site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
कांग्रेसमा तीन शक्ति छ, दुईवटा मिल्नेकै जित हुन्छ
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन उद्घाटनको मिति अब एक दिन पनि बाँकी छैन । तर, संस्थापन र संस्थापन इतर समूहले आफ्नो प्यानलको घोषणा अझै गर्न सकेका छैनन् । पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको संस्थापन पक्षलाई पदाधिकारी टुंग्याउन सकस छ भने नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापनइतर समूहलाई सभापति छान्नै हम्मेहम्मे छ ।

यता, १३औँ महाधिवेशनबाट बनेको नेता कृष्णप्रसाद सिटौलाको समूहले भने महाधिवेशन एक्लै लड्ने कि कुनै पक्षसँग सहकार्य गर्ने भन्ने टुंगो लगाइसकेको छैन । सिटौलालाई एकातिर आफ्ना निकट नेताको संरक्षण गर्नुपरेको छ भने अर्कोतिर शक्ति पनि आर्जन गर्नुछ । सिटौलाका विश्वासपात्रहरूले संस्थापन पक्षसँग मिलेर आफूहरूको राजनीतिक भविष्य सुरक्षित गरिदिन दबाव दिइरहेको छन् । यस्तो अवस्थामा सिटौला समूह कसरी अघि बढ्छ ? भनेर हामीले सो समूहका नेता तथा प्रदेश नम्बर १ का सभापति उद्धव थापालाई प्रश्न गरेका छौँ । प्रस्तुत छ थापासँगको कुराकानीको सम्पादित अंश :

तपाईंहरू अब एक्लै अघि बढ्ने कि कुनै पक्षसँग मिलेर जाने हो ?
यो विषयमा अहिले छलफल भइरहेको छ । नेतृत्वबीच सघन वार्ता भइरहेको छ । यही गर्ने भन्ने निश्चित भइसकेको छैन । यसका लागि सम्पूर्ण जिम्मेवारी नेता कृष्णप्रसाद सिटौलालाई दिएका छौँ । उहाँले जे निर्णय गर्नुहुन्छ । त्यसलाई स्वीकार गरेर जाने हो । हामी सहमति पनि गरेर जान सक्छौँ । सभापतिमा सिटौलाको उमेदवारी लिएर पनि जान सक्छौँ । हाम्रो दुईवटै 'अप्सन' छ । हामीले दुवै अप्सनलाई छलफलमा ल्याएका छौँ । सम्मानजनक ढंगले टुगिन्छ भने हामी सहमति गरेर जान सक्छौँ ।

Argakhachi Cement Island Ad

सम्मानजनक भनेको कस्तो ? 
हाम्रो समूहमा रहेको नेताहरूको उमेदवारी दिने सवालमा उहाँहरू (शेरबहादुर देउवा समूह वा रामचन्द्र पौडेलको समूह)मध्ये जसले सम्मानजनक ढंगले सम्बोधन गर्छ हामी त्यो बाटोमा अघि बढ्न सक्छौँ । हामीले महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरू मागेका छौँ । त्यसको उचित सम्बोधन भयो भने मिलेर जान सकिन्छ । 

कुन समूहसँग मिल्ने सम्भावना धेरै छ ? 
दुवैतिर वार्ता चलिरहेको छ । अहिले कुनमा भन्ने टुंगो भइसकेको छैन । सम्भावना बनेन भने सिटौलाको उमेदवारी रहन्छ । 

जिल्ला, प्रदेशमा संस्थापन पक्षसँगै समीकरण गर्नुभयो । यहाँहरूको झुकाव संस्थापनतिरै बढी हो ?
अहिलेसम्मको अभ्यासलाई हेर्दा संस्थापनसँग अघि बढिरहेको छौँ ।  उहाँसँगै समीकरण हुन्छ नै भन्ने अवस्था परिपक्व भइसकेको छैन । मलाई चाहिँ संस्थापन पक्षसँग समीकरण गर्दा सहज, सरल र फलदायी हुन्छ भन्ने लाग्छ । 

तपाईंहरूले संस्थापनसँगै मिलेर जानुपर्छ भन्ने दबाव दिइरहनुभएको हो ? 
स्वाभाविक रूपमा हो । १४औँ महाधिवेशनमा तलैबाट संस्थापनसँग सहकार्य गर्‍यौँ । त्यसलाई आधार मान्दा संस्थापनसँग सहकार्य गरेर जाँदा नै सहज र सरल हुन्छ भन्ने लागेकाले हामीले त्यही कुरा राखेका छौँ । 

अब कुनै पक्षसँग मिल्ने भएमा तपाईंहरूको समूहका नेता सिटौलाको भूमिका चाहिँ के रहन्छ ? 
हामीले त्यसको निर्णय गर्ने अधिकार उहाँलाई नै छाडेका छौँ । कुन ठाउँमा रहने नरहने भन्ने निर्णय उहाँले नै लिनुहुन्छ । हामीले बुझेसम्म उहाँले आफ्नो भन्दा पनि टिमको कुरालाई प्राथमिकतामा राख्नुभएको छ । टिम जोगाएर सशक्त बनाएर लैजाने कुरामा बढी नै सोच राख्नुभएको छ । 

केही जिल्लामा र प्रदेश १ मा सभापति आएपछि सिटौलालाई बार्गेनिङ प्वाइन्ट भएको हो ?
अलिकति बल पुगेको छ । १ नम्बर प्रदेशको परिणमाले उहाँको नेतृत्वलाई माथि उठाएको छ ।

नेता प्रदीप पौडेलले त महामन्त्री घोषणा गरिसक्नुभएको छ । अरू चाहिँ को–को उठ्ने तय भयो ?  
उहाँले त घोषणा गरिसक्नुभएको छ । उहाँले महामन्त्रीमा कन्फर्म चुनाव लड्नुहुन्छ । अरू आकांक्षीहरू पनि धेरै नै हुनुहुन्छ । साथीहरू बसेर एक बन्ने कुरा पनि भइरहेको छ ।

अहिले देखिएका समूहबीच समीकरण भयो भने जित सहज हुन्छ भन्न खोज्नुभएको हो ?
समीकरण गरेर गए जित्नेमा शंका नै छैन । एक्लाएक्लै लडेर जाँदा कोही जित्ने पनि देख्दिनँ । तीनवटा शक्तिमध्ये दुईवटा एक भएर जो जान सक्छ उसको जित निश्चित छ । समीकरणबाट नै मैले पनि सानै मतले भए पनि सभापतिमा जितेँ । त्यसले गर्दा हिजोको अभ्यासले पनि यो देखाएको छ । १४औँ महाधिवेशनले मात्रै होइन १३औँ महाधिवेशनको अभ्यास हेर्दा पनि समीकरण गरेर जानुपर्छ । जुन पक्षले समीकरण गरेर जान्छ फस्ट आवरमा नै डिक्लिएर हुन्छ ।

देउवाले देश पार्टी बिगारे भन्ने अनि उनैसँग सहकार्य गर्ने भन्दा विरोधाभास भएन ? 
यो कुरा चाहिँ होइन । देउवाले नेतृत्व लिँदा कांग्रेस कमजोर हुने अर्कोले नेतृत्व लिँदा कांग्रेस बलियो हुुने कुरा वाहियात हो । पार्टी भनेको सिस्टम, विधि, विधानले चल्ने हो व्यक्तिले चलाउने होइन । अहिले अवस्था भनेको प्रजातन्त्रको विपक्षमा माहोल बनिरहेको छ । अहिले डेमोक्रेट्सको विपक्षमा साम्यवादीहरूको बलियो माहोल छ । परिस्थितिले कांग्रेसलाई कमजोर बनाएको हो । नेताहरूले बनाएको भन्ने म मान्दिनँ । 

चुनावमा हारिसकेपछि सिटौलाले नै देउवाले मार्गप्रशस्त गर्नुपर्छ भन्नुभएको थियो । त्यसकारण उहाँलाई दोहोर्‍याउने चाहिँ किन भन्ने प्रश्न उठ्ला नि ? 
राजनीति भनेको समयसापेक्ष चल्नुपर्छ । १४औँ महाधिवेशन भनेको १३औँ महाधिवेशनजस्तो होइन । अहिले देशभरि कम्युनिस्टहरूको दबदबा छ । स्थानीय तहदेखि नै कम्युनिस्टहरू मजबुद छन् । सत्तामा नभए पनि । त्यसैले कांग्रेस एकताबद्ध हुनुपर्छ । एकताबद्ध भएमात्र कम्युनिस्टको बोलवाला तोड्न सक्छौँ । नेतृत्वका लागि कोही कता कोही कता भएको देखिए पनि महाधिवेशन सकिएपछि चारतारे झण्डा र रुखमुनि सिंगो कांग्रेस उभिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्