site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रतियोगिता अघिमात्र प्रशिक्षण गराउने भए संघको औचित्य के ? 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट डिभिजन–२ का लागि बन्द प्रशिक्षण थाल्यो । कोरोना महामारीका कारण घरमा बसेको क्रिकेट टोलीले बन्द प्रशिक्षणको अवसर पायो । 

असार ८ गतेबाट बन्द प्रशिक्षण थालेको नेपालले कोरोनाका कारण केही दिनको प्रशिक्षणपछि खेलाडी पुनः घरमा पर्खिए ।

नेपाली क्रिकेट टोलीले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा मात्र बन्द प्रशिक्षणको मौका पायो । नेपाली टोलीले खेलेका धेरै प्रतियोगितामा कम प्रशिक्षण हुँदा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न नसकिएको टिमका प्रशिक्षक तथा खेलाडीको गुनासो छ । 

यता खेलको विकासको नारा लगाउन संघहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुभन्दा पहिलामात्र प्रशिक्षण थालनी गर्दछन् । 

उनीहरु संघमा आउनुपूर्व भने खेलाडीलाई १२ महिना नै प्रशिक्षणमा राख्नुपर्ने हुन्छ । तर, नेपाली क्रिकेट टोलीले १२ महिना लगातार प्रशिक्षण गरेको इतिहास भने छैन ।

नेपाली टोलीको प्रशिक्षणका लागि आवश्यक स्रोत जुटाउने काम क्यानको हो । क्यनले पनि आवश्यक स्रोत जुटाउन नसकेमा भने आईसीसीसँग समन्वय गरेर प्रशिक्षणका लागि सहयोग जुटाउनुपर्ने खेलाडीहरु नै बताउँछन् ।

नेपालमा भएका क्रिकोणात्मक सिरिज, आईसीसी डिभिजन–२ लगायतका प्रतियोगितामा आम्दानी गरेको आर्थिक रकम यहाँ लगानी गर्ने क्यानलाई मौका भए पनि हुन नसकेको गुनासो उनीहरुको छ । तर, क्यानले हालसम्म त्यस्तो कुनै प्रयास भने गरेको पाइँदैन । 

नेपाल क्रिकेट संघ क्यानका सचिव अशोकनाथ प्याकुरेलले अहिलेको प्रशिक्षण प्रतियोगिता नहुने भएकाले स्थगित गरिएको बताए । 

उनले प्रतियोगिता नहुने समयमा नियमित हुने प्रशिक्षणलाई पछि सोच्न सकिने बताए । 

आर्थिक हिसाबको पाटो एकतर्फ भएको र अन्य प्रतियोगिता लगायतका विषय अर्काेतर्फ आउने उनले बताए । 

प्रतियोगिता मात्र हुँदा प्रशिक्षण गर्ने अन्य समयमा नगर्दा संघको औचित्य के भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, “प्रतियोगिता नहुँदा पहिले पनि प्रशिक्षण हुँदैनथ्यो । यसको पाटो आर्थिक कमजोरी हो भन्ने पनि होइन । सबै कुराले साथ दिनुपर्छ, हामीले आगामी दिनमा नियमित प्रशिक्षणलाई ध्यान दिने छौं । संघ भएका कारण नै यसको आवश्यकता पनि छ ।”

यता नेपाली भलिबल टोलीले पनि एसियन भलिबल च्याम्पियनसिपमा सहभागिता नजानाउने भएपछि आफ्नो प्रशिक्षण बन्द गरेको छ । 

३६ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी बनाएको भलिबल टोलीले करिब दुई महिना प्रशिक्षण गर्‍यो । प्रशिक्षण गरिरहँदा शुक्रबार मात्र एभीसीले नेपाली टोलीलाई बाहिर राख्दै प्रतियोगिताको तालिका सार्वजनिक गर्‍यो । त्यसपछि नेपाल भलिबल संघले खेलाडीलाई रिलिज गर्‍यो । 

खेलाडी रिलिज भएपछि अब प्रशिक्षणमा सहभागिता जनाउन अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता कुर्नु पर्नेछ । यदि महिला भलिबलको अन्तर्राष्ट्रिय प्रतियोगिता नभएमा प्रशिक्षण हुने निश्चित छैन ।

उता नेपाली पुरुष भलिबल टोलीको लामो समयदेखि प्रशिक्षण गरेको छ । पुरुष भलिबल टोलीले दुई वर्ष पहिले नेपालमा भएको १३ औं साग पछि प्रशिक्षण भएको छैन । 

खेलाडीको प्रशिक्षणको विषयमा भने नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले अब केही महिनापछि महिला टोलीलाई प्रशिक्षणमा बोलाउने बताइन् । 

उनले लामो समय खेलाडीलाई होटलमा राख्दा आउने आर्थिक समस्याको कुरालाई ध्यानमा राखेर प्रशिक्षण स्थगित गरिएको बताइन् । उनले दुई महिनापछि पुनः टोलीलाई प्रशिक्षणमा बोलाउने बताइन् । 

“लामो समय खेलाडीलाई होटलमा राख्दा आर्थिक विषय उठ्छ । त्यसैले हामीले खेलाडीलाई बन्द प्रशिक्षणबाट रिलिज गरेका हौं । केही समय पछि पुन हामी प्रशिक्षणमा बोलाउने छौं । त्यसको लागि आर्थिक पाटोदेखि लिएर खेलाडी र प्रशिक्षकको समय मिल्नु पर्ने देखिन्छ,” मास्केले बाह्रखरीसँग भनिन् । 

नेपालमा अन्य खेलकुदहरु अन्तर्राष्ट्रिय प्रतियोगिता आउने केही दिनअघि मात्र प्रशिक्षण थाल्दछन् । 

साना खेलहरुमा आर्थिक विषयले गर्दा प्रशिक्षण नगर्ने भएपनि ठूला खेलहरुमा भने खेलाडीलाई सबै समय सामान्य तरिकाको प्रशिक्षण गराउन सकिने अवस्था छ । 

तर, नेपाली खेलकुदमा हाल त्यो अवस्था भने देखिँदैन । पछिल्लो प्रतियोगिताको हिसाब र अन्य हिसाबमा फुटबलको प्रशिक्षण भने हुन थालेको छ ।

भर्खरै मात्र नेपाली टोलीका मुख्य प्रशिक्षकले ३६ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा बोलाएका छन् । उनले साफ फुटबलका लागि ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर त्यसबाट ३६ जनाको टोली बनाएका हुन् । विश्वकप फुटबलको तयारी गरेको फुटबल टोली पुनः साफको तयारीमा लागेको हो । 

तर, नेपाली फुटबलमा पनि पहिलेको अवस्था दयनीय थियो । सर्वाधिक हेरिने खेलको रुपमा रहेको फुटबलमा पनि खेलाडीहरुले वर्षमा केही अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेल्ने अवसर पाउथे । अब प्रतियोगिता नहुँदा प्रशिक्षण हुन्छ कि हुँदैन हेर्न बाँकी रहेको पदाधिकारी बताउँछन् ।

यता ओलम्पिकमा सहभागिता जनाउने खेलाडीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि प्रतियोगिताको तयारी गर्न लागे । 

सुटिङकी खेलाडी कल्पना परियारले पनि प्रतियोगितामा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन पाउने भएपछि उनले तयारी गर्न थालिन् । 

त्यसअघि उनले सामान्यतः आफ्नै तरिकाले प्रशिक्षण गर्न पाए पनि अफिसियल रुपमा भने तयारी गरेकी थिइनन् । 

यता एथ्लेटिक्सकी सरस्वती चौधरीले भने ओलम्पिकका लागि १० दिन मात्र तयारी गरिन् । 

यसरी अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदामात्र एक–दुई महिना खेलाडीलाई प्रशिक्षण दिने र बाँकी समय खेलाडीको दैनिकी कसरी बितेको छ अनि उनीहरु कहाँ छन् भन्ने विषयमा जानकारी समेत नराख्ने संघको औचित्य के ? भन्ने प्रश्न लगातार उठ्ने गरेको पदाधिकारी नै बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०९:२४
प्रतिक्रिया दिनुहोस्