site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
‘सातै प्रदेशमा रेस्लिङ प्रशिक्षण केन्द्र खोल्ने योजना छ’ (भिडियोवार्ता)

नेपाल रिङ रेस्लिङ संघ स्थापना भएको लामो समय भएको छैन । वि.सं. २०७२ सालमा संघ स्थापना भएको हो । छोटो अवधिमा रेस्लिङले दर्शकहरूको माया भने धेरै पाएको छ । बर्सेनि रेस्लिङको प्रतियोगिता भइरहेका छन् ।

सरकारको कमै सहयोगमा रेस्लिङको प्रतियोगिता गर्न सहज भने छैन । त्यसका बाबजुद रिङ रेस्लिङ संघले मनाङ तथा सगरमाथा बेसक्याम्पमा पनि प्रतियोगिता गर्ने योजना बनाएको छ । खेलाडी उत्पादनको हिसाबले पनि रेस्लिङ संघले सातै प्रदेशमा प्रशिक्षण केन्द्र राख्ने योजना बनाएको छ ।

नेपालमा रिङ रेस्लिङको महत्त्व, यसको सम्भावना र खेलाडीको रुचिका विषयमा बाह्रखरीकर्मी भुपेस उपाध्यायले नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठसँग कुराकानी गरेका छन् ।

Argakhachi Cement Island Ad

नेपालमा ०७२ सालमा रिङ रेस्लिङ संघको स्थापना भयो, यसको अवस्था कस्तो छ ? 
संघलाई विधिवत रूपमा दर्ता गर्ने समयमा सहज थिएन । नेपालमा पनि रिङ रेस्लिङ हुन्छ त ? भन्ने वातावरण थियो । अहिलेचाहिँ छोटो समयमा राम्रो क्रेज लिएको छ । नेपालमा अन्य कुनै संस्थाले यसलाई महत्त्व नदिएको हुनाले हामी केही साथीहरू मिलेर संघ स्थापना गर्‍यौँ ।

संघ स्थापना हुँदा जुन सोच थियो, सोहीअनुसार अघि बढ्नुभएको छ ? 
रेस्लिङ हामीले सोचेअनुसार नै अघि बढेको छ । ०७२ सालमा स्थापना भएको संघलाई कोरोनाले गर्दा केही पछि धकेल्यो । त्यसपछिको विषयमा संघलाई कसरी अघि बढाउने अनि कुन हिसाबले अघि जाने भन्ने विषयमा हामी हाम्रो लक्ष्यमा नै छौँ ।

सुरुमा नेपालमा रिङ रेस्लिङ खेल नै नहुने वातावरण थियो, त्यो बेला खेलाडी जुटाउन कति सहज थियो ? 
नेपालमा रेस्लिङ खेल मात्र नभएको तर यसको क्रेज भने पहिलेदेखि नै थियो । टीभीमा रेस्लिङ व्यापक रूपमा हेरिन्थ्यो । खेलाडी विकासको क्रमलाई भन्ने हो भने सुरुवातको अवस्थामा धेरै असहज भयो । हामीले बाहिरबाट ट्रेनरहरू लिएर आयौँ । त्यो समयमा खेलाडीहरू आफैँ रुचि राखेर आउनुभयो । तर, प्रशिक्षणका लागि भने बाहिरबाट ल्याउनुपर्ने भएर सहज भने थिएन । अहिले त नेपाली प्रशिक्षकले नै प्रशिक्षण दिइराख्नुभएको छ ।

रेस्लिङमा खेलाडीको रुचि कस्तो पाउनुभएको छ ?
रेस्लिङमा रुचि राख्ने व्यक्तिहरूको अहिले कमी छैन । यसलाई निरन्तरता दिनेहरू भने कमै हुनुहुन्छ । प्रशिक्षण सहज छैन । प्रशिक्षणलाई देखेर खेल्न रुचि राख्ने खेलाडीहरू नै निरुत्साहित भएको इतिहास छ ।

नेपालमा रेस्लिङको सम्भावना कस्तो देख्नुभएको छ ? 
सम्भावना धेरै छ । विश्वमा १८० भन्दा धेरै देशमा खेलिन्छ, हेरिन्छ । नेपालमा पनि धेरै क्रेज छ । गत कात्तिक १३ गते भएको प्रतियोगितामा पनि पाँच हजारभन्दा धेरै दर्शकको सहभागिता थियो । यसको कुनै टार्गेट समूह छैन । अहिले पनि धेरै होटेलहरूमा रेस्लिङ हेरेको देखिन्छ । सम्भावना छ, मात्र हामीले अन्तर्राष्ट्रिय प्रतियोगिता र राष्ट्रिय प्रतियोगिता धेरै गर्न सक्नुपर्छ । साथै, खेलाडी उत्पादनलाई बढावा दिनुपर्छ ।

रिङ रेस्लिङको दोस्रो कार्यकालमा हुनुहुन्छ, के–के गर्नुभयो ? 
रेस्लिङलाई विकास गर्ने समयमा नै छौँ । खेलाडी उत्पादनमा हाम्रो बढी ध्यान छ । सँगसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गर्ने पाटोलाई पनि मैले लिएको छु । जसले गर्दा खेलाडीको आर्थिक पाटो केही सहज बनोस् । प्रशिक्षणको बाटो हेर्दा हामीले काठमाडौंमा मात्र सीमित नभएर बाहिर जिल्ला जनो पाटोलाई अघि बढाएका छौँ । प्रतियोगिताको हिसाबले हामी बाहिरी जिल्ला गइसकेका छौँ ।

रेस्लिङ प्रतियोगिता गर्न सहज/असज के कस्तो छ ?
रेस्लिङ प्रतियोगिता गर्न सहज र असहज बाटो दुवै छन् । आर्थिक हिसाबले भन्दा हामीलाई सहज पक्कै छैन । हाम्रो संघ स्थापना भएको लामो समय भएको छैन । त्यसैले आर्थिक पाटोमा धेरै समस्या छ । तैपनि, हामीले आफ्नो स्थानबाट जतिसक्दो गरेका छौँ । अब जनस्तरमा क्रेज बढेको छ, थप सहज हुन्छ ।

राखेप बोर्ड सदस्य भएपछि आफ्नो जिम्मेवारी कत्तिको निभाउनुभएको छ ? 
राखेप बोर्ड सदस्य भएदेखि खेलकुदको विकासका लागि आफ्नो तर्फबाट केही योगदान गरेकी छु । तैपनि, सोचेजस्तो गर्न भने सकिएको छैन । म बोर्ड सदस्य भएको हिसाबले अन्य खेलसँगै रेस्लिङ विकासका लागि पनि धेरै कुरा उठाएको छु ।

खेलाडी उत्पादनको पाटोलाई कसरी हेर्नुभएको छ ? 
हामीसँग अहिले प्रशिक्षणमा ५० जना खेलाडी छन् । उनीहरूको प्रशिक्षणको खर्च हामी संघ आफैँले व्यहोरेका छौँ । अब काठमाडौंभन्दा बाहिरका जिल्लामा पनि प्रशिक्षणका लागि जाने भन्ने हाम्रो योजना छ । सातै प्रदेशमा एक–एकवटा रेस्लिङ प्रशिक्षणका लागि माहोल बन्यो भने खेलाडी उत्पादनमा केही सहज हुनेछ । त्यसका लागि सरकारले हामीलाई सहयोग गरेमा चाँडै पहल थाल्नेछौँ ।

सरकार र राखेपबाट सहयोग नभएको भन्दै संघहरूले प्रतियोगिता नगरेको अवस्था छ, रेस्लिङको अवस्था कस्तो छ ?
सरकारको मात्र मुख ताक्ने हो भने कुनै पनि खेलकुदको विकास हुन्छ जस्तो लाग्दैन । त्यसका लागि संघ नै सक्रिय हुन आवश्यक छ । राज्यको ध्यानाकर्षण गर्नलाई भए पनि हामीले आफ्नै पहलमा प्रतियोगिता गर्न सक्नुपर्‍यो । त्यसपछि सरकारले सहयोगको लागि आफैँ हात अघि बढाउनेछ । प्रतियोगिता गरिराख्ने हो भने कर्पाेरेट हाउसहरू पनि सहयोगका लागि आउनेछन् ।

प्रतियोगिताका लागि नुवाकोट र दोलखालाई नै किन रोज्नुभयो ?
रेस्लिङको माध्यमबाट नै उच्च पर्वतीय खेलकुदलाई बढावा दिने भन्ने हाम्रो योजना हो । त्यसका लागि हामीले नुवाकोट र दोलखामा प्रतियोगिताहरू गरिराखेका छौँ । अब केही समयमा मुस्ताङमा पनि प्रतियोगिता गर्ने योजना छ । बाहिरी जिल्लाहरूमा प्रतियोगिता गर्दा दर्शकहरू पनि उल्लेख्य मात्रामा आउनुभयो । यसले गर्दा पनि हामीलाई प्रतियोगिता गर्न उत्साहित बनाएको छ ।

रेस्लिङ संघको अबको लक्ष्य के ? 
हाम्रो अबको लक्ष्य भनेको काठमाडौंबाहिरका जिल्लामा रेस्लिङ प्रतियोगिता गर्ने भन्ने छ । त्यस्तै, खेलाडी उत्पादनको पाटोलाई पनि हामीले नियालेका छौँ । रेस्लिङकै माध्यमबाट नेपालका हिमशिखरहरू चिनाउने पनि हाम्रो योजना हो । नेपालमा उच्च पर्वतीय खेलकुदको सम्भावना धेरै छ है भनेर चिनाउनका लागि हाम्रो संघले मुख्य भूमिका खेल्नेछ । सम्भव भएसम्म र सरकारले सहयोग गरेमा हामीले सगरमाथा बेसक्याम्प अथवा कालापत्थरमा रेस्लिङ गर्ने योजना बनाएका छौँ ।

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  ११:२१
प्रतिक्रिया दिनुहोस्