
नेपाली कांग्रेसमा नेतृत्वविरुद्ध बोल्ने आँट गर्ने नेतामध्येका एक धनराज गुरुङ १४औँ महाधिवेशनमा शेखर कोइराला टिमबाट उपसभापति उमेदवार बनेका छन् । उनी महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिमा भ्रष्टाचारका ठुला काण्ड छानविन गर्ने प्रस्ताव लैजाने बताउँछन् । भ्रष्टहरूलाई कांग्रेसबाट मात्र नभएर राजनीति र देशका जिम्मेवारीबाट विस्थापन गर्ने बताएका गुरुङ कांग्रेस बलियो र व्यवस्थित बनाउने एजेन्डाले आफ्नो समूहले जित्ने दाबी गर्छन् ।
तपाईंं उपसभापति उमेदवार बन्नुभएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?
राम्रो प्रतिक्रिया आइरहेको छ । उपसभापतिका लागि उमेदवारी दिँदैगर्दा पार्टीमा धेरै संघर्ष गरेको हुँदा एक मत चाहिँ दिन्छौँ भनेर निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ । टिममा पनि साथीहरूले मत त्यत्तिकै दिने चाहना व्यक्त गर्नुभएको छ, कांग्रेस हाक्ने यही टिम हो भनेर हाम्रो टिमलाई भन्नुभएको छ ।
भोट एक्लाएक्दै माग्दै हुनुुहन्छ । टिमले भोट कसरी पाउँछ ?
प्राविधिक रूपमा नमिलेर हो । सभापति, उपसभापति, महामन्त्रीका हामी सबै उमेदवार सँगसँगै आउने भन्ने कुरा थियो । अलिकति अगाडि पछाडि भइयो, त्यतिमात्रै हो । भावनात्मक रूपमा बनेको टिम भएकाले हामी टिममै हिँड्न इच्छुक छौँ । टिम नभेटिएको बेला व्यक्तिगत रूपमा पनि भोट त माग्नै पर्यो ।
नेपालमा 'पाकाहरूको पार्टी' भनेर चिनिन्छ नेपाली कांग्रेस । तपाईंंहरू युवैयुवा हुनुहुन्छ । तपाईंहरूलाई भोट हाल्लान् प्रतिनिधिहरूले ?
१४औँ महाधिवेशनमा देशभर र विदेशस्थित जनसम्पर्क समितिबाटसमेत धेरै साथीहरू युवा उमेरकै आउनुभएको छ । उहाँहरूले अहिले समयको मागअनुसार नै टिम बनेको छ, बडो खुसी लाग्यो भन्दै हुनुहुन्छ । अझ पाको उमेरका प्रतिनिधिहरूले त तिमीहरूले पार्टीलाई ठिक ठाउँमा लैजान्छौ भन्ने विश्वास छ भन्नुभएको छ । युवाहरूको आशा छ, पाका उमेरका अग्रज प्रतिनिधिहरूको भरोसा पनि शेखर कोइराला नेतृत्वको टिममा देखिएको छ ।
तपाईंहरूले जित्नुभयो भने कांग्रेसलाई कस्तो पार्टी बनाउनुहुन्छ ?
हामी कांग्रेलाई विधि र पद्धतिमा हिँडाल्ने पार्टी बनाउँछौँ । पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नसक्नेले देशलाई पनि विधि र पद्धतिमा हिँडाउन सक्दैन । पार्टीलाई विधि र पद्धतिमा हिँडाउने हाम्रो योजना छ । त्यस्तैगरी न्यायोचित व्यवस्थापन गर्ने हो । पार्टीको व्यवस्थापन गर्न नसक्ने नेताले देश चलाउँदा देशको व्यवस्थापन गर्न सक्दैन । त्यसकारण पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्ने त्यसपछि मुलुक चलाउने अवस्थामा पार्टीलाई पुर्याउने हो । मुलुकलाई पनि सही ढंगले व्यवस्थापन गरेर अगाडि बढ्ने हो ।
तपाईंहरूले जित्नुभयो भने देशमा अनि पार्टीमा के सुधार आउँछ ?
मुलुकमा पटक पटक व्यवस्था परिवर्तन भयो । तर, सदियौँदेखि जरा गाडेको भ्रष्ट्र प्रवृत्ति परिवर्तन भएको छैन । हाम्रो टिम भ्रष्टाचारका विरुद्धमा हुने छ । भ्रष्टाचारविरुद्धमा पहिलो बैठकमै एजेन्डा लिएर आउँनेछौँ । ठुलाठुला भ्रष्टाचारका काण्डहरू छानविनमा ल्याउनका लागि १४औँ महाधिवेशनबाट आउने नेतृत्वले पहल गर्ने छ ।
पार्टीभित्रका भ्रष्टहरूको पनि छानविन गर्नुहुन्छ ?
पार्टीभित्र र बाहिर भन्ने नै हुँदैन । किनकि भ्रष्टाचारीको कुनै जात, धर्म, लिङ्ग, क्षेत्र, पार्टी र राष्ट्रियता हुँदैन । त्यसकारण अनुहार हेरेर भ्रष्टाचारको फाइल लुकाउने र फैलाउने कुरा हुँदैन । जो सुकै हुन, भ्रष्टाचारको काण्डको छानविनको कुरा पहिलो बैठकबाट अगाडि बढाउने छौँ । यसरी पार्टीलाई जनताको पार्टी, जनजनको मनमनमा बस्ने पार्टी बनाउँछौँ ।
हार्नुभयो भने नि ?
मलाई एकदमै विश्वास छ, हाम्रो एजेन्डा सुन्दै गर्दा वर्षौंदेखिको रूपान्तरणको मुद्दामा प्रतिनिधिहरूले विवेकको कुरा गर्दैगर्दा सकारात्मक प्रतिक्रिया आइरहेका छन् । हामीलाई हेर्दा प्रतिनिधिहरूको उज्यालो अनुहार देखिएको छ । त्यो पक्कै पनि हाम्रा एजेन्डाहरू हेरेर नै आएको हो । अन्यथा मेरो अनुहार हेरेर मूल्यांकन गरेको पक्कै होइन । मैले गरेको कामकारबाही, हाम्रो टिमले गरेको कामलाई मूल्यांकन गरेर नै साथीहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यसले भन्छ हाम्रो प्यानललाई नै उहाँहरूले जिताउँदै हुनुहुन्छ ।
अर्को गुट बलियो देखिन्छ नि ?
महाधिवेशनका प्रतिनिधिहरूसँग एउटा प्रश्न छ । त्यो प्रश्न हो, पार्टीलाई २३ सिटबाट अझै झार्ने कि १२३ सिटको पार्टी बनाउने ? हामी पार्टीलाई १२३ सिटको बलियो र जनताको विश्वास र भरोसा बोकेको पार्टी बनाउने अभियानमा छौँ । २३ सिटमा नै अलमल्याउने हो भने हामीलाई मत नदिँदा पनि हुन्छ ।
हामीसँग के आत्मविश्वास छ भने विगतमा २०१५ सालको आम निर्वाच्नमा कांग्रेसले ३७ प्रतिशत मत ल्यायो, त्यसपछिको दिनहरूमा ३०, ३६ प्रतिशत, ३५ फेरि ३३ प्रतिशतमा मत आम निर्वाचनमा आएको छ । हाम्रो अबको अभियान भनेको कांग्रेसलाई ५१ प्रतिशतको मत पाउने पार्टी बनाउने हो । हो, यो अभियानमा हामी जुटेका कारणले पनि हामीलाई यस्तो आत्मविश्वास छ कि महाधिवेशन प्रतिनिधीहरूले ५१ प्रतिशतको पार्टी बनाउने अभियानमा जोडिन चाहनुभएको छ । त्यसैले हार्ने विषय हामीले सोचेका छैनौ ।