site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
‘सोचेझैँ जिन्दगी रै’नछको छायामा परे यो वर्षका मेरा गीत 

युवा लोकदोहोरी गायक, संगीतकार, लेखक खेम सेन्चुरीले कोरोना कहरबीच पनि यो वर्ष तिजका लागि एक दर्जनभन्दा धेरै गीत बजारमा ल्याइसकेका छन् । यद्यपि, उनका यो वर्षको तिजलक्षित गीतभन्दा पनि गत सालको उनी र मधु क्षेत्रीको स्वर रहेको ‘सोचेझैँ जिन्दगी रै’नछ’ नै बजारमा चर्चित छ । यसको कारण उनी महामारीले निम्त्याएको परिस्थितिलाई मान्छन् । कोरोना कहरबीच करोडौँ लगानीमा आएका तिज गीतको प्रतिफल, तिज गीतमा शब्द चयन विवाद र महामारीबीच तिजको योजनालगायत विषयमा गायक खेम सेन्चुरीसँग बाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानी :

तपाईं त कोरोनाको त्रासबीच पनि तिजमा व्यस्त हुनुहुन्छ नि ?
केहीले भ्याक्सिन लगाइसकेकाले आत्मबल पनि बढिरहेको छ । डर केही कम भइरहेकाले चाडबाड नजिकिएसँगै हामी कलाकारहरू सकारात्मक भएर काम गरिरहेका छौँ । कोही विदेशको कार्यक्रम त कोही देशमै हुने कार्यक्रमको तयारीमा छन् । हामी पनि रिहर्सल गरिरहेका छौँ । नयाँ सपना र जोसहरू झांगिँदै छन् भनौँ न ।

अवस्था सहज बन्दै गएको हो ?
चाडबाड नजिकिँदै गरेकाले हामी सर्जकका नाताले सावधानी अपनाएर गीत रेकर्डिङ, छायांकनको काम त गरिरहेकै छौँ । कार्यक्रमहरूमा मात्रै निर्भर हुनेहरूलाई गाह्रै भएको छ । तर, यसले समग्र कलाकारहरूलाई नै असर पुगेको छ ।

Argakhachi Cement Island Ad

यो वर्ष पनि तिज गीत बजारमा ल्याउनुभएको छ । प्रतिक्रिया कस्तो पाइराख्नुभएको छ ?
यो वर्ष पनि मैले १६ वटा गीतहरू बजारमा ल्याएँ, तर पहिलाजस्तो भएन । हुन त यीमध्ये कति समसामायिक अनि रमाइलो शैलीका गीत छन् ।

यो वर्ष यति धेरै नयाँ तिज गीत ल्याउँदा पनि गत वर्षकै ‘सोचेझैँ जिन्दगी रै’नछ’को ओझेलमा परेको हो ?
यो कुरा मैले पनि महसुस गरेको हो । धेरै ठाउँमा मेरो अहिलेका गीतभन्दा ‘सोचेझैँ जिन्दगी रै’नछ’ गीतलाई प्राथमिकता दिँदै नाच्दै, गाउँदै गरेको देखेँ मैले । समग्रमा पोहोर साल पनि अरू गीतभन्दा त्यही गीतलाई धेरै रुचाइएको थियो । समय–परिस्थिति नै त्यस्तै भएकाले पनि हुनसक्छ ।

यो वर्ष रिलिज भएको विष्णु माझीको गीत ‘चरी जेलैमा’ पनि, एक किसिमको जेलमा जस्तै त हो नि हामी । महामारीका कारण कति आँटेका कुरा, रहरहरू पूरा हुन पाएनन्, सपनाहरू पूरा गर्न पाइएन । यो समयसापेक्ष भएका कारण यी गीतहरू दर्शकले धेरै रुचाउनुभएको हो कि जस्तो लाग्छ ।

धेरै स्रोता–दर्शकको रोजाइको सिर्जनाका लागि के गर्नुपर्ने रहेछ ? 
हामी सर्जकले एउटा माध्यम पनि समात्न सक्नुपर्छ । हामीले सबै पाटोलाई मध्यनजर गर्नुपर्ने हुन्छ । मन छुने शब्द चयनका साथै समय र माहोल हेरेर सिर्जना गर्नुपर्छ जस्तो मलाई लाग्छ । सकेसम्म पहिलाको र अहिलेको दुवै पुस्ताका दर्शकले मन पराउन् भन्ने सोचसहित हामीले सिर्जना गर्नुपर्छ । तर, यति भनिरहँदा हामीले सबैखालका गीतहरू बनाउनु र गाउनुपर्ने हुन्छ ।

मेरो आफ्नै कुरा गर्नुपर्दा म मौलिक र नेपालीपन खोज्छु र प्राथमिकता दिन्छु ।

टिकटक गीत बज्ने माध्यम हुन् । तर, टिकटकले गर्दा गीत चल्छ भन्ने कुरामा म त्यति विश्वास गर्दिनँ । अडियो मन परेपछि बल्ल मानिसले टिकटक बनाउने हो । केही अपवादमा टिकटकबाट भ्युज बढ्नु स्वाभाविक हो । तर, त्योभन्दा पनि आफ्नै सिर्जना राम्रो हुनुपर्छ ।

तिज गीतमार्फत महिलाले आफ्नो कथाव्यथा पोख्ने गर्छन् तर, पछिल्लो समय तिज गीतमा शब्द चयनलाई लिएर विवाद छ नि ?
तिज हिन्दु महिलाले मान्दै आउनुभएको पर्व हो । तर, पहिलाजस्तो तीन दिन तीन रात काटेर बल्ल माइत पुगेर वर्षभरिको दुःख पोख्ने समय अहिले छैन । समय परिवर्तन भइसकेको छ । होला, कहीँ–कतै अहिले पनि त्यस्तै होला । तर, पहिलाभन्दा समय सकारात्मकतातर्फ लम्किसकेको छ ।

महिलाको पर्व भनिरहँदा हामी पुरुष सर्जकहरूले पनि यसमा उहाँहरूलाई गीतमार्फत साथ दिइरहेका छौँ । आजको विसंगति र विकृतिको कुरा गर्दैगर्दा क्षणिक लोकप्रियता कमाउने सोच भएकाहरूले त्यस्तो भड्किलो गीत बजारमा ल्याउने हो । यसमा सेन्सर पक्कै लाग्नुपर्छ । तर फेरि हामीले मात्रै भनेर पनि हुन्न, किनभने राज्यले नै यसमा कुनै मापदण्ड बनाइदिएको छैन ।

दुर्गेश थापाको सवालमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको निर्णय उचित थियो ?
दुर्गेशलाई प्रतिष्ठानको सदस्यबाटै हटाउनुपर्ने, बहिष्कारै गर्नुपर्ने थियो जस्तो मलाई लाग्दैन । लोकशैली भने पनि उहाँको आफ्नै शैली र भाका छ । त्यहीअनुरूप उहाँका फ्यानहरू हुनुहुन्छ ।

लोकभाका भनेको हाम्रो मौलिक भाका हो । यसको गुणस्तरकै लागि हाम्रो अभिभावकको रूपमा प्रतिष्ठान छ । तर, यो कुरामा उहाँलाई सम्झाएर आगामी गीतहरूमा यस्तो नगर्ने वाचासहित अघि बढेको भए हुने थियो कि जस्तो मलाई लाग्छ ।

कोरोना महामारीबीच पनि तिज गीतका लागि करोडौँ लगानी भएका छन् । सबैले लगानी उठाउँछन् ?
गीतको संख्यामा कमी आएर गुणस्तरीय ५/६ वटा मात्रै गीत बजारमा आएका भए पक्कै सबैले लगानी उठाउन सक्थे होला । तर, अहिले त क्वालिटीभन्दा पनि क्वान्टिटी मात्रै बढी छन् । तिजलक्षित नै सयौँ गीतहरू आइरहेका हुन्छन् । अझ, कोरोनाका कारण लगानी उठाउन निकै गाह्रो छ । मलाई लाग्छ, एकाध गीतले मात्रै आफ्नो लगानी उठाउन सफल बनेका छन् । जसमध्ये प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’, विष्णु दिदीको ‘चरी जेलैमा’लगायत केही गीतहरू मात्रै छन् होला ।

तिज विशेष कार्यक्रम छ कि छैन ?
कार्यक्रम छ । विस्तारै चहलपहल बढ्न थालिसकेको छ । काठमाडौंलगायत काठमाडौंबाहिर पनि केही कार्यक्रमहरू छन् । तर, गर्ने कि नगर्ने भन्ने अन्योल छ । त्यसैले यदि काठमाडौंबाहिरको कार्यक्रम हुने तय भयो भने बाहिरै हुनसक्छु । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:३५
प्रतिक्रिया दिनुहोस्