site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
हारजितका लागि मात्र मेरो उमेदवारी होइन

नेपाली कांग्रेस यति बेला १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा छ । नेताहरू नेतृत्वमा पुग्न कम्मर कसेर लागेका छन् ।

विगतमा पार्टीको केन्द्रीय समिति र सरकारमा समेत रहेर संविधान निर्माण, विकासमा व्यवस्थित नीतिको पैरवी गर्ने र शालीन व्यक्तित्वको परिचय बनाएका नेता महेश आचार्य योपटक उपसभापतिको दौडमा छन् । कांग्रेस विचारलाई पुनर्ताजगीको अभियान सञ्चालन गर्ने नेताका रूपमा परिचित आचार्य विचार शून्यतर्फ अघि बढ्दै गएको कांग्रेसलाई फेरि सैद्धान्तिक र नीतिगत बहसका माध्यमबाट पुनर्जीवन दिन आफू अघि सरेको बताउँछन् । उनै नेता महेश आचार्यसित बाह्रखरीकर्मी कुमार लुइँटेलले गरेको कुराकानीको सम्पादित अंश :

यो महाधिवेशनले कस्तो सन्देश दिन सक्ला ?

Argakhachi Cement Island Ad

कांग्रेसको अधिवेशनको ऐतिहासिक क्रम हेर्ने हो भने ६४ वर्षअगाडि २०१४ सालतिर फर्केर हेर्नुपर्छ । राजा त्रिभुवनले ००७ सालको क्रान्तिपछि घोषणा गरेको संविधानसभाको चुनाव वर्षौँसम्म भएन । संविधानसभाको घोषित निर्वाचन नभएपछि राजाहरूले इच्छाअनुसार सरकार फेरिरहने यत्न गर्न थाले । नयाँ सरकार गठन गर्ने अनि विघटन गर्ने ।

वीरगन्ज महाअधिवेशनले सुवर्णशमशेरलाई सभापति चुनेको थियो । तर, बीपीले नेतृत्व लिने कुरा आयो । संविधानसभाको निर्वाचन ओझेलमा परेको थियो । विराटनगरमा विशेष महाधिवेशन भयो । राजनीतिक अन्योलता चिर्न भएको थियो । जेठमा महाधिवेशन भयो अनि निर्वाचन माग गर्दै सत्याग्रह गर्नुपर्‍यो । राजाले बाध्य भएर घोषणा गरे । चुनाव भयो ।

अहिले पनि कांग्रेसले राजनीतिक अन्योल चिर्ने गरी काम हुनुपर्छ । संगठनका अन्तरनिहित समस्या छन् । सांगठनिक रूपमा विस्तार गर्न बाधा उत्पन्न भएका छन् । विचार र उद्देश्यले पार्टी बनाउने विषय नै महाधिवेशनको सन्देश हुनुपर्छ । मिति पुगेर गर्ने भन्दा पनि मिति नपुग्दै गर्नुपर्ने रहेछ ।

उचित समयमा उचित नीति प्रस्तावित गर्नुपर्ने रहेछ । देशलाई दिशा दिन पनि गर्नुपर्छ । योपटक नीति, विचार र कार्यक्रमबारे महाधिवेशनमा छलफल भएन । नीति र विचारमा आधारित नेतृत्व चयन गर्ने अवसर भने गुमाइएको छ । तर, जति समय बाँकी छ, देशका समस्यालाई उठाएर महाधिवेशनले सन्देश दिनुपर्छ ।

तपाईंले उपसभापतिमा उमेदवारी दिनुभएको छ ? जित्ने आधारहरू के–के छन् ?

मैले कार्यकारी पद खोजेको होइन । पार्टी राजनीतिमा रहँदा अहिलेसम्म हासिल गरेका अनुभव पार्टीमा लागु गर्न मात्र उमेदवारी दिएको हो । मेरो हारजितको निर्णय महाधिवेशन प्रतिनिधि साथीहरूको विवेकमा छाडेको छु । यो हारजितको विषय मात्र पनि होइन । म नेता मिलाउन पनि लागेको छैन ।

म साथीहरूको विवेकमा भर पर्छु । उहाँहरूको निर्णय हेर्छु । मैले महाधिवेशनको सन्दर्भमा र त्यसअघि पनि पार्टीभित्र सैद्धान्तिक र नीतिगत पक्ष उजार गर्दै आएको छु । म उपसभापति हुँदा ती विषयलाई अझ मबजुत र घनीभूत ढंगले आम कांग्रेसजन अनि नेपाली जनतासमक्ष पुर्‍याउन सक्छु भन्ने आत्मविश्वासका साथ उमेदवारी दिएको हुँ ।

उपसभापतिमा समूहगत आधारमा धेरैजनाको उमेदवारी परेको छ नि ?

मैले जहिले पनि आत्माको कुरा बोलेको छु । वैचारिक शून्यतातर्फ गइरहेको पार्टीलाई सैद्धान्तिक, नीतिगत बहसको माध्यमबाट पुनर्जारण गराउन सक्छु भन्ने मलाई विश्वास छ । हो, यो कार्यकारी अधिकार भएको पद होइन । लोभ गरेर अथवा मान–अपमान छोडेर गएको छैन । म विगतमा सरकारको मन्त्रीमा जाँदा पनि माग गरेर गएको थिइनँ । पार्टीको आवश्यकताअनुसार नै गएको थिएँ ।

विगतमा पनि मन्त्रीसहितका विभिन्न पदमा पुग्नुभएकै हो, के कस्ता कामहरू गर्नुभयो ?

मलाई पद ठूलो विषय हो जस्तो लाग्दैन । मैले पदमा जान कहिल्यै लोभ गरेको छैन । मेरो लागि लाइन पनि ठूलो कुरा होइन, पहिले पनि अहिले पनि । विगतमा गिरिजाबाबुको सरकारमा गएँ । सुशील’दा र शेरबहादुरजीको सरकारमा पनि थिएँ । त्यो सबै पार्टीको आवश्यकता र मैले गर्न सक्ने योगदानको लागि थियो ।

संविधानसभाको बेला पनि करकापमै गएको हो । शेरबहादुरजीको मा पनि त्यही भएको हो । २०५२ सालमा गइनँ । देशको नीति बनाउने ठाउँमै गएको हो । अहिलेसम्म जनता र पार्टीको शिर निहुराउने काम गरेको छैन । जुन–जुन मन्त्रालयमा गएँ, केही न केही नीतिगत परिवर्तनका काम गरेको छु । व्यक्तिगत आकांक्षा र चाहनाका कारणले होइन । संविधानसभामा गएपछि म सरकारमा जान्नँ, चाँडो संविधान बनाउने काम गर्न सक्छु भनेको थिएँ । त्यो अवधिभर मन्त्रालय छाडेर विदेश पनि गइनँ । संविधान बनाउनतर्फ केन्द्रित भएर लागेँ । निर्णायक हस्तक्षेपहरू गर्न सकेँ ।

कांग्रेसको संगठनमा के कस्ता चुनौती देख्नुभएको छ ? 

ठूलो चुनौती देखिरहेको छु । एउटा व्यक्ति एउटा पदमा एउटा कार्यकालसम्म मात्र बस्ने विधि बसाउनुपर्ने भएको छ । दोहोर्‍याएर जाँदा पद र कार्यालयको दुरुपयोग हुन सक्ने देखिएको छ ।

क्रियाशील सदस्यताकै विषय तल्लो निकायले गर्ने काम हो । तर, यो पनि झन्डै क्रियाशील १० लाख सदस्यको पोको केन्द्रमा लगेर दिने गरिएको छ । यसले गुटबन्दीका धमिराले खाँदै गरेको कांग्रेसलाई थप असर पुगेको छ । बहुपद सिर्जना गर्दा पनि हरेक पदमा गुटगत आधारमा वितरण हुने गरेको छ ।

कांग्रेसभित्र सांगठनिक र सहभागितामूलक छलफल गर्न छाडिएको छ । पदाधिकारीले छलफल गर्ने र कार्यसमितिमा लगेर पास पास पास भन्ने प्रवृत्तिले कमजोर भएको छ ।

नयाँ पुस्ता कांग्रेसमा आउन चाहन्छन् । युवाको पनि आकर्षण छ । तर, गुटगत निर्वाचनको कारण उनीहरू द्विविधामा छन् । स्वस्थ निर्वाचन पद्धति र प्रणाली नै प्रदूषित हुने खतरा भएको छ । नीति र नेतृत्वमा छलफल नगरी अनुहारको आधारमा नेतृत्व चयन गर्नुपरेको छ ।

कोरोनाले अर्थतन्त्र क्षतविक्षत भएको छ । यसलाई पुनर्जागरण गर्न एउटा सामूहिक कार्यक्रम घोषणा गर्नुपर्ने हो । कृषिलाई उठाउन, उद्योगको प्रतिस्पर्धा बढाउनुपरेको छ । निर्यात अति नै कमजोर भयो । आयातले अर्थतन्त्रमा ठूलो असर छ । कमजोर बनेको छ । सामाजिक क्षेत्रका ९० लाख विद्यार्थीको शिक्षा प्रभावित छ । स्वास्थ्य क्षेत्र पनि प्रभावित बनेको छ । रोजगारी गुमेको छ । लाखौँको संख्यामा ठूलो हिस्सा गरिबीको रेखामुनि पुग्ने अवस्था छ । कांग्रेसजस्तो पार्टीले बहस नगरे कसले गर्छ ? अब थप संकट आइरहेको छ ।

पार्टी नेतृत्वको दृष्टिकोण अलि फरक छ नि ?

मैले जहिले पनि आत्माको कुरा बोलेको छु । मैले गिरिजाबाबु हुँदा पनि चित्त नबुझ्दा मन्त्रीबाट राजीनामा दिएको हुँ । किसुनजीले पनि मलाई रोजेर मन्त्री बनाउनुभएको थियो, अर्थमन्त्रीले प्रधानमन्त्रीको चित्त बुझाउन नसकेपछि । प्रधानमन्त्रीलाई अविश्वास पैदा हुने अवस्था हुँदा राजीनामा दिएर बसेको मान्छे हुँ ।

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मलाई आक्षेप लागेपछि त्यसको निरूपण नहुन्जेल बस्दिनँ भनेर राजीनामा गरेँ । पार्टी विभाजन हुन लाग्दा मैले गिरिजाबाबुलाई रोक्नुहोस् भनेको थिएँ । उहाँलाई मैले माओवादी समस्या समाधानको बाटो तय गर्ने नेतृत्व तपाईंले नै गर्ने हो भनेकै थिएँ । तर, मेरो बानी यो छैन कि मैले के गरे भनेर प्रेससँग आउँदिनँ । म जे भन्छु म मेरो पार्टीभित्र भन्छु ।

समूहगत र गुटगत प्रभाव भएका बेला तपाईंको सोचाइ र पार्टीभित्रको व्यावहारिक पक्षको तादम्य देखिँदैन त ?
म हिजो जे थिएँ अहिले पनि त्यही हो । म कुनै गुटको बन्दी होइन । मलाई यो दासत्व स्वीकार्य छैन । मेरो अनुभवले अब भनिनँ भने मेरो पार्टीप्रति अन्याय हुन्छ ।

मैले कार्यकारी नभएर नीति र विचार स्थगति भएकोले यसलाई खुला गराउन चाहिरहेको छु । यसकै लागि उमेदवारी दिएको छु । नीति र कार्यक्रमको बहसलाई झिल्को दिने प्रयास मात्र गरेको हो ।

नयाँ एजेन्डा बोकेर बसेका बाहिरका मानिसका लागि पनि कांग्रेसको ढोका खोलिनुपर्छ । महाधिवेशनले दिएको म्यान्डेटअनुसार यस्ता एजेन्डा केन्द्र भागमा राख्ने चाहना मात्र हो । नयाँलाई असर सिर्जना गर्नुपर्छ । यसको लागि संगठनको संरचनामा पनि फेरबदल गर्नुपर्छ । 

कांग्रेसभित्रको संकट समाधानका उपाय के हुन सक्छन् ?

पार्टीमा विभिन्न ढंगले आएको संकटलाई निराकरण गर्न नीति, कार्यक्रममा छलफल गर्ने परिपाटी छाड्यो भने व्यक्तिकेन्द्रित प्रवृत्ति बढ्छ । अन्य पार्टीहरूमा बढेको देखिन्छ । एमालेमा पनि त्यस्तै देखिएको छ । पार्टीहरूमा यस्तो भए देश संकटमा जान्छ ।

मैले रोजेको पद विचार, नीति र प्रशिक्षणको अधिकारभित्र पर्छ । म यसको झिल्को उठाउन चाहन्छु । म पाँच हजार महाधिवेशन प्रतिनिधिलाई भन्न चाहन्छु, म यसमा काम गर्न सक्छु । मलाई पार्टीले अवसर दिएको छ । नेताहरूसँग देश घुम्न पाएको छु ।

गिरिजाप्रसाद, कृष्णप्रसाद, सुशील कोइरालाहरूसँग घुम्न पाएको छु । उहाँहरूलाई नजिकबाट चिनेर काम गर्ने तरिका पाएको छु । मलाई पार्टीले म र मेरो पुस्ताको लागि गरेको लगानी इमानदारितासाथ फिर्ता गर्ने बेला आएको छ । पार्टीको संकट के हो, कसरी समाधान गर्ने भन्ने कुरा देशभरि पुर्‍याउने बेला भएको छ । ठूलो बहसको आमन्त्रण कांग्रेसले गर्नुपर्छ । बाहिर पनि छलफल गर्नुपर्छ । बाहिर हामीभन्दा बढी जानकारी भएका मानिस छन् । उनीहरूसँगको संवाद छुटेको छ । अब यो संवाद अघि बढाउनैपर्छ ।

कांग्रेस, एमालेजस्ता ठूला दल हेर्दा कार्यकर्ताले चुनाव लड्न पाएका छन्, लोकतान्त्रिक विधिजस्तो देखिन्छ, तर लोकतान्त्रिक छलफल नै छैन किन ? दलहरूको लोकतन्त्रप्रतिको जिम्मेवारी कम भएको हो ?  

वैचारिक स्खलनको अवस्था आएको पक्कै हो । लोकतन्त्र लोकतन्त्रिक संस्था खडा भएर मात्र बलियो हुँदैन । विचार र आचरणसँग पनि सम्बन्धित हुन्छ । पार्टी राजनीतिमा विचार र नीतिका कुरा स्थगित हुन्छ । आचरणहरू व्यक्ति केन्द्रित हुन गए ती खतरनाक हुन्छन् । 

लोकतन्त्रमा आउने यस्तो संकट विश्वव्यापी पनि हो । अढाई सय वर्षपछि अमेरिकामा ट्रम्फ नेतृत्वमा आएपछि त्यहाँ पनि स्वेत र अस्वेतबीच फेरि घृणित दृष्टिकोणहरू आए । 

व्यक्ति केन्द्रित राजनीतितर्फ गयो । अढाई सय वर्षको प्रयोगपछि पनि लोकतन्त्र जोखिममा गएको देखियो । 

भारतमा पनि राजनीति व्यक्ति केन्द्रित भएको देखिएको छ । विचार, नीति, कार्यक्रम, लोकलज्जाले पोषण नगरे लोकतन्त्र कमजोर हुन्छ । एकलौटी स्वेच्छाचारिता पनि देखिन्छ । हामी पनि चुकिरहेका छौं । नीति विचारको केन्द्रित हेर्नुको साटो व्यक्तिको अनुहार मात्र हेरेर हुँदैन । म मात्रै ठिक छु भन्ने पनि भन्न खोजेको होइन । 

उसो भए के हो त ? 

अंकगणित हेरेर नेतृत्व चुन्दा अनि आफ्ना मानिसमात्र आउन भन्ने सोच राख्दा समस्या बढेको हो । अब यसलाई फेर्न जरुरी भइसकेको छ । एउटै पदमा दोहोर्याउन पाउने सुविधाको विषयमा पनि सोच्नुपर्ने भएको छ । अन्त पनि हुँदैछ हामीकहाँ भयो भने के हुन्छ भनेर ढुक्क हुने अवस्था होइन । नेपालमा दोस्रो दर्जाको लोकतन्त्र त होइन नि ? पटक पटक अपहरित भएर पनि पटक पटक ज्यान जोखिममा हालेर ल्याएको हो । अन्त यस्तो भएको छैन । न्यायालय, सरकार संकट र पार्टीहरूमा पनि संकट देखिएको छ । सबै भूगोल जोड्ने काम पार्टीले गर्छ । पार्टीमै लोकतान्त्रिक विधि कमजोर भए देश संकटमा पर्छ । 

निर्वाचन पद्धतिबारे के भन्नु हुन्छ ?

निर्वाचन प्रणाली नै बहुदलीय संसदीय नै ठिक छ । पद, पैसा र मसल्सको आधारमा मात्र चुनिने प्रवृत्ति बढ्दै गए बहुदलीय व्यवस्था कमजोर बन्छ । पार्टीमा पनि लागु हुने विषय यही हो ।

तपाईंका योजना कार्यान्वयन गर्ने ठाउँमा पुग्ने सभापति यस्तो आओस् जसले तपाईंको कुरा बुझोस् भन्ने लाग्दैन ? 

जो आउँछ बुझाउन सक्छु भन्ने आत्मविश्वास छ । सभापतिको उपसभापति भन्दा पनि विधानले व्यवस्था गरेका प्लेटफर्म नीति अनुसन्धानको प्रमुख बन्न जान लागेको हो । यसले पार्टीभित्र सञ्जालको निर्माण गर्छ । यो काठमाडौको केन्द्रभन्दा बाहिर जान्छ । देशभर जान सकिन्छ । यो बहसलाई पार्टीका तल्लो तहसम्म पुर्याउन सकिन्छ ।  
 

समग्र राजनीतिक प्रणालीलाई चाँहि कसरी हेरिरहनु भएको छ ? 

अहिले मुलुकमा संसद् चलिरहेको छैन । संसदले कानुन बनाएको छैन । संसदमा गतिरोध कायम छ । न्याय क्षेत्र नै प्रभािवत छ ।

न्यायाधीशको अध्ययन गर्न बनेको समितिको प्रतिवेदनले नै पैसाको चलखेल हुन्छ भनको छ । विचौलियामार्फत व्यापार हुन्छ भन्ने देखिएको छ । 

परर्फमेन्स सरकार विगत सात वर्षदेखि चलेको देखिएको छैन । अध्यादेशले सरकार चलेका छन् । प्रजातन्त्रका आधारभुत संस्था कमजोर बन्दै गएको देखिन्छ । ती संस्थाको तीव्र क्षयीकरण भएको छ । अब यस्ता विषयमा छलफल नगरे देश कहाँ जान्छ ? 

छिमेकी मुलुक व्यापार र सैन्य तनाव बढ्दै गएको छ । यो बेलामा नेपालले असंलग्नतालाई उजागर गर्नुपर्छ । नेता  वा कोही प्रधानमन्त्री भए एकातिर ढल्कने हुनुहुँदैन । 

परराष्ट्र नीतिले देशको अस्मिता कसरी जोगाउन सकिन्छ भन्ने प्रस्ट हुनुपर्छ । अबको २० वर्षपछि कूटनीतिक महत्वका हिसाबले चीन र भारत थप बलियो हुनेछन् । 

नीतिमा सन्तुलन नगरे हामी गम्भीर जोखिममा पर्दछौ । संगठन पनि संकटतर्फ छ । कोरोना, जलवायुको मिश्रित प्रभाव, संवैधानिक प्रणाली जोखिममा पर्ने जोखिम छ । 

बहुदलीय प्रणालीले काम गर्दैन कि भन्ने र प्रत्यक्ष निर्वाचन प्रणालीले काम गर्दैन कि भन्ने जोखिम बढेको छ । कांग्रेस गठन हुँदाको अधिकार विस्तार भएको आवास, रोजगारी, पर्यावरण र नयाँ पुस्ताको मानवअधिकारको कुरा गरिँदै छ । बोल्न पाउने अधिकारको कुरा गर्ने पार्टी अब नागरिक स्तन्त्रततामा नगरिकले गर्ने हस्तक्षेपको चाहना गर्दैन । नयाँ आयाम खुल्दै गएका छन् ।

यस्तो अवस्थमा क्रान्तिको गाथा गाउने भन्दा पनि काम गर्ने सरकार नागरिकले चाहेको छ । 

तपाईंले विकास र जलवायु परिवर्तनको विषयलाई पनि आफ्नो चुनावी मुद्दा बनाउनुको कारण के हो ? 

कार्बन र मिथेनको उत्सर्जनले बढाउने तापक्रम वृद्धिले पनि हामीलाई थप जोखिम र खतरा छ । 

तीव्र गतिले तापक्रम बढ्छ भन्ने वैज्ञानिकको धारणा छ । नेपाल थप जलबायु संकटको जोखिममा पर्छ । हाम्रो हिमश्रृंखला पग्लदै जाने । हिमताल पग्लने, जपोखरी बन्ने र विष्फोट हुने खतरा छ । 

नदी प्रणालीमा पानीको बहाव फेरिन सक्छ । मनांग र सिन्धुपाल्चोकमा गएका बाढीले त्यही संकेत गरेका छन् । 

कृषि उत्पादनमा पनि असर पुग्नेछ । वनस्पति र जनावर, पानीको प्रणाली प्रभावित हुन्छ । युरोप, अमेरिका जस्ता देशमा पनि मौसमी प्रणाली बिग्रिएको छ । 

नयाँ उत्पादन प्रणालीमा जानुपर्ने हुन्छ । यो नयाँ पुस्ताको विषय हो । अब हामी जीवनको दश पन्ध्र वर्षमा जीवनको उत्तरार्धमा हुनेछौं । तर, यो अब आउने पुस्ताको विषय हो त्यसैले अब उठाउन ढिलो गर्नु हुँदैन । 

कतिपय आइल्यान्डहरू समुन्द्रमा डुब्ने अवस्था आउँदा पर्वतीय क्षेत्र र चुरे दक्षिणमा बस्ने हामी जस्ता नगारिक पनि प्रभावित हुन्छौ । विकसित देशले कमिटमेन्ट गरेका छन् । 

चीन र भारतले कार्बन उत्सर्जन गरेका छन् अब त्यसबारे बोल्ने बेला भएको छ । अब नयाँ प्रविधिमा जानुस त्यसले कार्बन उत्सर्जन घटाओस् अनि तपार्ईंको कारण हामीलाई असर नपुगोस् भन्नुपर्छ । 

यो विषय महत्वपूर्ण छ । कांग्रेस जस्तो पार्टीले यस्ता विषय र मुद्दामा मौन बस्न मिल्दैन । पार्टीभित्र मात्र नभएर छिमेकमा पनि यो विषय बोल्ने बेला भएको छ । खेतीप्रणाली र उत्पादन हुनेवाला छ । अब यो विषय उठाउनै पर्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्