
सन्तोष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नेपाल बैंकर्स संघका कार्यकरी सदस्यसमेत रहेका कोइराला प्रष्ट बोल्ने बैंकरका रुपमा चिनिन्छन् । प्रुडेन्ट बैंकिङ गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी १४ महिनाअगाडि माछापुच्छ्रे बैंकको नेतृत्वमा पुगेका थिए ।
कोभिड–१९ को प्रभावका बीच चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक रहेको बैंकर कोइराला बताउँछन् । कोभिडको दोस्रो लहरसँगै चालु मौद्रिक नीतिले दिएको सहुलियत निरन्तरता नदिने हो भने बैंकहरुको खराब कर्जा बढ्ने र बैंकिङ क्षेत्रमा असहज अवस्था आउने उनी बताउँछन् ।
बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, वित्तीय विवरण, बैंकको आगामी योजनालगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका विजय पराजुलीले प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालासँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
कोभिडको प्रभावका बीच चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सन्तोषजनक छ । तेस्रो त्रैमासको अवधिमा कोभिडको प्रभाव नभएकोले हाम्रो मात्रै हैन, सबै बैंकको सन्तोषजनक वित्तीय विवरण आएको छ ।
तेस्रो त्रैमासिक विवरण सन्तोषजनक छ भन्नुभयो, तर बैंकहरुको विवरण हेर्दा खुद ब्याज आम्दानी घटे पनि नाफा बढेको छ । सेयर कारोबार र प्रोभिजन राइटब्याकले बढेको नाफाले जोखिम बढाउँदैन ?
हो । व्यवसाय विस्तार हुँदा पनि खुद ब्याज आम्दानी घटेको छ । सेयर ट्रेडिङबाट आम्दानी सबै बैंकले गरेका छैनन् । केही बैंकको मात्रै त्यस्तो आम्दानी छ । असोजपछि चैतसम्म ६ महिनाको अवधिमा बैंकहरुको राम्रो बिजेनस ग्रोथ भएकोले बैंकहरुले सकारात्मक वित्तीय विवरण ल्याउन सफल भए । खुद ब्याज आम्दानी बढ्न नसके पनि समग्रमा तेस्रो त्रैमासिक रिपोर्ट सन्तोषजनक छ ।
चालु आर्थिक वर्षमा राष्ट्र बैंकले कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको छुट दियो, जसले गर्दा बैंकहरुको खराब कर्जा व्यवस्थापन भयो । तर, बैंकहरुले उक्त कर्जाको सम्भावित जोखिमलाई गरेको प्रोभिजन राइटब्याकले नाफा देखाउँदा गर्दा जोखिम बढेन ?
कोभिडको असर कुन लेभलको थियो भन्ने पनि हेर्नुपर्ने हुन्छ । सबै बैंककको नभनौँ, केही बैंकको राइटब्याक भयो पनि हो । तर, जुन बेला प्रोभिजन राइटब्याक भयो, त्यो बेला व्यवसाय उच्च भइरहेको थियो । व्यवसाय वृद्धि भएर सकारात्मक प्रभाव परेकै कारणले राइटब्याक गर्र्र्ने अवस्था आयो भन्ने विश्लेषण बैंकरहरुको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा बैंकहरुको कर्जा लगानी करिब २५ प्रतिशत छ । विश्व बैंक, आईएमएफलगायतले कोभिडपछिको समयमा अन्य देशले जोखिम नलिएको तर नेपालले कर्जा विस्तार गरेको भन्दै आएका छन् । प्रतिकूल परिस्थितिमा कर्जा विस्तार गर्दा पफर्मेन्स देखाउने होडमा जोखिम बढाएको त हैन ?
बैंकहरुले त्यसरी जोखिम लिएका छन् जस्तो लाग्दैन । कर्जाको माग नआइ ग्रोथ हुने भन्ने हुँदैन । पछिल्लो समय कोभिडको प्रभाव बढ्यो र लकडाउनको कुरा आए, त्यसपछि कर्जाको माग घटेर गयो । अब बजारमा माग सिर्जना हुन्छ अनि मात्रै ग्रोथ हुने हो । बैंकिङ जगत यति सेन्सिटिभ भइसकेको छ, अनावश्यक जोखिम लिएर, फोर्टफोलियो ग्रोथ गरेर राम्रो गरेँ भनेर देखाउन बैंकहरुले यो सबै गरेजस्तो लाग्दैन ।
माछापुच्छ्रे बैंकले त्यसरी जोखिम लिएर कर्जा दिएको छैन । आएको डिमान्डलाई नै परिपूर्ति गरेर नै ग्रोथ भएको हो ।
कोभिडको कारणले राष्ट्र बैंकको अनुगमन कमजोर भयो, जसले गर्दा बैंकहरुले पफर्मेन्स देखाउन क्रेडिट क्वालिटीमा कम्प्रमाइज गरे भनेर शंका गर्न सकिन्छ कि सकिँदैन ?
त्यस्तो छ जस्तो लाग्दैन । राष्ट्र बैंकले अनसाइड अनुगमन मात्रै रोकेको हो । आफसाइटबाट उसले गर्ने अनुगमन गरिरहेकै छ । राष्ट्र बैंकले गर्नुपर्ने स्थलगत अनुगमन केही समय रोके पनि अन्य अनुगमन नियमित रुपमा गरिरहेको छ । त्यसैले कर्जाको क्वालिटीमै कम्प्रमाइजको जोखिम बैंकहरुले नै लिएका छैनन् भन्ने लाग्छ । त्यसमा पनि नियमित रुपमा राष्ट्र बैंमले वाच गरिरहँदा क्रेडिट क्वालिटीमा कम्प्रमाइज भयो भन्ने लाग्दैन ।
कोभिडपछि देखिएको उच्च क्रेडिट ग्रोथमा ठूलो हिस्सा ब्याज तिर्नको लागि बैंकहरुले कर्जा दिएर ब्याज उठाए भन्ने आशंका देखिन्छ नि ?
अघि पनि भनिसकेँ, डिमान्ड भएर बढेको कर्जा हो । कम उत्पादनशील क्षेत्रहरु जस्तै, सेयर धितो कर्जालगायत क्षेत्रमा कर्जा बढी गयो होला । राष्ट्र बैंकको नीति–नियमभित्र बसेर नै बैंकहरुले आफ्नो पोर्टफोलियो म्यानेज गरेका छन् जस्तो लाग्छ ।
२५ प्रतिशतले व्यवसाय विस्तार गर्दा पनि आम्दानी बढेको छैन, तर बैंकहरुले बोनस सेयरबाट पुँजी बढाइरहेका छन् । अर्कोतर्फ, राष्ट्र बैंकले बैंकहरुलाई सेयर बजारमा ट्रेडिङमा रोक लगाउँदा यसले नाफामा हिट गर्ने अवस्था देखियो नि हैन ?
बैंकले बैंकिङ गर्नुपर्छ भन्ने हो । बैंकले सेयरमा लगानी गरेको भन्ने सुनियो र त्यसको रिफ्लेक्सन ब्यालेन्स सिटमा पनि आयो । राष्ट्र बैंकले बैंकहरुले सेयरमा लगानी गर्न पाउने जुन नियम थियो, त्यसमा लुपहोललाई टेकेर केही बैंकले सेयरमा लगानी गरेर ग्रोथ गरेको कुरालाई समयमा नियामकले नियमन गरेको छ भन्ने मेरो विश्लेषण हो ।
राष्ट्र बैंकले बैंकहरुले सेयरमा लगानी गर्न पाउने जुन नियम थियो, त्यसमा लुपहोललाई टेकेर केही बैंकले सेयरमा लगानी गरेर ग्रोथ गरेको कुरालाई समयमा नियामकले नियमन गरेको छ भन्ने मेरो विश्लेषण हो ।
सेयर बजारमा अहिले जुन किसिमको बुलिस ट्रेन्ड देखिएको छ, त्यो सधैँ रहन्छ भन्ने हुँदैन । बैंकले सेयरमा अन्धाधुन्ध लगानी गरेर त्यो लेभलको ट्रेन्डलाई सपोर्ट हुन्छ जस्तो लाग्दैन । माच्छापुच्छ्रे बैंकले त्यसरी सेयरमा ट्रेडिङ गरेर कमाएको छैन । धेरै बैंकले त्यसरी सेयरमा लगानी गरेका छैनन् । गलत प्राक्टिसलाई नियमाकले समयमा नियमन गरेको छ, त्यसको सकारात्मक असर सेयर बजारमा पनि पर्छ जस्तो लाग्छ ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकहरुलाई सेवा शुल्क तोक्नेजस्ता कार्यले माइक्रोम्यानेजमेन्ट भयो भन्ने गुनासो सुनिन्छ । बैंकहरुको बदमासीले गर्दा नै राष्ट्र बैंक यस्तो एक्सनमा आउनुपर्ने अवस्था आएको हो ?
यसलाई माइक्रोम्यानेजमेन्ट नै त नभनौँ । बजारमा अस्वाभाविक कार्यहरु हुँदै गएपछि राष्ट्र बैंकले स्वभाविक रुपमा नियन्त्रण गर्छ । त्यसको कारणले केही हदसम्म बैंकको नाफामा संकुचन आएको हो । गत वर्ष नाफामा ठूलो संकुचन आयो । अपेक्षा गरौँ, यो वर्ष राष्ट्र बैंकले कुनै त्यस्तो निर्णय नगर्ला । गत वर्ष ब्याजमा नै छुट दिने कुरा पनि आएका थिए । त्यसले नाफामा ठूलो संकुचन ल्यायो ।
बैंकहरु पनि यही समाजमा स्थापित संस्था भएकोले यस्तो विषम परिस्थितिमा नाफाको केही अंश समाजलाई योगदान गरौँ भन्ने कुरामा राष्ट्र बैंकले कुनै नीति ल्यायो भने त्यसलाई माइक्रोम्यानेजमेन्ट नभनौँ । उक्त क्षेत्रलाई व्यवस्थित गर्न सबै कदम चालेको हो भनेर बुझ्नुपर्छ ।
कोभिडको पहिलो लहरले उठ्दै गरेको अर्थतन्त्रमा कोभिडको दोस्रो लहर सुरु भएपछि बैंकिङ क्षेत्रमा कतिको प्रभाव परेको छ ?
प्रभाव ठूलो पर्ने अवस्था देखिएको छ । अहिलेसम्म रिकभरीको अवस्था के हुने भन्ने थाहा छैन । ब्याज उठ्छ÷उठ्दैन, प्रोभिजन कसरी जाने भन्ने भन्न सकिने अवस्था छैन । राष्ट्र बैंकले कर्जा रिकभरीका कुनै कदम नलिन भनेको छ । अहिले नै यसले के–कति प्रभाव पार्छ भन्ने अवस्थामा हामी छैनौँ । लकडाउन केही खुकुलो भएर रेगुलर व्यवसाय गर्न पाएपछि कति असर पर्छ भन्ने थाहा हुन्छ ।
सबैभन्दा ठूलो असर मध्यमखालका व्यवसायमा रहेको छ । पर्यटन, ट्रान्सपोर्टेसनमा ठूलो असर देखिन्छ । दैनिक मजदुुरी गरेर खाने वर्ग र साना–साना व्यवसायमा लकडाउनको ठूलो असर देखिन्छ । कोभिडको दोस्रो लहरले अर्थतन्त्रमा ठूलो असर गर्नेछ । बैंकको प्रोफिटाविलिटीलगायतलाई हेर्न हो भने असारपछि मात्रै कति असर गर्यो भन्न सकिन्छ ।
पहिलो चरणमा नै कर्जा पुनसंरचना र तालिकीकरण गरेर खराब कर्जा व्यवस्थापन गरेको थियो । अब दोस्रो लहरले पनि त्यही क्षेत्र बढी प्रभावित भएको छ, खराब कर्जा बढ्ने सम्भावाना भयो नि ?
चालु मौद्रिक नीतिले त्यो पहिलो चरणको कोभिडलाई नियन्त्रण गर्न ठूलो सहयोग गरेको थियो । त्यो बेलामा राहत प्याकेज पनि आए । बैंकहरुले पनि कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको सुविधा पाए । ग्राहकले पनि ब्याज छुटदेखि अन्य सहुलिय पाए । तर, अहिले झनै विकराल अवस्था आयो । पुनः त्यस्तै माग रहेका छन् ।
बैंकहरुले पनि कर्जा पुनसंरचना र पुनर्तालिकीकरणको सुविधा पाए । ग्राहकले पनि ब्याज छुटदेखि अन्य सहुलिय पाए
विभिन्न संगठनका यो खालको सहुलियत पाउनुपर्यो भन्ने माग रहेको छ । अब त्यसलाई राष्ट्र बैंकले कसरी सम्बोधन गर्छ, त्यो हेर्न बाँकी नै छ । आगामी मौद्रिक नीतिले पनि चालु मौद्रिक नीतिको जस्तै सुविधा नदिने हो भने अहिलेको अवस्थालाई व्यवस्थापन गर्न मुस्किल छ ।
पुनर्कर्जा पुनसंरचना र तालिकीकरण गरेर जाँदा भोलिएको दिन व्यवसाय पुनरुत्थान भएर सञ्चालन हुन नसकेमा बैंकिङ क्षेत्रमा संकट आउँदैन ?
त्यो हुनसक्छ । कि त राज्यले फन्ड छुट्ट्याएर त्यस्ता व्यवसायलाई छुट्टै वर्गीकरण गरेर पुनरुत्थान प्याकेज ल्याउन सक्ने हो भने हुनसक्छ । अन्यथा, अर्को विकल्प पनि त देखिँदैन ।
पुनरसंरचना र पुनर्तालिकीकरणमा फेरि पनि नदिने हो भने खराब कर्जा बढ्छ ?
खराब कर्जा बढ्ने सम्भावना देखिन्छ । कर्जा तिर्न नसकेपछि खराब कर्जा त बढ्ने नै भयो नि ।
कोभिडबाट परेको प्रभावलाई सम्बोधन गर्न कस्तो मौद्रिक नीति आवश्यक पर्ला ?
पछिल्लो मौद्रिक नीतिले पनि वर्गीकरण गरेर पुनर्कर्जालगायत जति पनि स्टिमुलस प्याकेज आए, फेरि पनि त्यस्तै स्टिमुलस प्याकेज घोषणा गरेर पुनरुत्थान कार्यक्रम ल्याउनुपर्छ ।
कोभिड पहिलो चरणपछि लयमा फर्किंदै गरेको अर्थतन्त्रमा दोस्रो लहरले पुनः प्रभावित बनायो । अब बैंकलाई कस्तो योजना साथ अगाडि बढाउँदै हुनुहुन्छ ?
हाम्रो व्यवसाय ब्यालेन्स छ । धेरै एग्रेसिभ पनि छैन । अरु बैंकहरुको हेर्दा प्रोफिटाविलिटीदेखि लिएर ग्रोथ हेर्दा हाम्रो एग्रेसिभ व्यवसाय हैन । पूर्ण रुपमा नीति–नियम मानेर सुशासनमा बस्दै लुपहोललाई नखोतली व्यवसाय गरिरहेका छौँ । तेस्रो त्रैमासको ब्यालेन्ससिट पनि हेर्नुभयो केही बैंकहरुमा सेयर ट्रेडिङ गरेर जुन किसिमको नाफा देखियो, माच्छापुच्छ्रेको व्यवसाय त्यस्तो नभएर कन्सिस्टेन छ ।
राष्ट्र बैंकको निर्देशनानुसार व्यवसाय गरेर गभर्नेन्समा बसेर अगाडि बढ्ने हो । आगामी दिनमा पनि विद्युतीय कारोबारलाई प्राथमिता दिएर अगाडि बढ्दै छौँ ।
माछापुच्छ्रेको आफ्नै रेमिट एप भन्ने वालेट पनि आएको छ । नयाँ–नयाँ प्रोडक्ट ल्याउँदै छौँ । ग्राहकलाई पूर्ण रुपमा कसरी सन्तुष्टि दिन सकिन्छ र सकेसम्म डिजिटलाइजेसनको माध्यमबाट घरबाटै बैंकिङ सेवा लिने वातावरण कसरी बनाउन सकिन्छ, त्यसमा फोकस भएर लागेका छौँ ।
साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै अगाडि बढ्ने योजनामा छौँ । १६० वटा शाखा छन् । हामी अब साना तथा मध्यम व्यवसायका साथै राष्ट्र बैंकले निर्देशित गरेको कर्जा र डाइरेक्ट ल्यान्डिङको कुरामा पनि सिरियस भएर लागेका छौँ । कसरी गाउँगाउँमा ग्राहकसम्म पुग्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर अगाडि बढ्ने योजना छ ।
माछापुच्छ्रे बैंकको जुन बिजनेस साइज छ, त्यो बिजेनसअनुसार अन्य बैंकको तुलनामा प्रतिफल कम देखिन्छ, किन होला ?
प्रतिफल कम नै त हैन, तर तुलना गर्दा सेम साइज भएको प्रतिस्पर्धी बैंकको तुलनामा अलिकति कम हो कि भन्ने हो । हामीले नयाँ जुन शाखा खोल्यौँ, त्यही समयमा कोभिड आयो । नयाँ खुलेका ५० वटा शाखाबाट बिजनेस ल्याउन सकिएन । तर, सञ्चालन खर्च लाग्ने नै भयो । आगामी आर्थिक वर्षमा हाम्रो प्रतिफल बढ्छ ।
अब सबै शाखाबाट बिजनेस सुरु भयो । करिब ५० वटा शाखा उद्घाटन गरेपछि कोभिड आयो, त्यसले बिजनेस नै हुन सकेन । बीचमा ५/६ महिना काम गर्न पाएर पिकअप लिँदै गर्दा दोस्रो राउन्डको कोभिड आयो ।
अब सबै शाखाबाट बिजनेस सुरु भयो । करिब ५० वटा शाखा उद्घाटन गरेपछि कोभिड आयो, त्यसले बिजनेस नै हुन सकेन । बीचमा ५/६ महिना काम गर्न पाएर पिकअप लिँदै गर्दा दोस्रो राउन्डको कोभिड आयो । अब ती नयाँ शाखाले व्यवसाय दिन थाल्छन्, तब हाम्रो अपरेरिङ कस्ट पनि म्यानेज हुन्छ र प्रतिफल पनि बढ्छ । आगामी आर्थिक वर्षबाट माछापुच्छ्रे रिटर्न अन इक्युटी बढ्छ । तर, अब परिस्थिति कस्तो हुन्छ, त्यसमा पनि भर पर्छ ।
माछापुच्छ्रे बैंकको व्यवस्थापकीय नेतृत्वमा आउनुभएको १४ महिना भयो । आफ्नो नेतृत्वमा बैंकको पफर्मेन्सबाट सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । म सीईओमा नियुक्त भएको भोलिदेखि लकडाउन भयो । त्यस्तो बेलमा सीईओ भएँ । कति समयसम्म व्यवसायमा फोकस गर्न पाइएन । कसरी कोभिडबाट म्यानेजमेन्ट गर्ने भन्नेमा बित्यो । तर, म यही बैंकको डेपुटी सीईओ हुँदै ८÷१० वर्ष काम गरेर सीईओ भएकोले कर्मचारी तथा वातावरण र व्यवसायको बारेमा थाहा भएकोले त्यसलाई राम्रो व्यवस्थापन गरेर अगाडि लागेँ ।
नयाँ सीईओ भएको भएर असहज हुनसक्थ्यो । तर, त्यो समस्या मलाई भएन । विषम परिस्थितिमा सीईओ भएर काम गर्दा पनि बैंकको जुन प्रकारको ग्रोथ देखिरहनुभएको छ, पछिल्लो ९ महिनामा बैंकले जुन ग्रोथ गर्यो, त्यो अहिलेसम्मकै उच्च हो । त्यो सबैलाई हेर्दा मेरो नेतृत्व बजारले मूल्यांकन गर्छ । तर, मैले जुन हिसाबले बैंकलाई लिएर गएँ र मेरो जुन टिम छ, त्यो सबैको सहयोगबाट माछापुच्छ्रे बैंकलाई यो लेभलसम्म ल्याएको हो ।
राष्ट्र बैंकले कोभिडको दोस्रो लहरसँगै आफ्ना ग्राहकलाई स्वःस्फूर्त रुपमा सहुलियत दिन भनेको छ । निषेधाज्ञा अवधिमा माछापुच्छ्रे बैंकका ग्राहकले सहुलियत पाउँछन् कि पाउँदैनन् ?
राष्ट्र बैंकले सहुलियतको कुरा गरे पनि अहिले बैंकहरुको बेस रेटदेखि लिएर स्प्रेड रेट धेरै तल आएको छ । अन्य आम्दानीलाई पनि व्यवस्थित गरेको छ । अहिले ग्राहकलाई यस्तो छुट दिन्छौँ भनेर प्याकेज ल्याउन योजनामा छैनौँ ।
पछिल्लो एक वर्षयता सेयर बजारमा देखिएको बुलमा पनि वाणिज्य बैंकको सेयर अन्य क्षेत्रको तुलनामा बढ्न सकेन भनिन्छ । वाणिज्य बैंकहरुको पफर्मेन्स कमजोर भएर हो, अथवा किन होला ?
वाणिज्य बैंकको परफर्मेन्स कमजोर भएरजस्तो लाग्दैन । वाणिज्य बैंक भनेको एउटा कन्सिस्टेन रिटर्न दिने क्षेत्र हो । आर्थिक वर्ष २०७५/०७६ मा १३/१५ प्रतिशत रिटर्न दिएको थियो भने कोभिडको अवस्थामा पनि गत वर्ष १० प्रतिशतमाथि रिटर्न दियौँ । अहिले पनि १३/१४ प्रतिशत रिटर्न दिन सकिनछ भन्ने छ ।
सबै बैंकको हेर्दा कन्सिस्टेन रिटर्न आइरहेको अवस्थामा अहिले पनि वाणिज्य बैंकको सेयर मूल्य अन्यको तुलनामा कम हो । तर, नेपालको स्टक मार्केटलाई कसले र केले नियन्त्रण गर्छ भन्ने अवस्था छैन । केले बढ्छ र केले घट्छ, त्यो अनुमान गर्न सकिने अवस्था छैन ।
कन्सिस्टेन रिटर्नलाई हेर्दा अहिले वाणिज्य बैंकहरुको मूल्य जति छ, त्योभन्दा अलि माथि हुनपर्छ जस्तो लाग्छ । वाणिज्य बैंकहरुको पफर्मेन्स खस्केको छैन ।
अहिले वाणिज्य बैंकहरुबीच मर्जरको चर्चा चलिरहेको छ । दुई पुराना र ठूला हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता पनि भएको छ, यसले अरु वाणिज्य बैंकलाई मर्जरको दबाब बढाएको हो ?
अहिले वाणिज्य बैंकमा मर्जरको दबाब बढेको हो । अहिले सबै बैंकको बिजनेस हेर्दा अधिकतम लेभलमा बिजेनस गरेर क्यापिटल अभाव हुँदै गएको हो कि जस्तो देखिन्छ । अब व्यवसाय गर्ने अपरच्युनिटी कम हुँदै गयो ।
अब बैंकहरुसँग मर्जरमा जानुको विकल्प कम देखिन्छ । मर्जर अपरिहार्यजस्तो देखिन्छ ।
ठूला बैंकहरु मर्जरमा गए, जसले गर्दा उनीहरुको क्यापासिटी ह्वात्तै बढ्ने भयो । जसले गर्दा सानो ठाउँमा तिनै ग्राहकसँग जाँदा ठूलो बैंकले दिने सुविधा र सानो बैंकले दिने सुविधा फरक पर्छ । जसले गर्दा अरु बैंकलाई पनि मर्जरको लागि दबाब बढेको हो ।
अब बैंकहरुसँग मर्जरमा जानुको विकल्प कम देखिन्छ । मर्जर अपरिहार्यजस्तो देखिन्छ ।
मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ, तर बजेट हेर्दा वाणिज्य बैंकबीच मर्जर हुनुपर्छ अनि मात्रै बोनस कर छुट पाइन्छ भन्ने कुरा आएको छ । मौद्रिक नीतिले पनि त्यही हिसाबले सम्बोधन गर्ला । वाणिज्य बैंक एकापसमा मर्जरमा जाँदा प्रोत्साहन प्याकेज दिने हो र स्प्रेड रेटमा पनि सहुलियत दिने हो भने अन्य वाणिज्य बैंक पनि मर्जरमा जान्छन् जस्तो लाग्छ । मर्जरमा जानुपर्ने अवस्थाको स्थिति सिर्जना भएको छ ।
पुँजीकोष अनुपातले पनि मर्जरमा जानुपर्ने अवस्था छ भन्नुभयो, तर १२ प्रतिशत पुँजीकोष भएका बैंक मर्जरमा जाँदा दुई बैंकको व्यवसाय र पुँजी एक हुँदा कसरी पुँजीकोष सहज हुन्छ ?
सही कुरा भन्नुभयो । तर, व्यवसायको साइज ठूलो हुँदै गए पनि त्यसलाई कन्सिलीटेड गरेर अगाडि बढ्न सकिने हुनसक्छ । ठूलो बैंक भए पनि एक–दुई वर्ष त्यही व्यवसायलाई म्यानेज गरेर गयो भने पनि नाफा म्यानेज गर्न सकिन्छ । त्यसले सिनर्जी दिन्छ । सप्लिमेन्ट्री क्यापिटल डिवेन्चर जारी गरेर पनि व्यवस्थापन गर्न सकिन्छ । तर, कोर क्यापिटल नै टाइट हुँदै गएको छ ।