
नेपाली कांग्रेसको महाधिवेशन आउन दुईसातामात्रै बाँकी छ । मंसिरको अन्तिममा गर्ने भनिएको महाधिवेशन अन्तर्गत अहिले जिल्ला तहको अधिवेशन भइरहेको छ ।
अहिलेसम्म सभापतिका आकांक्षी बढी देखिएको कांग्रेसमा केही युवा नेताहरुले महामन्त्रीमा उमेदवारी दिने तयारी गरेका छन् ।
तीमध्येका एक हुन् प्रदीप पौडेल । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका पौडेल अहिले कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहमा रहेका छन् ।
प्रस्तुत छ, पार्टीभित्र प्रभावशाली नेताको रुपमा परिचित नेता पौडेलसँग बाह्रखरीले गरेको महाधिवेशन केन्द्रित छलफल :
नेपाली कांग्रेसको महाधिवेशन अझै पनि तोकिएको समयमा हुँदैन कि भन्ने आशंका छ, महाधिवेशन नहुने सम्भावना छ र अझै ?
पार्टीको महाधिवेशन हुने यो स्थितिमा पुर्याएको हामीले नै हो । क्रियाशील छानबिन गर्न तयार कोही नहुने, त्यस्तो विवादास्पद काम लिएर अपजस लिन कोही तयार नहुने, कोही समितिमै बस्यो भने पनि त्यसको गहिराइमा पुगेर कसैलाई पनि चिढाउन नचाहने । समितिमा हामीले पद्धति बनाएर एउटा स्थितिमा पुर्यायौं । जसले गर्दा महाधिवेशन सुनिश्चित भयो ।
शतप्रतिशत ठोकुवा गर्न सक्छु कि महाधिवेशन अब नहुने कुनै पनि सम्भावना छैन । महाधिवेशन तोकिएको मितिमा हुन्छ ।
जिल्ला अधिवेशन सम्पन्न भइसकेपछि स्थगित हुन्छ, सभापति शेरबहादुर देउवा आम निर्वाचन पछि लैजान चाहनुहुन्छ भन्नेहरु पनि तपाईंहरुकै पार्टीभित्र देखिन्छन् नि !
आम निर्वाचनभन्दा अगाडि किन महाअधिवेशन नगर्ने भनेर तर्क गर्ने हो भने आम निर्वाचनमा आन्तरिक विवाद बढी हुन्छ भन्ने नै हो । त्यसले चुनावमा असर गर्छ भन्ने तर्क हो । तर अब वडादेखि जिल्लास्तरसम्मको अधिवेशन भइसकेपछि त्यहाँ तल देखिएको विवाद अब एकाएक साम्य हुने होइन । सबैमा चुनाव लडेर साथीहरु निर्वाचित भइसक्नुभयो । साथीहरु प्रतिस्पर्धा गरेर उपविजेता पनि भइसक्नुभयो । अब असर गर्ने हो भने गरिसक्यो । महाधिवेशन गरेर के असर हुन्छ ? केही फरक पर्दैन ।
तर, टिकट वितरणदेखिहरेक कुरा सभापतिको हातबाट मेरोमा आउँछ कि आउँदैन, भोलि अर्कोमा जान्छ कि भन्ने एउटा सम्भावना त हुन्छ नि, होइन ?
सभापतिले आफ्नो पोजिसन हुन्छ कि हुँदैन भन्ने आधारमा महाधिवेशन रोक्न तिर लाग्नुभयो भने सबैभन्दा ठूलो समस्या सभापतिलाई नै हुन्छ । त्यसैले मलाई लाग्छ त्यस्तो उहाँले गर्दै गर्नुहुन्न ।
उहाँले पनि बारम्बार महाधिवेशन सुनिश्चित हुन्छ भन्नुभएकै छ । र, सभापतिले नचाहेको भए यो स्थितिसम्म पनि त आउँदैनथ्यो ।
त्यसैले अब कसैले रोक्न चाहेर रोकिने स्थिति नै छैन । त्यो स्टेज कटिसक्यो । त्यसैले सभापतिबाट त्यस्तो हुने सम्भावना पनि छैन, महाधिवेशन हुन्छ ।
कांग्रेसको नेतृत्वका लागि किन यति धेरै आकांक्षी ? कम्यूनिष्टहरु फुटेका छन् पार्टीलाई जिताउन सकिन्छ भनेर हो कि साँच्चिकै पार्टीलाई राम्रो बनाउँछु भनेर पनि हो ?
कांग्रेसको नेतृत्व लिने सवालमा आकर्षण हुने कुरा स्वाभाविक हो । कांग्रेस एउटा प्रजातान्त्रिक, ऐतिहासिक, बलियो संगठन भएको, नेपालको राजनीतिमा मियो शक्तिका रुपमा स्थापित भएको पार्टी हो । त्यसैले त्यसको नेतृत्व लिन धेरैजना आकांक्षी हुने कुरालाई स्वाभाविक रुपमा लिनुपर्छ ।
तर, मलाई लागेको कुरा के हो भने विचार, कार्यक्रम, योजनासँग निरपेक्ष भएर एउटा व्यक्तिले उमेदवारी घोषणा गर्ने, त्यो चाहिँ कांग्रेस पार्टीको नेतृत्व लिने तरिका होइन ।
बीपी कोइरालाले मौलिक विचार निर्माण गरेर बनाएको पार्टी हो । यो कुनै आयातित विचार बोकेको पार्टी होइन । त्यो मौलिकतामा आधारित पार्टी बनाइरहन त विचारहरुलाई समयसापेक्ष बनाइरहनुपर्यो । नयाँ नयाँ विचार उत्खनन् गर्नुपर्यो । त्यसको निम्ति व्यापक ढंगले बहस हुनुपर्यो । अनि उमेदवारै बन्दा पनि दस्तावेजसहित आउनुपर्यो ।
धेरै उमेदवार हुने कुरा समस्या होइन ।
कांग्रेसभित्र विचारमा पनि बहस हुन्छ र ?
त्यो हुँदै नहुने भन्ने होइन । कसरी भइरहेको छ ? कस्ता कुरा उठिरहेका छन् ? परिणाममुखी छ कि छैन ? भन्ने सवालसँग जोडेर हेर्दा चाही दयनीय होला । तर, विचारकै बारेमा छलफल नै हुँदैन भन्ने होइन ।
१३ औँ महाधिवेशन अगाडि कांग्रेस दुईवटा गुटमा देखिन्थ्यो । १३ औँ महाधिवेशनले त्यसलाई तीनवटा बनायो । १४औँपछि ६–७ वटा गुटमा परिणत हुने, कांग्रेस गुट गुटको महासंघ जस्तो हुने भयो है ? तपाईं के देख्नुहुन्छ ?
यसमा जसको नीति, त्यसको नेतृत्व गर्नुपर्छ भन्ने मलाई लाग्छ । नीति प्रस्तुत नगरी नेतृत्व प्राप्त नहुने । सरकारमा गएपछि कांग्रेसले के गर्ने ? त्यो कुरा कांग्रेसको महाधिवेशनले पास गर्नुपर्यो नि । ती योजनासहित नीति बोकेर नेतृत्व आउनुपर्यो नि ।
त्यसैले पाँचवर्षलाई कुन नीति अपनाउने भन्ने कुरा महाधिवेशनले पास गर्ने हो । अनि जसको नीति पास हुन्छ, त्यही नेतृत्वमा जाने हो । त्यसो भयो भने गुट पनि बन्दैन ।
१३ औँ महाधिवेशनको बेलामा तपाईंहरुको पनि बलियो गुट थियो, जसको नेतृत्व कृष्णप्रसाद सिटौलाले गर्नुभएको थियो । त्यो गुट कायम छ कि सकियो ?
१३ औँ महाधिवेशनमा म त्यो गुटमा थिइन । महाधिवेशनपछि जोडिएको हो । हामीले तेस्रो धार भनेर वैचारिक पक्षसँग जोडेर आफुलाई संगठित गर्ने कोशिस गरेका हौं ।
त्यसमा पनि प्रशस्त कमजोरीहरु रहे । त्यो कायम छ । हामीले अहिले पनि वैचारिक पक्षबाट कांग्रेसको नेतृत्व लिने प्रयत्न गरिरहेका छौं ।
यसपल्ट पनि कायम रहन्छ ?
कायम रहन्छ । तर यो कस्तो हुन्छ भने यसरी प्राविधिक पक्षसँग मात्रै जोडिएर नेतृत्व लिने प्रक्रिया अगाडि बढ्यो भने रणनीतिक ढंगबाट नेतृत्व लिने प्रक्रियामा जान सकिन्छ । होइन, विचारकै प्रतिस्पर्धा गर्ने, त्यसको आधारमा नेतृत्व चयन गर्ने स्थिति भयो भने यसलाई त्यही रुपमा अगाडि बढाउछौं ।
भनेको अर्को कुनै समूहसँग मिलेर अगाडि बढिन्छ भन्न खोज्नुभएको हो ?
मतलब त्यस्तो कुरामा त जो पनि खुला छ । ५/६ जना सभापतिको उमेदवार हुने स्थिति आइसकेपछि कसैले पनि जित्ने सुनिश्चितता त भएन नि । नभइसकेपछि हाम्रो वैचारिक मुद्दा जे हो, त्यसलाई आत्मसात गर्ने र सहकार्य गर्ने स्थिति बन्यो भने मिल्न सकिन्छ ।
हाम्रो पार्टी त एउटै हो । सबै यही पार्टीका नेताहरु हुन् ।
यसपटक तपाईंको उमेदवारी केमा हुन्छ ?
मैले कांग्रेस पार्टीको केन्द्रीय समितिमा बसेर करिब सातवर्ष काम गरेँ । यो अवधिमा पार्टीका कामहरु गर्ने सदस्यहरु मध्येमा म पर्छु ।
धेरै समितिमा बसेर हामीले काम गर्यौं । त्यसैले यसलाई व्यवस्थित गर्ने सवालमा थुप्रै त्रुटिहरु रहेछन् । त्यसलाई पत्ता लगाइएको छ ।
यी विषयलाई यो ढंगबाट सुधार गर्नुपर्छ भनेर बाहिर बसेर भनिरहेर सुधार हुँदैन । हस्तक्षेप गर्ने ठाउँमै पुग्नुपर्यो, नीति निर्माण गर्ने ठाउँमै पुग्नुपर्यो । त्यसको निम्ति मुख्य पदमा उपस्थित गराउने मेरो सोंच छ । त्यो भनेको महामन्त्रीमा मेरो उमेदवारी हुन्छ ।
जित सुनिश्चित कत्तिको देख्नुहुन्छ ?
हामी मध्येमै हुने हो । यसमा धेरै अप्ठेरो, हुनै नसक्ने स्थिति छैन । म नै एकाएक आएर दाबी गरेको होइन । म नयाँ मान्छे पनि होइन । मेरो उमेर ४७ वर्ष भयो ।
बीपी कोइराला ४६ वर्षमा प्रधानमन्त्री हुनुभएको हो । हाम्रो अहिलेका नेताहरु पनि पहिलोपटक जिम्मेवारीमा पुग्दा धेरै कान्छो हुनुहुन्थ्यो । हाम्रो बेला नभएको पनि होइन । अहिले आम रुपमा परिवर्तनलाई मान्छेले खोजी गरिरहेको छ । कार्यशैली फेर्न चाहन्छन् । त्यसैले ती सबै कुरालाई सम्बोधन गर्न सक्ने भएकोले मैले आफूलाई बलियो उमेदवारका रुपमा पाएको छु ।
महामन्त्री भईसकेपछि तपाईंले परिकल्पना गरेको कांग्रेस कस्तो हो ?
हाम्रो महामन्त्री पदको दायित्व के छ भने आन्तरिक संगठन निर्माण गर्ने । यो बहुपार्टी प्रणाली हो । मल्टी पार्टी सिस्टममा चुनाव मूख्य हुनुपर्छ । चुनाव जित्न सजिलो हुने गरी संरचना हुनुपर्छ । गतिविधिहरु चुनावसँग जोडिनुपर्छ ।
जनतासँग हरवखत सम्पर्कमा हुनुपर्छ । अहिले हाम्रो मेकानिजमले त्यो कुरालाई सुनिश्चित गरेको छ कि छैन त । हाम्रा कामहरु असाध्यै धेरै पारदर्शी हुनुुपर्छ, भएको छ कि छैन त ? यो सबैतिर भ्रष्टाचारले गाँजेको छ । हामी त्यसविरुद्ध छौं कि छैनौं ? हाम्रो आफ्नै व्यवहार भ्रष्टाचारमुक्त छ कि छैन ? तलका कार्यकर्ता र माथिको नेतृत्वबीचको व्यवहार सन्तोषजनक छ कि छैन ? विभेदयुक्त कतिपय विषयहरु छन् त्यसलाई अन्त गर्न हामीले जोडदार प्रयत्न गरेका छौं कि छैनाैं ? मुख्यगरी आन्तरिक संगठन सुदृढ गर्ने सवालमा हामीले सुधार गर्नुपर्ने थुप्रै विषयहरु छन् । पार्टीको अभियानलाई सामाजिकीरण गर्न जरुरी छ ।
पार्टीको विषयहरुलाई जनजीविकाको मुद्दासँग जोड्न जरुरी छ । त्यसैले आन्तरिक विषय सुदृढीकरण गर्ने एउटा उद्देश्य हो मेरो । अर्को राष्ट्रिय मुद्दा निर्माण गर्ने सन्दर्भमा कांग्रेस पार्टी समाजवादी पार्टी हो । वीपी कोइरालाको पालामा थियो भन्ने स्थिति आएको छ ।
त्यसैले पार्टीलाई सैद्धान्तिक र व्यवहारिक पक्षबाट समाजवादी बनाउनका निम्ति पनि मेरो उमेदवारी हो । तेस्रो, हामी धेरै पटक सरकारमा गएर पनि धेरै सन्तुष्टि हामीले दिन सकेनौं । त्यसैले राष्ट्रिय प्राथमिकताहरु के हुन् ? व्यवस्था परिवर्तन भयो, व्यवहार परिवर्तन भएन भनिएको छ ।
कसरी व्यवहारलाई परिवर्तन गर्ने ? समृद्धि कसरी आर्जन गर्ने ? समग्र संविधान कार्यान्वयन र व्यवस्थालाई बलियो बनाउने सवालमा जनताको दैनिकीसँग राजनीतिलाई जोड्ने सवालमा हामीले राष्ट्रिय मुद्दाहरुमा प्राथमिकता निर्धारण गर्नुपर्छ र त्यसको कार्ययोजना के हो त्यो पनि प्रष्ट हुनुपर्छ । त्यस निम्ति पनि मेरो उमेदवारी हो ।
यसपटकको महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्छ कि निरन्तरता दिन्छ, तपाईंले के सम्भावना देख्नुहुन्छ ?
परिवर्तन भनेको पुस्ता परिवर्तन गर्न सक्ने कुनै सम्भावना छैन । चर्चामा आउनुभएकै नेताहरुमध्ये सभापति हुने हो । सभापति हुने व्यक्ति नयाँ हुँदैन । उहाँहरुको कार्यशैली प्रयोगमा नआएको हुँदैन ।
तस्बिर : पौडेलको फेसबुकबाट