
काठमाडौं । कोभिड १९ को दुईवटा लहर पार गरेसँगै सरकारी स्तरबाट नेपालमै जिन सिक्वेन्सिङको अभ्यास सुरु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएल टेकुले झन्डै आठ महिनाअघि ल्याएको सिक्वेनसर मेसिनलाई प्रयोगमा ल्यएको हो ।
कोभिड १९ को नयाँ भेरियन्ट पहिचानका लागि यसअघि महंगो शुल्क तिरेर देशबाहिरका प्रयोगशाला तथा निजी प्रयोगशालामा गरिँदै आएको जिन सिक्वेन्सिङ परीक्षण पहिलो पटक सरकारी प्रयोगशालाबाटै सुरु गरिएको हो ।
लामो समयदेखि जिन सिक्वेन्सिङ परीक्षणका लागि प्रयासरत एनपीएचएलले आफनै प्रयोगशालामा जिन सिक्वेन्सिङ सुरु गरेको औपचारिक जानकारी केही दिनअघि मात्रै दियोे ।
यो अवधिमा एनपीएचएलले जम्मा ४२ वटा नमूनाको परीक्षण गरेको जनाएको छ जसमध्ये त्रि.वि. जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमूनाहरुको सिक्वेन्सिङ गरिएको थियो । भदौ र असोजमा संकलन गरिएका ती नमूनामध्ये ४१ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको थियो भने वैसाखमा संकलन गरिएको एउटा नमूनामा अल्फा भेरियन्ट देखिएको एनपीएचएलले जनाएको छ ।
जिन सिक्वेन्सिङ किन ?
जिन सिक्वेन्सिङ भाइरसको नयाँ प्रजाती पहिचानका लागि अपनाइने विधि हो ।
पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन भनेर जाँच गरिन्छ भने सिक्वेन्सिङ्गमा त्यस जिनको विस्तृत बनावटको अध्ययन गरिन्छ । कोभिड १९ को भाइरसले आफ्नो जिनमा सानो सानो परिवर्तन गरी नै रहन्छ जसलाई म्युटेसन भनिन्छ । अधिकांस म्युटेसनले कुनै पनि प्रभाव पार्दैन भने केही म्युटेसनले भाइरसको चरित्रमा असर पार्दछ । जसकारण भाइरस बढी संक्रमक हुन सक्ने, छिटै फैलन सक्ने, उपलब्ध औषधि वा खोपले काम नगर्ने आदि हुनसक्छ । भाइरसको परिर्वतित स्वरूपको नयाँ भोरियन्ट भनिन्छ र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भए त्यसलाई ‘भेरियनट एफ कन्सर्न’ को संज्ञा दिइन्छ ।
“अहिले अल्फा, बिटा, गामा र डेल्टा गरी ४ वटा भेरियन्ट अफ कन्सर्न छन् भने अरू भेरियन्टलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’ भनिन्छ । भाइरसमा भएको यस्तो न्यूटेसन पत्ता लगाउन जिन सिक्वेन्सिङ्ग गरिन्छ र यस सिक्वेन्सिङ्ग अध्ययनबाट भाइरसको नयाँ भेरियन्ट आएको वा नआएको तथा सो भेरियन्ट, भेरियन्ट अफ कन्सर्न भएको नभएको पत्ता लाग्न मद्दत हुन्छ,” एनपीएचएलका निर्देशक डा. रुणा झाले बताइन् ।
कहाँ गरिन्थ्यो यसअघि नेपालमा जिन सिक्वेन्सिङ
एनपीएचएलले जिन सिक्वेन्सिङ सुरु गर्नुअघिदेखि नै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट, त्रिवि जैविक प्रविधी विभाग र धुलिखेल अस्पतालमा यो विधिको प्रयोग भइरहेको छ । नास्टले किट जातीमा संक्रमणको पहिचानका लागि यसको प्रयोग गरेको पाइएको छ । धुलिखेल अस्पतालमा भने पाठेघरको मुखको क्यान्सर, जापनिज इन्सेप्लाइटिस, म्यानेन्जाइटिस्लगायतका संक्रमणको पहिचानका लागि जिन सिक्वेन्सिङ गर्ने गरिएको अस्पतालका प्रमुख औषधि विज्ञ डा. राजीव श्रेष्ठले बताए ।
नेपालमा पहिलोपटक कोभिड १९ को नयाँ भेरियन्ट पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएका ६ वटा नमूनासमेत धुलिखेल अस्पतालबाट सिक्वेन्सिङ गरिएको थियो ।
गत माघमा बेलायतबाट नेपाल आएका तीन जना नागरिकमा फरक प्रकारको संक्रमण पाइएको थियो ।
नयाँ भेरियन्टको आशंका गरिएका उनीहरुको स्वाको नमूना विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । हङकङबाट आएको नतिजामा उनीहरुमा युके भेरियन्ट पुष्टि भएको थियो, तर नतिजा आउँदासम्म उनीहरुमध्ये दुईजना बेलायत फर्किइसकेका थिए ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धनात्मक उद्देश्यले ६० वटा नमूनाबाट जिन सिक्वेन्सिङ सुरु गरेको थियो ।
त्यसयता परिषदले निरन्तर काठमाडौं विश्वविद्यालय र निजी प्रयोगशालाहरुमार्फत् जिन सिक्वेन्सिङ गरिरहेको छ ।
भदौसम्म १ सय वटा नमूना काठमाडौं विश्वविद्यालयको प्रयोगशालाबाट र १ हजार ५०० वटा नमूना अन्य विभिन्न प्रयोगशालाहरुबाट परीक्षण गरिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बतए ।
अहिलेसम्म कति खर्च ?
सरकारले ०७८ असोजसम्म जम्मा झन्डै ३ सय नमूनाको जिन सिक्वेन्सिङ गरेको छ । जसमध्ये पछिल्लो समय एनपीएचएल र त्रिवि जैविक प्रविधि विभागबाट बाहेक २ सयभन्दा बढी नमूना मुलुक बाहिर (विश्व स्वास्थ्य संगठनका प्रयोगशालामा) गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
विज्ञहरुका अनुसार एउटा उपकरणको मूल्य ३० लाखदेखि दुई करोड पर्न जान्छ ।
त्यस्तै, सिक्वेन्सिङ गर्न चाहिने रिएजेन्टलाई २० हजारभन्दा माथि खर्च हुन्छ भने एउटा नमूनाको परीक्षण अर्थात् सिक्वेन्सिङ गर्न ६० हजारसम्म लगानी लाग्छ ।
विश्व स्वास्थ्य संगठनका प्रयोगशालाहरुमा परीक्षण गर्दा यो खर्च कम हुने भए पनि नमुना पठाउन र ल्याउन अर्थात् ढुवानीका क्रममा सरकारको बढी खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारी बताउँछन् । यसरी हेर्दा हालसम्म परीक्षण गरिएका झन्डै दुई हजार नमूना परीक्षणमा सरकारले मोटो रकम बाहिरी प्रयोगशालाहरुमा खर्च गरेको देखिन्छ ।
जनशक्ति व्यवस्थापन कसरी ?
एनपीएचएलले झन्डै आठ महिनाअघि जिन सिक्वेन्सर मेसिन ल्याएको भए पनि जनशक्तिको अभाव देखाउँदै मेसिन सञ्चालनमा ल्याउन सकेको थिएन । पछिल्लो समय भने एक महिनामा १ सयवटा नमूनाको सिक्वेन्सिङ गर्ने उद्देश्यका साथ जनशक्ति व्यवस्थापन गरिएको निर्देशक झाले बताइन् ।
“पहिले कोभिड १९ को पहिचानमा खटिएकै ल्याब टेक्निसियनको टिमलाई तालिम दिइएको छ अब निरन्तर परीक्षण गर्ने एनपीएचएलको योजना छ,” डा.झाले भनिन् ।
एउटा जिन सिक्वेन्सिङ मेसिन सञ्चालन गर्न सूक्ष्मजीव विज्ञान, विषाणु विज्ञान, माइक्रोबायोलोजिस्ट अर्थात् भाइरोलोजिस्ट, मलिक्युलर बायोलोजी र बायोइन्फर्म्याटिक्स गरी पाँचजनाको टिम आवश्यक पर्ने विशेषज्ञहरू बताउँछन् ।