
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) इतिहासकै कठिन मोडमा छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भदौ ९ गते केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गरी पार्टी दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।
एमालेमा नेता नेपाल पक्षमा उभिएको ठूलो पंक्ति यतिबेला तेस्रो धारमा छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे कार्यान्वयन गर्न र नेपाललाई दल दर्ता रोक्न माग गर्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावललगायतका नेताहरु पार्टी एकताको पक्षमा उभिएका छन् । अर्थात् उनीहरुले पार्टी विभाजनमा नेपाललाई साथ दिएका छैनन् ।
एमालेमा लामो समय माधव नेपाल पक्षमा उभिएकी नेतृ अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी छन् ।
नेता नेपालले अलग पार्टी दर्ताको निवेदन दिएको दिनमा नै मुख्यमन्त्री बनेकी शाक्यसँग बाह्रखरीका कुञ्जरमणी भट्टराईले कुराकानी गरेका छन् ।
पार्टी विभाजन भएको छ । गम्भीर अवस्थामा मुख्यमन्त्री बन्ने अवसर कसरी जुर्यो ?
चुनौती, अप्ठेरा त पक्कै छन् ।
यी सबै कुरा बुझेर पनि हामीले वाग्मतीबाट एकताको प्रयास गर्यौँ । वाग्मतीमा पनि हिजो राम्रो थिएन । केन्द्रको विकृति तल पनि सरेको थियो । एउटै पार्टीमा अलग अलग भएपछि पछि त बिग्रियो नि ! यो कुरा हामीले पनि महसुस गर्यौँ । मैले आफैंले पनि मिलेर जानुपर्छ भनेर पहल गरेँ । दलको बैठकमा पनि पटक–पटक सम्झाएँ ।
अब सबैको मिलेर जानुपर्छ भन्ने कुरा भयो । नीति, बजेट त्यही ढंगले पास गर्यौँ ।
एकपक्षीय सरकार थियो । मिलेरै सरकार बनाउने भनेर सल्लाह गर्यौँ । समझदारीका विषय माधव नेपाल र केपी ओलीसँग पनि राख्यौँ । केपी ओलीले अष्टलक्ष्मीजी तपाईं अघि बढ्नुस् भन्नुभयो । हिजो चाहिँ समस्या भयो, दिन सकिएन । त्यसलै मैले आलोचना पनि खेप्नुपर्यो । त्यतिबेला नै एउटा महिला मुख्यमन्त्री पनि हुन्थ्यो । त्यति बेला आन्तरिक पार्टीको आन्तरिक समस्याले सकिएन । अहिले साथ दिन्छु अघि बढ्नुस् भन्नुभयो ।
मैले माधव नेपालसँग पनि कुरा राखेँ । उहाँले अघि बढ्नुस् भन्नुभयो । दुवै नेताको साथ पाएपछि मुख्यमन्त्री भएको हुँ ।
एकअर्काले साथ दिएको भन्ने दुवै नेतालाई थाहा छ । उहाँहरु नमिले मिलाउने काम मेरो पनि हो भनेर म अघि बढेँ ।
दुवै नेताको साथ पाएर मुख्यमन्त्री बनेँ भन्नुभयो । पार्टी विभाजन भइसक्दा पनि यहाँहरु पार्टी एकताका लागि भनेर लागिरहनु भएको छ । अब कसरी अघि बढ्नुहुन्छ ?
पार्टी विभाजन नहुनुपर्थ्यो । विभाजन हुनु भनेको दुःखद् घटना हो । हामीले पहिले पनि विभाजनको पीडा भोगिसकेका छौं ।
यसको मूल कारण चाहिँ अध्यक्ष केपी ओलीले माधव नेपाल र झलनाथ खनाललाई सम्मान दिएर सबैलाई अटाएको भए यो अवस्था आउने थिएन । उहाँको अत्यन्तै संकिर्णता भयो ।
नेकपा एमाले बनाउँदा त दुःख त्याग बलिदान सबैले गरेको छ । केपी कमरेडको एक्लैको त्यागले त पार्टी बनेको होइन ।
सबैको त्याग छ एमाले निर्माणमा ।
मदन भण्डारीले दुःख गर्नुभयो । उहाँ अहिले हुनुहुन्न । हामी सबैले दुःख गरेर निरंकुश पञ्चायती व्यवस्थासँग लडेर संघर्ष गर्दै जनताका बीचमा बसेर संगठन निर्माण गर्दै पार्टी बनाएको हो ।
यस्तो पार्टीलाई साँघुरोमा, विचलनमा पुर्याइयो । आम कार्यकर्ताको पंक्ति निराश छ । जनताले विश्वास गरेको नेकपा एमाले संकुचित भएको छ । यो दुःखलाग्दो कुरा हो । यो हुनु नेतृत्वको कार्यक्षमतामा कमजोर हुनु नै हो । व्यवहार, कार्यशैली फराकिलो नहुँदा यो हालतमा पुगियो । नेकपा एमाले कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ ।
गणतन्त्र कमजोर हुन्छ । कम्युनिस्ट आन्दोलनको मूल शक्तिको रुपमा स्थापित भएको पार्टी हो ।
जनताले माया दिएर मतमार्फत केन्द्रीय, प्रदेश, स्थानीय तहमा वर्चस्व गरेर शासन चलाउन जिम्मा दिएका थिए । नेतृत्वको, अहम, दम्भ र गलत क्रियाकलापले यो अवस्थामा पुग्यो । त्यसकारण हामी पीडामा छौं । पार्टी विभाजन पनि यति छिटै गर्नुहुँदैनथ्यो । नगर्नुपर्थ्यो । किनभने हामीले भन्यौं, केपी ओलीसँग लडेरै नेकपा एमाले बनाउने हो । हामी पार्टीको विकृतिसँग लडेर नै बसेका थियौं । पार्टीमा समस्या आयो, संकट आयो भनेर टुक्राटाक्रे, अलग अलग हुने हो भने त त्यसले केही गर्न सक्दैन । वैचारिक संघर्ष पार्टीभित्रै गर्ने हो । अध्यक्ष ओलीको दम्भले हामी पार्टीभित्र छिर्नै पाएनौं । माधव नेपाल छिर्नै पाउनुभएन । एकतालाई बलियो बनाउन अध्यक्षले स्थान दिन सक्नुभएन ।
लामो समयसम्म माधव नेपालसँग रहनुभयो । पार्टी विभाजनमा उहाँलाई साथ दिन सक्नुभएन नि ! यस्तो अवस्था किन आयो ?
म विभाजनको पक्षमा कहिल्यै रहिन । ०५४ सालमा पनि पार्टी विभाजन भयो । म त्यतिबेला पनि पार्टी विभाजनको विरुद्ध उभिएको थिएँ । वामदेव कमरेड, साहना कमरेड लाग्नुभयो । त्यतिबेला पनि नमज्जा लाग्यो । यो विभाजन टिक्दैन । दुई–चार वर्षपछि नेकपा एमालेमा फर्कनुपर्छ । हौसिएर यस्तो काम गुर्नहुँदैन भनेर त्यतिबेला मैले विरोध गरेको थिएँ ।
मैले पार्टी विभाजनका लागि कहिल्यै भूमिका खेलिन् । पार्टी एकता गर्ने, पार्टीलाई वैचारिक संगठनको हिसाबले बलियो बनाउने कुरामा म सँधैभर दृढतापूर्वक उभिँदै आएको छु । त्यसैले मलाई गाह्रो भयो । मेरो सम्पूर्ण त्याग, योगदान, जीवन त नेकपा एमालेमा नै हो नि । पार्टीलाई चटक्कै छाडेर जान सकिएन । जान सक्दिन । त्यसो भनिरहँदा म नेकपा एमालेको उपाध्यक्ष हुँ ।
तर, एमालेभित्र छिरिरहेको छैन । छोड्न सक्ने वातावरण पनि छैन । मेरो लागि मात्रै होइन् भीम रावल, युवराज ज्ञवालीसहितको ठूलो पंक्ति एमालेभित्रै पनि बाहिर छौँ । अहिले हामी एमालेको पदाधिकारी भए पनि एमालेभित्र छैनौं ।
फुटको पक्षमा त लाग्ने कुरै भएन । दु्ईटा पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । नेतृत्व र सिंगो नेकपा एमाले एकताबद्ध बनाउनुपर्छ । चित्त नबुझ्दा चटक्कै छाडेर विभाजन गरेर जाने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ ।
विभाजनले शक्ति पैदा हुँदैन । एकता भएपछि न पार्टी बलियो हुन्छ । अनि त्यसले नै नेतृत्व गर्न सक्छ ।
नेतृत्वमा विचारमा विचलन आयो । लोकतन्त्र गणतन्त्रमाथि पनि जवाफदेही भएन ।
जनताको माया ममता, विश्वाससँग नेतृत्व जवाफदेही बनेन । सबैकुरा चटक्कै त्यागेर हिँड्नुभयो । गलत काम भयो । दुवैतिर (ओली–नेपाल)बाट बेठिक काम भयो । उहाँहरु अत्यन्त संकिर्ण बन्नुभयो । मुलुकमा लोकतन्त्र, गणतन्त्र, संघीयता बलियो होस्,
समाजवादको लक्ष्य प्राप्त गर्ने भनिरहँदा यस्तो संकुचित मनले त नेतृत्व गर्न सकिँदैन । यस्तो शैलीले नेतृत्व गर्न सकिँदैन नि !
त्यसैले हामीले एकताको पक्षमा दृढतापूर्वक उभिनुपर्छ । अघि बढ्नुपर्छ । दुवै नेतालाई सम्झाउनुपर्छ । १० बुँदे प्रस्तावलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ, १४ जनालाई कारबाही गरिएको छ, नेताहरुको बारेमा जथाभावी बोलिएको छ । यी कुराहरु सुहाँउदा छैनन् । हामीले एकताको पक्षमा उभिनुपर्छ भनेर ठूलो पंक्ति एकताको पक्षमा छौं ।
शुक्रबार मात्रै ५७ जना बसेर छलफल पनि गर्नुभयो । अध्यक्षलाई १० बुँदे कार्यान्वयन गर्न केही दिनको अल्टिमेटम पनि दिनुभएको छ । अल्टिेमेटम पूरा नभए के गर्नुहुन्छ ?
केही समय लाग्छ । राम्रो कुरा प्राप्ति गर्न त दुःख गनैपर्यो नि । संकट आइसकेपछि आत्तिएर, अतालिएर, निराश भएर के गर्नु ? यत्रो जिन्दगी त समर्पण गरिसक्यौँ । पार्टी भनेर सबै कुरा त्यागेर लागेँ । आज यो अवस्थामा आइसक्यो । हाम्रो आधाआधि उमेर सकिइसक्यो । यस्तो अवस्थामा निराश र विचलित भएर के गर्ने ? मैले पनि मेरो पछाडिको पुस्ता हेनुपर्यो नि । मलाई साथ दिने, नेकपा एमालेलाई साथ दिने पंक्ति विशाल, लाखौं छ । त्यसलाई चटक्कै विर्सन सकिन्छ ? तर, नेतृत्वले सबै कुरा बिर्सियो । थोरै मान्छे बोकेर आन्दोलन हाँक्न सकिँदैन ।
आन्दोलन सफल हुन सक्दैन । दुवै (ओली–नेपाल) तिर समस्या भयो । त्यसमा पनि ओली कमरेडको संकिर्ण आचरणले सबै कुरा बिग्रियो । त्यसैले लामो समय त यो अवस्था राख्नै हुँदैन । दुईचार दिनमा निर्णय गर्नैपर्छ ।
आफ्नो जिम्मेवारीका कारण म धेरै लाग्न सक्दिन । युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे सबै लाग्नु भएको छ । मैले फुर्सदमा उहाँहरुसँग छलफल गरिरहेको छु ।
हामी कमजोर भएर, लत्रक्कै परेर छोड्दैनौं । गइहालौं न नि भन्ने पक्षमा छैनौं । मैले त उहाँहरुलाई पनि भनेको छु । यहाँहरु त युवा हुनुहुन्छ । अबको युवाले कतिपय विकृति विसंगतिसँग लड्ने आँट गरेर सिंगै पार्टीलाई नयाँ सोचमा रुपान्तरण गरेर, नयाँ संस्कारको विकास गरेर नेतृत्व गर्न सक्नुपर्यो । नभए त जुन सरकार आए पनि उस्तै ? जनताले लोकतन्त्र गणतन्त्रको अनुभूति कहिले गर्ने ? पार्टी राम्रो छ भन्ने अनुभव कहिले गर्ने ? त्यसलै स्थिति परिवर्तन भयो, व्यवस्था परिवर्तन भयो । तर हाम्रा नेताहको सोच परिवर्तन भएन । त्यही सामन्ती संस्कार, त्यही संकिर्णता त्यही गुटबन्दीले गाह्रो छ ।
ओलीले १० बुँदे नि कार्यान्वयन नगर्ने, माधव नेपाल पार्टी दर्ता भएर अघि बढ्ने अवस्थामा पनि तपाईंहरु एकताकै पक्षमा कहिलेसम्म बसिरहने ?
त्यस विषयमा हामी सल्लाह गर्छौं । मैले भने नि ! विभाजनले शक्ति दिँदैन । विभाजनले हामीलाई कहाँ पुर्याउँछ ? अहिले पो बाहिर छौं । जनताको घरमा गएर भोट माग्ने बेलामा थाहा हुन्छ हामी कहाँ छौं ? यो कुरा बिर्सनहुँदैन । छिटै आफूले गल्तीहरु सच्याउनुपर्छ । आफूलाई परिवर्तन गुनुपर्छ । हामीले केका लागि राजनीति गर्ने ? ।
पार्टी नमिल्ने नै हुँदा तपाईं नयाँ पार्टीमा जानुहुन्न ?
त्यस्तो हुन सक्दैन । अहिले हुन सक्दैन । दुवै आदरणीय नेता हो । हिजोका दिनसम्म एकै ठाउँमा बसेर आएको हो । आज पो कुरा मिलेन, मनमुटाव भयो । म एउटाको पक्षमा भएर एकजनालाई बोक्ने पक्षमा छैन । मलाई हिजैदेखि त्यो कुरा मन परेन ।
मैले सिकेको इमान्दारी, जवाफदेही राजनीति गर्नैपर्छ भन्ने नै हो, सिकेको त्यही हो । त्यसैले दुवै नेतालाई अन्तिमसम्म मिलाउने कोशिस गर्छु । एक–दुई वर्ष लाग्ला । ०५४ मा तीन वर्ष लागेको थियो । समय लाग्ला, अलिकति नोक्सान होला । घाटा त लागिसक्यो । मिलेर जाने प्रयास हामीले गर्नुपर्छ । उहाँहरुले पनि छोड्न पाउनुहुन्न । हामी एकताका लागि लागिरहन्छौं ।