ती स्टार कुनै दिन नयाँ थिए, निर्देशकको भिजनमा हिँडे र स्टार भए । जब उनीहरूलाई दर्शकले मन पराएको अनुभूत भयो, त्यसपछि उनीहरूले निर्देशकलाई डाइरेक्सन गर्न थाले । यसले नेपाली सिनेमाको ट्रयाक बिगार्‍यो ।

नेपालमा बर्सेनि करिब ९३ प्रतिशत चलचित्रले घाटा बेहोरिरहेका छन् । यो अवस्थाबाट बाहिर आउन कसले के गर्नुपर्छ ?
सबैभन्दा पहिला सबै इमानदार हुनुपर्छ । अध्ययन गर्नुपर्छ । लगानीकर्ताले पनि आफू आउँदै गरेको क्षेत्रबारे अध्ययन गर्नुपर्छ । नेपाली चलचित्र उद्योगमा साँच्चै राम्रो चलचित्र कसले बनाइरहेको छ, कसको काम राम्रो भइरहेको छ भन्ने अध्ययन नगरी जसलाई भेट्यो उसलाई चलचित्र बनाउन दिने अनि लगानी डुबाएर गाली गर्दै फर्किने प्रवृत्तिको अन्त्य हुनुपर्छ । म आज कुनै व्यवसायमा छु, तर भोलि चलचित्र बनाउन लाग्दै छु भने नेपाली चलचित्रबारे अध्ययन गर्नुपर्छ । कस्ता चलचित्र बनिरहेका छन्, कसका चलचित्र कुन स्थानमा छन्, कस्तो चलचित्र बनाउँदा म सुरक्षित हुन्छु, यसबारे अध्ययन गर्न जरुरी छ । अनि मात्रै लगानीको सदुपयोग हुन्छ । यसो भयो भने निर्माता र कलाकारले सही निर्देशक पाउँछन् । जसले आर्थिक सुरक्षाको सम्भावना उच्च हुन्छ ।

पछिल्लो समय नेपाली चलचित्रमा एनआरएनहरूको लगानी धेरै छ हैन ? 
थाहा छैन उहाँहरूले कसलाई लगानी गरिरहनुभएको छ । मैले आजसम्म कुनै एनआरएनसँग काम गरेको छैन । एनआरएनसँग काम गरेको मसँग अनुभव छैन ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १५:४४
प्रतिक्रिया दिनुहोस्