
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयको सोमबारको बैठकले असोज १ गतेदेखि विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले जनस्वास्थ्यका मापदण्ड अपनाएर असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो ।
कोभिड १९ को महामारीको पहिलो लहर सकिएपछि केही समय खुलेका विद्यालय दोस्रो लहर सूरु भएसँगै झन्डै दुई वर्षदेखि बन्द छन् । कोभिड १९ को जोखिम कायमै रहेको अवस्थामा विद्यालय अब भौतिक रुपमै सञ्चालन सञ्चालन गर्ने प्रशासनको निर्णयलाई जनस्वास्थ्यविदहरुले कसरी लिएका छन् ?
नेपालमा अहिले दैनिक थपिने कोभिड १९ संक्रमितको संख्या २ हजारको हाराहारीमा छ । देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहँदा काठमाडौं उपत्यकामा मात्रै ७ हजार ३१० सक्रिय संक्रमित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षण गरेकामध्ये पछिल्लो साता संक्रमण पुष्टि हुने टेष्ट पोजेटिभिटी दर १५.५ प्रतिशत छ । यो दर अघिल्ला महिना तथा साताहरुको तुलनामा कम भए पनि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नियन्त्रण भएको अवस्था भने होइन, संगठनले टेष्ट पोजेटिभिटी दर ५ प्रतिशतभन्दा कममा झरेपछि मात्रै संक्रमण नियन्त्रण भएको मानिन्छ ।
यो अवस्थामा सोमबार काठमाडौं जिल्ला प्रशासान कार्यालयले कोभिड १९ संक्रमणको अवस्था विश्लेषण गरी नगरशिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी विद्यालय खोल्न पाउने निर्णय गरेको हो । अर्थात् सम्बन्धित नगरको अवस्था हेरेर स्थानीय प्रशासनले पनि यो विषयमा निर्णय लिन पाउने व्यवस्था छ ।
अहिले नै विद्यालय खोल्ने अवस्था छैन
कोभिड १९ संक्रमणको जोखिमका हिसाबले अहिले नै विद्यालय खोल्ने अवस्था नरहेको केही विज्ञहरुको धारणा छ । चाडपर्व नजिकिँदै गर्दा संक्रमण बढ्ने जोखिम झनै बढेकाले दशैंपछि मात्रै विद्यालय खोल्ने अवस्था बन्नसक्ने बाल चिकित्सकहरुको संघ नेपाल पिडियाट्रिक सोसाइटीका अध्यक्ष डा. गणेशकुमार राई बताउँछन् । पाँच वर्षमुनिका बालबालिकालाई त मास्कले फाइदाभन्दा बेफाइदा बढी गर्ने उनको भनाइ छ । “बुझ्ने उमेरका विद्यार्थीले त स्वास्थ्यका मापदण्ड पालना गर्लान् तर नबुझ्ने उमेरका बालबालिकालाई कसरी मापदण्ड पालना गराउन सम्भव होला ? कमसेकम उनीहरुलाई कोभिड १९ विरुद्धको खोप दिएर विद्यालय सञ्चालन गरे पनि जोखिम अलि कम हुनसक्छ,” डा. राई भन्छन्, “यदि उच्च संख्यामा बालबालिका संक्रमित भए उनीहरुको उपचारका लागि हामीसँग प्रशस्त पूर्वाधार तथा जनशक्ति पनि पर्याप्त छैन त्यसैले अहिले नै विद्यालय अवस्था बनिसकेको छैन ।”
बालबालिकालाई खोप लगाएर विद्यालय खोल्ने की ?
हालसम्म नेपालमा कोभिड १९ विरुद्धको खोप १८ वर्षमाथिका नागरिकलाई मात्रै दिइँदै आएको छ । यो अवस्थामा खोप दिएर मात्रै विद्यालय भौतिक रुपमा सञ्चालन गर्नुपर्ने धारणा राख्छन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बासुदेव पाण्डे । “दोस्रो लहरको कोभिड १९ संक्रमणमा हाम्रा धेरै बालबालिका सं्रकमित भएका थिए यस हिसाबले तेस्रो लहर आएको खण्डमा पनि उनीहरु नै जोखिममा छन्, त्यसैले बालबालिकालाई खोप दिएर मात्रै विद्यालय खोल्ने निर्णय गरेको भए हुन्थ्यो,” उनी भन्छन्, “ यदि खोल्ने नै हो भने उनीहरुका घरदेखि विद्यालयसम्मका हरेक क्रियाकलापमा निगरानी हुनु जरुरी छ ।” एकैदिन सबै विद्यार्थीलाई नबोलाएर दिन बिराएर बोलाउने र भीडभाड कम गर्ने विकल्प अपनाउन सकिने उनको धारणा छ । तर, त्यसो गरिरहँदा पनि जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गरिनुपर्ने डा. पाण्डे बताउँछन् । अन्यथा अहिले हतार नगरेर खोप लगाएपछि मात्रै विद्यालय भौतिक रुपमा खोल्नु पर्नेमा उनको जोड छ ।
कहिले पाउँछन् बालबालिकाले खोप ?
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि दिन कोभिड १९ विरुद्धको फाइजर र मोर्डनाको खोप ल्याउने तयारी गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाकालाई दिन ४० लाख डोज मोर्डना खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको र त्यसकोे शुल्क भुक्तानीसमेत भइसकेको बताउँछन् । त्यस्तै ६० लाख डोज फाइजरको खोप ल्याउने प्रक्रिया अघि बढाइएको राज्यमन्त्री श्रेष्ठले बताएका छन् ।
यो अवस्थामा विद्यालय खोल्ने÷नखोल्नेबारे मन्त्रालयले भने केही बोलेको छैन ।