
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन गर्दैछ । २०७७ फागुन २८ गते राप्रपा र राप्रपा(संयुक्त) बीच एकता भएपछि राप्रपा बनेको हो ।
त्यसयता यो पार्टीको नेतृत्वमा अध्यक्षत्रय छन् । अर्थात् ३१ वर्षअघि पार्टी खोल्दाका नेताहरु पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको नेतृत्व गरिरहेका छन् ।
दुईवटा पार्टी भएर जन्मिएको राप्रपा ३१ वर्षको इतिहासमा पाँचपटक फुटेको छ भने पाँच पटक जुटेको छ ।
अहिलेको अवस्थामा राप्रपा हाँक्छु भन्दै पार्टीका एकमात्र सांसद तथा प्रभावशाली नेता राजेन्द्र लिङ्देन र डा. धवलशमशेर राणाले मोर्चाबन्दी कसेका छन् ।
उनीहरु एक अध्यक्ष र अर्का महामन्त्री भएर पार्टीलाई जनताको भरोसा केन्द्र बनाउने भनिरहेका छन् । उनीहरुले बिहीबार काठमाडौंमा उमेदवारी घोषणा गरेका छन् ।
यिनै विषयबस्तुमा रहेर बाह्रखरीकर्मी रोमन आचार्यले पार्टी अध्यक्षका उमेदवार लिङ्देनसँग उमेदवारीकेन्द्रित कुराकानी गरेका छन् ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश
अध्यक्षमा तपाईंको उमेदवारी किन ?
खासगरी राष्ट्रिय प्रजातान्त्र पार्टी आफ्नो इतिहास र जीवनकालको सबैभन्दा अहिले कमजोर अवस्थामा छ ।
यस्तो विषम् समयमा पार्टीलाई अगाडि बढाउन नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने हामी सबैको निष्कर्ष साझारुपमै आएपछि हामीभित्र को उठ्ने भन्ने विषयमा सहमति जुटाएर मैले आफ्नो उमेदवारी घोषणा गरेको हुँ । यो राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूर भविष्यको सुरक्षाका लागि हो ।
पार्टी निकै कमजोर अवस्थामा छ भन्नुभयो, जनताले किन यसरी नरुचाएका भन्ने समीक्षा भएको छैन ?
हैन, जनताले हामीलाई नरुचाएको भन्न मिल्दैन । हामीले एजेन्डा जनमान्यता र जनचाहाना अनुरुप ठिक ढंगले परिचालित गर्न सकेनौं ।
राप्रपाले ठिक ढंगले संगठन विस्तार गर्न सकेन ।
जनतालाई विश्वास हुने ढंगले नेतृत्वले कार्यक्रमहरु ल्याउन सकेन । जसले गर्दा आफ्नो एजेन्डा चाहिँ बलियो भए पनि, एजेन्डा लोकप्रिय भए पनि पार्टी अलोकप्रिय भयो । हो यसैमा सुधार ल्याउनको लागि अब नेतृत्व परिवर्तन गरेर जानुपर्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बनाउने, सुदृढ गर्ने अभियानको प्रस्थान विन्दुको रुपमा यो नेतृत्व परिवर्तनलाई लिएका छौं ।
३१ वर्षको इतिहासमा यत्रो वरिष्ठ र पार्टी कव्जा गरेर बसेका तीन हस्तीले बनाउन नसकेको पार्टीलाई एकैचोटी परिवर्तन गर्ने कला (राजनीतिक एजेन्डा) तपाईंहरुसँग चाहिँ के छ ? के भनेर कार्यकर्ताहरुले पत्याइदिनुपर्ने ?
हो हामी अब पार्टीलाई नयाँ ढंगले बनाउँछौं । ६ महिनाभित्र हामीले राप्रपा बाहिर रहेका राजसंस्था चाहिन्छ, हिन्दुराष्ट्र चाहिन्छ भन्ने हाम्रा शुभेच्छुक र दलहरु छन्, संस्थाको रुपमा संगठनको रुपमा छन्, व्यक्तिगत वा धार्मिक क्षेत्रमा छन् उनीहरुलाई समेटेर लैजाने गरि विषयहरु ल्याउछौं । एजेन्डाहरु ल्याउछौं । सँगसँगै राजसंस्था हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन, भ्रष्टाचारविरुद्धको आन्दोलन, यूवाहरुलाई स्वदेशमै रोजगारीका कार्यक्रमहरु सँगै अघि लिएर जान्छौं ।
र, राष्ट्रिय प्रजातन्त्र पार्टी विगतमा जुन् ढंगले सत्ताकेन्द्रित राजनीतिको रुपमा चिनिन्थ्यो, त्यसमा चाहिँ फेरबदल भएको सन्देश आम कार्यकर्ता नेपाली जनता र शुभेच्छुकहरुमाझ लिएर हामी जान्छौं ।
लामो समयसम्म तपाईंको पार्टीका एक अध्यक्ष कमल थापासँग रहनुभयो, उहाँ पनि अहिले अध्यक्षका उमेदवार हुनुहुन्छ, तपाईंले आफ्नो उमेदवारीको विषयमा उहाँसँग छलफल गर्नुभयो ?
उहाँसँग मैले राम्रै छलफल गरे । मैले आशीर्वाद र सहयोग मागेँ । मैले अनुमति मागेरै अध्यक्ष पदमा उमेदवारी दिएको छु । मैले अध्यक्षत्रयसँगै भनेको छु कि अब हामीले नेतृत्व परिवर्तन गरेर जानुपर्ने भयो र अब यो नेतृत्व परिवर्तन अभियानको तपार्ईंहरुले नै नेतृत्व गर्नुहोस् भनेर मैले भनेँ । अन्तिम क्षणसम्म मलाईं चाहिँ विश्वास छ कि उहाँहरु हामीसँग सहमत भएर सहयोग गर्नुहुन्छ ।
कमल थापासँगै रहेर लामो राजनीतिक सहयात्रा गरिरहँदा अध्यक्षत्रयबाट कमल थापालाई अबको महाधिवेशनमा जिताउन तपाईंको उमेदवारी परेको हो भन्ने पनि चर्चा छ, खास के हो ?
यसप्रकारको कुनै चलखेलमा हामी सामेल भएका छैनौं । हामी नितान्त रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलार्ई यही इतिहासकै कमजोर अवस्थामा राखिराख्न सक्दैनौं । यही प्रकृयाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीलाई लाने हो भने पार्टी गोरखा परिषद, प्रजा परिषदको बाटोमा जान्छ ।
तपाईंहरु पनि नेतृत्वमा पुगिसकेपछि उहाँहरुकै सिको गर्नुहुन्न भन्ने के ग्यारेन्टी ?
हामीले त्यसप्रकारका अवैज्ञानिक, अव्यवहारिक व्यवस्थाहरु लागु गर्दैनौं । भागवण्डाको राजनीति अब पार्टीमा कुनै पनि हालतमा लागु हुन दिन्नौँ । हामीले योग्यता क्षमताको आधार अरु साथीहरुलाई जिम्मेवारी दिएर अघि बढाउछौं । त्यसमा कसैले थोरै पनि चिन्ता नलिए हुन्छ । त्यो खालको झन्झटबाट आउने नेतृत्व मुक्त रहन्छ ।
पार्टी एकिकरण भएपश्चात् वैकल्पिक शक्ति बन्छ कि भन्ने थियो, तर यतिसम्म कि महाधिवेशन भइरहँदा समेत राप्रपाको चर्चा कतै छैन किन ?
हो, यथेष्ठ यहीँ कारणले हामी नेतृत्व परिवर्तनको पक्षमा उभिएका हौं ।
खासगरी हाम्रो पार्टी राप्रपा एकीकृत भइसकेपछि केही सुधार, केही विकास होला भन्ने लागेको थियो ।
जनताको आशा भरोसाको केन्द्र बन्छ कि भन्ने लागेको थियो । नेताहरु परिवर्तन हुनुहोला, विगतको गल्ती कमी कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुहोला भनेर हामीले ठानेका थियौं । तर दुईवर्ष अघिदेखि हाम्रो पार्टी उहाँहरु तीनजनाको बीचमा बन्धक अवस्थामा छ । त्यसैले हामीले यो महाधिवेशनबाट नेतृत्व परिवर्तन कुरा उठाएको हो ।
अध्यक्षत्रय (पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा)को एकतापछिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
एक शब्दमा भनौं भने अब उहाँहरु तीनै जनाबाट हाम्रो पार्टी चल्दैन । कार्यकारिणी भूमिकामा उहाँहरुलाई राखेर राप्रपा अघि बढ्दैन भन्ने निष्कर्षमा पुगेर हामीले यो कदम चालेका हौं ।
तपाईं अध्यक्ष अनि त्यो पछाडिको पद कसरी बाँड्नुभएको छ ?
अहिले हामीले बाँडेका छैनौ । योग्यता क्षमताको आधारमा साथीहरुलाई जिम्मेवारी दिने काम हुन्छ । धवलजी महामन्त्रीमा लड्नु हुन्छ ।
अन्त्यमा फेरि पनि अध्यक्षत्रयको हातमा फेरि पार्टी पुग्यो भने राप्रपाको भविष्य के हुन्छ ?
हामी उहाँहरुको हातमा पार्टीलाई सुम्पदैनौं । अर्थात् अब उहाँहरुको हातमा राप्रपा पुग्दैन । उहाँहरुलाई ससम्मान बिदा गर्न नै हामीले यो उमेदवारी दिएको हो । हामी जित्छौ भन्नेमा म आशावादी हैन विश्वस्त छु ।