
प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवरा सर्वोच्च अदालत पुग्नु अघिदेखि नै उनको आचरणका विषयमा प्रश्न थिए । विशेष अदालतमा गरेको भ्रष्टाचारसम्बन्धी फैसलालाई लिएर सर्वोच्चबाट न्यायिक टिप्पणी भएको थियो भने तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले राजीनामा दिन आग्रह गर्दै नदिए ‘जागिर खाइदिने’ चेतावनी दिएका थिए ।
तर, उनै चोलेन्द्रसमशेर सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएपछि उनको स्वभावसँग मिल्ने फैसला पनि सुरु गरे ।
२०७७ असार १५मा प्रधानन्यायाधीश र न्यायाधीश तेजबहादुर केसीको इजलासले डीआईजी बहाल रहँदा श्रीमती गीता ढकालका हत्या गरेर जन्मकैदको फैसला भूक्तान गरिरहेका रञ्जन कोइरालाको कैद ८ वर्ष ६ महिनामा झारिदिँदासमेत बार नबोलेपछि न्यायालय शुद्धीकरण अभियान भन्ने लुुज फोरमले अदालतका विकृतिका विषयमा प्रश्न उठाउँदै सुधारको अभियान चलाएको थियो । त्यो अभियानको एउटा सदस्य भएर न्यायलय शुद्धीकरण अभियान चलाउन खाका तयार पर्ने मस्यौदाकार थिए नेपाल बार एशोसिएशनका पूर्वमहासचिव सुनिलकुमार पोखरेल ।
उनै पोखरेलसँग प्रधानन्यायाधीश विरुद्ध बारको जारी आन्दोलन र आन्दोलनले लक्ष्य हासिल गर्न सक्ला कि नसक्ला भनेर बाह्रखरीका रमेश वाग्लेले कुराकानी गरेका छन् । प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश
न्यायालय शुद्धीकरण अभियान भनेर तपाईंहरुले दुइवर्ष अघि एउटा अभियान बनाउनुभएको थियो । त्यो कुन पृष्ठभूमिमा बनेको थियो ?
लामो समयदेखि न्यायपालिकामा विकृति विसंगति रह्यो । न्यायाधीश नियुक्ति देखि लिएर न्यायप्रशासन र न्याय सम्पादनका क्रममा पनि त्यो देखियो ।
त्यसबेला नेपाल बार एशोसिएशनले प्रभावकारी भूमिका देखाउन सकेन । बारका पूर्वपदाधिकारीहरुले गलत बाटोमा न्यायालय जाँदैछ भनेर पटक पटक भन्दाखेरि पनि बारले खास चासो नदेखाएपछि बारका पूर्वपदाधिकारी र वरिष्ठ अधिवक्ताहरु सम्मिलित लुज फोरम बनाएका थियौँ र न्यायलय शुद्धीकरण अभियान चलाएका थियौँ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन नगरेपछि अहिलेको अवस्था आयो होइन ?
हो । त्यसवेला अटोमेसनमा जाने विषयका लागि दिपककुमार कार्कीको संयोजकत्वमा र अदालतभित्रका भ्रष्टाचार, विकृति विसंगति नियन्त्रणका उपाय सुझाउनका लागि माननीय हरिकृष्ण कार्कीको संयोजकत्वमा समिति बनेको थियो । पछि दीपककुमार कार्कीले आफ्ना विविध कारणले त्यो समितिमा निरन्तरता दिन सक्नुभएन, छोडिदिनुभयो । पछि त्यो समितिलाई मीरा खड्काले चियर गर्नुभयो । उहाँको पनि प्रतिवेदन आइसकेको छ । हरिकृष्ण कार्कीको प्रतिवेदन त गत साउनमै आइसकेको छ ।
के गोलाप्रथा वा अटामेसनमा गयो भने भ्रष्टाचार निर्मूल होला ?
मलाई लाग्छ, तपाईं हामी जस्तो समाजमा छौँ । यो समाजबाट भ्रष्टाचार अनियमितता निर्मूल हुँदैन । एउटा लेभलको नियन्त्रणमा हुन्छ । अहिलेको प्रयास भनेको पहिला नियन्त्रणमा ल्याउँ भन्ने हो ।
त्यहाँ चरम वेथिति भयो । त्यसले गर्दा त्या वेथितिलाई कन्ट्रोल गरौँ भन्नका लागि अहिलेको यो गोलाप्रथा र अटोमेसनको कुरा आएको हो । मान्छे त तिनै हुन् । अहिले प्रधानन्यायाधीशले तोक्ने र तोकिने मान्छे र गोला वा अटोमेसनबाट जाँदा तोकिने मान्छे तिनै हुन् । मान्छे त अरु छैनन् । गडबड त्यहाँ हुन्छ भने त फेरि पनि गडबड हुन्छ । तर, के छ भने त्यो एउटा साइजमा चाहिँ आउँछ ।
जस्तो फलानोको इजलासमा राखिदिउँला भनेर डिल गर्ने कुरा बन्द हुने भयो ?
हो त्यस्तो चाहिँ पूर्णतः रोकिन्छ । अहिले भइरहेकै न्यायाधीशमा प्रधानन्यायाधीशमा त्यही खालको विकृति छ । उहाँहरुको न्यायिक निष्ठा न्यायाधीशमा त्यही खालको विकृति छ भने उहाँहरुको नियुक्तिमा पनि पुनरावलोकनमा गएर अब हुने नियुक्तिहरु न्याय र कानुनप्रति निष्ठावान र यो विकृति र विसंगति भ्रष्टाचामा कुनै हालतमा नमुछिने मान्छे नियुक्ति गर्ने प्रक्रियामा जानुपर्छ ।
मान्छेहरुले यो लागु गरेर गोलाप्रथा वा अटोमेसनमा जाँदा न्यायाधीशको विज्ञता एकातिर फैसला अर्कोतिर हुने कुराले मुद्दाको फैसलामै प्रभावित हुने अवस्था आउन सक्छ भन्छन् । के त्यस्तो जटिलता निम्तन्छ यसबाट ?
हाम्रो संविधान र यो प्रणालीले प्रधानन्यायाधीशहरुलाई न्याय प्रशासन सञ्चालन गर्न सक्छ भनेर पत्यायो र प्रधानन्यायाधीश बन्नलाई क्यारियर जजबाट वा वकिलबाट आओस् । न्याय सेवाबाट आएर पनि कमसेकम सर्वोच्चको न्यायाधीश भएको तीन वर्ष भएको हुनुपर्छ । तर अहिलेको अवस्था त्यो पत्याउने अवस्था रहेन । जताबाट हेर्दा पनि पत्याउन नसक्ने अवस्था नभएकाले यो प्रणाली लागू गर्नुपरेको हो ।
त्यसो भए यो गोलाप्रथा, अटोमेशन अस्थायी व्यवस्थापन मात्र हो ?
अहिलेको हिसाबमा हेर्दा आजको मितिको प्रधान न्यायाधीशलाई अविश्वास गरेर यो (गोलाप्रथा/अटोमेसन) ल्याइएको छ ।
सायद मलाई लाग्छ यो कुरा राखिराख्यौ भने अन्य प्रधानन्यायाधीशलाई पनि विश्वास नगरेको ठहरिन्छ ।
त्यसले गर्दा यो व्यवस्था पनि धेरै दिन टिक्छजस्तो मलाइ लाग्दैन । तर, यस्तो बहस भयो भने बारप्रति ठूलो आक्षेप आइपर्छ ।
उसले थिति बसाउने भन्दा पनि व्यक्ति केन्द्रित कार्य गर्यो भन्ने आक्षेप आउँछ । त्यसकारण बारले आफ्नो छवि बचाउन पनि यो गोलाप्रथा र अटोमेसनलाई निरन्तरता दिनुपर्ने हुन्छ ।
अहिलेको आन्दोलन चाहिँ प्रधानन्यायाधीशको राजीनामामा केन्द्रित छ । तर, यो आन्दोलनले पहिलो लक्ष्य नै हासिल गर्ला र भन्ने प्रश्न छँदैछ । यो आन्दोलनले प्रधानन्यायाधधीशलाई बिदा गर्न त सक्ला ?
व्यक्तिगत रुपर्मा भन्नुहुन्छ भने वर्तमान प्रधानन्यायाधीशको एउटा इन्ट्रेष्टिङ चिज छ र त्यो आन्दोलनसँग जोडिएको छ ।
हरेक आन्दोलनका तीनवटा चिज हुन्छ । एउटा फ्याक्ट (तथ्य) हुन्छ, एउटा आन्दोलनको अपेक्षा हुन्छ, अर्को फिलिङ हुन्छ ।
अहिले आन्दोलनको अपेक्षा प्रधानन्यायाधीशको राजीनामा हो । त्यसको लागि उसले आफ्नो फिलिङको रुपमा प्रहरीसँग झडप गर्ने देखि लिएर दैनिक रुपमा आन्दोलनका कार्यक्रम देशभर चलाइरहेको छ । यो आन्दोलनको फिलिङ हो । अब यो अपेक्षा र फिलिङलाई फ्याक्टसँग जोडेर हेरियो भने अलिकति असहज देखिन्छ ।
मैले अहिलेका प्रधानन्यायाधीशसँग जोडिएका विषय यहाँलाई बताउँछु । जतिवेला उहाँले विशेष अदालतमा गरेको फैसलालाई सर्वोच्च अदालतले जुडिसिएल स्टक्चर (न्यायायिक टिप्पणी) लेख्यो ।
उहाँसहितका तीनजनाका इजलास थियो विशेष अदालतमा । एकजना रिटायर्ड भइसक्नुभएको थियो भूपध्वज अधिकारी ।
अहिलेका प्रधानन्यायाधीश र कोमलनाथ शर्मालाई त्यतिबेलाका प्रधानन्यायाधीश खिलराज रेग्मीले सर्वोच्चमै बोलाएर तपाईंहरु राजीनामा दिनुस् । दिनुभएन भने म तपाईंहरुको जागिर खान्छु भनेर भन्नुभयो ।
कोमलनाथ शर्माले तत्काल राजीनामा दिनुभयो । अहिलेको प्रधानन्यायाधीशले राजीनामा दिनुभएन । त्यो कार्वाहीको प्रक्रिया तत्काल भएन, केही लामो समय गएपछि प्रधानन्यायाधीश खिलराज रेग्मी आफैँ मन्त्रिपरिषदको अध्यक्ष भएर जानुभयो । दामोदर शर्मा कायम मुकायम प्रधानन्यायाधीश हुनुभयो । चोलेन्द्रसमशेर राजीनामा दिने बर्खास्तमा पर्ने त कहाँ हो कहाँ सर्वोच्चमै आइपुग्नुभयो । यो उहाँको फ्याक्ट हो ।
जसले उहाँको जागिर खाइदिनसक्थ्यो (उच्च अदालतको न्यायाधीशको जागिर प्रधानन्यायाधीशले त खाइदिन सक्छ नि न्यायपरिषद्मार्फत) उसले राजीनामा माग्दा नदिने व्यक्तिले आज राजनीतिक दलहरु (जसले महाअभियोग लगाउन सक्छ) उसले नदे भनेका बेला राजीनामा आउँछ भन्नेमा म एकदम कम विश्वास गर्छु ।
हिजो जागिर खानसक्नेले माग्दा नदिनेले आज जागिर खान सक्नेले नदे भन्दा राजीनामा दिनुहुन्छ कि दिनुहुन्न होला ? उहाँको बारेको फ्याक्ट, अहिलेको ग्राउण्ड रियालिटी हेर्नुभयोे र अहिलेको आन्दोलनको अपेक्षा र फिलिङ हेर्नुभयो भने त्यो मिल्दैन । त्यही कारण २०–२५ दिन देखि यो आन्दोलन चलिरहेको छ ।
मलाई व्यक्तिगत रुपमा लागेको कुरा चाहिँ आन्दोलनको एउटा दबाब छ । त्यो भन्दा १० गुणा ठुला दबाब १९ भाइले सर्वोच्च भित्रै सुरु गरेको असहयोग आन्दोलन छ । उनीहरुले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गर्दैनौ भनेका छन् । उहाँविनाकै फूलकोर्ट बस्यो र अन्यमा उहाँलाई सहि गराइयो । उहाँ रहिरहँदा यो अदालत सूचारु रुपले चल्दैन भन्नुभएको छ ।
अहिले चलिरहेको आन्दोलनलाई एकछिनका लागि छोडदिनुस् । त्यो १९ जनाले उहाँलाई कोअपरेट गर्छ कि गर्दैन भन्दा गर्दैन । त्यो प्रेसर चाहिँ उहाँको जागिर खाइदिन सक्ने प्रेसर भन्दा दशौँ गुणा ठुलो छ । त्यो प्रेसरबाट चाहिँ कुनैपनि बेला उहाँले मार्ग प्रशस्त गर्नुहुन्छ जस्तो मलाई लाग्छ ।