site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कोरोना संक्रमण सुरु भएदेखि चार स्वास्थ्यमन्त्री फेरिए, खोप नै मुख्य चुनौती

काठमाडौं । कोभिड महामारी सुरु भएयता नेपालमा चार जना स्वास्थ्य तथा जनसंख्यामन्त्री फेरिए । यो अवस्थामा अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व पटकपटक फेरिँदा महामारी नियन्त्रणमा चुनौती मात्रै थपिएको छैन, कतिपय स्वास्थ्यका जनस्वास्थ्यका कार्यक्रमहरू पनि ओझेलमा परेका छन् । 

मन्त्रालयको जिम्मेवारी जसको काँधमा पुगेपनि अहिलेका लागि मुलुकको आवश्यकता खोप हो । हरेक मन्त्री फेरिएसँगै
नागरिकको पहिलो अपेक्षा पनि यही छ । तर पछिल्लो राजनीतिक खिचातानीको प्रत्यक्ष मारमा परेको स्वास्थ्य मन्त्रालयको अवस्था हेर्दा नागरिकको खोप पाउने अधिकारमाथि नै कुठाराघात भएको देखिन्छ । 

बिहीबार मात्रै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवार शिक्षामन्त्रीसमेत रहेका कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । स्वास्थ्यमन्त्रीको जिम्मेवारी बहन गरेसँगै खोप नलगाएका १ करोड ७५ नागरिकलाई महामारीबाट जोगाउने चुनौती पनि नयाँ मन्त्रीको काँधमा आइपुगेको छ । 

Argakhachi Cement Island Ad

खोप ल्याउनमा पटक पटक चुकेको सरकार
विश्वका विभिन्न मुलुकसँगै कोभिड–१९ विरुद्धको खोप छिमेकी देशहरूमासमेत उत्पादन तथा वितरण हुन थालेदेखि नेपालमा खोप ल्याउने प्रयास सुरु गरियो । ०७७ मंसिरदेखि विज्ञहरूको सहभागीतामा कार्यदल नै गठन गरेर खोप ल्याउने प्रयास गरियो । माघ ८ गते भारत सरकारले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा दिएपछि फागुन पहिलो साता सरकारले २० लाख डोज खोप खरिद प्रक्रिया अघि बढायो । खरिद सम्झौता गरेको ४ दिनमै फागुन ९ गते २० लाखमध्ये १० लाख डोज खोप पठाएको वितरक सिरम इन्स्टिच्युट अफ इन्डियाले बाँकी १० लाख डोज भने अहिलेसम्म पनि पठाएको छैन । 

तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले थप ५० लाख डोज कोभिसिल्ड खोप भारतबाटै ल्याउने प्रयास गरिएपनि बिचौलिया सरकारका तागतिला भएका भएकाले ल्याउन नसकिएको अभिव्यक्ति दिँदै मन्त्री पदबाट बिदाइ भएका थिए । लगतै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका शेरबहादुर तामाङले गत जेठ २४ भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै कोरोना नियन्त्रण तथा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । 

तर, पदभार ग्रहण गरेको १९ दिनमै स्वास्थ्यमन्त्रीबाट जिम्मेवारीमुक्त भएका पूर्वमन्त्री तामाङको बाचा पनि अधुरै रह्यो । स्वास्थ्यमन्त्रीको पदबाट बाहिरिँदै गर्दा उनले फेसबुकमार्फत खोप ल्याउने सबै प्रक्रिया पूरा भएको  र केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । “यदि, पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तल–माथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नागरिकको जीवनमाथि खेलबाड गर्ने छुट कसैलाई छैन,” उनले भनेका थिए । 

तर कहाँबाट कति र कहिले खोपका लागि प्रक्रिया अघि बढेको भन्नेबारे उनले खुलाएका छैनन् । मन्त्रालयका अधिकारी पनि यसबारे ठोस जवाफ दिनसक्ने अवस्थामा छैनन् । शुक्रबारमात्रै पदभार ग्रहण गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले खोपका सन्दर्भमा धेरै हल्ला नगरी प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । 

“म भाषण र हल्लाभन्दा काम र परिणाममा विश्वास गर्छु । असोजसम्म कम्तीमा ३३ प्रतिशत नागरिकलाई खोप दिने जिम्मेवारी मन्त्रालयको काँधमा छ । यसबारे मन्त्रालय गम्भीर भएर लाग्नेछ,” मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरूमाझ भने ।  

खोपबारे सरकारी अधिकारी नै गैरजिम्मेवार, व्यक्तिपिच्छे फरक फरक जानकारी
कोभिड–१९ विरुद्धको खोप खरिदमा समन्वयका लागि परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागलाई दिइएको छ । गत जेठ १४ गते तत्कालस्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दस भर्चुअल पत्रकार सम्मेलनमार्फत् दस दिनभित्र खोपमा ‘ब्रेक थ्रू’ हुने बताएका थिए । 

खोप अनुदानका लागि अमेरिका, बेलायत लगायतका मुलुकहरूसँग पहल भइरहेको र खरिदका लागि चीन र रुससँग प्रक्रिया अघि बढेको जानकारी पूर्वमन्त्री ज्ञवालीले दिएका थिए । तर उनले बोलेको झन्डै एक महिना बित्नलाग्दा पनि नेपालमा कोभिड–१९ विरुद्धको थप खोप आउने कुनै संकेत देखिएको छैन । 

भारतसँग खरिद गरिएको खोप नआएपछि कोभिसिल्ड खोप लगाएका करिब साढे १३ लाख ६५ वर्षमाथिका नागरिकका लागि अस्ट्राजेनिका कम्पनीकै अर्को खोप ल्याउनका लागि नेपालले विभिन्न मुलुकसँग पत्राचार गरेको थियो । यही क्रममा डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने निर्णय गरेको खबर जेठ २३ गते बाहिरियो । उक्त जानकारी स्वास्थ्य सेवा विभाग अन्तर्गथ आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीले दिएका थिए । तर यो सूचनामा तथ्य नभएको र डेनमार्कले नेपाललई खोप दिनेबारे कुनै निर्णय भइनसकेको भन्दै डेनिस विदेश मन्त्रालयले उक्त समाचारको खण्डन गरेको थियो ।
 
त्यस्तै अमेरिका र बेलायतले पनि नेपाललाई कोभिड–१९ विरुद्धको खोप दिने खबर सरकारी उच्च तहबाटै बाहिरिएको थियो । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख डोज खोप एसियाली देशहरूलाई दिइने जानकारी दिएको थियो । यसबारे प्रतिक्रिया दिँदै जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकालाई ट्विटरमार्फत् धन्यवाद दिन हतारिएका थिए । तर अहिलेसम्म पनि अमेरिकाबाट नेपालले कुन, कहिले र कति खोप पाउने भन्ने यकिन भएको छैन । 

नेपालमा कोभिड–१९ विरुद्धको खोप ल्याउने सन्दर्भमा खोप सल्लाहकार समितिका फरक फरक विज्ञसँग चासो राख्दा अहिले पनि अमेरिकाको जोन्सोन एन्ड जोन्सोनदेखि रुसको स्पुतनिक भी सम्मका खोप ल्याउन लागिएको मात्रासहित बताउँछन् । तर खोप खरिदको मुख्य नेतृत्वकर्ता स्वास्थ्य सेवा विभाग र परराष्ट्र मन्त्रालयले खोपबारे अहिले कुनै टुङ्गो लागिनसकेको  जनाउँदै आएका छन् । 

विभागका एक शाखा प्रमुख फरक फरक अधिकारीले दिने गरेका गलत सूचनाबाट आफूहरू आजित भएको बताउँछन् । “उहाँहरूले दिएका सूचनाका आधारमा हामीलाई नागरिकदेखि माथिल्लो तहबाट अनेकौँ फोन आउँछन्, अनावश्यक तनाव झेल्नुपर्छ । खोपको टुङ्गो लागेपछि त खुसीका साथ सबैलाई सेयर गरौँला नि, गलत सूचना दिएर नागरिकलाई भ्रममा किन राख्नु ?,” ती अधिकारी प्रश्न गर्छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडका विषयमा तोकिएका विज्ञबाहेक अन्य व्यक्तिहरूलाई सञ्चारमाध्यममा अभिव्यक्ति नदिन आग्रह गरेको छ । तर मन्त्रालयले सञ्चारमाध्यममा सूचना दिने व्यक्तिहरूको नामावली नतोक्दा खोपका बारेमा फरक फरक सूचना बाहिर आउने गरेको देखिन्छ । यसले एकातिर सरकारप्रतिको विश्वास घटाउँदै लगेको छ भने अर्कोतर्फ आम नागरिकमा खोप प्रतिको आशा र अपेक्षा गुमाउन सहयोगी भूमिका खेलेको छ । 

नेपालमा खोपबारे पछिल्लो अपडेट के छ  त ? 
नेपाल सरकारले भारतसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप तत्काल आउने जानकारी वितरक सिरम इन्स्टिच्युट अफ इन्डियाले दिएको छैन । यद्यपि भारतले निर्यात खुला गरेपछि खोप पाउने पहिलो मुलुक नेपाल हुने जानकारी सिरमका अधिकारीहरूले दिएको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोख्रेल बताउँछन् । 

त्यसैगरी कोभ्याक्सअन्तर्गत नेपालले पाउनुपर्ने १ करोड २० लाख डोजमध्ये ३ लाख ४८ हजार डोज खोप यसअिघ नै आइसकेको छ । अबको लटमा थप ३ लाख ४८ हजार डोज आउने र त्यसको अन्तिम टुङ्गो जुनको अन्तिमसम्म लाग्ने डा. पोख्रेलले जानकारी दिए ।

चीनसँग भेरोसेल खोप खरिदका लागि सरकारले प्रयत्न गरिरहेको भएपनि अहिलेसम्म त्यसको सम्झौता भए नभएकोबारे स्वास्थ्य सेवा विभागले कुनै सूचना बाहिर ल्याएको छैन । 

“विश्व बजारमा खोपको अभाव छ । शक्तिशाली राष्ट्रहरूले खोप सञ्चय गरेर राखेका छन् । खोप खरिदका लागि हामीले सबै तवरबाट प्रयास गरेका छौँ । तर तत्काल यसै भन्नसक्ने अवस्था छैन,” महाशाखा डा. पोख्रेलले भने । 

यस्तो अवस्थामा गलत सूचना फैलाएर नागरिकमा निरासा र भ्रम पैदा गर्ने कार्यलाई नियन्त्रण गर्नुपनि नयाँ स्वास्थ्यमन्त्रीका लागि अर्को चुनौतीको विषय बनेको छ । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्