
राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत हुन् । श्रेष्ठले नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आगामी कार्यकालका लागि सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
बुधबार र बिहीबार नाडाको ४५औँ साधारणसभा हुँदैछ । प्रस्तुत छ– नाडाको चुनाव र आगामी योजनामा केन्द्रित रहेर बाह्रखरीका हिमाल पौडेलले श्रेष्ठसँग गरेको कुराकानी :
नाडाको नयाँ नेतृत्वका लागि उमेदवारी दर्ता सकिइसकेको छ । चुनाव प्रचारप्रसार अभियान सकियो कि जारी छ ?
हामी अझै पनि चाहिरहेका छौं कि सहमतिमै नेतृत्व चयन होस् । सहमतिको लागि प्रयास गरिरहेका छौं तर अहिलेसम्म सफल हुन सकेका छैनौं ।
सहमति भएन भने प्रजातान्त्रिक प्रक्रियामा जानैपर्ने हुन्छ । तर अझै पनि सर्वसम्मतको लागि काम गरिरहेका छौं ।
त्यस सँगसँगै चुनाव हो, चुनावमा आफ्नो पक्षलाई जिताउनको लागि क्याम्पेनिङ गरिरहनुपर्छ । क्याम्पेनिङ गरिरहेका छौं । यो अभियान जारी छ ।
चुनावी अभियान मोफसलमा सकियो तर उपत्यकामा बाँकी हो ?
चुनावी अभियानका लागि विभिन्न प्रकारका प्रविधिहरु छन् । भौतिकरुपमा नै सबै ठाउँमा जान सम्भव पनि हुँदैन । त्यसैले भौतिकसहित डिजिटल प्रविधिमार्फत पनि देशभरी नै प्रचारप्रसार जारी छ ।
नाडामा स्पष्टरुपमा दुईवटा प्यानल देखियो । तपाईं करण चौधरीको प्यानलमा हुनुहुन्छ । के कारणले करण चौधरीलाई नेतृत्व बनाउन खोज्नुभयो ?
करण चौधरीसँग नाडामा चार वर्ष काम गरियो । यो चारवर्षमा जुन किसिमले काम गर्ने तरिका, त्यसमा पनि कुनै पनि काम लिइसकेपछि जुन प्यासनले त्यो काम अगाडि बढाउँछन्, जुन काम गराउँछन्, त्यसले गर्दा पनि हामीलाई के लाग्यो भने नाडामा हामीलाई सक्षम नेतृत्व चाहिनेछ, र त्यो नेतृत्वमा चाहिने सम्पूर्ण गुण करण चौधरीमा छ भन्ने हामीले देख्यौं ।
नाडा पहिला कुन स्थितिबाट आज कुन स्थितिमा आइसकेको छ । पहिले सानो नाडा थियो । अध्यक्ष बनाउनको लागि पनि खोज्नुपर्ने थियो । तर, अहिले जुन प्रकारले संगठन विस्तार भयो, जुन किसिमको आकार बढ्यो, नाडाको वेट बढ्यो । त्यो अवस्थामा ल्याउनको लागि पूर्वजहरुले जुन किसिमको मेहनत गर्नुभयो, उहाँहरुको जुन देनले यहाँसम्म आएको नाडालाई अगाडि बढाउनको लागि पनि हामीलाई सक्षम नेतृत्व चाहिन्छ र त्यसका लागि भिजन भएको व्यक्ति हुुनुपर्छ ।
करण चौधरीले नाडामा गरेको योगदानलाई हेर्दा हामीले करण नै सहि व्यक्ति, सक्षम उमेदवार हो भन्ने देखेकाले नै उहाँलाई अगाडि सारेर हिडेको हो ।
प्यानलसहित निर्वाचनमा जाँदा नाडा कमजोर त बन्दैन ?
चुनाव गर्दा संस्था कमजोर हुन्छ भन्ने सोच हो । तर, भविष्यमा एउटा चुनाव छ, अर्को चुनावपछिका दिनहरु छन् । नाडा भनेको संस्था हो, व्यक्ति होइन । संस्थामा जति पनि अटो व्यवसायीहरु हुनुहुन्छ, उहाँहरु सम्बद्ध हुनैपर्छ । उहाँहरुलाई काम गर्ने वातावरण बनाउनको लागि सबैभन्दा ठूलो भूमिका खेल्ने भनेको नाडाले नै हो । त्यसैले अहिले सहमति हुन नसकेको अवस्थामा संस्था कमजोर हुन्छ कि भनेर नै त्यो स्थिति नआओस् भनेर हामी अझै पनि सहमतिका लागि प्रयास गरिरहेका छौं । उमेदवारी दर्ता गर्ने बेलामा पनि हामी कसरी सर्वसहमति गर्न सकिन्छ भनेर लागिरहेका थियौं । हाम्रो टिम अझै पनि चुनाव हुनुभन्दा एक मिनेट अगाडिसम्म पनि सहमतिका लागि प्रयास छोड्नुहुँदैन भन्ने छ ।
दुई वटा प्यानल हुन्छ भने त्यसले संगठनलाई कहीँ न कहीँ अहित गर्छ नै । तर पनि त्यो सोचबाट बाहिर आउन जरुरी छ । त्यो सोच लिएर हिँड्ने हो भने भोलि संस्थाहरु पक्कै कमजोर हुन्छन् । तर हाम्रो सोचाई के हो भने जब प्रजातान्त्रिक प्रक्रियामा गएपछि कसैको जीत हुन्छ, कसैको हार । हार हुनेले पनि स्वीकार्नु पर्छ ।
जो सुकै पदमा आए पनि हाम्रो लक्ष्य भनेको जति पनि अटोमोबाइल व्यवसायीहरु हुनुुहुन्छ, उहाँहरुको हक, हितका लागि लड्ने हो, संस्थामा जोसुकै आओस् ।
म हारेँ, अब म यहाँबाट भिन्न हुन्छु । अब म संस्थामा योगदान गर्दिन भन्यो भने त्यो व्यक्तिगत समस्या हो । प्रजातान्त्रिक प्रक्रियाबाटै नेतृत्व चयन भयो भने पनि नाडा त्यति कमजोर हुँदैन जस्तो लाग्छ ।
सहमतिको प्रयास उमेदवारहरुले गरिरहनु भएको छ कि पूर्वअध्यक्षहरुले मध्यस्थता गरिरहनुभएको छ ?
सहमतिका लागि सबै तहबाट प्रयास भइरहेको छ । पूर्वअध्यक्षहरुले पनि कसरी सहमति कायम गराउने भनेर लागिरहनुभएको छ । यस्तै उमेदवारहरु पनि सर्वसहमतिका लागि लागिराख्नुभएको छ । त्यो मात्रै होइन, हाम्रा सदस्य साथीहरुसहित मिडियाका साथीहरु पनि सहमतिका लागि लाग्नुभएको छ । सबैतिरबाट प्रयास भइरहेको छ तर निचोड निस्कन सकिरहेको छैन ।
आजको दिनसम्म कसले कसलाई छोड्ने भन्नेमा सहमति हुन सकेको छैन, हैन त ?
त्यही नै भन्नुपर्यो ।
तपाईं लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आवद्ध हुनुहुन्छ । नाडालाई नजिकबाट बुझ्नुभएको छ । तपाईं र तपाईंहरुको टिम नाडामा गइसकेपछि आगामी दिनमा नाडा कस्तो हुन्छ ? नाडालाई कस्तो बनाउन चाहनुभएको छ ?
सबैभन्दा पहिला, नाडामा अटोका सम्पूर्ण क्षेत्रलाई समेट्नुपर्छ भन्ने हो । त्यही भएर नै हामीले टीम बनाउँदा पनि सबै क्षेत्रलाई समेटेका छौं । हामी प्रादेशिक संरचनामा गइसकेका छौं । प्रदेशलाई पनि समेटेका त छौं, ती समेटिएका प्रदेशलाई कसरी बलियो बनाउँदै लैजाने भन्ने हो । अब धेरै काम केन्द्रीय तहमा मात्रै होइन कि क्षेत्रीय तहमा पनि हुन्छ । केन्द्र बलियो त हुनै पर्यो, त्योसँगै प्रदेश पनि बलियो हुन पर्नेछ ।
राज्यले यातायात क्षेत्रको धेरै अधिकारी प्रादेशिक तहलाई दिइसकेको छ । नीतिगत निर्णय केन्द्रीय तहबाट हुन्छ भने कार्यान्वयनका विषय प्रादेशिक तहमा गइसकेको छ ।
त्यसैले नाडाको प्रादेशिक तहले सरकारको प्रादेशिक निकायसँग मिलेर काम गर्नुपर्ने हुन्छ, सहकार्य गर्नुपर्ने हुन्छ । यता, केन्द्र पनि बलियो हुनैपर्छ । अटो व्यवसायमा काम गर्दा जति पनि समस्याहरु छन्, त्यसलाई सहज बनाउने भूमिका नाडाले केन्द्रबाट खेल्नुपर्ने हुनाले संस्था थप बलियो हुँदै जानुपर्छ ।
संगठनात्मक रुपमा नाडालाई अझै बलियो बनाउनुपर्ने छ ?
संगठनात्मक रुपमा नाडालाई बलियो बनाउनुपर्छ भन्ने कुरालाई नै पहिलो प्राथमिकतामा राखेका छौं । त्योसँगै हामीले काम गर्दा जति पनि समस्याहरु आइरहेका छन्, ती समस्यालाई कसरी हटाउँदै जाने, चुनौतीहरु आएका हुन्छन् त्यसलाई कसरी फुकाउँदै जाने भन्ने विषयमा पनि केन्द्रित हुन्छौं ।
प्यानल घोषणा कार्यक्रममा तपाईंले भन्नुभएको थियो, करण चौधरीको टिमको जीत सुनिश्चित छ भनेर । जीतको आधार के हो ?
जीतको लागि कति जना सदस्यले सहयोग गर्ने भन्ने हो । हाम्रो सदस्यको आधार हेर्ने हो भने अहिले ३१०० पुगिसकेको छ ।
यो संख्या हेर्दा हामी बहुमतमा छौं । नाडाको सदस्यको आधारमा हामी बहुमतमा छौं । सोही कारणले नै मैले जीत सुनिश्चित छ भनेको हो ।
चुनाव भनेको त ‘ब्यालेट बक्स’ हो । कसले कसलाई भोट हाल्छ भन्ने पनि छ नि, होइन ?
कुन टिम कति सक्षम छ भन्ने कुरा सदस्यहरुले हेर्ने हो । हामीलाई के विश्वास छ भने करण चौधरीको नेतृत्वमा हामीले बनाएको टिमसहित १७ जना सदस्यहरुबाट अटोको सबै क्षेत्रलाई समेटेका छौं । धेरै अनुभवि, त्यो क्षेत्रमा धेरै योगदान गर्न सक्ने साथीहरुको टिम छ । त्यसैले हाम्रो जस्तो सशक्त टिम अरु छैन भन्ने हामीलाई विश्वास छ ।
नाडाका सदस्यहरु कसले नाडालाई अझै बलियो बनाउन सक्छ, कुन टिमले यस क्षेत्रको हक हितमा काम गर्न सक्छ, त्यही टिमलाई नै जिताउने हो ।
त्यसको लागि हामी सक्षम छौं । हामीले हाम्रा सदस्यहरुको विश्वास पनि जितेका छौं । सोही कारण नै हाम्रा सदस्यहरुले हामीलाई अत्यधिक मतले जिताउनुहुन्छ भन्ने विश्वासमा छौं ।
तपाईंहरुको टिम समावेशीसहित युवादेखि लामो समयसम्मको अनुभव समेत भएका व्यक्तिहरुको सशक्त टिम भन्दा हुन्छ ?
हाम्रो टिम बलियो छ । हाम्रो टिममा सबैभन्दा युवा पनि छन् । यो क्षेत्रमा धेरै वर्षदेखि नाडासहित अटोमोबाइल क्षेत्रमा काम गरिरहेको पनि छौं । यो क्षेत्रको बारेमा राम्रो ज्ञान भएका व्यक्तिहरु पनि छौं । यो क्षेत्र र नाडालाई यसरी लैजानुपर्छ भन्ने स्पष्ट योजना पनि भएको हुनाले हाम्रो टिमलाई नै सदस्यले जिताउनुहुन्छ भन्ने विश्वास छ ।
नाडाका मतदातालाई तपाईंको सुझाव...
हाम्रा पूर्वजदेखि सबै सदस्यहरुको योगदानले नै नाडा आज यो स्थितिमा आएको हो । सोही कारण अटोमोबाइल व्यवसायीहरुको हक हितमा लड्न सकिरहेका छौं । भोलिका दिनमा यसलाई अझै बलियो बनाउनुपर्ने छ । त्यसको लागि सक्षम व्यक्ति चाहिन्छ ।
त्यसका लागि हाम्रो टिम सक्षम छ । हाम्रो अध्यक्षका उमेदवारसहित अन्य सबै सदस्यहरु अटोको सबै क्षेत्रमा सक्षम छौं जस्तो लाग्छ । त्यसैले हामीलाई अत्यधिक मत दिएर जिताउनका लागि आग्रह गर्छु ।