
शुक्रबारदेखि सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट विभिन्न पदमा उमेदवार घोषणा गर्नेको लर्को बढेको छ ।
नेताहरुले आफ्नो आकांक्षा देखाएर पत्रकार सम्मेलन गर्दै उमेदवारी घोषणा गरे पनि टिम व्यवस्थापन भने भइसकेको छैन । संस्थापन समूहको रुपमा वर्तमान सभापति शेरबहादुर देउवा पुनः सभापति लड्ने पक्का छ ।
तर उनले आफ्नो समूहका अन्य पदहरुमा आकांक्षीको व्यवस्थापन गर्न सकेका छैनन् । यता, संस्थापनइतर समूहले एक्लो सभापति बनाउन सकेका छैनन् ।
समूहहरुले एक अर्कालाई आफ्नो टिममा ल्याउने र आफू बलियो हुने प्रयास पनि गरिरहेका छन् । यस्तो अवस्थामा घोषणा गरेको पदमा उमेदवारहरुको स्थायित्व छ त ? देउवा समूहबाट महामन्त्री पदका उमेदवार बन्ने तयारीमा रहेका वर्तमान सहमहामन्त्री प्रकाशशरण महतलाई बाह्रखरीकर्मी रोमन आचार्यले यही प्रश्न गरेका छन् । प्रस्तुत छ, महाधिवेशन केन्द्रित कुराकानीको सम्पादित अंश :
कांग्रेसको महाधिवेशनमा कुन कुन देशबाट सहभागिता हुने भयो ?
हामीले दक्षिण एसियाका महत्वपूर्ण पार्टीहरुलाई आमन्त्रण गरका छौं । कोभिडका कारणले धेरै पार्टीहरुलाई हामीले निमन्त्रणा गरेनौं । भारतीय जनता पार्टी, भारतीय कांग्रेसले सहभागिता जनाउने प्रतिवद्वता गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अहिलेसम्म कम्फम गरेको छैन ।
महाधिवेशनको तयारी सबै सकियो ?
तयारी जोडतोडले चलेको छ । ६ प्रदेशको अधिवेशन नै सम्पन्न भइसक्यो एउटा प्रदेशको मात्र बाँकी हो । त्यहाँ केन्द्रीय महाधिवेशन पश्चात् अधिवेशन हुन्छ ।
अब केन्द्रीय अधिवेशनमा आउने प्रतिनिधिहरुको टुंगो लागिसक्यो । हिजोदेखि पार्टी अफिसमा उनीहरुको दर्ता पनि सुरु भइसकेको छ । जिल्ला जिल्लाबाट साथीहरु आउने क्रम जारी छ । उनीहरुलाई बस्ने प्रबन्ध पनि मिलाइसकिएको छ । अरु मञ्च व्यवस्थापनदेखि जुन समितिमा जे जिम्मेवारी थियो त्योअनुसार काम भइरहेको छ ।
यो महाधिवेशनमा पार्टीको नीतिको बारेमा छलफल हुने भएन, नेतृत्वको मात्र छलफल हुने भयो, किन यसो गर्नुभएको ?
समयको चाप भएर हो । हामीले मंसिरमै महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेका थियौं । तर, कोभिडका कारणले तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न सकिएन ।
एकदमै थोरै समयको अन्तरालमा वडादेखि केन्द्रसम्मको अधिवेशन गर्नुपर्ने तालिका बन्यो र त्यसैअनुरुप अघि बढ्यो । कारण यति नै हो ।
नीति कार्यक्रममा छलफल गर्न प्रयाप्त समय लाग्ने भएकाले निर्वाचित भएको कमिटीले पछि गर्ने हामीबीच सल्लाह भएको छ ।
फेरि सबैजना निर्वाचनमा केन्द्रित हुने भएकाले नीति कार्यक्रममा छलफल राखे पनि, प्रस्ताव प्रस्तुत भए पनि गम्भीर छलफल गर्न सबैको सहभागिता नहुने भएर हामीले यसलाई पछाडि सारेका हौं । पछि छुट्टै गरियो भने त्यसमा मात्र ध्यान केन्द्रित हुन्छ भनेर नै सारिएको हो । यो महाधिवेशनमा महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवदेन र केही विधानका वाधा अड्चन फुकाउने काम हुन्छ ।
नीति महाधिवेशन र महासमिति बैठकमा के फरक छ र ?
सबै महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदैनन् । कुल महाधिवेशन प्रतिनिधिको एक तिहाइ मात्र महासमिति सदस्य हुन्छ ।
तर महाधिवेशनमा भने सबै प्रतिनिधिको सहभागिता हुन्छ । महाधिवेशन प्रतिनिधिहरुले पनि नीतिमा छलफलमा गर्न पाउने अधिकार छ त्यसबाट बञ्चित गर्न हुन्न भनेर नीति अधिवेशन गर्न लागिएको हो ।
अब, प्रसंग बदलेर तपाईंको उमेदवारीमा आउँ । आसन्न महाधिवेशनबाट तपाईं महामन्त्री लड्ने तयारीमा छु भन्नुहुन्छ, तपाईं महामन्त्री लड्नुपर्ने कारण चाहिँ के हो ?
स्वाभाविक रुपमा म महामन्त्रीको दाबेदार हुँ । म लड्छु भनेर नेतृत्व तहसँग छलफल गरिसकेको छु । मैले आजसम्म चाहे पार्टीको होस् चाहे सरकारको जुन जिम्मेवारी प्राप्त गरेको छु जिम्मेवारीलाई गम्भिरताका साथ लिने निष्ठापूर्वक सम्पादन गर्ने गरेको छु । मेरो अनुभव पनि छ । प्रतिबन्धित कालमा पनि मैले विद्यार्थी संगठनको नेतृत्व गरेको आएको छु ।
मैले पार्टीमा उत्तारचढावको समयमा पनि सरकारमा गएर, आन्दोलनमा गएर, संविधान निर्माण प्रक्रियामा भाग लिएर, शान्ति प्रक्रियामा भाग लिएर सबैखाले अनुभव समेटेको छु ।
युवामा हुनुपर्ने जोश जागर पनि, ऊर्जा पनि छ । मसँग अनुभव र क्षमता पनि छ । सहमहामन्त्री भएर काम गरिसकेको छु ।
पार्टीपंक्तिमा सबैले महामन्त्री लड्नुलाई स्वाभाविक रुपमा पनि लिएका छन् ।
महामन्त्री बनेपछि के त भन्ने प्रश्न आउँछ । मेरो पहिलो प्राथमिकता पार्टीलाई आधुनिकीकरण गर्नमा हुन्छ । फराकिलो पार्टी बनाउने भिजन मसँग छ । हाम्रो कमजोरी प्रचारमा छ । हामी काम गरेर प्रचार गर्न सक्दैनौं । एकअर्कामा आलोचना गरेर समय बर्बाद गर्छौँ । गुट पनि अस्वस्थ बनेका छन् । बिचारमा आधारित बनेका छैनन् ।
अब पार्टीमा विचारकेन्द्रित बहस र छलफल हुनुपर्छ । काम गर्ने कार्यकर्ता र नेताहरुको मूल्याङ्कन गर्ने प्रणाली बसाउन आवश्यक छ । ती काम गर्नेहरुलाई प्रोत्साहान गर्नुपर्छ । अनि जिम्मेबारी पाइन्छ भन्ने अनुभूति दिन जरुरी छ । प्रशिक्षणमा एकरुपता छैन । एउटा नेताले एकथोक अर्को नेता अर्कै थोक बोल्दै हिँड्ने गरेका छन् ।
हाम्रो कन्टेन्टमा माथिदेखि तलसम्म एउटै कुरा जानुपर्यो । एकै लयमा विचारहरु जनतासम्म आम सञ्चार र सामाजिक सञ्जालदेखि व्यक्ति व्यक्तिसम्म एउटै कुरा पुग्नुपर्यो । हो, हामीले यही काम गर्न नसकेकाले नेपालमा कम्युनिष्टहरुले हामीले गरेको कामको जस लिइरहेका छन् ।
हाम्रो कामलाई बोलीबाट रुपान्तरण गर्नुपर्यो । अर्थात् गरेको काममा देखिने गरेर प्रचार गर्ने माध्यम बनाउनु पर्छ । हरेक विषय वस्तुमा अपडेट सूचना र प्रचारप्रसार प्रणाली बनाउन जरुरी छ । म आर्थिक विषयको विद्यार्थी, परराष्ट्र सम्बन्धी अनुभव पनि छ । परराष्ट्र मन्त्री भएर देशको स्वार्थ र आवश्यक्तालाई अगाडि राखेर आफूलाई प्रस्तुत गरेको छु ।
लगायत यावत कारण छन् जसका कारण महामन्त्री पदमा लड्छु, यीसहित धेरै काम गर्नका लागि महामन्त्रीमा उमेदवारी दिने निर्णय गरेको हुँ ।
तपाईँकै समूहबाट अरु पनि महामन्त्रीका आकांक्षी छन् नि ? तपाईंकै सम्भावना छ त ?
उहाँहरु सबैले आकांक्षा राख्ने अधिकार छ नि । म त्यसलाई त सम्मान गर्छु । मैले आफ्नो कुरा गर्ने हो । उहाँहरुको टिका टिप्पणी गर्ने यो राम्रो योभन्दा म गज्जब भन्ने टिका टिप्पणी गर्दिन । त्यो त अरुले गर्ने हो नि । मैले त आफ्नो कुरा राखेर पार्टी पंक्तिलाई मनाउने हो । मेरो भिजन राख्ने हो । अरुको आलोचना गरेर मैले के पाउँछु र ।
महामन्त्री नभए अर्को पद पनि विकल्पमा पो छ कि ?
हैन मैले महामन्त्रीभन्दा अर्को विकल्प सोँचेको छैन । किनभने पार्टीलाई साँच्चै संगठनात्मक रुपमा रुपान्तरण गर्ने कार्यकारी पद हो महामन्त्री पद । यद्यपी उपसभापति पद पनि राम्रै पद हो । तर, काममा विश्वास गर्ने क्रियाशील भइराख्ने पद भनेको महामन्त्री हो ।
महामन्त्री भन्ने नपाए उपसभापति पद भए पनि लिने भन्ने होला नि ?
हैन हैन मैले महामन्त्री भन्दा अर्को सोँच राखेको छैन । महामन्त्री नभए उपसभापति भन्ने सोच मेरो छैन । यो कल्पना बाहिरको कुरा हो ।
तपाईंहरुको टिम चाहिँ कहिले घोषणा हुन्छ ? सहमतिमा बन्ने हो कि सभापतिले तोक्ने हो ?
बिहीबार रातिसम्म टिम बन्छ । सभापतिले कुराकानी सबैको सुन्नु भएको छ । उहाँले एकल अधिकार राख्ने मान्छे होइन । सबै साथीहरुको सरसल्लाह लिनुहुन्छ । पदाधिकारीको विषयमा अलिकति मिलेको छैन ।
तल्ला तहमा जस्तै केन्द्रमा पनि कृष्ण सिटौलाको समूहसँग गठजोड हुने हो ?
हैन, यो मात्र भन्ने छैन । जो जो जोडिन आउनु हुन्छ उनीहरुलाई जोड्ने । बढीभन्दा बढी जोडेर टिम बनाउने प्रयासमा शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ बहुमत बनाएर पार्टीलाई अगाडि बढाउने लक्ष्य छ । उहाँले हालसम्म बहुमतमा भए पनि पार्टीलाई बहुमतको आधारमा चलाउनु भएको छैन ।
विभाजित मानसिकता बढ्छ भनेर सुझबुझ तरिकाले पार्टी चलाइरहनुभएको छ । पार्टी एक बनाउन उहाँ सफल हुनुभएको छ । हामी यसैलाई निरन्तरता दिन्छौं, सबैलाई अटाएर लिएर जान्छौं ।
अन्य समूह मिल्दा तपाईंले पनि महामन्त्री पद त्याग गर्नुपर्ने हो कि ?
समूह मिल्न आउँदा शेरबहादुर देउवासँग बसेर जसले काम गरिरहेका छन् उनीहरुले स्थान नपाउने भन्ने हुँदैन ।
अरुको पनि आवश्यकता, योग्यता, क्षमता र जनआधारको रुपमा निर्णय हुने हो । म स्पेस नभएको जनाधार नभएको क्षमता नभएको मान्छे त होइन नि । मैले यो आयो भने महामन्त्री पदबाट निस्कनुपर्छ भन्ने डराउनुपर्ने अवस्था छैन ।
जति महाधिवेशन प्रतिनिधिहरु आएका छन् , तपाईंहरु त बहुमत दाबी गरिरहनुभएको छ नि हो ?
हो हाम्रो विश्लेषण हामी बहुमतमा छौँ भन्ने हो । तर अब यो भनेर हामी मख्ख छैनौं । बढीभन्दा बढी साथीभाई समेटेर लैजान्छौँ । एकाकार बनाएर अघि बढ्छौं ।
दोस्रो चरणमा मतदान जाँदैन भन्ने दाबी तपाईंहरुकै टिमबाट हुन्छ, तपाईंहरुको आंकलन त्यही हो ?
सभापति चयन गर्न दोस्रो चरणमा मतदान जाँदैन । किनभने शेरबहादुर देउवाले सबैलाई समेट्ने नीति लिनुभएको छ, सानातिना विषयलाई नजरअन्दाज गर्नुभएको छ । जुन अहिलेको आवश्यकता हो । किनभने मानिसहरु सबैले भूमिका खोजीरहेका छन् । संकिर्ण भए मानिसहरु तितरवितर हुन्छन् ।
अहिले अरुमा भीडले जे चाहन्छ त्यसरी प्रस्तुत हुने मनसाय देखिन्छ । विषय परिपक्क नभइ भीडमा उत्तेजना बढाउने काम भइरहेको छ । युवाहरुले यसो उसो भनेका छन् । आवश्यकताको सिद्धान्तले पो हो त पार्टी चल्ने त । कहिले काहीँ ती गुणहरु बुढामा हुन सक्छन्, कहिले युवा हुन्छ ।
कांग्रेस कमजोर भइरहेको छ फेरि पनि देउवा विजयी हुनुभयो भने कांग्रेस कमजोर हुन्छ भन्ने बहस त छ नि बाहिर ...
कमजोर भएको छ भन्छन् । जस्तो हामी २०७० मा बलियो थियौं भन्ने तर्क छ । तर त्यो बेला शेरबहादुर देउवा सभापति भएर २०७४ सालमा गराएको चुनावभन्दा कम प्रतिशत मत आएको थियो । २०७० सालमा संसदमा पुगेको संख्याको आधारमा हिसाब गरेको होइन, बलियो भयो भनेको त्यही होइन ? त्यो बेला एमाले माओवादी अलग अलग लडेका थिए । त्यसकारण संसदमा संख्या बढ्यो । भोट प्रतिशत त ३६ प्रतिशत न हो ।
२०७४ मा उनीहरु मिले । उनीहरुको भोट जोडियो, हामी अलि कमजोर देखियौं । त्यसकारण हामी पराजित भएका हौँ । २०१५ र २०४८ सालमा पनि ४० प्रतिशत मत त पुगेको होइन नि हाम्रो ।
शेरबहादुर देउवाका कारणले हार्यो, अरु कोही पनि रामचन्द्र पौडेललगायत जो भएको भए पनि त्यो भन्दा भिन्न परिणाम आउने थिएन । अझ कम हुन्थ्यो । त्यसकारण यो कुनै तथ्यगत कारण होइन । जबरजस्ती बहसको विषय बनाइएको हो ।
अहिले केही युवा भनिएको नेताहरुले शेरबहादुर आए समाप्त हुन्छ भन्छन्, कांग्रेस नै खतम हुन्छ भन्छन् । यो भीडको पछि लाग्ने कुरा हो । जता जता भीड छ त्यता त्यता पछि लाग्नेलाई नेतृत्व भनिँदैन क्या । नेतृत्व बोलेर मात्र हुँदैन । नेतृत्व बन्न देशको परिस्थिति आकलन गरेर राजनीतिको कोर्र्स कता जाँदैछ मूल्यांकन गरेर कुन बेला कस्तो कदम चाल्ने भन्ने रणनीति बनाउने पो नेतृत्व हो त । सस्तो लोकप्रियताको पछाडि नेतृत्व दौडेर कांग्रेस र नेतृत्व बन्दैन ।