1629479431.jpg)
काठमाडौं । सरकारले आगामी चैत मसान्तभित्र लक्षित सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइसक्ने बताउँदै आएको छ । सोही योजनाअनुसार छिमेकीसहित विभिन्न मुलुकबाट खोप खरिदलाई निरन्तरता दिइएको छ । तर, के चैत मसान्तसम्म सबैलाई खोप दिइसक्न अहिलेको खोप आयात, भण्डारण र वितरणको रफ्तार पर्याप्त छ ?
यस्तो छ अहिलेसम्मको खोप ‘कभरेज’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने १८ वर्र्षमाथिका नागरिक छन् । ०७७ माघदेखि दिन सुरु गरिएको खोप कात्तिक ११ गतेसम्म आइपुग्दा ३४.५ प्रतिशतले दुवै डोज र ४३.४ प्रतिशतले पहिलो डोज लगाएका छन् ।
संख्याको हिसाबले ६८ लाख ६५ हजार ६६५ जनाले पूर्ण खोप र ८६ लाख ५५ हजार २१५ जनाले पहिलो डोज खोप लिएका छन् । त्यस्तै, १२ देखि १८ वर्र्षसम्मका दीर्घरोगीलाई यही कात्तिक २८ गतेदेखि फाइजर खोप दिइँदैछ । यो उमेर समूहका सबै युवालाई दिन करिब एक करोड डोज खोप चाहिने मन्त्रालयको प्रक्षेपण छ ।
अहिले देशभरका स्थानीय तहले आ–आफ्नै तालिकाअनुसार एस्ट्राजेनेका र भेरोसेल खोप दिइरहेका छन् । काठमाडौंमा आजसम्म एस्ट्राजेनेका खोप दिइएको थियो । असोज अन्तिमसम्म काठमाडौंका ७३ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांक छ । यसबाहेक सरकारसँग करिब ३० लाख डोज स्टक रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा बताउँछन् ।
चैतसम्म सबैलाई खोप दिइसक्ने आधार के हो ?
नेपालमा ०७७ माघमा पहिलोपटक कोभिड–१९ विरुद्धको खोप ल्याइएको थियो । भारत सरकारले पहिलोपटक १० लाख डोज कोभिसिल्ड खोप दिएसँगै सरकार आफैँले खरिद प्रक्रियासमेत अघि बढायो । त्यसपछि भारत र चीनसँग सरकारले कात्तिकसम्म आफैँ खरिद गरेको र विभिन्न देशले अनुदानमा दिएको गरी हालसम्म नेपालमा एक करोड ८९ लाख ७८ हजार डोज खोप आएको छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकाको खोप प्रयोग गरिएको छ ।
पछिल्लोपटक चीनसँग खरिद गरेको ५९ लाख ३६ हजार चार सयमध्ये बुधबार १० लाख २० हजार डोज खोप ल्याइएको छ भने बाँकी खोप निरन्तर आउने स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्यमन्त्री खतिवडाका अनुसार १२ देखि १८ वर्ष उमेर समूहलाई दिन थप एक करोड डोज मोर्डना र फाइजर खोप ल्याउने टुंगो लागिसकेको छ ।
आगामी दिनमा सरकारले खरिद गरेको खोप निरन्तर आउने र विभिन्न दातृ निकायहरू पनि नेपाललाई थप खोप दिन इच्छुक रहेकाले खोप कार्यक्रममा ग्याप नहुने खतिवडाको दाबी छ । खोप लगाउने सबै वर्गलाई दिने खोपको टुंगो लागिसकेकाले चैत मसान्तरसम्म सरकार सबैलाई खोप दिने लक्ष्यमा पुग्दैन भन्ने चिन्ता लिनुपर्ने अवस्था नरहेको मन्त्री खतिवडा बताउँछन् ।
निरन्तर खोप आए भण्डारण क्षमताले धान्छ ?
नेपालमा अहिले केन्द्रीय कोल्डचेन टेकु र बाराको पथलैयामा रहेको कोल्डचेनमा खोप भण्डारण गर्ने गरिएको छ । त्यस्तै, प्रदेशमा पठाइएको खोप प्रदेशले आ–आफ्नै कोल्डचेनमा राख्ने गरेका छन् ।
अल्ट्रा कोल्डचेन माइनस ४४ देखि ८० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने फाइजरको खोप भण्डारणका लागि युनिसेफलगायत गैह्रसरकारी संस्थाहरूले फ्रिजर उपलब्ध गराउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति महाशाखाले जनाएको छ । शाखाका प्रमुख उपेन्द्र ढुंगाना कोल्ड चेनकै कारणले खोप कार्यक्रम ढिलो नहुने बताउँछन् ।
“हामीसँग व्याकअपको रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन पनि छ । त्यस्तै खोप आएपछि प्रदेश आपूर्ति केन्द्रहरूमा पठाइने र तुरुन्तै वितरण गरिने हुँदा भण्डारणमा समस्या हुँदैन,” ढुंगानाले भने ।