site stats
बाह्रखरी :: Baahrakhari
विशेष
ठूलठूला कुरा गर्नेहरू नै नेपाली चलचित्रका क्यान्सर हुन्

अर्जुन कुमारको परिचय गायकमा मात्रै सीमित छैन । उनले चलचित्र निर्माताको छवि बनाइसकेका छन् । पछिल्लो समय उनलाई गायक भन्दा पनि निर्माताका रूपमा धेरैले चिन्छन् । उनको चलचित्र ‘चपली हाइट–३’ आउँदो पुस–२ गते रिलिज हुँदै छ । कोरोनाको त्रासपछि रिलिज हुन लागेको ठूलो ब्यानरको यो पहिलो नेपाली चलचित्र हो । चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका अर्जुन कुमारसँग उनका चलचित्रसँगै विकास बोर्ड, नेपाली चलचित्रकर्मीहरूबीचको वैमनस्यता, चलचित्र प्रदर्शनमा हुने राजनीति र कलेक्सनको झुटो प्रचारलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईंसहित धेरैले चलचित्रको रिलिज डेट लिइसक्नुभएको छ । अवस्था सहज भएको हो ?
अवस्था सहज छैन । युरोप सबै बन्द प्रायः छ । जापान, कोरिया, हङकङ, यूके, इजरायल, अष्ट्रेलियालगायत देश जहाँ नेपाली चलचित्र जान्थे, त्यहाँ अवस्था सहज छैन । कुन बेला कोरोना संक्रमण बढ्ने हो र बन्द हुने ठेगान छैन । चपली हाइट–३ नै संक्रमण बढ्दै गएर पुस २ गते रिलिज नहुने अवस्था पो आउने हो कि । यसको अर्थ सहज छैन भन्ने हो ।

म आफैँ चलचित्र विकास बोर्डमा भएकाले चलचित्र क्षेत्रका लागि केही न केही योगदान गर्नुपर्छ भन्ने लाग्यो । सबै साथीहरूले सकेको सहयोग गर्छौँ भनेपछि म पुस २ गते चलचित्र रिलिज गर्ने निर्णयमा पुगेको हुँ । तर, अवस्था सहज भइसकेको होइन ।

Argakhachi Cement Island Ad

सहयोग पाउँदै हुनुहुन्छ त चलचित्रकर्मीहरूको ? 
मैले आर्थिक सहयोग गर्नुपर्छ र चाहियो भनेको होइन । अहिलेको अवस्थामा नैतिक सहयोग गर्नुपर्छ भनेको हुँ । धेरैले सहयोग गर्छु भन्नुभयो । चलचित्र पनि चपली हाइट–३ हो । दर्शक आउनुहुन्छ भनेर आँट गरेको हुँ । तर, कहाँ पाउनु सहयोग । यहाँ चलचित्र क्षेत्रमा ठूलोठूलो कुरा गर्ने, म चलचित्र क्षेत्रको महान् व्यक्ति हुँ भन्नेहरू नै वास्तवमा नेपाली चलचित्र क्षेत्रको रोग हुन्, क्यान्सर हुन् । मलाई उचालेर चलचित्र रिलिजमा सहयोग गर्छौँ भन्ने अनि उनीहरु सम्झैता उल्लंघन गरेर आफ्नै हिसाबले अगाडि बढ्नु नैतिकता हो ।

हुन त त्यस्ता केही व्यक्तिले फेसबुकमा लेख्दैमा केही हुने होइन, तर व्यक्तिमा इमान त हुन्छ । जनाएको प्रतिबद्धता त पूरा गर्नुपर्छ । निर्माता संघ र चलचित्र संघ बसेर पुस महिनाभर एउटा नेपाली चलचित्र रिलिज भएपछि कम्तीमा १५ दिन अर्को चलचित्र रिलिज नगर्ने सहमति भएको थियो । तर, पुस ९ गते अशोक शर्माले अर्को नेपाली चलचित्र रिलिज गर्ने भन्नुभएको छ । यस्तो अवस्थामा अशोक शर्मालाई मैले के भन्ने ? यही हो सहयोग ? मैले उहाँलाई फोन गरेर के हो यो भनेको उहाँको जवाफ थियो– तीन महिना अगाडिदेखि त्यो चलचित्रले निवेदन हालेको थियो । त्यसो भए लिखित सम्झौता किन गरेको भन्ने मेरो सवाल हो । मेरो फिल्मको गुणगान गाउनुपर्छ भनेर मैले भनेको छैन । कम्तीमा आफैँले बनाएको प्रोटोकल मानौँ भन्ने मात्रै हो ।

एकले अर्कोको खेदो खन्ने, असहयोग गर्ने नेपाली चलचित्र क्षेत्रको रोग किन कहिल्यै हटेन ? 
जबसम्म यस्ता व्यक्ति रहन्छन्, त्यो समयसम्म रहिरहन्छ । यसो हुनु हुँदैन भन्ने हो । मैले त जसको चलचित्र आए पनि नेपाली चलचित्र आउँदा सहयोग गरिरहेको छु । आर्थिक सहयोग कसैले कसैलाई गर्ने होइन, गर्ने नैतिक सहयोग नै हो । म मेरी आमाको किरिया बस्दा पनि मैले मेरो साथीको फिल्म भनेर सामाजिक सञ्जालमा लेखिरहेको थिएँ । सेयर गरिरहेको थिएँ । तर, आज जसले यहाँ आफूलाई दार्शनिकझैँ मानेर फिल्मको ठूलाठूला कुरा गर्छन्, उनीहरू नसुध्रिएसम्म यो क्षेत्र उँभो लाग्दैन । 

नेपाली मेकरलाई आफ्नै कर्मसँग विश्वास नभएको हो ? ‘सूर्यवंशी’ रिलिज नहुँदासम्म कोही आउन तयार भएन ?
त्यो होइन । कम्तीमा मचाहिँ होइन । सूर्यवंशी चल्दैमा त्यसपछि आएका अरू चलचित्र त चलेनन् । योचाहिँ गलत हो । यसलाई प्रश्रय दिनुपर्ने कारण छैन । सूर्यवंशी चल्यो अब नेपाली चलचित्र पनि चल्छ भन्ने होइन । 

तपाईंकै चलचित्र दसैँ अगाडि नै तयार थियो, किन दसैँमा प्रदर्शन नगर्नु भएको त ?
मेरो चलचित्र तयार थिएन । मैले चलचित्र संघसँग मिनिमम ग्यारेन्टी (एमजी)को व्यवस्था गरिदेऊ भनेको थिएँ । उनीहरूले एमजी दिन्छु भनेको पनि हो । तर, उनीहरूले जति बेला निर्णय गरे त्यो बेला दुई हप्ता ढिलो भइसकेको थियो । यदि, उनीहरूले दुई हप्ता अगाडि निर्णय गरेका भए म दसैँमा मेरो चलचित्र लगाउने थिएँ । १५ दिन मलाई समय दिएको भए फिल्मको बाँकी काम गर्ने थिएँ । प्रचारप्रसार गर्ने थिएँ । 

हामी सधैँ भारतीय चलचित्र नेपालमा प्रदर्शन हुँदा गाली गर्छौँ । तर, संकटमा नेपाली चलचित्र क्षेत्र चलाउन बलिउड चलचित्रलाई नै रेडकार्पेट ओछ्याएर स्वागत गर्नुपर्‍यो । सहज हुँदा गाली असहज हुँदा स्वागत गरिनु त दोहोरो चरित्र भएन र ?
दोहोरो चरित्र भएका मान्छेहरूकै कारण त नेपाली चलचित्र क्षेत्रको यो अवस्था आएको हो । नेपाली चलचित्र क्षेत्र शून्य अवस्थामा छ । सयवटा चलचित्र रिलिज हुँदा एक–दुईवटा चलचित्र चलेर हुँदैन । सकेसम्म धेरै चलचित्र चल्नुपर्छ । लगानी उठाउनुपर्छ । दुई–चारजना माफियाका कारण यो भइरहेको छ । अरूलाई ठग्ने, निर्मातालाई मुर्गा सम्झिने केही कलाकार, केही निर्देशक र निर्माताहरूकै कारण त हो नेपाली चलचित्र क्षेत्रको यो हालत भएको । नेपाली चलचित्र क्षेत्रलाई बरबाद गर्ने नै यिनीहरू नै हुन् ।

सबैभन्दा पहिला मान्छेको नियत सफा हुनुपर्छ । जबसम्म नियत सफा हुँदैन तबसम्म कसरी यो क्षेत्रको विकास हुन्छ ? म सिनेमा बनाएर मात्रै खाने मान्छे होइन । त्यसैले मलाई बोल्न डर लाग्दैन । जे हो सत्य बोल्छु । 

नेपाली चलचित्र क्षेत्रलाई सरकारले केही गरेन भनेर गुनासो गर्ने तपाईंहरू नै हो । अहिले त तपाईं स्वयं चलचित्र विकास बोर्डमा हुनुहुन्छ, के गर्नुभयो ?
धेरै काम भइरहेको छ । अहिले चलचित्र रिलिज गर्नेलाई सहयोग गरिरहेकै छौँ । मेकरहरूले पैसा लगिरहेका छन् । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नोमिनेसनमा परेका चलचित्रलाई आर्थिक सहयोग गरेका छौँ । बोर्डबाट पैसा लगेका चलचित्रलाई बोर्डको लोगो राख्नुस् भन्दा उनीहरूले मान्दैनन् । यदि, त्यसो गरेको भए सहयोग देखिने थियो होला । 

विकास बोर्डले नेपाली चलचित्रको विकासका लागि केही गरेन भन्ने आलोचना अधिकांश चलचित्रकर्मीले गर्नुहुन्छ । साँच्चै नचाहेरै काम नभएको रहेछ ? 
मन चाहिन्छ । मन भयो भने धेरै काम गर्न सकिन्छ । अहिले भने गर्न सकिन्न, किनभने अहिले बजेट छैन । तर, सक्नेजति काम भइरहेको छ । हिन्दी चलचित्र चल्न थालेपछि त्यसको केही प्रतिशत शुल्कबाट बोर्ड चल्छ । अब बजेट भएपछि सायद धेरै काम गर्न सकिएला ।

कसैले राम्रो प्रपोजल ल्यायो भने पास गर्न सकेसम्म प्रयास गर्नेछौँ ।

‘चपली हाइट–१’ जति ‘चपली हाइट–२’ भएन । चपली हाइट–२ जत्तिको ‘चपली हाइट–३’ नहुने हो कि ? 
त्यस्तो त पक्कै पनि नहोला । चपली हाइट–२ मेकिङका दृष्टिले–१ भन्दा राम्रो थियो । दर्शकले किन कम मन पराए थाहा छैन । दर्शक नै सर्वेसर्वा हुन् । उनीहरूले जे मन पराए त्यही नै हिट हुन्छ । कुरा रह्यो ३ को, १ र २ भन्दा यो चलचित्र राम्रो बनेको छ । तर, अहिले मैले मेरो चलचित्र यस्तो बनेको छ उस्तो छ भनेर भनौँला भोलि हेर्दा नराम्रो होला । त्यसैले यसको जजमेन्ट गर्ने जिम्मा दर्शकलाई नै दिनुपर्छ ।
 
मैले बनाएको ‘फाटेको जुत्ता’लाई म फिल्मको क्याटागोरीमा नै राख्दिनँ । फाटेको जुत्ता पनि फिल्म हो र भन्ने लाग्छ । 

रिलिज हुनु अगाडि त ‘फाटेको जुत्ता’ भयंकर राम्रो छ भन्दै हिँड्नुभएको थियो त ? 
किनकि, मैले हेरेको थिइनँ नि । 

ए आफ्नै चलचित्र हेर्नुभएको थिएन ? 
अँ, हेरेको थिइनँ नि । म स्क्रिप्ट पनि पढ्दिनँ । हाम्रो निर्देशक धेरै व्यस्त हुने भएकाले चपली हाइट–३ कोचाहिँ हेरेको छु । फाटेको जुत्ता त मैले पहिलोपटक हलमै हेरेको हुँ । रमाइलो छ, पैसा असुल्छ । तर, म नै यसलाई फिल्मको क्याटागोरीमा राख्दिनँ ।
 
स्क्रिप्ट नहेर्ने, हल रिलिज अगाडि चलचित्र नहेर्ने भनेको त फिल्मप्रति तपाईंको लगाव नै रहेनछ त ?
उनीहरूले मलाई स्टोरी सुनाउँछन् । छायांकन भइसकेपछि इडिटिङमा हस्तक्षेप गर्नु मेरो काम पनि होइन र गर्दिनँ । निर्माताका हिसाबले स्टोरी सुन्छु, राम्रो लाग्यो भने गो अ हेड भन्छु । बाँकी मबाट कुनै हस्तक्षेप हुँदैन ।
 
यसको अर्थ फिल्मप्रति लगाव छैन भन्ने होइन, फिल्मको किराले टोकेको मान्छे हुँ म । राम्रो सिनेमा बनाउने मेरो चाहना हो । मैले सोचेजस्तो फिल्म मैले बनाउन सकेको छैन । तर, मैले सोचेजस्तो फिल्म बनाउँदै छु, मैले सोचेको जस्तो फिल्म ‘गोरे सार्की’ हो ।

कुनै ब्रान्ड नेमको सहारा लिएर चलचित्र बनाउनु तर कथा अर्कै भन्नु भनेको आफ्नै कामप्रति विश्वास नहुनु त होला नि ? 
ट्रेन्ड नै यस्तै चल्यो । यसलाई मैले पनि फलो गरेँ । मैले चपली हाइटलाई हिट बनाउन धेरै दुःख गरेको छु । दुःख गरेको नामलाई अगाडि सारेर त्यसको केही प्रतिफल लिन खोजेको मात्रै हो । काम त हरेक चलचित्रको शून्यबाट नै सुरु हुने हो ।

मलै अगाडि पनि भनेँ, मैले बनाउन खोजेको चलचित्र ‘गोरे सार्की’ हो । यो माघको अन्तिममा छायांकनमा जान्छौँ । अर्को वर्ष रिलिज हुनेछ । मैले बनाउन खोजेको चलचित्र त्यो हो । अहिले त म अल्झिरहेको हो । 

अल्झिरहेको चलचित्रबाट पनि अपेक्षा छ है ? 
मैले बनाएका चलचित्रबाट कम्तीमा दर्शक अहिलेसम्म ठगिनुभएको छैन । दर्शकले आफ्नो पैसा असुल गर्नुभएको छ ।
 
‘फाटेको जुत्ता’बाट पनि दर्शकले टिकटको पैसा असुल गरे भन्ने लाग्छ ?
‘फाटेको जुत्ता’बाट दर्शकले पैसा असुल गर्नुभएको छ । किनभने, मैले दर्शकसँगै बसेर सिनेमा हलमा चलचित्र हेरेको छु । दर्शकको हाँसोले मैले हलमा फिल्मको डाइलग नै सुनिनँ । दर्शक हाँसेको, खुसी भएको भनेको मन पराएको त हो । तर, आफैँले सोच्दा फिल्ममा के छ र जस्तोचाहिँ मलाई लागेको हो । 

तपाईंको यो जवाफ ‘फाटेको जुत्ता’ हेर्ने दर्शकले पत्याउँछन् ? 
मैले इमानदारपूर्वक भनेको हुँ । मैले बनाउन चाहेको सिनेमा अहिले जे बनिरहेको छ त्यो होइन भन्न खोजेको हुँ । मैले बनाउन खोजेको सिनेमा त तपाईंले अर्को वर्ष देख्नुहुनेछ ।
 
पटकपटक दोहोर्‍याउनुभयो, के छ ‘गोरे सार्की’मा ?
के छ के छैन अहिले नभनौँ ।

स्टोरीलाइन त पक्कै भन्न मिल्छ !
गाउँको एकजना दलित ‘सार्की’को कथा हो । उसले आफूले माया गरेकी श्रीमतीलाई नै मार्छ । आफूले माया गरेकी श्रीमतीलाई किन मार्नुपर्‍यो, मार्ने अवस्था कसरी आयो भन्न डार्क थ्रिलर ह्युमर फिल्म हो यो । थ्रिलर फिल्म कसरी बनाउनुपर्छ भन्ने यो सिनेमाबाट म सिकाइदिन्छु । 

नेपाली मेकरका थ्रिलर, हरर चलचित्र हेर्दा दर्शक हाँस्छन् भन्ने टिप्पणी त बिर्सिनुभएको छैन होला !
तर, चपली हाइट हेर्दा दर्शक हाँसेका छैनन् । नेपाली चलचित्रमा चपली हाइट मात्रै पियोर थ्रिलर चलचित्र हो ।

चपली हाइट–१ लाई धेरैले नेपाली चलचित्रको ‘माइल स्टोन’ सिनेमा भन्छन् । त्यसपछि त्यतिको सिनेमा आजसम्म तपाईं आफैँले बनाउन सक्नु भएन नि ?
दर्शकलाई कुन बेला कुन चलचित्र मनपर्छ भन्ने थाहै हुँदैन । हिट सिनेमाको फर्मुला कसैसँग छैन । चपली हाइट त्यति हिट हुन्छ भन्ने हामीले पनि सोचेकै थिएनौँ । तर, अहिले दर्शक स्मार्ट भइसके । हामीभन्दा राम्रोराम्रो सिरिज र फिल्म हेर्छन् । त्यसैले हामीले पनि यसबीचमा यो चलचित्रमा केही काँटछाँट गरेका छौँ । अहिले हामी दर्शकलाई झुक्याउन सक्दैनौँ । पहिलो दिनको पहिलो शो भुक्याउन सकिएला, ११ बजेको शोमा झुक्किएर पनि दर्शक जाँदैन ।

एउटै व्यक्ति कथा लेख्ने, निर्माता, निर्देशक, कलाकार सबै काम गर्दा पनि राम्रो काम हुन नसकेको हो ?
तपाईंले दीपेन्द्र के खनाललाई हेर्नुभयो भने अभिनयबाहेक लेख्ने, निर्देशन गर्ने मात्रै होइन, खिच्ने काम पनि गरेको पाउनुहुन्छ । कारण, यहाँ सहमति गरेअनुसार काम कोही गर्दैनन् । त्यसैले आफूले जानेको काम आफैँले गरेको देखिन्छ । समयमै काम नगर्ने, भनेको काम नगर्दिने प्रवृत्ति रहेकाले दीपेन्द्रले आफैँले धेरै काम गरेको भन्ने मलाई लाग्छ । अरू पनि धेरैले धेरै काम गरिरहेका छन् । 

दुई/तीनवटा सिनेमामा लगानी गरेपछि तेस्रो/चौथो सिनेमा आफैँ निर्देशन गर्ने ट्रेन्डले नेपाली चलचित्रको स्तर कहाँ पुग्ला ? फाइनान्सर र निर्देशक त फरक क्षमता भएका व्यक्ति होइनन् र ?
अरूको कुरा मैले गर्ने कुरा भएन । मैले आधा दर्जनभन्दा धेरै चलचित्र बनाइसकेको छु । म आफैँ पनि कलाकार हुँ । धेरै कुरा मैले सिकिसकेको छु । त्यसैले मैले सिकेको काम गर्न पाउनु मेरो हक हो । यद्यपि, म अहिले पनि सिकिरहेको छु । मैले बनाएको मास्टर पिस सिनेमा हुन्छ भन्ने छैन । तर, म कोसिस गर्छु । करिब सात वर्ष भयो ‘गोरे सार्की’को स्क्रिप्ट लेखेको । धेरै समय कुरेको छु मैले यो स्क्रिप्टका लागि । १० लाख रुपैयाँ स्क्रिप्टमा खर्चिएको छु । त्यसैले मैले यो चलचित्रबाट धेरै अपेक्षा गरेको छु । 

नेपाली चलचित्र क्षेत्रमा केही मेकरहरूबीच टाइअप भएर काम गर्दा केही राम्रा चलचित्र बनेका छन् । तर, जब सहकार्य छिन्नभिन्न भयो, त्यसको असर चलचित्रको गुणस्तरमा देखियो । एकै ठाउँ बसेर किन काम गर्न सक्दैनन् मेकरहरू ? 
छिन्नभिन्न भएको भन्दिनँ म यसलाई । म आफैँ गर्छु भनेर सबैले आ–आफ्नै हिसाबले काम गरेको हो । १० जनाले पपकन पिक्चर चलाएर बस्दा धेरै राम्रो त भएकै हो, यो सत्य हो । सायद एकै ठाउँ बस्दा पावर सेयरिङमा कुरा मिलेन होला । तर, यसको अर्थ झै–झगडा नै भएको भन्ने होइन । आ–आफ्नो काम गर्न भनर छुट्टिएको हो ।

रिलिजको एक हप्तामा करोड कलेक्सन गर्‍यौँ भने पनि वास्तविकतामा चलचित्र घाटामा हुन्छ, किन झुटको खेती गरिरहनुभएको छ तपाईंहरू ?
मेरा सबै चलचित्रले लगानी उठाएका छन् । म यसको हिसाब कसैले खोज्छ भने दिन तयार छु । लगानी गरेपछि फाइदा हुनैपर्छ भन्ने मरो न्यूनतम मान्यता हो ।

तर, यसो भन्दैमा तपाईंले भनेको कुरा होइन भन्ने होइन । लाख रुपैयाँ नउठाउने चलचित्रले करोड क्लबमा प्रवेश गरेको भन्दै केक काटेको सबैले देखिरहेको छ । एक पैसा नकमाउने तर पनि गाडी उपहार दिएको भनेर हल्ला गर्ने चलन पनि छ । यो क्षेत्रको रोग नै यही हो । झुटको खेती हो यो । 

केका लागि हो यो झुटको खेती ?
अर्को चलचित्रका लागि लगानी गरेको हो यो । विदेश गयो, मेरो चलचित्रले यति नाफा कमायो भन्यो, निर्माता खोज्यो । फेरि निर्मातालाई डुबायो । कतिको खेती नै यही छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्