site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
कांग्रेस कस्तो हो भन्ने आगामी चुनावमा देखिने पार्टी बनाउँछु, हाम्रो टिमले नै हो परिवर्तन गर्ने 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले यसपल्ट पनि महामन्त्रीमा उमेदवारी दिएका छन् । १३ औँ महाधिवेशनमा कडा प्रतिष्पर्धाका बीच पराजय भोगेका थापाले यसपल्ट पनि सोही पदमा पुग्न प्रतिष्पर्धामा अघि बढेका छन् ।

महामन्त्रीमा उमेदवारी दर्तापछि बाह्रखरीसँगको कुराकानीमा थापाले कांग्रेसलाई देखिने, सुनिने, बोलिने र लोकप्रिय पार्टी बनाउन आफूले उमेदवारी दिएको बताए ।

त्यसका लागि नै महामन्त्रीमा उमेदवारी दिएको उनको तर्क छ । स्पष्ट वक्ता, पार्टीभित्र लोकप्रिय रहेका थापासँग बाह्रखरीले गरेको कुराकानीको संक्षिप्त अंश : 

Argakhachi Cement Island Ad

महामन्त्रीमा यहाँको उमेदवारी परेको छ । तयारी कसरी अघि बढाइरहनुभएको छ ?

मैले केही समयअघि देखि नै पार्टीको महामन्त्रीको रुपमा अघि बढ्छु भन्ने निर्णय गरेको हुँदा महामन्त्रीले प्रस्तुत गर्नुपर्ने जुन नीति कार्यक्रम र सोच हो त्यो तयारीका साथ सार्वजनिक गरिसकेको छु । सम्पूर्ण महाधिवेशन प्रतिनिधिको बीचमा पुर्‍याउने प्रयास अहिले पनि गरिरहेको छु । 

योपटक बन्दसत्र नभएको हुँदा केही समस्या त अवश्य भएको छ । त्यही पनि सम्भव भएसम्म आफ्ना कुराहरु पुर्‍याउने काम गरिरहेको छु । 

यसपल्टको महाधिवेशनमा महामन्त्रीका उमेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ, कत्तिको चुनौती देख्नुहुन्छ ?
पार्टीको काविल साथीहरु यो प्रतिष्पर्धामा हुनुहुन्छ । उहाँहरुले पार्टीमा लामो योगदान पनि पुर्‍याउनुभएको छ । 

उहाँहरुको प्रतिष्पर्धा पनि महामन्त्रीमै भएको हुँदा कडा प्रतिष्पर्धा छ भन्नेकुरा मान्दछु । सबै साथीहरु एक से एक हुनुहुन्छ । तर मलाई बहुसंख्यक साथीहरुले केही वर्षअघि देखि नै महामन्त्रीकोरुपमा देख्न चाहनुभएको छ । 

उहाँहरुले पनि मलाई अघि बढ्न प्रेरित गर्नुभएको छ । पार्टीको लागि यसले ठोस योगदान पुर्‍याउन सक्छ भन्ने ठहर गरेको मैले पाएको छु ।

मलाई यसपल्टको विश्वास के छ भने एउटा महामन्त्रीमा गगन थापा भन्ने देखेको छु । 

अधिकांश मतदाताको भावना त्यस्तो पाएको छु । अर्को कुरा पार्टीको मुख्य नेतृत्वसँग पनि धेरै कुरा जोडिन्छ । शेखर कोइरालाको नेतृत्वमा हामीहरु छौँ । 

पार्टीमा परिवर्तनको चाहना राख्ने साथीहरु हुनुहुन्छ । त्यसले पनि मलाई बल पुग्छ भन्ने लागेको छ ।

तपाईंहरुको समूह बढी छिन्नभिन्न हुँदा यसलाई असर गर्दैन ?

स्वाभाविकरुपमा गर्छ । यो अवस्था नआओस् भन्नका लागि धेरै प्रयास गरेका हौँ । पार्टीमा जतिबेला रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतका सबै नेताहरु एकठाउँमा उभिए हुन्थ्यो भन्ने लागेको थियो, प्रयास पनि गरेका हौँ । तर सोचेको जस्तो भएन ।

पार्टीको आन्तरिक जीवनमा कहिलेकाहिँ यस्तो कुरा आउँदोरहेछ । यस्तो बेलामा कठोर निर्णय गरेर जानुपर्ने रहेछ भन्ने देखायो पनि । अहिले हामी त्यस्तो अवस्थामा छौँ ।

तपाईंले आफ्नो अवधारणामा धेरै कुरा भन्नुभएको छ तर अहिले छोटोमा भन्दा तपाईंले देखेको कांग्रेस कस्तो हो ?

आम कार्यकर्ताको राजनीतिक लक्ष्य रहेको पार्टी, स्पष्ट कार्यक्रम भएको, जो अत्यन्तै व्यवस्थित ढंगले चलेको छ । 

नयाँ लाखौँ तन्नेरीहरुलाई हामीहरु २०४८ सालमा नौजवान हुँदा खेरी कांग्रेस पार्टी भनेपछि जोडिन मन लाग्ने, जोडिन पाए हुन्थ्यो भन्ने खालको अवस्था थियो । 

मैले त्यस्तो कांग्रेस बनाउँछु । असाध्यै लोकप्रिय, देखिने, बोलिने र सुनिने पार्टी बनाउँछु । सबैले माया गर्ने, असाध्यै पवित्र पार्टी बनाउँछु भन्ने लागेको छ । 

अन्तिममा मतदाताका लागि भन्नुपर्ने कुरा केही छन् कि ?

नेपाली कांग्रेस पार्टी महाधिवेशनपछि अरु पार्टीहरुसँग प्रतिष्पर्धामा जानुपर्छ । अरु पार्टीको बीचमा जानुपर्छ । 

यस्तो बेलामा कस्तो नेतृत्व आयो भने यो पार्टीलाई जनताका बीचमा देखिने, सुनिने र माया गर्ने पार्टी बनाउन सकिन्छ भन्ने विचार पुर्‍याउनुपर्ने देख्छु । 

आन्तरिक प्रतिष्पर्धा हो हामी सबै आ–आफ्ना कुरा लिएर आएका छौँ भोलिदेखि फेरि सँगै जानुपर्छ । पार्टीलाई अघि बढाउने भनेको शेखर कोइरालाको टिम नै हो भन्ने लाग्छ । उहाँको टिमले नै नै सिंगो पार्टीलाई अघि बढाउन सक्छ भन्ने लाग्छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  ०९:१७
प्रतिक्रिया दिनुहोस्