site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
किन सहज भएन उत्तरी नाका ?
फाइल तस्बिर ।

काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक चीनसँग जोडिएका नाका अझै पूर्ण रूपमा खुलेका छैनन् । जसका कारण चाडपर्वलाई लक्षित गरी व्यापारीहरूले ल्याएका सामान दुई/तीन महिनादेखि रोकिएको छ । चाडपर्वको बेलामा पनि उत्तरतर्फको नाकाबाट सहज रूपमा सामान आउन नसक्दा आफूहरू मर्कामा परेको व्यापारीहरूको गुनासो छ ।

दसैँलाई लक्षित गरी ल्याइएको सामान दुई महिनादेखि नाकामै रोकिएको नेपाल चेम्बर अफ कमर्सको भन्सार समिति सभापति निरज राईले जानकारी दिए । नेपाल र चीन दुवैतर्फ समस्या हुँदा समयमै सामान ल्याउन नसकिएको उनले बताए ।

“धेरै समस्या चीनतर्फ छ । चिनियाँ पक्षबाट सामान ल्याउँदा जहिले पनि डिले गरिदिएका छन्, समस्या बनाइरहेका छन् । दुई महिनादेखि सामान अड्किएको छ,” उनले भने, “तर, नेपालतर्फ पनि समस्या छ ।”

कोरोना महामारीको बेलामा लामो समय बन्द भएको तातोपानी र केरुङ नाकामा अहिले पनि उस्तै समस्या रहेको व्यवसायीहरूको भनाइ छ । “कोरोना महामारीको बेलामा सामान लोड/अनलोड गर्दा पैसा खाने बानी परेकाले यसपटक लोडिङमा चिनियाँतर्फबाट समस्या पारेका छन्,” राईले भने ।

यता, नेपालतर्फ राजस्व कार्यालयको डरका कारण पनि कतिपय व्यापारीले सामान ल्याउन नखोजेको एक व्यापारीले बताए । “केही दिनअगाडि राजस्वले अनुगमन गर्‍यो । त्यो बेलामा केही व्यापारीको सामान बढी देखियो । धेरै भन्सार तिर्न लगाए,” ती व्यापारीले भने, “सोही डरका कारण पनि कतिपय व्यापारीले सामान ल्याउन ढिलाइ गरेका छन् ।”

नेपालतर्फ पनि कर्मचारीले छिटो काम नगरिदिँदा समस्या आएको बताउँछन् । चीनबाट विशेषगरी जुत्ता, चप्पल, रेडिमेड सामान, विद्युतीयलगायत सामान नेपाली व्यापारीले ल्याउने गरेका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनतर्फ कोटा तोकिएका कारण धेरै सामान आउन नसकेको बताए । उनका अनुसार हिजोआज दैनिक १५ कन्टेनरभन्दा बढी सामान यो नाकाबाट आउन सकेका छैनन् । नेपालको बाटो निकै बिग्रिएका कारण पनि समस्या आएको उनको भनाइ छ ।

“चीनले कोटा तोकेको र नेपालतर्फको बाटो बिग्रिएका कारण धेरै सामान आउन नसकेको हो । यो बेलामा एक दिनमा बढीमा १५ कन्टेनरसम्म मात्रै सामान आएका छन्,” उनले भने ।

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले पनि चीनतर्फबाट कम गाडी छोडिएको बताए । “अहिले दैनिक सातदेखि नौ कन्टेनर गाडी मात्रै आएका छन्,” उनले भने । अधिकारीहरूका अनुुसार चीनले कोरोनालाई नै बहाना बनाएर धेरै गाडी छोडेको छैन ।

केरुङ नाकाबाट कोभिडअघि दैनिक करिब २५० मालवाहक गाडी नेपाल भित्रिन्थे । अहिले बढीमा नौ गाडीमा सीमित भएको छ । यी नाकाबाट एकतर्फी रूपमा मात्रै सामान आउँछन् ।

आफूहरूले खरिद गरेर ल्याएको करिब ८०० कन्टेर सामान चिनियाँ सीमा क्षेत्रमा रोकिएको व्यापारीहरू बताउँछन् ।

चीनबाट सामान ल्याउन समस्या भए पनि भारततर्फका नाकाबाट सामान ल्याउन समस्या नरहेको व्यापारीहरूले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्