site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
‘सानो मलाई छोडेर मेरी आमा कुवेत किन गईन् ?’

पुस १७ २०६४ साँझः

सधैं झैं कार्टुन बनाएर म आफ्नो कार्यकक्षबाट कान्तिपुरको तेस्रो तल्लामा उक्लिएँ समाचार सम्पादकको कोठामा । अगाडिको कुर्सीमा बसेर भोलि निस्कने तस्बिर/समाचार हेर्ने मेरो दिनचर्या थियो । आफ्नो जिम्मेबारी नभए पनि म समाचार मिटिङमा सहभागी रहन्थेँ । आफूलाई लागेको कुरा राख्थेँ, प्रश्न पनि गर्थेँ । त्यस दिन एउटा समाचार खाडीको थियो । समाचारमा खाडीको केही विषय समेटिएको थियो । त्यसको एउटा परिच्छेदमा कुवेतमा मृत्युदण्ड सुनाइएको एक नेपाली महिलाको विलौना थियो, "छोराको मुख हेरेर मर्न चाहन्छु भनेर डोल्मा रोइरहेकी छिन् ।" यो त भिन्नै विस्तृत समाचार भए हुने झैं लाग्यो । सहकर्मीहरूलाई पनि त्यसै लागेको रहेछ । तर सूचना विस्तृतमा थिएन । कान्तिपुर हुनाले जति उपलब्ध छ, छापिए सम्बन्धित निकायहरूको ध्यानाकर्षण हुने थियो । समाचार देवेन्द्र भट्टराईले तयार पारेका थिए । महिलालाई हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको पाँच/छ महिना भइसकेको रहेछ । केही अधिकारकर्मी र संस्थाले जीवन रक्षाको लागि पहल गरेपनि यसअघि मिडिया, नेपाली दूतावास र सरकार यसबारे अनभिज्ञ थिए । बुझ्दै जाँदा छोरा २/३ बर्षको मात्र रहेछन् । श्रीमान पनि इराकमा कामदार । आफन्तको भरमा छोरालाई काठमाडौंमा छोडेको ।

दैनिक कति समाचार पढिन्छन्, तर यसले भने पीडा दियो । मृत्यदण्डमा अरब मुलुक अगाडि छन् । फैसला भएपछि त दण्ड पक्कै दिन्छन् नै । ती नेपाली चेलीलाई पनि देलान् नै । तर ३ बर्षिय छोरो बारे मनमा विभिन्न प्रश्न तेर्सिन थाल्यो । अहिले त सानो छ, पछि यो छोरालाई के जवाफ दिने ? उसमा अवश्य प्रश्न रहने छ यो समाज र हाम्रो राजनीतिप्रति, जुन समाजका हामी वयस्क छौं, "सानो मलाई छोडेर मेरो आमा किन कुवेत गइन्?"

Argakhachi Cement Island Ad

वास्तवमा शिक्षादिक्षामा गरिव उनकी आमालाई हाम्रो अकर्मण्यताले उनीसँग अलग्याएको थियो । अर्थात हाम्रो वेथितीले अर्थात गरिवीले उनलाई लखेटेको थियो । त्यो पनि सँधैको लागि !

कान्तिपुरमा समाचार छापियो १८ पुस २०६४ मा, 'कुवेतमा नेपाली महिलालाई मृत्युदण्ड' शिर्षकमा । त्यस समाचारको अंश थियो 'छोराको मुख हेरेर मर्न चाहन्छु भनेर उनी (डोल्मा) रोइरहेकी छन्,' नाग्पालले इमेलमा भनेका छन्- 'उनलाई दूतावासले पनि सहयोग गरेको छैन।'

\"\"मृत्युदण्डबारे समाचार प्रकाशित भएको केही दिनमै कुवेती केन्द्रीय महिला कारागारमा रहेकी डोल्मालाई रियादस्थित नेपाली दूतावासका प्रतिनिधिले भेटे । काठमाडौंमा लोकतान्त्रिक शेर्पा संघले डोल्माको जीवन रक्षाका लागि कुवेत सरकारलाई अपिल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्‌यो । त्यसअघि सुरक्षित आप्रवास सञ्जाल, पौरखी नेपाल र युनिफेमका प्रतिनिधिलगायतले साउदी दूतावास, श्रम विभाग र मन्त्रालयमा पत्राचार गरेका थिए ।

 

फिलिपिनो कामदारको हत्या अभियोगमा डोल्मालाई कुबेतका दुई अदालतले फाँसीको फैसला सुनाएको थियो । विभिन्न स्तरबाट सरकारले धेरै पहल गर्दापनि अदालतको फैसला फिर्ता हुन गाह्रो, तर मृतकका परिवारले 'ब्लड मनी' बुझे मृत्युदण्ड खारेज हुनसक्ने । यो कुराले भने मनमा आशा पलायो । यो कुरा पनि समाचारमा आएपछि संसारभर रहेका नेपाली र विभिन्न संघसंस्थाले डोल्मालाई जोगाउन वकिल र 'ब्लड मनी' जुटाउने पहल हुन थाले । आफ्नो पनि चासोसँगै र आशा पनि बढ्न थाले । साउदी, कुवेत, कोरिया फोन गर्दै सूचना सङ्कलन गर्न थालेँ ।

८ पुस २०६५ -

'धेरै खुशी लाग्यो, मित्रदाई, तपाईंलाई धेरै धेरै धन्यवाद', आफू मुत्युदण्ड मुक्त भएको खबर सुनेपछि डोल्माले कुवेतका मित्र सिंजालीलाई टेलिफोनमा भनेकी थिइन् । कुवेतका रेष्टुरेन्ट व्यवसायी सिंजालीलाई नेपाल सरकारले डोल्माबारे सोधखोज र सम्पर्कमा बसिदिन भनेको थियो । 'मैले ३ महिनाअघि नेपाली पदाधिकारीसँग गएर डोल्मालाई जेलमा भेटेको थिएँ', सिंजालीले त्यसबेला मलाई फोनमा भनेका थिए- 'उनी साह्रै चिन्तित थिइन्। तर मैले उनलाई फोनबाटै अदालतको फैसला सुनाउँदा उनी ज्यादै खुशी भइन् र भनिन् अब मलाई चाँडै नेपाल फर्कने इच्छा छ ।'

२००८ मा साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका प्रथम सचिव खड्गप्रसाद दाहालले सुनाएका थिए, 'कुवेती अदालतले डोल्मालाई फाँसीमुक्तको निर्णय सुनाएको छ । जेल सजाय त बाँकी नै छ तर चाँडोभन्दा चाँडो उनलाई छुटाउने प्रयत्न गरिंदैछ ।'

डोल्माका तर्फबाट नेपाल सरकारले १० हजार डलर ब्लडमनी फिलिपिन्सका पीडित परिवारलाई बुझाएपछि मृत्युदण्ड फिर्ता भएको थियो । खाडी मुलुक कुवेतमा सन् २००७ मा फाँसीको सजाय सुनाइएकी सिन्धुपाल्चोककी डोल्मा शेर्पा अन्तत: २००८ मा मृत्युदण्डबाट मुक्त त भइन्, तर जेल सजाय भने पुरै भोग्नु पर्यो ।

कुवेतमा आफू कार्यरत मालिकको घरमा बसेकी फिलिपिनो कामदारको हत्या गरेको अभियोगमा क्याङसिङवासी २७ वर्षीया डोल्मा शेर्पालाई त्यहाँको अदालतले मृत्युदण्ड फैसला सुनाएको थियो । मृतक युवतीको हातमा भेटिएको कपालको डीएनए परीक्षणमा डोल्माको डीएनए मिल्दो देखिएको प्रहरी दावी थियो । तर उनले सँधै यसको खण्डन गर्दै आइकी छिन् । गम्भीर समस्यामध्ये भाषाको पनि एक थियो ।

हामी सबै बेखबर थियौं

डोल्मा जेल परेको पाँच महिना बितिसक्दा पनि कुवेत पनि हेर्ने साउदी अरेवियास्थित नेपाली नियोग बेखबर थियो । डोल्माको मृत्युदण्डको फैसला भएको समाचार कुवेती पत्रिकामा छापिएपछि त्यहीँका राजु नागपालले माइती नेपालकी उमा तामाङलाई पहिलो पटक इमेलमा जानकारी गराएका थिए । 'असार (२०६४)मा राजु नागपाल भन्ने व्यक्तिले मलाई इमेल गरेका थिए । पछि हामीले सोधखोज गरेर डोल्माको वचावको लागि आवाज उठायौं', माइती नेपालकी उमा तामाङले मलाई भनेकी थिइन् । तर हिमाली लोकतान्त्रिक गणतान्त्रिक मञ्चका आङकाजी शेर्पाले पनि गुनासो पोखेका थिए- 'माइती नेपालले सुरुमा ३ महिनासम्म डोल्माको खबर आफैसँग राख्यो ।'

जेल परेकी डोल्मालाई मृत्युदण्डको सजाय सुनाइएकोबारे उनको गाउँ र परिवार पनि बेखबर थियो । गाउँका केहीले रेडियोमा सुनेका थिए तर तीनै डोल्मा हुन् भन्ने त्यहाँ कसैलाई थाहा थिएन । डोल्माका श्रीमान् आङतेन्जी शेर्पाका दुई श्रीमती रहेको र श्रीमानको फरक व्यवहारले तीनवर्षे छोरालाई काठमाडौंमा छाडेर डोल्मा कार्तिक २४, २०६२ (१० नोभेम्बर २००५) मा कामदारको रुपमा कुवेत प्रवेश गरेकी थिइन् । श्रीमान आङतेन्जी इराकमा अमेरिकी सैनिक क्याम्पमा कामदार थिए ।

"छोरा आमा खोइ भनेर रुन्छ । घरको खेतीपातीबाट खान पुग्दैन । यहाँ बसेरमात्र भएन, डोल्माले म कमाउन जान्छु भनिन् । मेरो त पठाउने विचार पनि थिएन तर के गर्ने बाध्यताले जानैपर्‍यो । अहिले मलाई ठूलो समस्या परेको छ । एक्लै केही गर्न सक्दिनँ, पढेको पनि छैन, जानेको पनि छैन । जसरी हुन्छ, उनको जीवन बचाएर नेपाल ल्याइदिन म सबैसँग अनुरोध गर्छु" - आङतेन्जीले इराकबाट फर्केपछि कान्तिपुरका दिनेश रेग्मीलाई भनेका थिए ।

डोल्माको जीवनरक्षाका लागि कानुन व्यवसायी राख्न र मृतकका परिवारलाई क्षतिपूर्ति (ब्लड मनी) दिन त्यसबेला करिब ५० लाख रुपैयाँ लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको थियो । नेपाल सरकारले ४ लाख रुपैयाँ 'सिड मनी' स्वरूप छुट्यायो र अरू ४ लाख रुपैयाँ माइती नेपाललगायत संस्थाहरूबाट प्राप्त हुने भयो । रकम संकलन गर्न माइती नेपालको संरक्षणमा नेपालमा र साउदी अरेवियामा नेपाली दूतावासद्वारा रियादको बैंकमा खाता खोलियो । गैरआवासीय नेपाली संघका तर्फबाट ५० हजार डलर सम्मको 'ब्लड मनी' संकलन गरिने भयो । खबर आएको एक महिनामै शेर्पा संघ जापानले ६ हजार २ सय पचास अमेरिकी डलर र जनसम्पर्क समिति अमेरिकाले २ हजार दुई सय एक डलर सरकारलाई हस्तान्तरण गरेको थियो र रकम संकलन कार्य सुचारु राख्यो पनि ।

राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले पनि डोल्माको ज्यान बचाइदिन कुबेत सरकारसमक्ष अनुरोध गरेको थियो । शेर्पा किदुग न्यू योर्क, नेपाल आदिबासी जनजाति र हिमालयन कम्युनिटीले स‌ंयुक्त रूपमा राष्ट्रसंघका स्थायी प्रतिनिधिलाई भेटी डोल्माको रिहाई पहलका लागी ज्ञापन पत्र हस्तान्तरण गर्‍यो । गैर आवासीय नेपाली संघका तत्कालिन अध्यक्ष उपेन्द्र महतोले पनि संघको तर्फबाट डोल्माको जीवन रक्षाका लागि कुवेती अमीर सेख सवाह अल-अहमद अल-जबर अल-सवाहलाई आग्रह गरेका थिए । संघले लगभग १३ लाख ६० हजार रूपैयाँजति सहयोग पनि गरेको थियो ।

'रकम त त्योभन्दा धेरै उठेको छ, तर पिडित पक्षले धेरै क्षतिपूर्ति माग्लान् भनेर चाहिने खर्च मात्र सरकारलाई हस्तान्तरण गरियो', संघका केन्द्रिय सदस्य तथा डोल्मा बचाउ अभियानका सहसचिव तेन्जी शेर्पाले कोरियाबाट फोनमा मलाई बताएका थिए - 'बाँकी रकम कसरी उपयोग गर्ने भनेर छलफल गर्दैछौं ।'

नेपालमा 'डोल्मा जीवन रक्षा अभियान' सुरु भयो । यो अभियानलाई दुई दर्जनभन्दा बढी मानवअधिकार संस्थाहरूले साथ दिएका थिए । अभियानका सदस्यले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी यथासीघ्र पहल गर्न माग पनि गरेका थिए । प्रधानमन्त्रीले पनि परराष्ट्र सचिव मार्फत् डोल्माको जीवनरक्षाका लागि एम्नेष्टी इन्टरनेसनल लगायतका गैरसरकारी संघसंस्थाको सकृयतामा पहल गर्ने निर्देशन दिएका थिए । उनले फिलिपिन्सको दुतावाससँग सम्पर्क गरि क्षतिपूर्तिको सम्भावना खोज्न समेत अह्राएका थिए ।

पिडितले क्षतिपूर्ति बुझेपछिः

२०६५ असारमा डोल्माका तर्फबाट बुझाउन लागिएको १० हजार डलर 'ब्लड मनी' (क्षतिपूर्ति रकम) फिलिपिन्सका पीडित परिवारले स्विकार्‍यो । नेपालका लागि फिलिपिन्सका महावाणिज्यदूत विजय गजानन्द वैद्यले मृतकका परिवारसँग परामर्श गरेका थिए । वैद्यले नै मृतकका परिवारलाई १० हजार डलर (८ लाख रुपैयाँ) मा सहमत गराएका थिए । पीडित परिवारले सहमति जनाएपछि मृत्युदण्डबाट सफाइ पाउने प्रक्रियामा लामो समय अदालती पेसी बस्यो । अन्तत २०६५ पुस ८ गते डोल्माका तर्फबाट वहस पैरवी गरिरहेका वकिल तारिफ अल खर्जले कुवेतबाट रियादस्थित नेपाली दूतावासलाई खबर गरेका थिए - "डोल्मा शेर्पालाई मृत्युदण्ड नहुने भएको छ ।"

दश बर्षअघि सोही दिन खुशियालीमा मैले साथीहरूसँग बानेश्वरमा बसि मीठो खानेकुरासँगै कुल्फीसमेत खाएको स्वाद ताजै छ ।
अब त छोरा पनि कुरो बुझ्ने भए- संसारभरका नेपाली एक भए निर्दोष नेपालीलाई यमराजबाटै खोसेर ल्याउन सकिने रहेछ । भएपनि, सँधै,  डोल्माहरूका छोराछोरीहरूले हामी वयस्क रहेको समाजलाई प्रश्न गर्नेछन्, "सानो मलाई छोडेर मेरी आमा किन कुवेत गइन् ?"

डोल्माको सुस्वास्थ्यको कामनासहित ...इंशाअल्लाह !!

प्रकाशित मिति: शनिबार, साउन ७, २०७४  २३:२२
प्रतिक्रिया दिनुहोस्