
नेपाली कांग्रेसमा खरो स्वाभावका नेता मानिन्छन्– डा. मिनेन्द्र रिजाल । पार्टीभित्रका मुद्दामा होस् वा राष्ट्रिय मुद्दा । खरो उत्रिन सक्ने नेताको पहिचान उनले बताएका छन् ।
पार्टीभित्र पनि समीकरण मिलाउने क्षमता राख्ने रिजाल यसपल्ट शेखर कोइराला समूहबाट महामन्त्रीका उमेदवार बनेका छन् ।
प्रस्तुत छ, चुनावी दौडमा रहेका रिजालसँग बाह्रखरीले गरेको कुराकानी :
कांग्रेसमा १४औं महाधिवेशनको मुखमा गुटहरु अदलबदल तीव्र भएका छन् । यसबाट के अनुमान गर्न सकिन्छ ?
कांग्रेसको राजनीतिमा योपटक महाधिवेशनको दुईचार दिन अगाडिको राजनीति गहिरोसँग हेर्ने हो भने महाधिवेशनमा उमेदवारी दर्ता गर्ने बेलासम्म आएका पराकम्पनहरु पार्टीको राजनीतिका सबैले देखेको छ । म प्रतिस्पर्धामा भएको मानिसले त्यस विषयमा धेरै कुरा गर्दिन । तर एकपल्ट मैले यति चाहिँ भन्नुपर्छ – महाधिवेशन प्रतिनिधिलाई आफ्नो विवेक परीक्षण गर्न अभिप्रेरित गरेको छ ।
हरेक महाधिवेशन प्रतिनिधिले गुट बिर्सेर आफ्नो विवेकले मतदान गर्नुहुन्छ । त्यसकारण मतपरिणाम हाम्रो टिमको पक्षमा, शेखर कोइराला नेतृत्वको टिमको पक्षमा आउनेमा म विश्वस्त छु । पहिलो राउण्डमा नै निर्वाचन सकिन्छ, शेखर कोइराला सभापतिमा निर्वाचित हुनुहुन्छ ।
त्यसोभए १४औँ महाधिवेशनले शेरबहादुर देउवालाई बिदा गर्छ ?
म शेखर कोइरालालाई सभापति बनाउने त्यो टिमको महामन्त्रीको रुपमा जिम्मेवारी प्राप्त गरौँ भनेर हिँडेको छु ।
सँगसँगै देशको रक्षामन्त्री हुँ, प्रधानमन्त्री शेरबहादुर देउवा मातहतको सरकारको रक्षामन्त्री हुँ । महाधिवेशनबाट जुनसुकै परिणाम आओस्, मुलुकलाई निर्वाचनमा लिएर जाने प्रधानमन्त्री अहिलेका सभापति शेरबहादुर देउवा नै हुनुहुनेछ ।
देउवा नेतृत्वको सरकारले मुलुकलाई निर्वाचनमा लिएर जानेछ । हामीले उहाँले गरेको काम, अहिलेसम्म नेपाली कांग्रेसमा गरेको योगदानको लागि धन्यवाद आभार व्यक्त गर्दै यो महाधिवेशन सम्पन्न गर्नेछौँ र शेखर कोइरालालाई सभापति बनाउने छौँ ।
थप यति भन्छु– निर्वाचन शेरबहादुर देउवाले नै प्रधानमन्त्री भएर गराउनुहुन्छ । महाधिवेशनले शेखर कोइरालालाई सभापति बनाउनेछ र निर्वाचनमा रामचन्द्र पौडेललाई शीरमा राखेर हामी जनतासँग भोट माग्न जानेछौँ ।
रामचन्द्रलाई शीरमा राख्ने ! मतलव उहाँलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ ?
हामीले बहुमतको सरकार बनाउँछौँ, त्यसका लागि यो महायज्ञले कांग्रेसलाई पुनर्जागरण गर्नेछ । कांग्रेसलाई साँचो अर्थमा बीपी, गणेशमान, सुवर्णशमसेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको पार्टीका रुपमा पुनःस्थापित गर्नेछ ।
नेपाली जनताको प्रिय पार्टीको रुपमा पुनःस्थापित गर्नेछ । अनि नेपालको समृद्धिको यात्रा, बीपीले २००६ सालमा राणाशाशनलाई फालौँ, संविधानसभाबाट संविधान बनाऔँ भन्ने जुन सपना देख्नुभएको थियो, त्यो सपनासँगै समृद्धिको सपना पूरा गर्नेछौँ ।
त्यसो भए तपाईंहरुले आगामी कांग्रेसको नेतृत्व गर्नुहुने छ ?
अरु कुनै नारा भन्दिनँ, मैले यति नै भनेँ, पुस्ता र उमेरको कुरा गरिनँ । कांग्रेसलाई कांग्रेसजस्तो बनाउने सक्षम ऊर्जावान टिमले नेतृत्व गर्छ । त्यो टिमको महामन्त्रीको रुपमा मैले काम गर्नेछु ।
गुटगत संरचनाले त त्यसो भन्दैन ?
यो पालीको मत विवेकको मत हुनेछ । महाधिवेशन प्रतिनिधिले गुट बिर्सेर विवेकले मत दिनुहुनेछ ।