site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
मोटो हुनु खान्दानी होइन रोगको लक्षण हो, जीवनशैली परिवर्तन गरौँ 

सन् २००० देखि विश्व मुटु दिवस मनाउन लागिएको हो । सुरुवातमा सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु फेडेरेसन र विश्व स्वास्थ्य संगठनले विश्व मुटु दिवसका रुपमा मनाउने गरेको थियो । तर २०१२ देखि भने सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको छ । नेपालमा पनि यसै दिनलाइ नै विश्व मुटु दिवसका रुपमा मनाइँदै आइएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानकाअनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान छ ।  
यो जनसंख्यामा करिब ३० प्रतिशत बयस्क व्यक्तिलाई रक्तचाप छ । यस्तै करिब २० प्रतिशतलाई कोलेस्टेरोलको समस्या छ भने १० प्रतिशतलाई मधुमेह रहेको बताइन्छ । 
यो संख्या घट्ने भन्दा बढ्ने क्रममा छ । धुमपान तथा मध्यपान गर्ने, चिल्लो, पिरो बोसो, भुटेका, तारेका खानेकुरा खाने, मासु अत्यधिक खाने, सागपात कम खाने र दैनिक शारीरिक व्यायाम नगर्ने व्यक्तिमा यस्ता समस्या देखिने र त्यसले मुटुको समस्या निम्त्याउने गरेको चिकित्सकहरु बताउँछन् ।
प्रस्तुत छ, मुटुको यिनै समस्याबारे त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कूलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लामो समयदेखि कार्यरत कार्यरत मुटु विशेषज्ञ डा. चन्द्रमणि पौडेलसँग सुनिता लोहनीले गरेको कुराकानीको सम्पादित अंश 

 

विभिन्न तथ्यांकले नेपालमा मुटु रोगको समस्या बर्सेनी बढिरहेको देखिन्छ, कारण के होला ?

हो, हाम्रोमा मुुटु रोगको समस्या वर्षेनी बढिरहेको छ । एउटा त ठाउँ–ठाउँमा स्वास्थ्य सुविधा उपलब्ध भइरहेको छ ।

Argakhachi Cement Island Ad

जनमानसमा रोग लाग्नु भन्दा अगाडि नै थाहा भयो भने रोगबाट बचिन्छ भन्ने चेतना छ । दोस्रो कुरा मुटु रोगको समस्या बढिरहेको छ । 

हाम्रो सामाजिक संरचना, आर्थिक स्थिति र खानपिन सबै हेर्ने हो भने दुई दशकअगाडिको तुलनामा सहरमुखी जीवनशैली र खानपिनले मुटु रोगी बढाइरहेको छ । 

पहिले कम खाना पाउथे अहिले अत्यधिक खाने, चिल्लो बढी खाने, रक्सी, चुरोट खाने, सुुगर तथा गुलियो चिजको सेवनले मोटोपन बढेको छ । 

नुन बढी भएको खाना खाँदा रक्तचाप बढ्न थालेको छ । 

यी सबैले गर्दा मान्छेलाई मुटुको कोरोनरी आर्टिरी डिजिज हृदयाघात, प्रेसर बढिरहेको छ । अनि समयमै जाँच गराउँदा अगाडि नै रोग पहिचान हुने र रोग बढेको पनि छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानकाअनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनसंख्या मुटुु रोगी छन् । सन् २०३० सम्म विकासोन्मुख देशमा ३५ प्रतिशत मुटु रोगी हुने भन्ने अन्तर्राष्ट्रिय अनुसन्धानबाट देखिएको छ । 

रोगहरुमा सबैभन्दा धेरै रोगी मुटु रोगी बढेको हो ? यथार्थ के हो ?

अन्तर्राष्ट्रिय तथ्यांकले संसारभर मृत्यु हुनुको नम्बर एक कारण मुटु रोगलाई देखाएको छ । 

नेपालमा यति मान्छेलाई मुटु रोग छ भनेर स्पष्ट तथ्यांक छैन । पहिला हामी कहाँ कुपोषण र झाडा बान्ताले मान्छे मर्थे भने अहिले मुटु रोग र क्यान्सर बढिरहेको छ ।

यो भनेको रोगको प्रवृत्ति परिवर्तन हुँदै गएको हो । मान्छेको जीवनस्तरअनुसार रोगको स्तर पनि बढ्दै गएको हो । पहिला मान्छेले सरसफाइमा ध्यान दिँदैनथे, दूषित खाना खान्थे, त्यसैले सरुवा रोग लाग्थे । अहिले प्रेसर, मधुमेह, मुटु सुनिने, मुुटुको भल्भमा समस्या हुने रोगहरु बढिरहेको छ । 

कोभिड १९ सँग जोडेर हेर्दा यसले मुटुको रोग कति जोखिम बढाएको छ ? यससम्बन्धी अनुसन्धान केही भएको छ ?

कोभिडले सबैभन्दा बढी असर फोक्सोलाई गरेको हो । करिब १० प्रतिशतको हाराहारीमा कोभिडले गर्दा मुटुमा असर गरेको देखिन्छ । कोभिडले प्रत्यक्ष र अप्रत्यक्ष दुवै असर गरेको छ । 

प्रत्यक्ष रुपमा कोभिडको भाइरसले आक्रमण गरेर मुटु कमजोर हुने, मुटुु फेल हुुने, मुटुको धड्कनमा समस्या आउने, मुटुुलाई रक्त सञ्चार गर्ने कोरोनरी आर्टरीमा रगत जम्ने र हृदयाघात हुने जस्ता रोग निम्त्याएको छ । कोभिडले सीधै मुटुुमा असर गरेर मृत्यु हुने या दीर्घजीवी रोग लाग्ने गरेको देखिन्छ । 

अप्रत्यक्ष घटना मूल्याङ्कन गर्दा प्रेसर भएको मान्छेलाई कोभिडले बढी असर गर्ने, मुटुु रोगीलाई कोभिड लाग्यो भने बढी असर गर्ने, मुटुको भल्भ र मुटुको नशामा जाली हालेको मान्छे कोभिड लाग्यो भने अरुलाई भन्दा अलि बढी असर गरेको देखिन्छ ।

यो रोगको लक्षण के हो ? कसरी थाहा पाउने ?

मुटुुको रोगको लक्षण थुप्रै छन् । प्रमुख लक्षण भनेको मुुटुको बायाँ भाग या बीचको छातीमा ढुंगाले थिचेको जस्तो बेस्सरी दुख्नु हो । त्यो दुखाइ करिब १५ मिनेट भन्दा बढी हुने, दुख्दादुख्दै पसिना खलखल आउने, मान्छेलाई दिसा पिसाब लागेको जस्तो हुने हुन्छ । दुखाइले म त मर्छु कि क्या हो भन्ने खालको भयो भने त्यसलाई हृदयाघात ‘हार्ट अट्याक’ भयो भनेर बुझ्नुपर्छ । तर मुटुुको दुखाई भन्ने बित्तिकै हृदयाघात भन्न मिल्दैन । अन्य कारणले दुखेको हुन सक्छ ।  

दोस्रो लक्षण भनेको सास फेर्न गाह्रो हुने हुन्छ । अलिकति हिँड्न नसक्ने, राति सुतिरहेको बेला सास फेर्न गाह्रो भएर उठ्नुपर्ने पनि मुटु रोगको लक्षण हो । तर यो फोक्सोको रोगको पनि लक्षण हुनसक्छ । 

राम्ररी जाँचेपछि थाहा हुन्छ मुुटुको हो कि फोक्सोको भनेर । यस्तै, चक्कर लागेर ढल्ने, मुटु बेस्सरी ढुकढुक हुने, छिटोछिटो चल्ने, ढ्याक रोकिने, थोरै हिँड्दा थकान लाग्ने, खुट्टा सुन्निने, शरीरै सुन्निने, कहिलेकाही शरीर निलो या सेतो हुने यी सबै मुुटु रोगका लक्षण हुन सक्छन् । 

पछिल्लो समय युवामा मुटु रोग बढेको सुनिन्छ । वास्तविकता के हो ? यो रोगको जोखिम कस्ता उमेर समूहमा बढी छ ?

युवामा मुटु रोग बढेको हो । नेपालमा पनि स–साना अनुसन्धान भएका छन्, जसले बढेको स्पष्ट संकेत गर्छन् । हामीले गरेकै अनुसन्धानमा पनि ४० वर्ष मुनिकालाई हार्ट अट्याक भेटिएको छ । मुटु रोग विभिन्न किसिमको हुुन्छ । जन्मजात रोगी, मुुटुको बाहिरको झिल्लीमा हुने, मुटुको भल्भ, मुटुको पम्प क्षमता कम गर्ने, उच्च रक्तचाप रहेका छन् । 

त्यसमध्ये मुटुमा रक्त सञ्चार गर्ने कोरोनरी आर्टरीमा बोसो थुप्रिएर, कुनैबेला बोसो फुट्ने र अनि रक्तनली बन्द गर्ने भयो भने हृदयघात हुन्छ । हृदयघातको घटना बढिरहेको छ । त्यसमा जीवनशैली नै प्रमुख कारण हो । 

रक्सी, चुरोट, खैनी सुर्ती खाने, सुगर र प्रेसरको औषधि नखाने, व्यायाम नगर्ने मान्छेलाई हृदयघात हुन्छ । यो सँगगँगै वंशाणुगत हुन्छ । अझ दक्षिण एसियामा त युवालाई हार्ट अट्याकको समस्या दुखिएको छ । हामीकहाँ २३ वर्षको एक युवकलाई मुटुको नशा फुटेको उदाहरण छ । जन्मजात कोलेस्ट्रोल रोग लागेको, बढी चुरोट पिउने र सानैमा मधुमेहको रोग लागेका युवालाई हार्ट अट्याक बढी हुने गरेको छ । 

कुन उमेर समूहलाई मुटुु रोग जोखिम कम छ ? 

मुटु रोगका प्रकार धेरै छन् । सबैलाई एउटै टोकरीमा हालेर हेर्न मिल्दैन । सामान्यतयाः संसारभरि ४० वर्षभन्दा माथिको मानिसलाई हृदयघात हुन्छ । त्यसमा पनि पुरुष बढी जोखिममा छन् । महिनावारी रोकिइसकेको करिब ५०–६० वर्षको महिला र त्यही उमेरका पुरुषलाई  हृदयघातको जोखिम बढेको देखिन्छ । 

मुटु रोगको लागि उपचार विधि कति आधुनिक छ नेपालमा ?

मुटु रोगको एड्भान्स विधि हामी कहाँ मनमोहन कार्डियोथोरासिक भास्कूलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै छ । यस्तै, गंगालालमा पनि एड्भान्स उपचार पाइन्छ ।

मनमोहनमा मुटुको भल्भको सर्जरी, मुटुको नशाको रोगको बाइपास सर्जरी, जन्मजात मुटुको रोगको अप्रेसन, मुटुको हार्ट अट्याक भएर आयो भने तुरुन्तै २४ सै घण्टा इमर्जेन्सीमा बन्द भएको रक्त नली जाली हालेर खोल्ने काम गरिन्छ । मुटुमा पेश मेकर राख्ने गरिन्छ । हामी कहाँ नभएको भनेको हार्ट ट्रान्सप्लान्ट मात्रै हो । 

यो पेशामा जनशक्ति कस्तो छ ?

म विद्यार्थी हुँदा पनि त्यही १० देखि १२ जना डाक्टर हुनुु हुन्थ्यो । अहिले मनमोहनमा ४ वटा विभाग छ, जसमा कार्डिओलोजी एक हो ।

पहिले एउटै मात्र विभाग थियो । अहिले धेरै विभाग हुँदा डाक्टरको संख्या बढेको हो । हामी कहाँ १० जना छन् कार्डिओलोजी विभागमा । तर भर्खरै आएको तथ्यांकले एउटा डाक्टरको भागमा करिब १५ हजार बिरामी पर्छन् । जनसंख्या बढेअनुरुप जनशक्ति अझै पुगेको छैन ।

खानपिन र मुटु रोगबारे प्रचारप्रसार गरे पनि घट्नुको साटो बढिरहेको छ, कारण के होला ?

टिलिक्क परेको ठाउँ, सफा पहिरन र आकर्षक खानाको विज्ञापन देखेपछि मान्छे लोभिन्छ । रेस्टुराँको खाना र फास्टफुड राम्रो रहेछ भनेर मान्छे बाहिर खान थाल्छन् । 

यसमा स्वस्थ खानपिनको संस्कार बढाउने जिम्मा राज्यको हो । ठाउँ–ठाउँमा स्वास्थ्य सुविधा राखिदिनुपर्छ । त्यसपछि समाज र पत्रकार सबैले जनचेतना फैलाउनुपर्छ । आम मानिसलाई मोटो हुनु खान्दानी होइन रोगको लक्षण हो भन्ने बुुझाउनुपर्छ । यसमा समय लाग्छ । अहिले जनता सचेत त भएका छन्, तर पूर्ण सचेत भएको दाबी हामी गर्न सक्दैनौ । विस्तारै सचेतना कार्यक्रम गरेर रोग लाग्नुभन्दा लाग्नै नदिने अवस्था ल्याउन सकिन्छ । तर त्यसको लागि सबैले प्रयास गर्नुपर्छ । 

मुटुरोग सम्बन्धी थुप्रै भ्रम छन् । सामाजिक सञ्जालले ति भ्रम फैलाएको देखिन्छ । त्यसको निवारण के होला ?

उच्च रक्त चापको औषधि खायो भने छोड्नै हुँदैन, त्यही भएर हामी औषधि नै नखाउँ भन्ने छन् । यो मुटु रोगसम्बन्धी फैलिएको भ्रम हुन् । ब्लडप्रेसर भनेको लगातार उच्च हुने कुुरा हो, यो स्लो पोइजन हो । करिब ९० प्रतिशत मानिसलाई ब्लडप्रेसर बढ्यो भनेर थाहा हुुँदैन । 

त्यसले विस्तारै शरीरको मुटुु, मिर्गौला, नशा र आँखामा असर गरिरहेको हुुन्छ । मान्छेलाई थाहा हुँदैन कि ब्लडप्रेसरको औषधि खाएन भने त्यसले बिगार्छ । धेरैजसो जीवनभर खानुपर्छ भन्छन् । हो हामीले खाएको खाना खाएको ६ देखि ८ घण्टा पछि फेरि भोक लाग्छ ।

त्यस्तै, हामीले खाएको औषधिले १२ देखि २४ घण्टा काम गर्ने हो । त्यो भन्दा बढी काम गर्ने औषधि बनाएको छैन । त्यसैले नियमित खानुपर्छ । जाँच गरेपछि ब्लड प्रेसरको औषधि घटाउन सकिन्छ । व्यायाम र खानपानमा सुधारले प्रेसर कम गर्न र कहिलेकाहीँ औषधि बन्द गर्न पनि सकिन्छ । 

खाएपछि छोड्नै नमिल्ने भन्ने गलत हो । औषधिको साइड इफेक्ट हुन्छ भन्ने भ्रम छ । हो, कुुनै औषधिको साइड इफेक्ट हुन्छ । तुलनात्मक रुपमा जे गर्दा  फाइदा हुन्छ, त्यही गर्ने हो । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्