
काठमाडौं । असार १ गतेदेखि भएको भारी वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो भौतिक र मानवीय क्षति पुर्याएको छ । मेलम्ची बजारमा मात्रै झन्डै ६ सयजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कोभिड संक्रमणको दोस्रो लहर फैलिरहेकै बेला आएको यो प्राकृतिक विपत्ले प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्यमा जोखिम थपिएको छ । यो अवस्थामा बाढी पहिरो प्रभावित क्षेत्र र समग्र सिन्धुपाल्चोक जिल्लामा आइसोलेसन स्वास्थ्य सामग्रीको आपूर्ति, स्वास्थ्य परीक्षण तथा अस्पतालमा उपचार सेवाको व्यवस्थापनमा कसरी काम भइरहेको भन्ने बारेमा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंसँग बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको कुराकानी ।
बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?
असार १ गतेदेखिको भारी वर्षले जिल्लाका हेलम्बु र मेलम्ची क्षेत्रमा धेरै क्षति गरेको छ । पाँचपोखरी गाउँपालिकालाई पनि जोखिमयुक्त क्षेत्र मानिएको छ । मेलम्ची बजारमा करिब ६ सयजना विस्थापित भएको तथ्यांक छ । विस्थापितहरूमध्ये केही नजिकैका आफन्तकहाँ गएर बसेका छन् भने बाँकीलाई स्थानीय इन्द्रेश्वरी माविमा खानेबस्ने व्यवस्था गरिएको छ । उनीहरूलाई मेलम्ची नगरपालिकाले खानपानको व्यवस्था गरेको छ । बाढी सुरु भएको दोस्रो दिन नगरका ५ जनामा झाडापखाला देखिएको थियो उनीहरूको स्वास्थ्य अवस्था अहिले ठिक छ । अहिले शिविरमा रहेका कसैमा पनि त्यस्तो स्वास्थ्य समस्या देखिएको छैन ।
अहिले सामूहिक रूपमा बस्नुपर्ने अवस्था आएको छ । यसले फेरि कोभिड संक्रमण फैलिने जोखिमलाई बढाएको छ । जोखिम न्यूनीकरणका लागि के विधि अपनाइएको छ ?
शिविरमा बस्दाखाँदा पनि जनस्वास्थ्यका मापदण्ड अपनाउन हामीले सबैलाई अनुरोध गरेका छौँ । विपत्पछि आउनसक्ने जनस्वास्थ्यका समस्याहरूप्रति हामी निकै संवेदनशील छौँ । मेलम्चीमा हाम्रो पहिलेकै आइसोलेसन सेन्टर तयारी अवस्थामा छ । बिहीबारदेखि स्वास्थ्यकर्मी पनि थप गरेर आलोपालो परिचालन गरिएको छ । संक्रमण परीक्षणका लागि प्रदेश सरकारले पनि कोभिड परीक्षण किट पर्याप्त मात्रामा पठाएको छ । आवश्यक परेको खण्डमा नगरपालिकाबाटै स्वास्थ्य सामग्री उपलब्ध गराउनेगरी स्टकमा राखिएको छ ।
अन्य स्वास्थ्य जोखिम तथा सरुवा रोगहरू फैलिन नदिने के कस्तो पूर्वतयारी गर्नुभएको छ ?
प्रकोपपछिको स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै र्यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखिएको छ । बाढी र पहिरोपछि फैलिनसक्ने डेंगु, मलेरियाजस्ता सरुवा रोगको जोखिमलाई ध्यानमा राखेर जिल्लाभरका लागि ५ सय थान परीक्षण किट ब्याकअप राखिएको छ । मेलम्ची क्षेत्रमा पानीबाट संक्रमण नफैलियोस् भन्ने उदेश्यले पानी शुद्धिकरणका लागि विभिन्न औषधिहरू वितरण गरिएको छ । सबै पालिकाहरूमा सम्भावित जोखिमलाई आकलन गरेर यी संक्रमणका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू पठाइएको छ ।
हेलम्बु क्षेत्रमा सडक अवरुद्ध भएपछि त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा कसरी प्रवाह गरिँदैछ ?
हेलम्बु गाउँपालिकामा अहिले सडकमार्ग अवरुद्ध छ । सँगै पाँचपोखरी गाउँपालिका पनि प्रकोपको जोखिममा छ । हामीले मेलम्ची नगरपालिकाबाट बिहीबार हामी नेपाल नामक संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् १ सय थान एन्टिजेन र अन्य स्वास्थ्य सामग्री पठायौँ । प्रदेश सरकार र विभिन्न संघसंस्थाबाट स्वास्थ्य सामग्री सहयोगमा आउने क्रम जारी छ । ती सामग्रीहरू आवश्यकताअनुसार वितरण गर्दै लैजाने योजना छ । हेलम्बु गाउँपालिकामा ३० जनालाई राख्न सकिने आइसोलेसन तथा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य संस्था छ । त्यसैले अहिलेकै अवस्थामा कठिनाइ आइहाल्ने देखिँदैन ।
बाढीमा विस्थापित भएका गर्भवती, सुत्केरी लगायत असामान्य स्वास्थ्य अवस्थाका नागरिकहरूलाई केही विशेष व्यवस्था गरिएको छ ?
गर्भवती, सुत्केरी तथा अन्य स्वास्थ्य समस्या भएका नागरिकलाई हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन् । यीमध्ये कसैलाई कुनैपनि स्वास्थ्य समस्या देखिए प्राथमिक स्वास्थ्य केन्द्रमा नै राख्न त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको छ । शिविरमा बसेकाहरूलाई सरसफाइमा सजिलो होस् भनेर सफाइ किटहरू पनि उपलब्ध गराइएको छ ।
यतिबेला अस्पतालहरू कोभिड उपचारमा केन्द्रित छन् । यो अवस्थामा प्राकृतिक प्रकोपका कारण हुनसक्ने अन्य रोगको उपचारका लागि अस्पतालहरूमा कसरी व्यवस्था मिलाइएको छ ?
मेलम्ची र हेलम्बुजस्तै जिल्लाका अन्य ठाउँहरू पनि बाढी पहिरोको जोखिममा छन् । विपत्मा परेर घाइते भएका र विपत्पछि फैलिनसक्ने विभन्न सरुवा रोगको उपचारका लागि जिल्लाका सबै अस्पतालहरूलाई ननकोभिड अस्पताल बनाइसकिएको छ । सबै अस्पतालमा कोभिडबाहेक अन्य बिरामीहरूलाईसमेत सेवा दिन जिल्ला स्वास्थ्य कार्यालयबाट सूचना पठाइसकेका छौँ । अब सिन्धुपाल्चोकका सबै अस्पतालमा विपत्पछि हुनसक्ने स्वास्थ्य समस्याको उपचार हुन्छ ।