site stats
बाह्रखरी :: Baahrakhari
विशेष
सरकारी बेथितिको मारमा लुमन्तीको परिवार 

काठमाडाैं । लुमन्तीले नर्सिङ पढ्न छात्रावृत्तिमा नाम निकालिसकेकी छिन् । भर्नाको समय तीन दिन मात्रै बाँकी छ । तर, भर्ना हुन पाइरहेकी छैनन् । उल्टै लुमन्ती र उनका बुबा सरकारी कार्यलयहरु धाइरहेका छन् । कारण हो, उनको विद्यालयको प्रमाणपत्र र नागरिकताको नाम मेल नखाउनु । स्कुलको सर्टिफिकेटमा उनको नाम ‘लुमन्ती’ छ भने नागरिकतामा लुमन्थी’ ।

यसका लागि लुमन्ती र उनका बुबा जिल्ला प्रशासन कार्यालय पुग्छन् । कार्यालय पुगेर कर्मचारीसँग लुमन्ती बेलिविस्तार लगाउँछिन्, “सर स्कुलको प्रमाणपत्रमा लुमन्ती नाम छ, नागरिकतामा लुमन्थी नाम छ । नाम सच्याइदिनुन् ।”

कार्यालय समयमा नै अघिसम्म मस्तले निदाइरहेका ‘जिम्मेवार’ अधिकारी भन्छन्, “हो, रहेछ । अनि तपाईंहरुलाई यहाँ वडा कार्यालयले पठाएको हो ? अनि वडा कार्यालयले मान्छे बटुल्नुस् भनेर भनेन् हो, त्यसो हो भने तपाईंहरु आफ्नो वडामा जानुहोस् ।”

Argakhachi Cement Island Ad

जसले नाम बिगार्यो उसैले नाम सच्याइदिनुको साटो फेरि वडा कार्यालय जान भन्छन् । लुमन्ती र उसको बुबा वडा कार्यालय जान्छन् । तर, त्यहाँबाट स्कुलको प्रमाणपत्रमा भएको नाम नै लुमन्तीको ठिक नाम हो भनेर पुष्टि गर्न ६ जना छिमेकीको नागरिकताको प्रतिलिपि अनि हस्ताक्षर लिएर आउन निर्देशन गर्छ ।
 
यता, छात्रवृत्तिको म्याद तीन दिनमात्रै बाँकी भएपछि उनीहरु आत्तिन्छन् । वडा कार्यालयमा नै एक विचौलीया फेला पर्छन् र थोरै पैसा लिएर नागरिकताको प्रतिलिपि र हस्ताक्षर ठाँउको ठाँउ बनाइदिन्छन् । 

साक्षीहरुको नागरिकताको फोटोकपी लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय जान्छन् । तर, सीडीओ बिदामा भएकाले केही दिनपछि मात्रै काम हुने भन्दै उनीहरुलाई फिर्ता पठाइन्छ । लुमन्तीले हारगुहार गर्दै छात्रावृत्तिको म्याद दुई दिनमात्रै बाँकी भएको बताउँछिन् । तर, उनको कुरा सरकारी कर्मचारीले सुन्दैनन् । 

लुमन्ती र उसको बुबा लाचार हुँदै आँखाभरि आँशु बनाएर कार्यालयबाट बाहिरिन्छन् । यो लुमन्तीको मात्रै होइन जनतालाई सेवा दिन भनेर बसेका सरकारी कार्यालय अनि कर्मचारीहरुको गैरजिम्मेवारीको मारमा पिल्सिरहेका आम नेपालीको प्रनिनिधि घटना हो । 

०००    

सडक विस्तारले भएको एक टुक्रा खेत पनि गएपछि लुमन्तीकी हजुरआमा चिन्तित छिन् । सरकारले मुआब्जा नदिने पनि होइन । तर, किसानको श्रम, बीउ अनि खेतीको मूल्य पनि नआउनेगरी सरकारले प्रतिआना ३५ हजार रुपैयाँ मुआब्जा दिने घोषणा गर्छ । 

बरु यसको साटो कोही तरकारी खेती गर्नेलाई लिजमा दिएको भए उनीहरुले ताजा तरकारी पनि खान पाउथे र महिनैपिच्छे घरखर्च पनि आइराख्थ्यो । तर विकासको नाममा आफ्नो कमाइको जमिन जबरजस्ती सरकारले कब्जा गर्दा पनि लुमन्तीकी हजुरआमा अनि बुबा लाचार छन् ।
 
यतिमात्रै होइन्, यही विकासको नाममा भएको नदिनाला, कुवा अनि ढुंगेधाराहरु सुकिसकेका छन् । यसले गर्दा चराचुरुंगीहरुले पिउने पानीको मुहानहरु सुकिसकेको छ । यस्तै चिन्ताले घेरिएकी लुमन्तीकी वृद्ध हजुरआमा (अजी) को अन्ततः निधन हुन्छ ।


 
लुमन्तीको अजीको मृत शरीर छेउमै आएर उनले सधैं चारोपानी दिएर हुर्काइरहेको कागले पनि सास छोड्छ ।
 
०००
 
यी दुई दृश्य त प्रतिनिधि घटना मात्रै हुन् । यस्ता थुप्रै दृश्यहरु नाटकमा एकपछि अर्को गर्दै अघि बढ्छन् । सरकारी कार्यालयको काममा ढिलासुस्ती, विकासको नाममा मासिदै गएको सांस्कृतिक सम्पदा, धरोहर अनि पुराना रैथाने बस्तीहरुको कथाव्यथा नाटकमा छन् । विकासकै नाममा मारमा मान्छे मात्रै होइन चराचुरुङ्गी र जनावरहरु पनि परेका छन् । यस्ता थुप्रै अवस्थालाई शिल्पीको समूहले जिवन्त रुपमा नाट्य रुपान्तरण गरेको छ ।
 
‘शिल्पीको टिमले ‘तः रिम्ह न्याँः चिरिम्ह न्याँ’ अर्थात (ठूला माछा–साना माछा) शीर्षकमा सोमबार बसन्तपुर दरबार परिसरमा नाटक प्रस्तुत गरेको छ । 
 
एकाध सरकारी कर्मचारीबाट आफ्नो व्यक्तिगत स्वार्थका लागि नभएर जनताका लागि आवाज उठाएको दृश्यमा दरबार परिसरमा उपस्थिती दर्शकदीर्घाबाट तालीको आवाज गुन्जिरहेको थियो । लाग्दैथ्यो, उनीहरु नाटक हेरिरहेका होइनन्, आफैंलाई त्यहाँ देखिरहेका छन् । 

नेवाः अभियान उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिको स्थानीय संयोजनमा नाटक प्रस्तुत् गरिएको थियो । जहाँ समितिका एक युवा प्रतिनिधि रविन्द्र श्रेष्ठले उत्पादनशील भूमिलाई अनुत्पादक बनाउनु विकास नभएर सांस्कृतिक दमन भएको बताए ।


 
बालाजु बाइपासमा बाटो विस्तारको परियोजनाको मारमा परेका स्थानीय होस् वा सातदोबाट–गोदावरी सडक विस्तारको परियोजनाको चपेटामा परेका स्थानीय शिल्पीको उक्त प्रस्तुती विकासको नाममा विस्थापित भएकाहरुको आवाज भएको शिल्पीका निर्देशक घिमिरे युवराजले बताए । “यो विकासको नाममा विस्थापित भएका स्थानीयको पीडाको आवाज हो । यस्ता वेथितीहरुमाथि खबरदारी गर्ने शिल्पीको अभियानमा तपाईंहरु सबैलाई हातेमालो गरिदिन आग्रह गर्दछु,” उनले भने ।
 
यो शिल्पीको नयाँ प्रयोग ‘मुक्त रंगकमञ्च’ अन्तर्गतको प्रस्तुति हो । जहाँ शिल्पीको टोली कात्तिक ४ गतेदेखि यो नाटक लिएर खुला ठाँउमा प्रस्तुति दिने यात्रामा छ ।
 
नेपाली अनि नेपाल भाषामा मञ्चन भएको नाटकमा नेवारी समुदायको बलियो प्रतिनिधि ‘लाखे’ ले गरेको थियो । नेवारी पर्वहरुमा लाखे उल्लास अनि हर्षको प्रतीकको रुपमा ल्याइन्छ । प्रायः जात्राहरुमा बाजागाजासहित लाखे उल्लासका साथ नाच्दै सहर परिक्रमा गर्ने लाखे पनि पुरानो सम्पदाहरु मासिदै गएकोमा दुखी छ र उल्लासका साथ नाच्न सकेको छैन । 

कात्तिक ४ गतेदेखि १७ गतेसम्म मोफसल यात्रा सकाएर टिम यतिबेला काठमाडौं उपत्यकाको यात्रामा छ । मोरङ, सुनसरी र झापाको ७–७ वटा जिल्लामा गरेर यही शिर्षकमा जम्मा २१ वटा शो सम्पन्न भैसकेको छ । 

नेपाली, मैथली, नेवारीलगायत ३, ४ वटा भाषामा तयार पारिएको नाटक हेरेर दर्शकले कविता पनि लेख्न सक्छन् । उत्कृष्ट ४ कविताका सर्जकले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्