site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
अनुहार, उचाइ र रङ नहेरौँ, विचार हेरौँ भोलि बृहत् एकताको खाँचो छ 

प्रदिप पौडेल नेपाली कांग्रेसका युवा नेता हुन् । महामन्त्रीमा युवा नेताहरुको प्रतिष्पर्धा रहेकै बेला नेता पौडेलले अहिले कसैको अनुहार, उचाइ र रङ हेर्ने बेला नभइ विचार हेरेर निर्णय गर्ने बेला भएको बताउँछन् ।

पार्टीमा महाधिवेशनपछि झनै ठूलो एकताको आवश्यकता रहेको बताउने पौडेलले आन्तरिक चुनावमा तिक्तता कम हुनुपर्ने धारणा राख्छन् ।
प्रस्तुत छ, महामन्त्रीका उमेदवार पौडेलसँग बाह्रखरीले गरेको कुराकानी :

महामन्त्रीमा उमेदवारी दिनुभएको छ । तयारी कस्तो छ ?

Argakhachi Cement Island Ad

प्रचार प्रसार र साथीहरुकै बीचमा छौँ । मत माग्ने काम भइरहेको छ । आन्तरिक प्रतिष्पर्धा भएकाले धेरै साथीहरु भेटघाट गर्ने काम भइरहेको छ । आफ्ना कुराहरु राख्ने काम गरिरहेको छु । 

महामन्त्रीमा पार्टीमा लामो योगदान पुर्‍याएका नेताहरु हुनुहुन्छ, प्रतिष्पर्धा कत्तिको कडा हुने देख्नुभएको छ ?

यो निर्वाचनमा प्रतिष्पर्धा हुने कुरालाई स्वाभाविकरुपमा लिनुपर्छ । यसलाई हार्दिक बनाउनुपर्छ । मलाई सबै साथीहरुले प्रोत्साहित गरिरहनुभएको छ । पुस्तान्तरणसँगै वैचारिक रुपान्तरणको विषय पनि उठाएको छु । यसलाई धेरैले सकारात्मक ढंगले लिनुभएको छ । राम्रो रेस्पोन्स गर्नुभएको छ ।

महामन्त्री भइसकेपछि तपाईंले देखेको कस्तो कांग्रेस हो ?

हाम्रा केही आन्तरिक समस्या छन् । केही बाहिरी समस्या छन् । पार्टीभित्र हार्दिकता बढाउने र मनोमानीलाई अन्त्य गर्ने प्रयास हुनेछ । सबैका बीचमा हार्दिक सम्बन्ध स्थापित गर्नका लागि उमेदवारी प्रस्तुत गरेको हुँ । नेपाली कांग्रेसका सबै साथीहरुलाई सँगै लैजान प्रयत्न गर्नेछु । 

यहाँहरु फरक गुटमा हुनुहुन्थ्यो । संस्थापन पक्षसँगै अघि बढ्नुभयो । यसले फाइदा पुग्ला कि घाटा ?

हामी निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेपछि यसलाई स्वाभाविकरुपमा लिनुपर्छ । अहिले पार्टी सभापति प्रधानमन्त्री पनि रहनुभएका कारणले उहाँप्रति आकर्षण देखिएको पनि छ ।

विभिन्न कारणले पार्टीभित्र एकता कायम गर्ने, आगामी निर्वाचनमा पार्टीलाई कसरी अघि लैजाने, पार्टीका समस्या सबै मिलेर कसरी हल गर्ने भन्ने सन्दर्भमा हामीले समीकरण गरेका हौँ । 

हाम्रो आपसी सम्बन्ध हार्दिकतापूर्ण हुन सकेन भने निर्वाचन र आन्तकिर प्रतिष्पर्धा अस्वस्थ बनाउँछ । हामी सहयात्री हौँ भन्ने कुरा सबैले महसुस गर्नुपर्छ ।

पुरानो पुस्ताको विकल्प खोजीरहेका बेला पुरानै अनुहारसँग अघि बढ्नुभएको छ । पार्टीमा रुपान्तरण कसरी होला त ?

रुपान्तरणको मुद्दा हाम्रो साझा हो । तर कसैले अघि लैजान सकेनौँ । दस्तावेजको प्रतिष्पर्धा बनाउनुपर्थ्यो त्यो हामीले सकेनौँ ।

हामी कसैको पनि दोष होइन । अब यसलाई बदल्न जरुरी छ । अब प्रतिष्पर्धा गर्दा कसको अनुहार कुन रङको छ । कसको उचाइ कति छ, कसले धेरै व्यानर टाँगेको छ भन्ने आधारमा नहेरौँ, विचार र एजेन्डा हेरौँ । वैचारिक प्रतिष्पर्धा हुने अवस्था सिर्जना गर्नुपर्छ । हामी सबै मिलेर पार्टीलाई रुपान्तरण गरेर, साझा विषय बनाएर नेपाली कांग्रेसका मञ्चलाई वैचारिक बहसको ठाउँ बनाउनुपर्छ ।

अन्तिममा मतदातालाई भन्नुपर्ने केही छ कि ?

हामीले एक अर्कालाई आत्मसात गरेरै अघि बढ्नुपर्छ । एउटालाई चोट लाग्दा सबैलाई दुख्ने अवस्था निर्माण गर्नुपर्छ । यो परिवारभित्रको कुरा हो ।

लक्ष्यमा पुग्न हामी सबैले सहयात्रा गरेका छौँ । प्रतिष्पर्धालाई स्वच्छ र हार्दिकता बनाऔँ भन्ने मेरो आग्रह छ । यो चुनावमा कसैले जितिएला कसैले हारिएला तर लक्ष्यमा पुग्न हामी सँगसँगै अघि बढ्ने हो । कांग्रेसभित्रको बृहत् एकता नखलबलिने गरी सुदृढ गर्नेगरी अघि बढौँ महाधिवेशन प्रतिनिधिहरुलाई यही आग्रह गर्न चाहन्छु ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १०:०६
प्रतिक्रिया दिनुहोस्