site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस प्रदेश २ अधिवेशन अनिश्चित

जनकपुरधाम । प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा छ । मतदाता नामावली प्राप्त नहुँदा प्रदेश अधिवेशन अन्यौलमा परेको हो । निर्वाचन संयोजक रमेश रिजालले निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली समयमा प्राप्त नहुँदा अधिवेशन हुन नसकेको जानकारी दिए । 

उनकाअनुसार प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आएको छैन । उनले सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको बताए । मतदाताहरूको नामावली आउन नसकेकै कारण मनोनयन दर्ता गर्ने कार्य स्थगित गर्नुपरेको प्रदेश २ का रजिस्ट्रेसन संयोजक विशेश्वर यादवले जानकारी दिए ।

रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनौट सम्पन्न भएपनि नामावली प्राप्त हुन नसकेको उनले बताए । सर्लाहीमा ९ वटा वडामा अधिवेशन हुन बाँकी छ । 

Argakhachi Cement Island Ad

महाधिवेशन पछि प्रदेश अधिवेशन !

प्रदेश अधिवेशन जनकपुरस्थित तिरहुतिया गाछीमा उद्घाटन भएको चार दिन बितिसकेको छ । अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपनि अगामी कार्यक्रम तय हुन नसक्दा प्रदेश अधिवेशन अनिश्चित बनेको छ । प्राविधिक कारण देखाएर स्थगित गरिएको अधिवेशन कुन मितिमा हुने कुनै टुङ्गो छैन । यद्यपि नेताहरूले केन्द्रले निर्वाचन तालिका पठाएपछि प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताउने गरेका छन् ।

प्रदेश २ मा जिल्ला अधिवेशन पनि हुन सकेको छैन । पार्टीले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ वटा जिल्लामा महाधिवेशन पछि नै गर्ने सुचना जारी गरिसकेको छ । प्रदेश अधिवेशन पनि महाधिवेशन पछि गर्ने शंका गर्ने देखिएको छ । 

दुई अकांक्षीको दाबी

प्रदेश सभापतिका लागि दुई जना अकांक्षीले दाबी गरिरहेका छन् । पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि निकटका अकांक्षीले दाबी प्रस्तुत गरिरहेका छन् । देउवा समूहबाट रौतहटका कृष्ण यादवले र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।

अन्य दुई अकांक्षीले रौतहटका कृष्ण यादवलाई सर्मथन गरेको बताइएको छ । सप्तरीका सभापति दिनेश यादव र महोत्तरीका सभापति महेन्द्र राय यादवले कृष्णलाई समर्थन गरेका हुन् ।

रौतहटका कृष्ण यादव २०६४ सालको पहिलो संविधानसभा सदस्य र दुईपटक रौतहटका सभापति भइसकेका नेता हुन् । प्रदेशमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफू सभापतिमा उम्मेदवारी दिने उनको भनाइ छ ।

उनलाई प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजाल, केन्द्रीय नेताहरू आनन्द ढुंगाना, महेन्द्र यादव, चित्रलेखा यादव महेन्द्र राय लगायत नेताको साथ छ । ती नेताहरू उनको उम्मेदवारी घोष्णा कार्यक्रममा पनि सहभागी भएका थिए ।

यसअघि नै कांग्रेस प्रदेश २ संसदीय दलका नेता एवम् प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव प्रदेश सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । मन्त्री यादवलाई कांग्रेस उपसभापति निधिको समर्थन छ । आफू प्रदेश सभापति बनेपछि प्रदेशकै बलियो पार्टी बनाउने उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्